शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'बुबाको इतिहास मेटाउन खोजेपछि काँग्रेसमा आएको हुँ'

मेरो उद्देश्य नेपाली काँग्रेसलाई नम्बर वान पार्टी बनाउने हो : सुनिल थापासँगको अन्तरवार्ता
शुक्रबार, १६ साउन २०७७, ०९ : ०४
शुक्रबार, १६ साउन २०७७

काठमाडौं । पूर्वमन्त्री सुनिल थापा नेपाली काँग्रेसमा प्रवेश गरेसँगै राजनीतिक बृत्तमा बहस र विवाद जारी छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिलको काँग्रेस प्रवेशले नेपाली राजनीतिक धरातलमा नयाँ बहस र काँग्रेसभित्र विवाद निम्त्याएको छ । सूर्यबहादुर थापाको राजनीतिक विरासत, महाधिवेशनकै मुखमा काँग्रेस प्रवेश, आगामी राजनीतिक यात्रा लगायतका विषयमा केन्द्रित रहेर सुनिल थापासँग गरिएको कुराकानी प्रस्तुत छ :

पारिवारिक विरासत जोडिएको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर काँग्रेस प्रवेशको अवस्था कसरी निर्माण भयो ?

लोकतान्त्रिक गठबन्धन बनाएर हामीले चुनाव लड्यौँ तर हाम्रो पक्षमा नतिजा आएन । धनकुटामा हाम्रा साथी भाइहरु र नेपाली काँग्रेसका साथी भाइहरुबीच बरु हामी एकै ठाउँमा बसेर साम्यवाद र अधिनायकवादसँग लड्न सक्छौँ भन्ने कुरा भयो । त्यसले एकखालको वातावरण सिर्जना गरेको थियो । पछिल्लो समय काँग्रेसका वरिष्ठ साथीहरुले ‘तपाईं आइदिए राम्रो हुन्थ्यो । पार्टीलाई थप ऊर्जा मिल्थ्यो । तपाई संविधानलाई स्वीकार गर्ने व्यक्ति भएको र संविधानप्रति तपाई कटिबद्ध भएकोले तपाई काँग्रेसमा आइदिनु’ भन्ने कुरा भइरहेको थियो ।

यता ०७३ फागुनमा भएको राप्रपा एकता महाधिवेशनपछि स्वर्गीय सूर्यबहादुर थापाले अपनाएका मुल नीति र सैद्धान्तिक पक्ष तथा राजेश्वर देवकोटाले अपनाएको उदारवादलाई पार्टीले छोड्दै आएको थियो ।

२०७६ फागुनमा एकीकरण हुँदा स्वर्गीय थापाले लिनुभएको तीनवटा मुल नीतिबाट राप्रपा बिचलित हुनपुग्यो । बृहत् लोकतान्त्रिक शक्तिको एकता, परिवर्तनलाई आत्मासात् र उदारवादलाई हालैको एकीकरणले समेत ‘डम्प’ गरिदियो र नेपालको संविधान विपरीत पार्टीले कार्यनीति लियो ।


हिजो हामीलाई स्पेस नदिएकोमा उहाँहरुलाई पछुताउनु परेपछि यो विरासतको कुरा निकाल्नु भएको हो । त्यसो हो भने पार्टीले उहाँ (सूर्यबहादुर) को सैद्धान्तिक पक्षलाई किन नलिएको त ? पार्टीलाई जीवन्त राख्ने त सैद्धान्तिक पक्षले हो नि ? किन उहाँहरुले त्यसलाई मार्नुभयो ? किन निषेध गर्नु भयो ? त्यसैले म जहाँ हुन्छु, त्यहीँ ठाउँमा विरासत पनि हुन्छ । म जहाँ बस्छु, त्यहीँबाट बिरासत अगाडि लिएर जान्छु ।


संविधानलाई राप्रपा र राप्रपा नेपालले स्वीकार गरेकै हुन् । राप्रपाका अध्यक्षले नेपालको संविधान उत्कृष्ट भनेर बढाई पनि गर्नुभयो । तर अहिले आएर त्यसलाई पुरै ‘युटर्न’ गरेर संविधानको मर्म र भावना विपरीत पार्टीलाई उभ्याउने काम भयो । साथसाथै जनताले चाहेको परिवर्तनलाई चट्ट छोडेर यो पार्टी दक्षिणपन्थी धारमा लान खोजियो । यसरी पार्टी अटाउन नसक्ने वातावरण बनाइदिएपछि हामी बाहिरिएका हौँ ।

स्वर्गीय सूर्यबहादुर थापाको नीति र सिद्धान्त भनिरहँदा उहाँको विरासत तपाईले समाप्त पारिदिएको राप्रपाका नेताहरुको आरोप छ नि ?

म जहाँ उभिन्छु, सूर्यबहादुर थापाको विरासत मसँगै जान्छ । सूर्यबहादुर थापाको छोरो म नै हो नि । अरु त होइन । अहिले मलाई होच्याउनका लागि उहाँहरुले यस्तो भन्नु भएको हो ।

हिजो हामीलाई स्पेस नदिएकोमा उहाँहरुलाई पछुताउनु परेपछि यो विरासतको कुरा निकाल्नु भएको हो । त्यसो हो भने पार्टीले उहाँ (सूर्यबहादुर) को सैद्धान्तिक पक्षलाई किन नलिएको त ? पार्टीलाई जीवन्त राख्ने त सैद्धान्तिक पक्षले हो नि ? किन उहाँहरुले त्यसलाई मार्नुभयो ? किन निषेध गर्नु भयो ? त्यसैले म जहाँ हुन्छु, त्यहीँ ठाउँमा विरासत पनि हुन्छ । म जहाँ बस्छु, त्यहीँबाट बिरासत अगाडि लिएर जान्छु ।

सूर्यबहादुर थापाका नीति र सिद्धान्त काँग्रेसमा बसेर अगाडि बढाउन सम्भव होला र ?

उहाँले बोकेका कुराहरु नेपाली काँग्रेससँग मिलजुल हुन्छ । किनभने उहाँले ‘माओवादी राष्ट्रिय राजनीतिमा आइसकेपछि अब नेपालमा लोकतान्त्रिक शक्ति एक ठाउँमा भएर शक्ति सन्तुलन मिलाउनुपर्छ, होइन भने साम्यवाद र अधिनायकवाद हावी हुन्छ यो देशमा’ भन्नुभएको थियो । त्यसका लागि बुहत् लोकतान्त्रिक शक्तिको मोर्चा नेपाली काँग्रेसको नेतृत्वमा हुनुपर्छ भनेर उहाँले भन्नुभएको थियो । दोस्रो कुरा, परिवर्तनलाई आत्मासात् गरेर जानुपर्छ भन्ने कुरा । अहिले नेपाली काँग्रेसले पनि त्यही अपनाएको छ नि !

राप्रपाले सूर्यबहादुर थापाको सबै कुरा मेटाउन चाहने र उहाँको इतिहासलाई समाप्त गर्न खोजिरहेको बेलामा म अटाउने काँग्रेस नै भएकाले म यो पार्टीमा आएको हुँ ।


मैले कमल थापा, पशुपति शम्शेर र प्रकाशचन्द्र लोहनीको बारेमा तपाईहरु तीनजना मिलेर एकताको अधिवेशनमा एक जनालाई उठाउनु भएन भने म कमल थापालाई शंकाको सुविधा अनुसार साथ दिन्छु भनेको थिएँ । पशुपतिजी र सूर्यबहादुर थापा एकै ठाउँबाट आएकाले र उहाँहरु परिवर्तनकै पक्षमा भएकाले कमल थापाबाट छुट्टिएर सँगै बसेका हौँ ।


तपाईँ लामो राजनीतिक अनुभवभन्दा पनि जागिरे जीवनबाट राप्रपाको राजनीतिमा होमिनु भयो । राप्रपाभित्रै रहँदा पनि कहिले कमल थापा निकट, कहिले पशुपति शम्शेर त कहिले कता लागेर अस्थिर भइरहनुभयो । जागिरे पृष्ठभूमिले तपाईलाई स्थिर हुन नदिएर काँग्रेससम्म पु-याएको भन्ने छ नि ?

त्यो भन्नेहरुलाई म चुनौती दिन चाहन्छु । मलाई भन्नुप-यो यो–यो ठाउँ भनेर । मैले कमल थापा, पशुपति शम्शेर र प्रकाशचन्द्र लोहनीको बारेमा तपाईहरु तीनजना मिलेर एकताको अधिवेशनमा एक जनालाई उठाउनु भएन भने म कमल थापालाई शंकाको सुविधा अनुसार साथ दिन्छु भनेको थिएँ । पशुपतिजी र सूर्यबहादुर थापा एकै ठाउँबाट आएकाले र उहाँहरु परिवर्तनकै पक्षमा भएकाले कमल थापाबाट छुट्टिएर सँगै बसेका हौँ ।

यति भनिरहँदा पनि काँग्रेसमा तपाईको आगामी यात्राको निरन्तरतामाथि आशंका देखिन्छ, यसलाई कसरी चिर्नुहुन्छ ?

कुनै कालखण्डमा कोही जागिरे भए पनि केही न केही अनुभव बोकेर ल्याएको हुन्छ । म मन्त्री भएको बेला आयल निगम कुन हालतमा र कस्तो थियो ? नेपालको ट्रेड कुन स्थितिमा थियो ? प्रशासनिक क्षमता भएको मान्छे भए राजनीतिलाई फाइदा हुन्छ । संयुक्त राष्ट्रसंघमा पनि कुटनीतिक राजनीतिकै कुरा हुन्छ । मैले लामो समय त्यहाँ बिताए, अनुभव लिएर आएँ नि ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा बर्दियामा ठूलो बढी जाँदा मलाई पठाउनुभयो । पछिल्लो समय भूकम्प जाँदा त्यत्रो ठूलो लजिस्टिक सपोर्ट राष्ट्र संघको अनुभवले गर्दा पाइयो, एक जना पनि खान नपाएर मर्नुपर्ने अवस्था आएन ।

विकट ठाउँमा पनि खाद्यान्न पुर्याउन सफल भएँ । अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन प्रणाली ल्याएँ । त्यसले कसलाई फाईदा भयो ? म जुन राजनीतिक पार्टीमा हुन्छु, उसैले फाइदा लिने हो नि । त्यतिबेला राप्रपाले फाइदा लिन नसके पनि समग्रमा राष्ट्रलाई फाइदा भयो नि । जागिरे मानसिकताभन्दा पनि ब्युरोक्रेटिक्स नम्सले राजनीतिलाई आत्मासात् गर्दै काम गर्न सकिन्छ ।

राप्रपाबाटै तपाईँ सांसद बन्नु भयो, मन्त्री पनि बन्नुभयो, राष्ट्रिय राजनीतिमा आफूलाई उभ्याउनु भयो । सबै थोक पाएको पार्टीबाट किन बाहिरिनु भयो ? राप्रपालाई नै सशक्त बनाएर नेता बन्ने अवसर पनि तपाईँमा थियो नि ?

त्यो अवस्था नभएपछि मै निस्किएको हुँ । जुन ठाउँमा आफूलाई सहज हुँदैन, त्यहाँ राजनीति गर्न गाह्रो हुन्छ । अर्को कुरा, राजनीतिलाई भावनासँग जोड्न हुँदैन । राजनीति यथार्थमा आधारित हुनुपर्छ । राप्रपाले लोकतान्त्रिक मान्यतालाई बोक्न नसकेपछि त्यो पार्टीमा बस्नु कुनै औचित्य हुँदैन । किनकि त्यो पार्टीले नै युटर्न लिइसकेको छ । त्यसकारण म भावनाभन्दा पनि म यथार्थमा विश्वास गर्ने मान्छे हुँ ।

मैले पदकै लागि राजनीति गर्ने हो भने राप्रपाले मलाई जुनसुकै पद पनि दिन सक्थ्यो । मैले पद र सहजताका लागि मात्र राजनीति गरेको होइन ।

आगामी दिनमा राप्रपाबाट कुनै अवसर पाउने अवस्था नभएपछि तपाई काँग्रेसतिर लाग्नु भयो भन्ने भनाइलाई कसरी लिनु भएको छ ?

त्यस्तो होइन । लोकतान्त्रिक संस्थाहरु कमजोर भएको अवस्थामा राप्रपाले कुनै भूमिका देखाउन नसक्दा र नेपाली काँग्रेसलाई सशक्त बनाएर पावर व्यालेन्स गर्न काँग्रेसमा मेरो प्रवेश भएको हो । भोलि नेपाली काँग्रेसलाई एक नम्बर पार्टी बनाउने उद्देश्य लिएर म अघि बढेको छु ।

काँग्रेस आफै यतिबेला विवादको चक्रमा छ । एजेण्डामाथिको बहसभन्दा भागबण्डाको लडाईँ चलिरहेको छ । यस्तो अवस्थामा काँग्रेस कसरी एक नम्बर पार्टी बन्छ र ? कसरी एक नम्बर बनाउनु हुन्छ काँग्रेसलाई ?

नेपाली काँग्रेसमा मेरो एक खालको स्थान रहन्छ । काँग्रेसको महाधिवेशन आइरहेको छ । सबै किसिमका एजेण्डामा छलफल भएर पार्टीलाई कसरी सफल बनाउने भन्ने निकास निस्कन्छ ।

तपाईको पार्टी प्रवेशबारे काँग्रेसभित्र मतभेद देखिन्छ । तपाईले सोचेजस्तो सहज होला र ?

काँग्रेसजस्तो ठूलो लोकतान्त्रिक पार्टीमा यस्ता कुरा चलिरहन्छन् । यस्तै भएर त काँग्रेस सशक्त पार्टी भएको छ । अर्को कुरा, पार्टी प्रवेशको परिदृष्य देखिहाल्नु भएको थियो । त्यहाँ को–को आए त हामीहरुलाई स्वागत गर्न भन्ने कुराले नै सबै देखाउँछ ।


सुनिल थापाले पद मागेको छ भनेर कसैले भनेको छ ? मैले त पद छोडेर आएको छु । मलाई पदको लोभ होइन । हिजोदेखि अहिलेसम्म पनि म बसेको मालीगाउँको घर पावर सेन्टर हो । म कुनै पद र पावरका लागि काँग्रेस गएको होइन । हामी सबैजना उच्च कार्यसम्पादन समितिका सदस्य थियौँ ।


काँग्रेसमा लामो समय योगदान दिएको नेताहरुलाई अनुशासनको कारबाही गरिएको बेला तपाई पार्टीमा प्रवेश गर्नुभयो । अर्को कुरा, महाधिवेशनको मुखमा समय उपयुक्त भएन भन्ने लागेन ?

राजनीति गर्ने मान्छेले सबै चुनौतीलाई सामना गरेर अगाडि बढ्नुपर्ने हुन्छ । महाधिवेशनमा मिलेर जानुपर्ने भन्ने नीति लिएरै म काँग्रेसमा होमिएको हुँ । म अवसरवादी भएर पद चाहेको भए त काँग्रेसको महाधिवेशनपछि प्रवेश गथ्र्यौँ होला । त्यो होइन । अहिले मेरो लागि मौका हो । राजनीति गर्ने मान्छेले सबै कुराको लेखाजोखा गरेर जानुपर्छ भनेर म र मेरा साथीहरु महाधिवेशनको मुखमा काँग्रेसभित्र छिरेका हौँ ।

राप्रपाको पछिल्लो एकीकरणमा उपयुक्त स्थान नपाएर व्यक्तिगत इगोका कारण तपाईँ काँग्रेसतिर लाग्नुभएको आरोपबारे के भन्नुहुन्छ ?

होइन, होइन । सुनिल थापाले पद मागेको छ भनेर कसैले भनेको छ ? मैले त पद छोडेर आएको छु । मलाई पदको लोभ होइन । हिजोदेखि अहिलेसम्म पनि म बसेको मालीगाउँको घर पावर सेन्टर हो । म कुनै पद र पावरका लागि काँग्रेस गएको होइन । हामी सबैजना उच्च कार्यसम्पादन समितिका सदस्य थियौँ ।

तपाईँसहित ४०/४५ जना काँग्रेसमा आउनु भएको छ । आगामी दिनमा राप्रपाबाट अन्य नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्छन् ?

कोरोनाको महामारीका कारण पार्टीभित्र साथीभाइहरुसँग व्यापक छलफल हुन सकेन । मैले राप्रपाबाट राजीनामा दिएपछि ७७ जिल्लाका साथीभाइहरुको बडो चासो थियो । तपाईँसँग जान पाए हुन्थ्यो, हामी पनि यो पार्टीमा अट्न सक्दैनाँै भनेर धेरैले गुनासो गरिरहेको अवस्था छ । कतिले पार्टी छोडी पनि सक्नु भएको छ । कतिको छोड्ने क्रम जारी छ । राप्रपामा रहेका परिवर्तनलाई आत्मासात् गर्ने साथीभाइहरु विस्तारै नेपाली काँग्रेसमा आउनुहुन्छ ।

६ दशकपछि काँग्रेससँग फेरि गाँसिएको साइनोलाई जोगाइराख्न काँग्रेसको नीति, सिद्धान्त र संस्कारलाई आत्मासात् गर्न कति सहज हुने देख्नुभएको छ ?

नयाँ घरमा प्रवेश गरेपछि ओछ्यान मिलाउनु प-यो, सबै मिलाउनु प-यो । त्यसमा घुलमिल हुन समय त लाग्छ । अर्को कुरा, हामी सबैले सहजै ठानेर काँग्रेस प्रवेश गरेका हौँ । काँग्रेसमा अन्यथा हुन्छ भन्ने सोचेका छैनौँ । बाँकी जीवनका क्षण नेपाली काँग्रेसप्रति नै समर्पित गर्ने अठोट गरेका छौँ ।

हिजोको दिनमा राप्रपाबाट काँग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरु धेरै दिन काँग्रेसमा टिक्न नसकेको अवस्था छ । ०५२ मा काँग्रेस छिरेका केशरबहादुर विष्ट केही समयमै बाहिरिएका थिए । तपाई सजिलै काँग्रेसको संस्कारमा रुपान्तरित हुन सक्नुहुन्छ ?

रुपान्तरित हुन सकिन्छ भनेर पार्टी प्रवेश गरेको हुँ । अरुको बारेका मैले ठेक्का लिने कुरा भएन । उहाँहरु के कारणले जानु भयो, के कारणले निस्किनु भयो भन्ने कुरा मेरो बसको कुरा होइन । मेरो र मेरा साथीहरुको प्रतिबद्धता छ । हामी रुपान्तरित हुन्छौँ भनेर नै काँग्रेसमा गएका हौँ ।


बाबुराम बस्नेत भोजपुरमा चुनाव लडेका मान्छे हुनुहुन्छ । पछिल्लो चुनावमा उहाँले १ हजार मतले मात्र हार्नु भएको थियो । विश्वविक्रमजी पटक पटक चुनाव जितेर मन्त्री हुनु भएको मान्छे हो । रामकृष्ण भट्टराई विराटनगरको प्रधानपञ्च भइसकेको मान्छे हुनुहुन्छ । बृषलाल यादवजीको पनि ठूलो जनमत छ । हामीसँग आएका मान्छे जनमत भएकै हुनुहुन्छ ।


तपाईँसँग काँग्रेसमा आएका नेताहरु जनाधार नरहेको र पार्टी सभापतिले ठूलो तामझाम गरेर प्रवेश गराएको भनेर काँग्रेसभित्र विवाद छ । यस्तो अवस्थामा तपाईलाई काँग्रेसमा घुलमिल गर्न चुनौती हुने देखिन्छ नि, होइन ?

चुनौती त जहाँ पनि हुन्छ । राप्रपामा बस्दा पनि चुनौती नै हुन्थ्यो । चुनौतीलाई सामना गर्नुपर्छ । मसँग आएका सबै साथीहरु जनमत भएकै छन् ।

बाबुराम बस्नेत भोजपुरमा चुनाव लडेका मान्छे हुनुहुन्छ । पछिल्लो चुनावमा उहाँले १ हजार मतले मात्र हार्नु भएको थियो । विश्वविक्रमजी पटक पटक चुनाव जितेर मन्त्री हुनु भएको मान्छे हो । रामकृष्ण भट्टराई विराटनगरको प्रधानपञ्च भइसकेको मान्छे हुनुहुन्छ । बृषलाल यादवजीको पनि ठूलो जनमत छ । हामीसँग आएका मान्छे जनमत भएकै हुनुहुन्छ ।

तपाईको समूहको प्रवेशले काँग्रेसलाई कुन ठाउँमा के राहत हुन्छ ?

अहिले हामी केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्यमात्र काँग्रेसमा आएका छौँ । जिल्लाबाट आउन बाँकी नै छ । सबै प्रक्रिया सकिएपछि काँग्रेसलाई कसरी बलियो बनाउछौँ, अहिले काल्पनिक कुरा गर्नु उचित हुँदैनजस्तो लाग्छ ।

काँग्रेस प्रवेश गर्दा के कस्तो सम्झौता गरेर आउनु भएको छ ? आगामी दिनमा राप्रपाबाट काँग्रेसमा आउनु चाहनेका लागि तपाईले के कस्तो सहजीकरण गर्नुहुन्छ ?

हामीले कुनै पनि लिखित प्रतिवद्धता गरेका छैनौँ । हामी विश्वासको भरमा काँग्रेसलाई नम्बर वान पार्टी बनाउने हिसाबले निःस्वार्थ पार्टीभित्र पसेका छौँ । पदका लागि पनि कुनै माग गरेका छैनौँ । हामी हालसालै काँग्रेसमा पदको राजनीति गर्न गएका होइनौँ । हामी सबैसँग मिलेरअघि बढ्छौँ ।


जीवनको लामो यात्रामा केही एपिसोडले मात्र बिपी र सूर्यबहादुरको सम्बन्ध राम्रो भएन भन्ने होइन । उहाँहरुबीच सम्बन्ध राम्रो नै थियो । बिपी कोइरालाले राजनीतिक उचाई लिइसकेका बेला बुबा त राजनीतिमा भरखर प्रवेश गर्नु भएको थियो ।


महाधिवेशनको मुखमा तपाईको प्रवेशले काँग्रेसमा एउटा पक्ष सशंकित देखिएको छ । उनीहरु मन कसरी जित्नुहुन्छ ?

ठूलो पार्टीमा जति मान्छे आयो, त्यतिनै फाइदा हुन्छ, घाटा हुँदैन । कोही सशंकित हुनुपर्ने आवश्यकता पनि छैन । हाम्रो आ–आफ्नो स्पेस नै हुन्छ । हामी काँग्रेसका सबैसँग विश्वासका साथ अगाडि बढ्छौँ । हामी कसैलाई सशंकित हुने ठाउँ पनि दिँदैनौँ, समय पनि दिँदैनौँ । त्यसले कसैलाई फाइदा गर्दैन ।

काँग्रेसका संस्थापक नेता बिपी कोइराला र तपाईका पिता सूर्यबहादुर थापाको सम्बन्धको पनि चर्चा हुने गरेको छ । त्यसलाई कसरी लिनुभएको छ ?

जीवनको लामो यात्रामा केही एपिसोडले मात्र बिपी र सूर्यबहादुरको सम्बन्ध राम्रो भएन भन्ने होइन । उहाँहरुबीच सम्बन्ध राम्रो नै थियो । बिपी कोइरालाले राजनीतिक उचाई लिइसकेका बेला बुबा त राजनीतिमा भरखर प्रवेश गर्नु भएको थियो ।

भोलिको दिनमा राप्रपा नै काँग्रेसमा समाहित हुने देख्नु भएको छ ? त्यो कति सम्भावना छ ?

यसबारे मैले केही पनि सोचेको छैन । यसबारे कमेन्ट गर्न सक्दिनँ ।

काँग्रेसमा तपाईहरुको व्यवस्थापन कहिलेसम्म हुने कुरा छ ?

यो सबै सभापतिज्यूलाई छोडिएको छ । उहाँले हाम्रो क्षमता र दक्षता अनुसार व्यवस्थापन गर्नुहुनेछ भन्ने विश्वास गरेका छौँ ।

तपाई वैदेशिक मामिलाको मसिनो ढंगले अध्ययन गर्ने नेता हो । वर्तमान सरकारको कुटनीतिक गतिविधिलाई कसरी नियाल्नु भएको छ ?

सरकारले असंलग्न परराष्ट्र नीति विपरीत उभिएर कुटनीतिक गतिविधि भइरहेको छ । सरकारले ठोस परराष्ट्र नीति लिएको छैन ।

जसले गर्दा छिमेकी र दातृ राष्ट्रहरुसँग केही असमझदारी भएको हो कि भन्ने देखिन्छ ।

यसले मुलुकलाई दीर्घकालीन रुपमा कस्तो असर पर्ने देख्नुभएको छ ?

यसले ठूलो प्रभाव पार्छ । तत्काल प्रभाव नदेखिए पनि विस्तारै अनेक किसिमका समस्या निम्त्याउँछ । त्यसलाई हामीले वुद्धिमतापूर्ण रुपमा लिन सकेनौँ भने भोलि ठूलो समस्या खडा हुन्छ ।

अन्तिमका केही भन्नु छ ?

नेपाल अहिले असहज परिस्थितिमा गुज्रिरहेको छ । सबै राजनीतिक दलमा समस्या छ । जनताले ठूलो आशा गरेको सत्तारुढ पार्टी पनि भताभुंग हुने अवस्था छ । साम्यवाद र अधिनायवादलाई रोक्ने शक्ति नेपाली काँग्रेस हो । विशेष गरेर राप्रपामा हुने सम्पूर्ण साथीहरुलाई शक्ति सन्तुलनका लागि नेपाली काँग्रेसमा आबद्ध हुन आह्वान गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप