आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले भन्यो : चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणी

शुक्रबार, २८ कात्तिक २०७७, १९ : १२
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले चिनियाँ आधिकारीक मुखपत्र ग्लोबल टाइम्सको लेखमामा काँग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गरेको भन्दै निन्दा गरेको छ । काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर भारत परस्त पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताए ।  

ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली काँग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली काँग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली काँग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली काँग्रेस सधैं अडिग छ र अडिग रहनेछ, काँग्रेसले भनको छ ।

यसैबीच नेपालस्थित चिनिया दुतावासले नोभेम्वर १३ मा काँग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गरेको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैंत्रीपूर्ण भनेकोप्रति गम्भीर ध्यानाकर्षण भएको काँग्रेसले जनाएको छ ।

काँग्रेस केन्द्रीय समितिको निर्णयमा भनिएको छ, 'जीवनबहादुर शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले ७ वुँदे सार सहितको निष्कर्ष र ति निष्कर्षहरुलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ । यस सम्बन्धमा शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नु पर्ने कामका सम्बन्धमा ३ वुँदे सुझाव र सिफारिश पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ ।'

हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण विषयमा दुई सरकार बीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्य सहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगार नेपाली जनता माझ रहेको आशंका निवारण गर्न भनेको छ ।

सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गरेको काँग्रेसले स्मरण गराएको छ ।  'त्यसकै आधारलाई टेकेर दुई देश बीच एक अर्का बीच अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको छ । आगामी दिनमा पनि पालना गर्नेछ । नेपाली काँग्रेस दुई देशको मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको छ,' विज्ञप्तिमा भनिएको छ ।

शाहीले सार्वजनिक गरेको प्रतिवेदन सम्बन्धमा काठमाडौंस्थित चिनिया राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली काँग्रेस तथा चिनिया सरकार र जनता बीच रहेको मैंत्रीपूर्ण सम्बन्धको महत्व र गरिमा विपरीत भएको काँग्रेसको ठहर छ ।

यो विषयमा दुई देशका संयुक्त टोलीले एतिहासिक तथ्यहरु, भोगचलनको तथ्यहरु, सीमा स्तम्भको स्थिति सबैको मुल्याङ्कन गरेर निक्र्यौलमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको महतले बताए । हुम्लामा नेपाली भू–भागमा अतिक्रमण भएको भन्ने समाचारहरु सार्वजनिक भएपछि नेपाल सरकारको हुम्लामा रहेको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले त्यस सम्बन्धमा प्रतिवेदन दिनु पूर्व नै परराष्ट्र मन्त्रालयले कुनै अतिक्रमण नभएको विज्ञप्ति सार्वजनिक गरेको थियो ।

यस्तै कोभिड संक्रमणका कारण देश आक्रान्त भएको अवस्थामा पनि सरकार बेखबर देखिएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै जनताको उपचारको हकलाई नजरअन्दाज नगर्न बैठकले माग गरेको छ । कृतिम अभाव, महँगी, कोभिड संक्रमणबाट जनता आक्रान्त भएको अवस्थामा जिम्मेवार बन्न सरकारसँग माग गरिएको पनि सहमहामन्त्री महतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप