शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको ट्वीटले उब्जाएको प्रश्न : संसदको विशेष अधिवेशनका लागि समावेदन दिन तयार नहुने काँग्रेस कि जसपा ?

शुक्रबार, ०३ पुस २०७७, २३ : ३७
शुक्रबार, ०३ पुस २०७७

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदको विशेष अधिवेशनको माग गर्न पार्टीको सिट संख्या नपुगेको बताएका छन्। पार्टीका केही सांसदले संसदको विशेष अधिवेशन लागि पहल कदम चाल्न देउवालाई आग्रह गरिरहेको बेला पार्टीको संसदीय दल कार्यसमिति बैठकपछि देउवाले यस्तो जनाएका हुन् ।

शुक्रबार साझ सभापति देउवाले  ट्वीटरमा लेखेका छन्, 'संसद अधिवेशन बोलाउन मैले पटक पटक पहल गरेको थिएँ।काँग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथीहरुसँग पनि यस विषयमा छलफल भएको थियो। तर ती छलफलले सार्थकता नपाएकाले विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौं ।' 

 


यस्तै काँग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकमा पनि देउवाले गत असारमा हठात अधिवेशन अन्त्य गरिएपछि पार्टीको पदाधिकारी बैठकले विशेष अधिवेशन आह्वानबारे निर्णय गरेको स्मरण गराएका थिए।

प्रधानमन्त्री ओलीले बजेट अधिवेशन अन्त्य भएको घोषणा गरेपछि पार्टीको पदाधिकारी बैठकले कोरोना महामारीबाट देश र जनतालाई बचाउन सरकार असफल भएको, स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा गम्भीर छलफलका लागि संसदको विशेष अधिवेशनको माग गर्ने निर्णय भएकै हो । तर तर, संविधानको धारा ९३ को उपधारा (३) बमोजिम विशेष अधिवेशन बोलाउन आवश्यक २५ प्रतिशत हामीसँग पुग्न सक्ने अवस्था थिएन। बैठकमा  देउवाको ब्रिफिङ थियो ।

 

‘यसका लागि जसपाका उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेताहरुसँग मैले असोजमा  कुरा गर्दा पनि अधिवेशन माग गर्नेबारे छलफलका लागि चासो नै नदेखाएपछि अधिवेशन बोलाउन सकिएन,’ देउवाले प्रस्ट्याएका थिए ।

विशेष अधिवेशनको विषयमा कुरा गरेपनि संसदको उपसभामुख पदमा आँखा लगाएको कारण विशेष अधिवेशन बोलाउनेबारे जसपा तयार नदेखिएको काँग्रेसको आरोप छ ।

यता गत ६ माघमा शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएपछि रिक्त पद अझै पूर्ति हुन सकेको छैन । सभामुख अग्निप्रसाद सापकोटा सत्तारुढ दल नेकपासँग सम्बन्धित भएका कारण पनि संविधानतः उपसभामुख पदमा अब नेकपा बाहेकका दलको दावी रहन्छ । 

यद्यपि नेकपाले जसलाई समर्थन गर्छ, उसैले उक्त पद प्राप्त गर्ने निश्चित छ । सत्ता पक्षलाई रिझाएर उपसभामुख पद हासिल गर्न सकिन्छ कि भन्ने लालचमा जसपाले नरमपन प्रदर्शन गरिरहेको कतिपयको आरोप छ । 

उपसभामुख पदका लागि नेपाली काँग्रेस र जसपा नेपाल आकांक्षी छन् । तर सत्तारुढ दलले उक्त पद कसलाई दिने भनेर निर्णय गरिसकेको छैन ।

संसदमा एक एक जना सांसदको उपस्थिति रहेका राप्रपा, जनमोर्चा र नेमकिपाले उपसभामुख अस्वीकार गरिसकेको अवस्थामा काँग्रेस र जसपामध्ये एउटाले उपसभामुख पद पाउने करिब पक्का छ । देउवाले विशेष अधिवेशन मागका लागि काँग्रेससँग सामर्थ्य नरहेको भन्दै अब तत्काल नियमित संसद अधिवेशन बोलाउन माग गरेका छन् ।  

 


संविधानको धारा ९३ (३) मा संसदको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेको पन्ध्र दिनभित्र बैठक बस्ने गरी राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने उल्लेख छ । संसदको विशेष अधिवेशन बोलाउनका लागि प्रतिनिधिसभामा कूल सांसद प्रतिनिधिसभा २७५ को एक चौथाइ अर्थात ६९ सांसद चाहिन्छ, तर काँग्रेससँग ६३ जना मात्र सांसद छन् ।

 


तीमध्ये पनि काँग्रेस संसदीय दल उपनेता विजयकुमार गच्छदार र सांसद मोहम्मद आफ्ताव आलम निलम्बित हुँदा काँग्रेसले समावेदन दिन ८ जना सांसदको साथ चाहिन्छ । गत असार १८ मा सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्केपछि सरकारले हठात् संसद अधिवेशन अन्त्य गरेको थियो ।

 

त्यही केही दिनमै काँग्रेस र जसपाका शीर्ष नेताबीच देउवा निवास बुढानीलकण्ठमा छलफल भएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधिलाई फोन गरेर छलफलका लागि आग्रह गरेका थिए । 

निधिले काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि वातावरण तय गरेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवले संसदको विशेष अधिवेशन बोलाउन देउवासमक्ष प्रस्ताव राखेका थिए । आफ्नो पार्टीभित्र छलफल संस्थागत निर्णय लिने बचन दिएका थिए ।

तर पछि न जसपाले चासो राख्यो न काँग्रेसले नै । यद्यपि जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने सामाजिक सञ्जालमार्फत संसद अधिवेशन माग गर्दै आएका छन् । उनले संसदको विशेष अधिवेशनका लागि विपक्षी दलले आँट राख्नुपर्नेमा जोड दिँदै आएको पाइन्छ । उनले ‘सत्ताधारी दल सत्ता स्वार्थनिम्ति संसद नबोलाई राष्ट्रपति र प्रधानमन्त्रीको ढाल बन्न उद्यत भएको’ भन्दै  ‘विपक्षी दलहरूले संसद बोलाउने आँट गरौं’ भनेर बुधबार ट्वीट गरेका थिए । संसद्का दुई अधिवेशनमा ६ महिनाभन्दा धेरैको फरक पार्न नपाइने संवैधानिक व्यवस्था भएकाले १७ पुससम्म अधिवेशन बोलाउनुपर्ने बाध्यता छ। 

जसपाले काँग्रेस उदासीनता र ढिलासुस्तीका कारण विशेष अधिवेशन बोलाउन नसकिएको आरोप लगाएको छ । काँग्रेस सरकारको भागबण्डामा लिप्त रहेका बैठक बोलाउन आनाकानी गरिरहेको जसपा नेता राजेन्द्र महतोको आरोप छ । 

‘हाम्रो पार्टी त विशेष अधिवेशन बोलाउने पक्षमै थियो,’ महतोले भने, ‘काँग्रेसको ढिलासुस्तीले अहिलेसम्म माग गर्न सकिएन ।’ तर त्यो छलफलले सार्थकता नपाएकाले विषेश अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न नसकिएको देउवाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप