मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका सीडीओहरुको बैठकले निषेधाज्ञाको निर्णय गर्न सकेन, मन्त्रिपरिषद्लाई नै जिम्मा

सोमबार, १३ वैशाख २०७८, १४ : २७
सोमबार, १३ वैशाख २०७८

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिएको हो । मन्त्रिपरिषद्को बैठक आजै साँझ ५ बजे बस्दैछ । 

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी तथा हिमाली क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० बढी संक्रमित भएमा स्थानीय प्रशासनले निषेधाज्ञा तथा लकडाउन गर्न सक्नेगरी निर्णय गरेको थियो ।
उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमित ५०० माथि रहेका छन् भने कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।  तर सीसीएमसीले  जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी दिएपनि उपत्यकाका सीडीओहरू त्यस्तो आदेश जारी गर्न हिच्किचाएका हुन् । काठमाडौं शहर देशकै राजधानी भएकाले यहाँको विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने सीडीओहरू भनाइ छ ।

बैठकले काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय भने गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुने बताए । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।  

यस्तै रेस्टुरेन्टहरुबाट टेक अवेको सुविधा दिने तथा ग्रोसरीबाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप