मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिले वितरण गरेको तक्मामा नेपालको पुरानै नक्सा, सामाजिक सञ्जालमा पोखियो आक्रोश

यसअघि पनि गायव पारिएको थियो नयाँ नक्सा
शनिबार, २८ चैत २०७७, १७ : ०२
शनिबार, २८ चैत २०७७

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकहरू विवादमा परेको छ । उनले वितरण गरेको तक्मा पदकको बीच भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशमा रहेको लिपुलेक, लिम्पियाधुरा समेटिएको भूभाग सहितको चुच्चे नक्सा गायव भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । २०७६ साल भदौमा सरकारले ४ सय ५२ मानपदवीसहित ६ सय ३३ जनालाई गरेको विभूषण सिफारिसका आधारमा राष्ट्रपतिले गरेको पदक वितरणमा त्रुटी भएको हो ।

कतिपयले सो पदक फिर्ता गर्ने घोषणा समेत गरेका छन् । पत्रकार महासंघकी पूर्व सचिव समेत रहेकी पत्रकार लक्ष्मी पुनले नेपालको भूभाग गायव गरेर पदकमा नक्सा छापिएकोमा आपत्ति जनाउँदै आइतबार गृहमन्त्रालय गएर पदक फिर्ता गर्ने घोषणा गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्,

तक्मा फिर्ता गर्ने विषयमा

प्रिय अभिभावक, साथीहरु तथा शुभचिन्तक

जनयुद्धकालमा बच्चा च्यापेर गणतन्त्र रेडियोमा गरेको जनपत्रकारिताको सम्मान स्वरुप राज्यले मलाई सुशोभित गरेको भन्दै म निकै हर्षित थिएँ । महामारीका कारण एक वर्ष ढिला हस्तान्तरण भएको तक्मा पाएँ । राष्ट्रपति निवासमा तक्मा गलामा झुण्डाएर जलपान र फोटोसेसनमा व्यस्त भइयो । कोठा पुगेर बल्ल त्यता नजर गयो । मन कटक्क खायो । जुन गणतन्त्रका लागि लडेका थियौं, त्यसको सम्मान भएन जस्तो लाग्यो । माया गर्नेहरूको बधाई शुभकामना ओइरी रहेको थियो । सबै प्रति नतमस्तक तथा आभारी छु । तर जानकारी गराउन चाहे, सच्चिएर चुच्चो सहितको तक्मा आयो भने मात्रै ग्रहण गर्ने छु । भोलि गृहमा बुझाउने निधो गरेँ । धन्यवाद ।

फेसबुकमा मात्र नभई सामाजिक सञ्जाल ट्वीटरमा पनि चुच्चे नक्साबिहीन तक्मा वितरण भएकोमा आलोचना भएको छ ।

ट्वीटर प्रयोगकर्ता दुर्गा पंगेनीले लेखेका छन्, स्टक क्लियर गर्ने भनेर सुपरमार्केटमा सेल लाग्च नीहो त्यस्तै त्यो पदक पुरानो स्टकको रैच र चुच्चे नक्सा नभेटिएको हैच । सेलमा निकाल्या माल पर्फेक्ट चै हुन्न है ।

अर्का ट्वीटर प्रयोगकर्ता निर्मल प्रसाई प्रश्न गर्छन्

फेरि एकपटक प्रश्न

चुच्चे नक्सा खोई ?

कतिमा बेचेको ?

वा कुर्सीसँग साटेको ?

वा पेवा सम्झेर दिएको ?

वा दवावमा परेको ?

सचित राई पनि ट्वीटरमा विभूषित हुनेहरूलाई प्रश्न गर्छन्

लिम्पियाधुरा बिनाको तक्मा पो रहेछ । के तपाईंको मनले स्वीकार गरेकै हो ?

अर्का ट्वीटर प्रयोगकर्ता गोविन्द थापा सांसदको लोगो बनाउँदा पनि चुच्चे नक्सा गायव भएको उल्लेख गर्दै पाठ्यपुस्तक सम्मलाई प्राविधिक कारण मान्न सकिने भएपनि यस्तो जघन्य त्रूटिलाई सामान्यीकरण नगर्न आग्रह गर्छन् । उनले लेखेका छन्

सांसदको लोगो बनाउँदा बेपत्ता भएको चुच्चे अन/अफ हुँदा हुँदै फेरि मान पदवीमा गायव भएछ, भारतीय आर्मी क्याम्प परिसरमा बस्नु पर्ने हामीले हल्का तरिकाले नहेरौँ धेरै यातना÷प्रताडना झेलेर बसेको छ बिचरा ! पाठ्यपुस्तक सम्मलाई प्राविधिक कारण मान्न सकिएला तर यो जघन्य त्रुटीलाई सामान्यीकरण नगरियोस् !

यस्तै ट्वीटरमै डि.वी कार्की लेख्छन्संसदले पास गरेको चुच्चे नक्सा हटाएर पुरानै नक्साङ्कित पदक/विभूषण बाँड्दै हिँड्ने खड्ग प्रसादलाई देशद्रोही सावित गर्न थप प्रमाण पेश गर्न जरुरी छ ? अब पनि खड्ग प्रसादलाई कोही कसैले राष्ट्रवादी हो भन्दै हिँड्छ भने तिनीहरु या त दास हो या त दलाल ।

तत्कालीन रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सुरक्षा विज्ञ लगायतको टोलीले गरेको सिफारिसका आधारमा विभूषण पाउनेको नामावली तयार पारिएको थियो । नामावलीभित्र रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीश विश्वम्भर श्रेष्ठ, हाँस्य कलाकार मनोज गजुरेल, सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीहरुले पुरानो नक्सा भएको तक्मा ग्रहण गरेका छन् । गृह मन्त्रालयले भने लिम्पियाधुरा सहितको नक्सा पारित नहुँदै सो विभूषण तयार भएकोले वितरण गरिएको बताएको छ । साथै गत असोजमा घोषणा भएको पदक वैशाखमा वितरण गर्ने र त्यसमा भने चुच्चे नक्सा हुने बताएको छ ।

यसअघि पनि २ पटक गायव पारिएको थियो नयाँ नक्सा

 


 

राष्ट्रपतिले वितरण गरेको विभूषण पदकमा लिम्पियाधुरा गायव पारिएको यो पहिलो घटना भने होइन । यसअघि पनि २ पटक यस्तो त्रुटि गरिएको थियो । पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकमा चुच्चे नक्सा प्रकाशन भएपछि सरकारले वितरण गर्न रोक लगाइएको थियो । यस्तै सांसदहरुको लागि बनाइएको संघीय संसदको लोगोबाट पनि नयाँ नक्सा हटाइएपछि बिरोध भएको थियो ।

यसरी रोकिएको थियो नयाँ नक्सा प्रकाशन गरिएको पुस्तक

भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा सहितका भूभाग नेपालको नक्सामा समावेश गर्ने विषय संघीय संसदले सर्वसम्मत ढंगले पारित गरेपछि शिक्षा मन्त्रालयको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले यससम्बन्धी जानकारी गराउने पुस्तक प्रकाशन गरेको थियो । ५ सय प्रति छापिइसकेको नेपालको भूभाग र स्वाध्याय सामग्री नामक पुस्तक वितरणका लागि रोक लगाइएको थियो । सो पुस्तकमा भारतले अतिक्रमण गरेका अन्य भूभागहरु, नेपालको प्राचिन प्रमाणित सीमासम्बन्धी ऐतिहासिक दस्तावेजहरु, नेपालको नक्सा निर्माणको तरिका लगायतका विषयबस्तुहरु समावेश गरिएको थियो ।

तर परराष्ट्र मन्त्रालय तथा भूमी व्यवस्था मन्त्रालयले पुस्तकमा भएका कतिपय विवरण नमिलेकाले सच्याउनुपर्ने भनेपछि सो पुस्तक पाठकको हातसम्म पुग्न दिइएन ।

 


 

सांसदको लोगोमा पनि पुरानो नक्सा भएपछि बिरोध

संघीय संसदबाट नयाँ नक्सा पारित भएपछि विभिन्न क्षेत्र तथा विषयमा प्रकाशन भएको नक्सा पनि परिवर्तन गर्नुप-यो । संघीय संसदको दुई हातमा नेपालको नक्सा लिएको लोगो रहेको छ । सो लोगो परिवर्तनका लागि नयाँ बनाएपनि लोगोमा विरूपको नेपालको नक्सा रहेको र पारित भएको नयाँ नक्सा नभएपछि सांसदहरुले अपमान बोध गर्दै संघीय संसद सचिवालयमा फिर्ता गरेका थिए । संसद सचिवालयले दुई लाल सुनको जलप र एक तोला चाँदी प्रयोग गरेर बनाएको ३ सय ५०  लोगो विवादमा परेपछि त्यसलाई रद्ध गरेर फेरि अर्को बनाइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप