बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संसद बैठकका लागि समावेदन नदिनुमा यस्तो छ काँग्रेसको ‘इन्टेन्सन’

बालुवाटारबाट बूढानीलकण्ठ पुग्यो सन्देश, काँग्रेस बैठकमा एजेण्डा गायब
शनिबार, २९ कात्तिक २०७७, १४ : २०
शनिबार, २९ कात्तिक २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संघीय संसदको विशेष अधिवेशन बोलाउन तत्काल समावेदन नदिने मनसाय बनाएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरसंघर्षले उग्र रुप लिँदै गर्दा काँग्रेसले पनि ‘पर्ख र हेर’को रणनीति बनाएको देखिन्छ । 

यतिबेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादको सहज मोहल खडा हुन नसक्दा ‘पत्र–युद्ध’को अवस्था सिर्जना भएको छ ।बहुमतको बलमा गत साता सचिवालय बैठक बोलाउन प्रचण्डलगायत ५ नेताले बुझाएको लिखित पत्रको जवाफ ओलीले बिहीबार दिएका थिए ।

प्रचण्डले जिम्मेवारीअनुसार काम नगरेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने ओलीको प्रस्ताव छ । यता ओलीको पत्रको जवाफमा प्रचण्डले ‘इनफ इज इनफ’ भन्दै स्थिति क्षम्य हुन नसक्ने चेतावनी दिएका छन् । प्रचण्डले सचिवालय बैठकमा ओलीमाथि आरोपित गर्दै १९ पेजको प्रतिवेदन पेस गरेपछि बालुवाटारमा त्यसको प्रारम्भिक समीक्षा जारी छ ।


प्रचण्डले पेस गरेको दस्तावेज औपचारिक रूपमा पार्टी विभाजनका लागि आएको ओली पक्षको विश्लेषण छ । यस्तो अवस्थामा काँग्रेस संसदको अधिवेशनको एजेण्डाबाट पछि हटेको बुझिएको छ । 
काँग्रेस स्रोतका अनुसार तत्काल संसद अधिवेशनका लागि हतार नगरिदिन बालुवाटार (प्रधानमन्त्री ओली)बाट बूढानीलकण्ठ ( काँग्रेस सभापति शेरबहादुर देउवा)लाई आग्रह गरिएको छ ।

बालुवाटारको आग्रह र नेकपाभित्रको परिदृष्य नियालिरहेको काँग्रेस सभापति देउवा समावेदनमार्फत संसद बैठक बोलाउने तयारीबाट पछि हटेको बुझिएको छ । १४ असोजमा काँग्रेस सभापति देउवापक्षीय पदाधिकारीको बैठकले नै संसद्को विशेष अधिवेशन आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।


सरकारको अर्कमण्यता र भ्रष्टाचारविरुद्ध छलफल गर्न संसद्को विशेष अधिवेशन माग गर्ने सहमहामन्त्री प्रकाशरशण महतले प्रचार गरेका थिए ।  त्यतिबेला आगामी दिनमा बस्ने केन्द्रीय समिति बैठकले संस्थागत निर्णय गरी विशेष अधिवेशनका लागि संसदीय दलले आवश्यक प्रक्रिया अघि बढाउने भनिएको थियो । तर त्यसपछि पहिलो पटक शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा संसदको विशेष अधिवेशनको एजेण्डा गायव भयो ।
बैठकमा संसदको अधिवेशन सम्बन्धी एजेण्डा प्रस्तुत नभएपछि केन्द्रीय सदस्य गगन थापा र धनराज गुरुङले प्रश्न उठाएका थिए ।

उनीहरु समावेदनमार्फत तत्काल संसद् अधिवेशन बोलाउने प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब पनि दिएको पाइएको छ ।
थापाले रातोपाटीसँग भने, ‘मैले हिजोको बैठकमा संसद बैठकका लागि समावेदन दिने कुरा जोडतोडले उठाएको हो । कसैको मर्जीमा संसद बन्द गरिएको छ । तत्काल संसद बोलाउन पहल गर्नुपर्छ भन्ने मैले कुरा राखेँ ।’
तर केही नेताले संसदको अधिवेशन बोलाउने कुरामा काँग्रेसले हतार गर्न नहुनेमा जोड दिएका थिए । 

संसदको विषयमा हतार नगरौँ भन्नुको पछाडि काँग्रेसको इन्टेन्सन देखिन्छ ।

यसबारे काँग्रेसका एक नेताले भने, ‘अहिले संसद बैठकका लागि समावेदन दियौँ भने संसदको बैठक बस्छ । नेकपाभित्र चलेको झगडा मिलाइदिनेतिर किन लाग्ने ? केपी ओलीले अलग पार्टी बनाउनका लागि अध्यादेश ल्याउनुपर्छ । संसदमा ल्याए पास हुँदैन । काँग्रेस संसद बैठक नबोलाउने रणनीतिमा छ ।’

काँग्रेसमा रणनीतिक हिसाबले काँग्रेस संसदको बैठक बोलाउनेतिर लाग्न हुन्न भन्ने एकथरी नेताहरुको राय छ । तर यतिबेला नेकपाको झगडाभन्दा पनि आम जनताको विषयलाई प्राथमिता दिनुपर्ने पनि मत रहेको पाइन्छ ।
यस मतको प्रतिनिधित्व थापा, गुरुङ, गुरुराज घिमिरेलगायले गरेको पाइन्छ । काँग्रेसको अहिलेको भूमिकाप्रति जनता सन्तुष्ट हुन नसकेको उनीहरुको तर्क छ । विपक्षी दल जनता समाजवादी पार्टीसँग समन्वय गरेर हस्ताक्षर गरेर अगाडि नबढाउनुको पछाडि सन्देह रहेको घिमिरको तर्क छ ।

‘संसद बोलाउन जसपासँग मिलेर संसद बैठक बोलाउने बाध्यकारी बनाउने तहमा हामी किन लागि रहेका छैनौँ ? संसद बोलाउँदा काँग्रेस नेतृत्वलाई के घाटा हुन्छ ? कुनै त्यस्तो अप्ठ्यारो पनि छैन,’ घिमिरेले भने । तर यस्तो विषम परिस्थिमा संसद बैठक बोलाउन सरकारले आलटाल गरिरहेको उनको आरोप छ । 

तर काँग्रेस संसदीय दलले भने विशेष अधिवेशनका लागि काँग्रेस एक्लैको एक चौथाइ संख्या नपुग्ने भएकोले ढिलो भएको तर्क गरेको छ । 

शुक्रबारको बैठकमा पनि गगन थापाले संसदको विशेष अधिवेशनमा जोड दिएपछि सभापति देउवाले बिचैमा काँग्रेसले चाहेर मात्र नहुने जवाफ दिएका थिए ।

संसदीय दलका प्रमुख सचेतक बालकृण खाणले पनि विपक्षी दल जनता समाजवादी पार्टीको पनि समर्थन लिनका लागि अनौपचारिक छलफल भइरहेको बताए ।

संविधानको धारा ९३ (३) मा संसदको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने उल्लेख छ ।

संसदको विशेष अधिवेशन बोलाउनका लागि प्रतिनिधिसभामा कूल सांसद प्रतिनिधिसभा २७५ को एक चौथाइ अर्थात ६९ सांसद चाहिन्छ, तर काँग्रेससँग ६३ जना मात्र सांसद छन् ।

तीमध्ये पनि काँग्रेस संसदीय दल उपनेता विजयकुमार गच्छदार र सांसद मोहम्मद आफ्ताव आलम निलम्बित हुँदा  ८ जना सांसद अपुग रहेकाले काँग्रेसले जसपाको साथ लिनुपर्छ ।


आगामी छठ पर्वपछि मात्र संसदको विशेष अधिवेशन आह्वानका लागि दवाव दिने सकिने खाणको तर्क छ । 

उनले भने, ‘आगामी संसद बैठक बोलाउँदा सभामुख, संसद सचिवालयले पनि यसको सुरक्षा व्यवस्था मिलाउनुपर्छ । विशेष अधिवेशनका लागि अन्य दलहरुको पनि समर्थन चाहिने भएकोले चाडपर्वहरु सकियोस् त्यसपछि अगाडि बढौंला भन्ने कुरा भएको छ ।’ 

जनता समाजवादी पार्टीसँग अनौपचारिक छलफल भएको र आगामी छठपछि निष्कर्षमा पुग्ने प्रमुख सचेतक खाणको भनाइ छ ।

तर काँग्रेसको रणनीति विपक्षी दल जनता समाजवादी पार्टीलाई पनि निको लागेको छैन ।

काँग्रेस उदासीनता र ढिलासुस्तीका कारण अहिलेसम्म जनताको मुखमा ताला लागेको जसपाको भनाइ छ ।

काँग्रेस सरकारको भागबण्डामा लिप्त रहेका बैठक बोलाउन आनाकानी गरिरहेको जसपा नेता राजेन्द्र महताको आरोप छ । 

त्यसैले अझै पनि संसदको विशेष अधिवेशनका लागि काँग्रेस हुनेमा आशंका व्यक्त गरे । ‘काँग्रेस आन्तरिक झगडामै फसिरहेको छ, देशको चिन्ता नै छैन । सरकारसँग भागबण्डामा लागेकै छ । हामीसँग सल्लाह गर्न आयो भने हामी त्यसका लागि तयार नै छौँ,’ उनले भने । 

पार्टीभित्र र प्रतिपक्षी भूमिकामा पनि काँग्रेस निदाएको उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप