शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा लगाउन उपत्यकाका सीडीओ हच्किए, ‘माथि’बाटै निर्णय हुनुपर्ने माग

उपत्यकाका प्रजिअको संयुक्त बैठक बस्दै, भीड नियन्त्रणमा कडाइ गर्ने तयारी
सोमबार, १३ वैशाख २०७८, ११ : ४२
सोमबार, १३ वैशाख २०७८

कोभिड–१९ का सक्रिय संक्रमितहरु ५ सयभन्दा बढी देखिएको काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी दिइएपनि उपत्यकाका सीडीओहरू त्यस्तो आदेश जारी गर्न हिच्किचाएका छन् । काठमाडौं शहर देशकै राजधानी भएकाले यहाँको विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै सीडीओहरू हच्किएका हुन् ।

यद्यपि आजै बस्ने तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठकले भीड नियन्त्रणमा भने कडाइ गर्ने भएको छ । तथापि सीडीओहरूको निर्णय गृह मन्त्रालयमा रिपोर्टिङ गरिने र माथिबाट जे आदेश आउँछ, त्यसअनुसार अघि बढ्ने उपत्यका प्रशासनको तयारी देखिन्छ ।  

यसअघि वैशाख ६ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट हुन नपाउने गरी आदेश जारी गरेको थियो । सो आदेशको पालना गराउने दायित्व गृह प्रशासन र खासगरी सीडीओहरूको रहेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट देखिएका थिए । तर, प्रधानमन्त्री स्वयंले नै आदेश उल्लंघन गरेपछि सीडीओहरू पनि अब माथिबाटै निर्णय होस् भन्ने पक्षमा उभिएको स्रोत बताउँछ ।

 


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले ५०० संक्रमित भएको उपत्यका र तराईका जिल्लामा सीडीओमार्फत निषेधाज्ञा जारी गर्न क्याबिनेट समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यस्तै २०० सक्रिय संक्रमित देखिएका पहाडी जिल्लामा पनि सीडीओमार्फत निषेधाज्ञा जारी गर्न आइतबार नै सीसीएमसीले मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, काठमाडौं उपत्यकाको हकमा भने केन्द्र सरकारबाटै ठोस निर्णय आउनुपर्ने प्रमुख जिल्ला अधिकारीहरुको माग रहेको गृहमन्त्रालयका एक अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘काठमाडौं भनेको देशकै राजधानी हो, यहाँ राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको मोबिलिटी हुन्छ, त्यसैले जे गरे पनि क्याबिनेट बाटै निर्णय आओस् भन्ने स्थानीय प्रशासनको चाहना देखिन्छ ।’

सीसीएमसीको निर्णय हेरफेरको तयारी

यसैबीच, आइतबार बसेको सीसीएमसीको बैठकले तयार पारेको सिफारिसमा सोमबार सामान्य हेरफेर हुने स्रोतले बताएको छ । ‘हिजो तयार पारेको ड्राफ्टमा आज केही हेरफेर हुन्छ’ स्रोतले भन्यो, ‘यसमा केही सुधार गरेर आजै साँझ ५ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुन्छ ।’

आज बस्ने मन्त्रिपरिषद बैठकले कोरोना रोकथामबारे केही नयाँ निर्णयहरु गर्ने सीसीएमसी स्रोतले बतायो । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने, यातायातका साधान जोरबिजोर प्रणालीका आधारमा मात्र चलाउन पाइने लगायतका निर्णयहरु हुन सक्ने स्रोतको भनाइ छ ।

विदेशबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नागरिकहरु, खासगरी भारतीय नागरिकलाई प्रवेश निषेध गरिने सीसीएमसीले सिफारिस गरेको छ । विमानमार्फत आउने विदेशीमाथि रोक लगाइने र नेपाली नागरिकको हकमा अनिवार्य क्वारेन्टिनमा राख्ने सीसीएमसीको सिफारिस रहेको स्रोतले बतायो ।

 


भारतीय सीमा नाकाहरुमा सरकारले यसअघि नै होल्डिङ सेन्टरहरु बनाउने भने पनि कार्यान्वयनमा आएको छैन । आज बस्ने मन्त्रिपरिषद बैठकमा सीमा नाकालाई कडाइ पूर्वक व्यवस्थापन गर्नेबारे सीसीएमसीले प्रस्ताव तयार पारेको स्रोतले बताएको छ ।

तीन जिल्लाका प्रजिअको बैठक बस्दै

कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । मध्यान्ह १ बजे संयुक्त बैठक बस्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भिड नियन्त्रणसम्बन्धी रणनीति तयार पारेर गृह मन्त्रालय समक्ष रिपोर्टिङ गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले रातोपाटीलाई बताए ।   

प्रजिअ पराजुलीका अनुसार सार्वजनिक यातायातको भिडभाड नियन्त्रण गर्नेगरी बैठकले रणनीति तयार गर्नेछ । होटल, रेष्टुराँमा पनि कडाइ गर्ने प्रशासनको तयारी छ । तर, प्रजिअहरुको निर्णय गृहमा रिपोर्टिङ गर्ने भनिएकाले माथि बाटै निर्णय भएर आओस् भन्ने सिडिओहरुको चाहना देखिएको छ ।

तथापि, प्रजिअ पराजुलीको साकेतअनुसार उपत्यकामा चल्ने यातायातका साधनमा आजैदेखि जोर–बिजोर प्रणाली लागु हुने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप