शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई देउवाको जवाफ : काँग्रेसले विपक्षमा मतदान गर्छ, अहिले सत्ता सहकार्य सम्भव छैन

बुधबार, २२ वैशाख २०७८, १९ : ०६
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्माओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेलगत्तै प्रधानमन्त्री ओलीले समर्थन जुटाउन दौडधूप थालेका छन् । माओवादी केन्द्रले बुधबार प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयलाई बुझाएको थियो । 

 


माओवादी केन्द्रले समर्थन नरहेको विधिवत जानकारी गराएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी समर्थन जुटाउन लागि परेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले माओवादीलाई समर्थन फिर्ता गरेर देखाउन चुनौती दिएका थिए ।  तर, माओवादी केन्द्रले ओलीले भन्दैमा समर्थन फिर्ता नलिने जनाएको थियो । 

ओलीले विश्वासको मत लिने तयारी गरेकै बेला माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको औपचारिक रुपमै जनाएको हो । माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा दर्ता गरेलगत्तै प्रधानमन्त्री बुधबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न दलबलसहित बुढानिलकण्ठ पुगेका हुन् । नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमालसहित देउवा भेट्न बुढानिलकण्ठ पुगेका ओलीले बुढानिलकण्ठमा ठाडो जवाफ पाए– त्यो हो, ‘कांग्रेसले समर्थन दिँदैन, विपक्षमा मतदान गर्छ ।’

ओली बुढानिलकण्ठ पुग्‍नुमा मुख्यतः २ कारण रहेको जानकारहरु बताउँछन् ।  उनीहरुका अनुसार पहिलो कारण ओलीले आफुलाई समर्थन गर्न काँग्रेसलाई आग्रह गर्ने र यदि त्यसमा काँग्रेस सहमत नभए प्रचण्ड माधवलाई जसरी पनि असफल पार्न उनीहरुसँगको गठबन्धन तोडेर बरु आफै देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने । तर, सहमहामन्त्री डा.प्रकाशशरण महतले ओलीले काँग्रेसलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको प्रतिकृया दिए ।  ओलीका यी दुवै प्रस्तावमा देउवाले नमानेकाले उनले तत्कालै संसद विघटनको निर्णय गर्नसक्ने तर्कसमेत गर्न थालिएको छ । 

‘लोकतन्त्रका लागि काँग्रेस र एमालेसँगै लडेका हौँ, अहिले पनि म लोकतन्त्रप्रति प्रतिबद्ध छु’ प्रधानमन्त्री ओलीले काँग्रेसको विश्वास जित्ने प्रयास गर्दै भनेका थिए । तर काँग्रेसले बोलीमा यसो भनेपनि व्यवहारमा लोकतान्त्रिक गतिविधिको धज्जी उडाएको भन्दै लुम्बिनी र गण्डकीको उदाहरण दिएका थिए । काँग्रेस नेताले गण्डकी र लुम्बिनीको उदाहरण दिँदा ओली मौन बसेका थिए ।  

त्यस्तै ओलीले विश्वासको मत दिन गरेको आग्रहलाई पनि काँग्रेसले ठाडै अस्वीकार गरेको थियो ।  ‘हामीले विपक्षमा मतदान गर्छौ भनेर प्रस्ट भन्यौ साथै सत्ता साझेदारी र सहकार्यको कुरा पनि तपाईंसँग अहिले सम्भव छैन भनेर प्रस्ट भन्यौ’ नेता महतले एमाले नेताहरूसँगको भेटवार्तापछि  सञ्चारकर्मीलाई जानकारी दिए । 

गत फागुन २३ यता माओवादी र ओलीबीच समर्थन फिर्ता गर्ने नगर्ने बारे माथापच्छी चलिरहेका बेला प्रधानमन्त्री ओलीले तीन दिन अघि मात्रै प्रतिनिधिसभाको विशेष बैठक बोलाएर आगामी बैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीको यो घोषणालाई काँग्रेस, माओवादी लगायतका दलले अराजनीतिक र असंवैधानिक कदमका रुपमा लिएका छन् । 
देउवासँगको भेटवार्तामा सहभागी भएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई दलका नेताबीचको भेटवार्ता सौहार्दपूर्ण भएको भन्दै लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्ने विषयमा कुराकानी भएको बताए । 
‘मुख्यत लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यका कुरा भयो, संविधानको रक्षा र प्राप्त उपलब्धिलाई सबैले मिलेर जोगाउने कुराहरु भए’ नेम्वाङको भनाइ छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप