खनाल–नेपालको समूहको निष्कर्ष : ओलीको पतन निश्चित छ
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहमा रहेका ११ जना स्थायी कमिटीका नेताहरुको बैठकले अध्यक्ष केपी शर्मा ओलीबाट हुने सम्भावित कारवाहीका लागि मानसिकरुपमा तयार हुनुपर्ने निचोड निकालेको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सोमबार ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार आकस्मिकरुपमा बसेको सो पक्षको स्थायी समिति बैठकले यस्तो निचोड निकालेको हो ।
मंगलबारको बैठकमा वरिष्ठ नेताहरु खनाल र नेपालले संक्षिप्त धारणा राखेका थिए । दुवै नेताहरुले ओलीको सम्भावित कारवाही र आफ्नो पक्षको भावी रणनीतिबारे सामान्य ब्रिफिङ गरेका थिए । ‘कारवाहीबाट आत्तिने र डराउने कुरा छैन । ओलीको निरंकुशताका विरुद्ध विचार र सिद्धान्तका आधारमा थप सशक्त र प्रभावकारी बनाउन जरुरी छ । त्यसमा हाम्रा अभियानहरू विस्तारै मजबुत बनाउँदै लानुपर्छ’, नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले रातोपाटीसँग भने, ‘ओलीको पतन निश्चित छ ।’
त्यस्तै खनाल नेपाल पक्षले ओलीबाट भएका र हुने कारवाहीले ओली आफैं थप कमजोर बन्दै जाने भएकाले आफूहरु पार्टी फुटाउन अग्रसर नहुने तर समानान्तर गतिविधिलाई अरु बढाउँदै लैजाने निचोड निकालेको ती नेताले बताए ।
‘ओली राजनीतिक चरित्र भएका व्यक्ति होइनन् भन्ने पुष्टि भएको छ । त्यसैले अब उनी कम्युनिस्ट आन्दोलन र एमाले जोगाउनभन्दा पनि फुटाउन अग्रसर छन् । तर हामी पार्टी फुटाउने कदमको विरोधमा रहन्छौं । ओलीले त आफूलाई एक उदाउँदो तानशाहका रुपमा स्थापित गर्न खोजेका छन् । सोही अनुसार हाम्रा दुई नेतामाथि कारवाही भएको हो । हामीले उक्त कारवाहीलाई सोही अनुसार विश्लेषण गरेका छौँ’, सो समुहका अर्का सदस्यले रातोपाटीसँग भने, ‘अब उनले कारवाही थप बढाउदै लानेछन् । त्यसका लागि हामी मानसिक रुपमा तयार हुनैपर्छ ।’

ती सदस्यका अनुसार नेपाल र रावलमाथिको कारवाही दुईजना व्यक्तिमाथिको मात्रै नभएर सिंगो समूहमाथि भएको र त्यसको प्रतिवाद व्यक्तिले नगरी समूहबाटै गर्दा उपयुक्त हुने भएकाले सोही अनुसार संयुक्त वक्तव्य निकालेर विरोध गरिएको हो ।
त्यस्तै ,उनले ओलीको कारवाहीले आफ्नो पक्षलाई समानान्तर गतिविधि गर्न थप खुला भएको ठहर पनि गरेको बताए । ‘अब हामी आफ्ना कार्यक्रम केन्द्रमा मात्रै होइन, प्रदेशदेखि जिल्ला हुदै वडातहसम्म पु¥याउँछौँ । नभएका ठाउँमा कमिटीहरु विस्तार गर्दै लैजान्छौ’, ती सदस्यको भनाइ छ ।
स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले मंगलबारको स्थायी समिति बैठक आकस्मिक भएको र नेताहरुको पनि व्यस्तता भएकाले संयुक्त वक्तव्य तयार गर्नमै केन्द्रित भएको बताइन् । उनले त्यसक्रममा नेताहरुले बोल्ने वा धारणा राख्नेभन्दा पनि सामान्य छलफलपछि हस्ताक्षरसहित वक्तव्य जारी गरिएको बताइन् ।

उनले कारवाही केन्द्रीत छलफल भएको भन्दै नेताहरु माधव नेपाल र भीम रावलमाथिको मात्रै कारवाही नभएर त्यो सिंगो कम्युनिस्ट आन्दोलनमाथिको प्रहार भएको बताइन् । ‘त्यो कारवाही नेपाल र रावलमाथिको मात्रै होइन । हाम्रो समुहमाथिकै हो । कम्युनिस्ट आन्दोलनमाथिकै कारवाही हो । त्यसैले संयुक्त प्रतिवाद गर्नु उपयुक्त ठानेर संयुक्त वक्तब्य जारी गरेका हौ’, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘सामुहिक वक्तव्य नै ओलीविरुद्धको एउटा प्रतिवाद हो । हामीले त्यसमा स्पष्ट भनेका छौं केपी ओली अत्यन्तै स्वेच्छाचारी र निरंकुश हुन् ।’
शाक्यले केपी ओलीबाट एमाले नजोगिनेमा आफूहरु स्पष्ट रहेको पनि बताइन् । ‘केपी ओलीबाट एमाले जोगिँदैन, तर एमाले र कम्युनिस्ट आन्दोलन जोगाउनैपर्छ भनेर हामी २०७५ जेठ २ मा फर्कनुपर्छ भनेका छाैं । त्यसबाट जतिसुकै कारवाही गरेपनि विचलित हुँदैनौ’, शाक्यको भनाइ छ ।
११ नेताको संयुक्त वक्तव्य
केपी ओलीले अरु नेतामाथि समेत कारवाही गर्न सक्ने र त्यो क्रम केन्द्रदेखि जिल्लासम्म पुग्ने भए पनि आफ्नो पक्षका गतिविधिलाई निरन्तरता दिँदै जानुपर्ने निश्कर्ष खनाल नेपाल पक्षको छ । स्थायी समितिका ११ जना सदस्यहरूबीच भएको छलफलपछि संयुक्त वक्तव्य जारी गर्दै सो पक्षले नेपाल र रावलमाथिको कारवाहीलाई प्रारम्भिकरुपमा बुझ्दै ओली स्वयं पार्टी फुटाउन लागि परेको जनाएको छ ।
‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धतिलाई मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ । राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘आफैँले गोप्य सम्झौताका साथ घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँगको एकीकरणका विरुद्ध अनेकौं षडयन्त्र गर्दै पार्टी एकतालाई भङ्ग गर्न उद्दत् केपी शर्मा ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित नेकपा (एमाले) लाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दूस्प्रयत्न भइरहेको छ ।’
नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि ओलीले उत्तेजित बन्दै राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम गरिरहेको पनि खनाल नेपाल पक्षको ठहर छ ।
‘नेकपा (एमाले) एकीकरण पूर्वको स्थितिमा पुनःस्थापित भएपछि हामीले यसका केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचनाहरू तथा जनसंगठनहरूलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरेका थियौं । विधि र पद्दति सम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमी कमजोरीहरूको यथासमयमा समीक्षा गर्नुका साथै कम्युनिस्ट पार्टीहरूको एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका थियौँ,’ माधव नेपाल पक्षका नेताहरुको वक्तव्यमा भनिएको छ, ‘तर पार्टी अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य भएन । उल्टै गत फागुन २८ गते हामीहरूलाई कुनै जानकारी नै नदिई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लंघन गर्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरियो र कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइयो ।’
माधव पक्षले वक्तव्यमा अगाडि भनेको छ, ‘यस प्रकारको अवैध निर्णय रद्द गरी नेकपा (एमाले) लाई पूर्ववत् स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न हामीले केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यालयमा भएको वार्ता लगायत विभिन्न किसिमले भएका कुराकानीमा आग्रह गयौँ । तर, पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीहरुकाे षड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन । ’
खनाल–नेपाल पक्षले राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति, विधान र संगठनात्मक प्रणालीको रक्षाका लागि यही चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्न हामी बाध्य भएको भन्दै राष्ट्रिय कार्यकर्ता मेलाले नेकपा (एमाले) को सबै संरचना सर्वोच्च अदालतको फैसला अनुरुप पूर्ववत् क्रियाशील तुल्याई पार्टी एकतालाई जोगाउन गरेको आग्रहलाई समेत केपी शर्मा ओलीबाट स्वीकार नगरेको उल्लेख छ ।
‘प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुयाउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्याउने विभिन्न कामहरू भए,’ ११ नेताको वक्तव्यमा भनिएको छ, ‘भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लाग्न थाल्यो । देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरू भत्किन थाले । त्यसो नगर्न पार्टीका बैठकहरूमा उहाँलाई पटक–पटक सचेत गराइयो । तर, नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य शक्तिसँग साँठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो ।’
सर्वोच्च अदालतले दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मान्यता खारेज गरेसँगै ओलीको स्वेच्छाचारी र निरंकुश प्रवृति बढेको भन्दै खनाल नेपाल पक्षले देशव्यापी समानान्तर गतिविधि गर्दै आएको छ । सर्वोच्चले नेकपालाई पुर्व माओवादी र एमालेमा फर्काउने फैसला गत फागुन २३ गते सुनाएको थियो । तर, उक्त फैसलाले एमालेभित्र पहिलेदेखि नै गुम्सिएको विवाद बाहिर निकालिदिएको कतिपयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

