शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाइरल तस्विर : सरकारभन्दा अघि नै पुस्तकमा यसरी छापियो लिम्पियाधुरासहितको नक्सा

पुस्तकका लेखक नरेन्द्र पनेरुको यस्तो छ भनाई
शुक्रबार, ०९ जेठ २०७७, ०९ : ०४
शुक्रबार, ०९ जेठ २०७७

कक्षा ८ को अङ्ग्रेजी किताबमा लिम्पयाधुरासहितको प्रकाशित नक्सा अहिले समाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले लिम्पियाधुरासहितको नक्सा किताबमै प्रकाशित हुँदा पनि सरकारले प्रकाशन गर्न नसकेको भनेर आलोचना गरेका थिए । कतिपयले त्यसलाई पञ्चायतकालीन किताबमा समेत नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गरेको तर अहिलेको सरकारले त्यति काम पनि गर्न नसकेको भनेर टिप्पणी गरेका थिए । तर उक्त पुस्तक पञ्चायतकालमा प्रकाशन नभई विगत ५ वर्ष अगाडिदेखि मात्रै विद्यालयमा पठनपाठन हुन थालेको हो । 

पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएको र जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरेको यो पुस्तकका लेखक हुन् नरेन्द्रराज पनेरु, विश्वराज जोशी र ध्रुव कुमार न्यौपाने ।

सानोठिमी क्याम्पसमा अङ्ग्रेजी विषयका उपप्राध्यापक र हाल पिएचडी गर्दै गरेका पुस्तकका लेखक मध्येका एक नरेन्द्रराज पनेरुले हामीलाई लिम्पियाधुरा सहितको नक्सा पाठ्यपुस्कमा कसरी समावेश गरियो भन्नेबारे यसरी जानकारी दिए :

मसहित विश्वराज जोशी र ध्रुवकुमार न्यौपाने मिलेर यो पुस्तक तयार पारेका थियौँ । यो पुस्तक लेख्नका लागि सन् २०१२ को अन्तिम समयतिर पाठ्यक्रम विकास केन्द्रले सूचना निकालेको थियो । त्यो बेला पुस्तक लेख्न प्रतिस्पर्धा गराउथ्यो । ४ वटा नमुना पाठ माग्थ्यो । हामीले प्रतिस्पर्धाबाट किताब लेख्ने अवसर पाएका थियौँ । किताब लेख्न ४५ दिनको समय लागेको थियो ।

त्यसपछि पुस्तक छाप्न थाल्यौँ । सन् २०१५ देखि विद्यालयमा पढाइ हुन थाल्यो । अहिले पनि पढाइ भइरहेको छ । विद्यार्थीलाई देशको बारेमा जानकारी दिनुपर्छ भनेर एउटा पाठमा जिल्ला प्रोफाइल राखियो । कम्तिमा आफ्नो जिल्लाको बारेमा विद्यार्थीलाई थाहा होस् भनेर त्यो विषय छानिएको थियो ।

मेरो घर सुदुरपश्चिमको डडेलधुरा जिल्ला, गन्यापधुरा गाउँपालिका रुन्ताला भन्ने ठाउँ हो । सुदूरपश्चिमलाई त्यतिकै पनि पछि पारिएको छ । सुदूरपश्चिमको केही भूभाग भारतले आफ्नो नियन्त्रणमा लिएको पनि थाहा थियो । तर नक्सामा ती भूभाग थिएन । हामीले पुस्तममा प्रकाशनका लागि नेपालको आधिकारिक नक्सा पनि खोज्यौं । सबैतिर लिम्पियाधुरा बिनाको नक्सा थियो । गुगलमा पनि उल्लेख मात्रामा त्यही नक्सा नै थियो । गुगलमा नक्सा खोज्दै जाने क्रममा नेपालको पूरै भूभाग भएको एउटा नक्सा फेला प¥यो र हामीले त्यसलाई छनौट गरेका थियौँ ।

तर हामीले यसलाई त्यति मतलब गरेका थिएनौं । केहीदिन अघि भूमीसुधार मन्त्रीले लिम्पियाधुरा सहितको नक्सा आफूले देख्न नपाएको भनाइ सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो ।

फेसबुकमा आएको मन्त्रीको भनाइको मुनी कक्षा ८ को अङ्ग्रेजी किताब हेर्नुस् भनेर कमेन्ट गरेको थिएँ । हाम्रो विद्यार्थी भाई जिडि भट्टले फोटोसहित कमेन्ट गरेछन् । पुस्तकका अर्का लेखक विश्वराज जोशीले पनि फेसबुकमा राख्नुभयो । त्यसपछि विस्तारै भाइरल हुँदै गएको रहेछ ।

अहिले सरकारले पनि आधिकारीक रुपमा लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गरेपछि मलाई पनि देशकै सेवा गरेको अनुभूति भइरहेको छ । यसले एउटा राम्रो काम के पनि गरेको छ भने यो नक्सा किताबमै प्रकाशन भएपछि आधिकारिक नक्सा प्रकाशन गर्न सरकारलाई थप दबाब समेत पर्न गयो । लिम्पियाधुरासहितको नक्सा प्रकाशन भएकै छैन भनेका बेला कक्षा ८ को अंग्रेजी किताबमा छ त भनेर सरकारलाई नैतिक दबाब सिर्जना पनि भयो ।

देशको सरकारी पाठ्यपुस्तमै पूरै भू–भाग भएको नक्सा प्रकाशन भएपछि अर्को नक्सासँग तुलना गर्दा केही गडबढ भएको आम मानिसले पनि बुझ्न सके । अन्ततः नेपालको पूरै भूगोल समेटेर सरकारले नेपालको नक्सा सार्वजनिक गरेको छ, हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । अब अतिक्रमणमा परेका ति भूभाग फिर्ता सरकारले फिर्ता ल्याउन पहल गरोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप