शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोंगबु विभत्स हत्याकाण्ड : कुकुरले सुँघेर पत्ता लगाएको थियो अर्कै ठाउँमा भेटिएको टाउको र खुट्टा

प्रहरीलाई खबर गर्ने स्थानीय भन्छन्– ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेश थियो
आइतबार, २५ साउन २०७७, १३ : ३२
आइतबार, २५ साउन २०७७

काठमाडौँ । आइतबार बिहान गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सुटकेश भेटियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा थियो सो, सुटकेश । उक्त सुटकेशलाई बाहिरबाट रातो प्लाष्टिकले बेरिएको थियो । 

धर्मस्थली घर भई टोखा नगरपालिका–१० विश्वज्योती मार्ग बस्दै आएका नारायणमान खड्गीले आइतबार बिहान अन्दाजी ७ बजेको समयमा उक्त सुटकेश देखे । आफ्नो कोठा नजिकै उक्त सुटकेश भेटिएछि उनले प्रहरीमा खबर गरेका थिए । सुटकेश भेटिएको साइडमा खड्गीको इलेक्ट्रिक पसल समेत रहेको छ । 

‘सुटकेश नजिक गएर हेर्दा आसपासमा आलो रगतका टाटा देखें,’ खड्गीले रातोपाटीसँग भने, ‘रगत देखेपछि १०० मा फोन गरेर प्रहरीलाई र वडा कार्यालयमा खबर गरें ।’ 

उनले रातोपाटीसँगको कुराकानीमा भने, ‘खबर गरेको एकछिनमा एकजना प्रहरी हवल्दार आउनुभयो । हामी दुई जना मिलेर उक्त सुटकेश खोलेर हेर्यौं । टाउको र खुट्टा नभएको अवस्थामा मान्छेको शव रहेछ । ती हवल्दारले माथि जानकारी गराएपछि काठमाडौँ प्रहरी प्रमुख र महानगरीय अपराध महाशाखा प्रमुख घटनास्थल आउनुभएको हो ।’

स्थानीय नारायणमान खड्गी

प्रहरीले त्यतिबेलासम्म घटनास्थल सिल गरेको खड्गी बताउँछन् । घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र भेटिपछि खुट्टा र टाउको खोज्न प्रहरी परिचालन भयो । प्रहरीले फेला नपरेपछि डग स्कुलबाट कुकुर झिकाइयो । 

अन्ततः कुकुरले ३०० मिटरको दुरीमा फलिएको अवस्थामा टाउको र खुट्टा फेला पार्यो । खड्गी भन्छन्, ‘कुकुरले सुँघ्दै टाउको र खुट्टा कालो प्लाष्टिकमा बेरेर फालेको अवस्थामा स्वर्गद्धारी मार्गबाट फेला पारेको हो ।’ 

खड्गीका अनुसार टाउको र खुट्टा फेला पारेपछि पनि कुकुर भण्डारी चोकसम्म पुगेको थियो । ‘भण्डारी चोकबाट उता जना सकेन । त्यहीबाट फर्कियो,’ खड्गीले भने । यद्यपी त्यतिबेला सयौंको संख्यामा घटनास्थल वरपर प्रहरी परिचालन भइसकेको थियो । 

राति १ बजे आवाज आएको थियो
खड्गीका अनुसार उक्त स्थानमा राति १ बजेको समयमा ड्याङ आवाज आएको थियो । घर अगाडि पसल भएको कारण तोडफोड भयो कि भनेर उठेर समेत हेरेको खड्गीले बताए । उनले भने, ‘२ जना मान्छे चाहिँ देखेको थिएँ । राती ट्याक्सी र गाडी पनि त्यही थियो ।’

बिहान उठेर हेर्दा गाडी र ट्याक्सीको बीचमा कसले फोहोर फालेछ भनेर हेर्न खोज्दा वरपर रगतको टाटा देखेको खड्गीले बताएका छन् । उनले भने, ‘वरपर म आफै सफा गर्छु । कसैले फोहोर फालेछ कि भनेर चासो दिएकाले सुटकेश हेर्न खोज्दा रगतको टाटा देखेको हुँ ।’

घटनास्थलमा देखिएको रगतका टाटा ।

हत्या अन्तै भएको हुनसक्छ
घटनास्थलमा प्रहरीले सेतो बोराको नाम्लो समेत बरामद गरेको छ । अन्त हत्या त्यहाँ नाम्लाले बोकेर ल्याएर त्यहाँ फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक प्रहरी अधिकृत भन्छन्, ‘यद्यपी गाडीमा ल्याएर फालेको भए नाम्लो किन प्रयोग गथ्र्यो होला र ?’

स्थानीय छिलोमी शेर्पाले बिहान डेरीमा दुध किन्न आउँदा सुटकेशसँगै नाम्लो पनि देखेको बताइन् । शेर्पा भन्छिन्, ‘रातो प्लाष्टिकले बेरेर फालिएको कालो सुटकेशमाथि नाम्लो पनि थियो ।’

घटनास्थल वरपर सीसीक्यामेरा छैन
शव भेटिएको विपरित दिशामा सर्लाही होलसेल किराना पसल र पोखरा टप ज्वेलर्स रहेको छ ।  शव फेला परेको ठाउँ दुईवटा बाटोबाट पुगिन्छ । तर, उक्त एसियाभित्र कतै पनि सीसी क्यामेरा छैन । 

प्रहरी भन्छ, ‘उक्त क्षेत्रमा कतै पनि सीसीक्यामेरा छैन । बाहिरी सडकमा भएपनि भित्र गल्लीमा नभएकाले अनुसन्धनमा गाह्रो हुनसक्छ ।’ प्रहरीले धेरैजसो घटना सीसीक्यामेराको सहयोगबाट सुल्झाउने गरेको छ । 

महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष केही दिनदेखि सम्पर्कबिहीन भएको खुलेको बताएका छन् । यद्यपी ती व्यक्तिको पहिचान उनले खुलाएका छैनन् । अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले थप बोल्न मानिरहेको छैन । 

ती पुरुषको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको थापाले बताए ।

ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टाउको एक ठाउँमा र शरीर टुक्राटुक्रा पारेर फालिएको अवस्थामा अर्को ठाउँमा भेटिएपनि रातोपाटीलाई प्राप्त तस्बिरअनुसार उनको टाउकोपट्टीको भागमा भने कुनै चोटपटक देखिएको छैन । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप