शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘राजदूतमा डा. युवराज खतिवडाको प्रस्तावक प्रचण्ड आफै हुन् !’

खुमलटार निवासलाई गुटको हेडक्वार्टर नबनाउन ओलीको आग्रह (प्रचण्डलाई ओलीको पत्रको पूर्णपाठ)
शुक्रबार, २८ कात्तिक २०७७, २३ : १०
शुक्रबार, २८ कात्तिक २०७७

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री तथा राजदूतहरुको नियुक्ति अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगकै छलफल र सहमतिमा गरिएको दाबी गरेका छन् । ओलीले प्रचण्डलाई लेखेको पत्रमा अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रस्तावक प्रचण्ड आफै भएको पनि जिकिर गरेका छन् ।

‘डा. खतिवडाले आफ्नो निजी इच्छा कूटनीतिक सेवामा जाने नरहेको र पार्टीमा विवाद हुने गरी अब कहीँ पनि नजाने स्पष्ट पार्नुभएको थियो । तर, मैले कमरेड प्रचण्डको प्रस्ताव अनुपयुक्त ठानिनँ,’ ओलीले पत्रमा भनेका छन्, ‘ यसै सन्दर्भमा कार्यकाल सकिनु अगावै निवर्तमान मुख्य सचिवलाई त्यत्तिकै बिदा दिँदा उचित नहुने हुँदा बेलायतको राजदूत बनाउन कमरेड प्रचण्डको सहमतिमा मैले प्रस्ताव गरेका हुँ ।’

त्यस्तै, रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्दा भिन्न–भिन्न धारका पछि हुने पुनर्गठनमा समावेश हुनसक्ने सम्भावित सांसदलाई नियुक्त गर्ने योजना आफू भए पनि सम्भावित सांसदहरुसँग कुरा गर्दा उनीहरु तयार नभएको पनि ओलीले स्पष्ट पारेका छन् ।

फरक प्रशंगमा प्रम ओलीले आफूलाई गडबडीको जिम्मेवार करार गरिरहेका नेतृत्वको शीर्ष तहमा रहेका नेताहरुले नै गुटबन्दी गर्ने, गुटगत एजेन्डा तय गर्ने र त्यसको आधारमा अत्तो थाप्ने काम भइरहेकोबारे पनि आपत्ति जनाएका छन् । ‘मैले यो कुरा स्वयम् अध्यक्ष प्रचण्डलाई दोहर्याइ तेहर्याइ भनेको छु । आफ्नो खुमलटार निवासलाई गुटको हेडक्वार्टर नबनाउन आग्रह गरेको छु । समीकरणको आधारमा दबाब दिन र अंक गणितको आधारमा राजनीतिको हिसाब नगर्न बारम्बार भनेको छु ।’

‘म खासगरी कमरेड प्रचण्डलाई प्रश्न गर्छु – केही दिनको कचपच, एक आले सहमति, त्यसको २–४ दिनपछि फेरि उही कचपच... यो शृङ्खलामा हामी कहिलेदेखि छौँ र कहिलेसम्म रहने ? कमरेडहरु यो ‘तमासा’ बाट आजित हुनुभएको छैन ?’ ओलीले प्रश्न गरेका छन् । उनले अहिलेको सम्पूर्ण समस्याको वास्तविक जड निश्चित शीर्ष नेताहरुको अतृप्त अगस्त्य आकांक्षको प्रतिफल बाहेक केही नभएको पनि बताएका छन् ।

त्यस्तै, ओलीले आफूमाथि प्रश्न गर्ने अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई आफ्नो जिम्मेवारी कति पूरा गर्नुभयो भनेर प्रश्न गरेका छन् ।

ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने जिम्मा पाएका अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्र्दभमा के गर्नुभयो ? भन्दै ‘१५ दिनमा सक्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो ? के मेरा कारण हुन नसकेको हो ?’भनि प्रश्न गरेका छन् ।

‘आफ्नो मान र अभिमान, नियुक्ति र भर्तीका विषयमा बहस गर्ने, आक्रोश पोख्ने र चित्त दुखाउनेभन्दा अरु कुनै विषयमा छलफल गर्न रुची राखेका छौँ र ?’ ओलीले प्रचण्डलाई लेखेको पत्रमा भनिएको छ ।

आफूले आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको स्मरण गर्दै नेकपा ओलीले सहज नेतृत्व हस्तान्तरणको बाटो छाडेर हरबखत नेतृत्व परिर्वतनको चलखेल किन गरेको भनेर अर्को प्रश्न गरेका छन् ।

‘महाधिवेशन प्रतिनिधिबाट चुनिने र आगामी चुनावसम्म नेकपाको भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास टुटिसकेको त होइन ? होइन भने किन सधैँभरि सरकार परिर्वतनको दौडधूप ?,’ ओलीको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप