शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल थापा काँग्रेस सहमहामन्त्रीमा मनोनित

शुक्रबार, २८ कात्तिक २०७७, १८ : १०
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै काँग्रेस प्रवेश गरेका अन्य  ७  जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । 


रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा)लाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् । 

काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा (४) (१०) (ङ) बमोजिम उनीहरुलाई काँग्रेस केन्द्रीय कार्यसमितिमा समायोजन गरिएको हो । साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी  काँग्रेसमा प्रवेश गरेको थियो । 


यस्तै बैठकले सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय गरेको छ । यस्तै बैठकले क्रियाशील सदस्यताको विवाद विधिसम्मत टुंग्याउने निर्णय गरेको छ । अब मंसिर मसान्तसम्म ७७ वटै जिल्लाले केन्द्रलाई सदस्यताको सूची पठाउने निर्देशन दिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानका कारण क्रियाशील सदस्यताको कार्यतालिका मात्र संशोधन भएको हो । सभापति शेरबहादुुर देउवा र नेता कृष्ण सिटौला पक्षले महाधिवेशनको पूर्ण कार्यतालिका संशोधनमाथि आवश्यकता औल्याएको थियो । 

सभापति देउवाले भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्नेमा जोड दिएका थिए । यता सिटौलाले जेठमा महाधिवेशन हुने गरी पूर्ण तालिका नै संशोधन गरेर ल्याउनु पर्ने अडान राखेका थिए ।

तर पौडेल पक्षले प्रभावित भइसकेको क्रियाशील सदस्यताको कार्यतालिकालाई मात्रै संशोधन गर्ने अडानबाट टसमस हुन चाहेन । पौडेल पक्षले महाधिवेशनको पूर्ण कार्यतालिका संशोधन गर्ने गरी प्रस्तुत भए बैठक बहिस्कारको चेतावनी दिएपछि आजको बैठकमा क्रियाशील सदस्यताको कार्यतालिका संशोधन भएको हो ।

यसअघि क्रियाशील सदस्यता नवीकरण र वितरण भदौ मसान्तसम्ममा केन्द्रमा पठाउने तालिका थियो । मंसिरमा क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न भएमा फागुनभित्रै महाधिवेशन गराउन सकिने तर्क पौडेलको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप