बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

ओलीसँग वार्ता गर्न प्रचण्डलाई जिम्मेवारी, ओली बिनाको बैठकमा २९ स्थायी समिति सदस्य सहभागी

मङ्गलबार, १३ साउन २०७७, १६ : ०२
मङ्गलबार, १३ साउन २०७७

प्रधानमन्त्री केपी शर्मा ओली बिनै बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ । स्थायी समिति सदस्यहरुले पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको बताएका छन् । 
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले विधान विपरित ओलीले एकलौटी ढंगले बैठक स्थगित भएको सूचना प्रवाह गर्नु अनुचित भएको निष्कर्ष निकालेका हुन् । 
यसअघि नै स्थायी कमिटीले आज बैठक बस्ने निर्णय गरेपनि विधान विपरित अर्का अध्यक्ष ओलीले स्थगित भएको सूचना प्रवाह गर्नु उचित नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

 अध्यक्ष ओलीले वैठक स्थगित भएको सूचना प्रवाह गरेपछि दाहाल—नेपाल समूहका स्थायी समिति सदस्यहरुले अध्यक्षद्वयबीच थप छलफल गरी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी दिने निर्णय पनि गरेको उनले बताए ।  प्रचण्डलाई नै अब ओलीसँग वार्ता गरेर सहमति जुटाउन जिम्मेवारी दिइएको छ । 

श्रेष्ठले बैठकपछि भने, ‘अध्यक्ष कमरेड केपी ओलीले बैठक रोक्ने सूचना प्रशारित गर्नु पार्टी विधानविपरीत र अनुचित भएको थियो । आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको एकता रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडी बढाउन र वर्तमान संकटलाई निकास दिन आ—आफ्नो भूमिका खेल्न पनि बैठकले नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । 

बैठकमा निर्णय गर्नुअगाडी अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई बैठकमा सहभागी हुन आग्रह गरेपनि ओलीले अस्वीकार गरेको उनले बताए । 

आफूले यसअघि नै बैठक स्थगित गरेकाले उपस्थित हुन नसक्ने जवाफ ओलीले दाहाल र खनाललाई दिएका थिए ।  प्रवक्ता श्रेष्ठले आगामी बैठकको मिति तय नभएको बताए । 

पार्टीमा देखा परेको संकटलाई धैर्यताका साथ विवेकले समाधान गर्न अध्यक्षद्वयबीच छलफल जारी राखेर हर हालतमा एकताको रक्षा गर्नेगरी अगाडी बढ्ने उनले बताए ।  पार्टी एकताको रक्षा गर्दै केन्द्रीय कमिटिले निर्णय गरेअनुसार महाधिवेशनको तयारी थालिने पनि उनले बताए । बैठकमा २९ जना स्थायी समिति सदस्य र दुईजना आमन्त्रित सदस्य गरी ३१ जनाको सहभागिता रहेको थियो ।

पार्टीभित्र विवाद बढ्दै गएपनि उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे मध्यमार्गी प्रस्ताव समेत अघि सारेका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप