घनश्याम भुसालको ओलीलाई ११ पन्ने स्पष्टीकरण: व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् (पत्रसहित)
एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले बुझाएको स्पष्टीकरणमा ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन ओलीलाई आग्रह गरिएको छ ।
‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्’, उनको पत्रमा भनिएको छ, ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’
एमाले ब्युँतिएको २३ दिनमा ओलीले लिए बदला : अब के गर्लान् माधव नेपाल ? |
‘कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’
उपमहासचिव भुसालले ‘अन्तिम दुई प्रश्न’ भन्दै ओलीको नियममाथि गम्भीर प्रश्न उठाएका हुन् । उनले मंगलबार पार्टी कार्यालयमा ओलीलाई सम्बोधन गरेर बुझाएको स्पष्टीकरण पत्रमा गठबन्धन बनाउने, संसदमा वामपन्थी गठबन्धनको फराकिलो बहुमत बनाउने र पार्टी एकतासम्म गर्ने उपलब्धी हासिल भएपनि आज पार्टी एकता टुटेको भन्दै कम्युनिष्ट पार्टीका समस्त सदस्यहरु, शुभचिन्तक तथा समर्थकहरूमा भयानक निराशा मडारिएको बताएका छन् ।
यस्तो अवस्थामा कम्तिमा आफ्ना कमजोरीहरूप्रति इमान्दारी देखाउनु वा ती असफलताको जिम्मा लिनु र राजीनामा गर्ने तत्परता देखाउनु भन्दा उल्टै अब बाँकी रहेको नेकपा एमालेको विधि, विधान र एकतासमेत भत्काउन ओलीले आतुरता देखाउनु रहस्यपूर्ण रहेको भुसालले बताएका छन् ।
‘तपाई अध्यक्ष हुनुभन्दा पहिले तपाईं स्वयंले भन्ने गरेको तथाकथित ‘पार्टीको प्रजातान्त्रिकरण’ लाई तपाईँ के जवाफ दिनु हुन्छ ? पार्टीको नवौँ महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को कार्यक्रम/सोच अगाडि सारेको थियो । निर्वाचनमा वाम गठबन्धनले घोषणापत्र जारी गरेको थियो । तपाईं सरकारको नेतृत्वमा आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु पार्टीका ती सोच र घोषणा विपरित दिशामा गए । सरकारमा जुन शक्ति र सामर्थ्यका साथ हामी गएका थियौँ त्यसको नेतृत्व गर्न तपाईँ असफल हुनु भयो’, उनको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘सरकारका विधेयकहरु विवादित भए, मन्त्रीहरु विवादित भए, अनेक काण्डमा तपाईंको भूमिका अनुचित रह्यो, विदेश नीतिमा तपाईँ अवसरवादी हुनु भयो, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईँले निजी मामिला बनाउनु भयो, सुशासनलाई तपाईँ आफैले लज्जित पार्नु यो, सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो, कैयन् अधिकारहरू आफ्नो हातमा लिनुभयो तर तिनको दुरुपयोग गर्नु भयो, यस्ता अनेक असफलतापछि संसद विघटनजस्तो अवैधानिक कदम चाल्नु भयो ।’
यी सबै अपजसको भारी पार्टी र आन्दोलनलाई ओलीले बोकाएको आरोप लगाउँदै उनले भनेका छन्, ‘त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ? तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’
ओलीका मान्छेहरु राज्य दोहनमा पारङ्गत
भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेकाहरू छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भएको गम्भीर आरोप लगाएका छन् । ‘तपाईंसँग असहमत दोश्रो पुस्तालाई त तपाईंले किनारा लगाई नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ । तपाईंसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ त्यसमध्ये केहि धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भैसकेका छन्’, भुसालले मङ्गलबार ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै भनेका छन् । उनले ओलीका मान्छेहरुले राजनीतिको व्यापार गरेको पनि दाबी गरेका छन् ।
पार्टीमा राजनीतिक आदर्शले प्रेरित हुँदै सङ्घर्ष गरेर आएका नेता कार्यकर्ताको पंक्ति पनि ठूलो भएको भन्दै भुसालले तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो भनेका छन् । उनले भनेका छन्, ‘त्यसका पछाडि अझ अर्को पुस्ता तयार भइसक्ने थियो । तर तपाईंका असहिष्णु छायाँमूनी टाक्सिँदै गएर उनीहरु केवल तपाईंका आदेश पालक जमातमा परिणत हुँदै गएका छन् । उनीहरुको सिर्जना, स्वत्व, प्रतिबद्धता सबै गुम्दै गैरहेको छ ।’
ओलीका मान्छेहरुले देखेको बोल्न नसक्ने र झूटा कुरा पनि थाहा हुँदाहुँदै बोल्दै हिँडेको टिप्पणी गरेका छन् । ‘उनीहरुले जे कुरा देख्छन् यो बोल्न सक्दैनन् जुन कुरा बोल्छन् त्यो झुठो हो भन्ने उनीहरुलाई थाहा छ । यसरी उनीहरुको व्यक्तित्व पनि विभाजित व्यक्तित्व बन्दैछ । सोच्ने एक थोक, बोल्ने अर्को थोक र गर्ने अझै अर्को थोक हुन जाँदा व्यक्तित्व विघटित हुन्छ र नक्कली व्यक्तित्व बन्छ । यसरी सत्ताले नक्कली व्यक्तित्वहरुको झुण्ड तयार गर्छ । तपाईंको सत्ताले पार्टीमा यस्ता नयाँ मानिसहरु जन्माउँदै छ जसको योग्यता आदेश तामेल गर्ने मात्रै हो,’ भुसालको ठहर छ । लाखौँ सदस्यको नाम, इज्जत, पहिचान भएको पार्टी अहिले ‘एकमना’ पार्टीमा बदलिँदै गएको पनि उनको ठहर छ ।
‘अध्यक्ष ओली जसबाट फाइदा लिनुहुन्छ, उसैलाई ठुङ्नु हुन्छ’
भुसालले अध्यक्ष केपी शर्मा ओलीमा जसबाट फाइदा लियो अन्त्यमा उसैलाई ठुङ्ने प्रवृत्ति रहेको जिकिर गरेका छन् । उदाहरणका रुपमा नेता वामदेव गौतमलाई उल्लेख गर्दै उनले भनेका छन्, ‘आठौँ महाधिवेशनमा तपाईं पराजित भएपछि वरिष्ठ नेता बन्न तपाईंले के के गर्नुभयो त्यसको एउटा साक्षी म आफै छु । मैले हेर्दा तपाईंको एउटा खतरनाक ग्रन्थी के छ भने तपाईंले जसबाट फाइदा लिनु हुन्छ अन्त्यमा उसैलाई ठुङ्नु हुन्छ । मलाई राम्ररी थाहा छ तपाईं मसँग किन रुष्ट हुनुहुन्छ ।’
ओलीलाई बुझाएको स्पष्टीकरणमा भुसालले अगाडि भनेका छन्, ‘तपाईंले जनताको बहुदलीय जनवादको उत्तराधिकारीजस्तै भएर जे–जे गदै हुनुहुन्थ्यो हामीले तपाईको बुझाईको सतहिपनको केवल आलोचना गरेनौँ, बरु जबजलाई चुनावदेखि चुनावसम्मको गोल चक्करमा झार्ने वा सत्तामा जाने भ-याङ्मात्रै बनाउने तपाईंहरुको व्याख्याको खण्डन गर्दै माक्र्सवादको आधारमा त्यसलाई कसरी राजनीतिक सिद्धान्त बनाउन सकिन्छ भनेर ब्याख्या ग¥यौँ । साथै, तपाईंको विरोध हुँदा हुँदै नवौँ महाधिवेशनले जनवादी क्रान्ति पूरा भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने नयाँ कार्यदिशा समात्यो । विचार÷सिद्धान्त निर्माणको त्यस प्रक्रियामा मैले त्यसमा अगुवाई गरेँ । कमरेड मदन भण्डारीपछि पार्टीको विचारमा तपाईँले गर्दै आउनु भएको नेतृत्वको दाबी र नियन्त्रण सम्भव भएन । मलाई कैयौँ घटना सम्झना छ आठौँ महाधिवेशन अगाडि तपाईँले विचार तथा सिद्धान्तको महत्वका बारेमा कस्ता प्रवचन दिनुहुन्थ्यो । तर आठौँ महाधिवेशनपछि तपाईँले विचार÷सिद्धान्तलाई कसरी अवमूल्यन गर्न थाल्नुभयो भन्ने कुरा तपाईंका पुराना र नयाँ प्रवचन सुन्ने जोसुकैले सजिलै थाहा पाउँछ । मप्रति तपाईंले देखाउँदै आउनुभएको असहिष्णुतालाई मैले यसै सन्दर्भमा बुझेको छु ।’ ओलीले देखाउँदै आएको असहिष्णुताको मूल्य तिर्न आफू तयार रहेको पनि उनले बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिको पदभार पछि चीन जान चाहन्छन् ट्रम्प
-
यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता
-
बीसीसीआईको नयाँ नियमप्रति रोहित शर्माको आपत्ति
-
गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना, नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु
-
इजरायल–हमास युद्धविराम सम्झौता एकाएक समस्यामा
-
जुलाइसम्मको विद्यार्थी भिसाका लागि अमेरिकी दूतावासले तोक्यो ‘अपोइन्टमेन्ट डेट’