शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले एक पद छाड्नैपर्ने खुमलटार बैठकको निष्कर्ष

अब बल ओलीको ‘कोर्ट’मा
सोमबार, ०५ साउन २०७७, १३ : १८
सोमबार, ०५ साउन २०७७

काठमाडौं । पार्टीभित्र विवाद चुलिँदै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् । प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी समिति सदस्यहरुसँग पनि यसै विषयमा छलफल गरेका थिए । 

लगत्तै सोमबार बिहान उनले पूर्वमाओवादी केन्द्रतर्फका स्थायी समिति सदस्यहरुसँग झण्डै तीन घण्टा छलफल गरेका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्र देखिएको विवादको समाधान गर्न प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ । 


‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएको नाताले उहाँले नै निकास दिनुपर्छ र पार्टी एकतालाई पनि बचाउनुपर्छ । त्यसका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्छ भन्ने कुरामा नेताहरु एकमत देखिनुको भएको छ’, ती नेताले रातोपाटीसँग भने, ‘उहाँ ओलीजी प्रतिपक्षजस्तो बन्नुभएन, घुर्की लगाउनुभएन । बैठक नराख्ने र राखेपनि बीचमै छोड्ने त कहिले महाधिवेशनको कुरा ल्याएर समस्या समाधान नभई पन्छाउने प्रयासमा लाग्नुभएको छ । यो प्रवृत्तिले निकास आउँदैन । त्यसैले उहाँले नै निकास दिन जरुरी छ । त्यसमा रोज्ने जिम्मा उहाँलाई छ, बल उहाँकै कोर्टमा छ ।’

नेकपाको स्थायी समिति बैठक भोलि मंगलबार बस्दैछ । बैठकअघि रणनीति बनाउन प्रचण्डपक्षका नेताहरुबीच छलफल भएको हो । ‘पार्टी फुट्नु हुँदैन । पार्टी र सरकार दुवै चल्नुपर्छ । त्यसका लागि विधानको पालनमा जोड दिनुपर्छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल भयो’, स्थायी समिति सदस्य लिलामणि पोखरेलको भनाइ छ । 

त्यस्तै पार्टी एकता बलियो बनाउने, एकता प्रक्रियालाई टुंग्याउने र महाधिवेशनबारे बाहिर भएका चर्चा लगायतका विषयमा छलफल भएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 
‘यस्ता छलफल नेताहरुबीच सधैँ हुने गरेका हुन् । अहिलेको अवस्थामा पार्टी एकताको मजवुती र चर्चामा आएको महाधिवेशन लगायतका विषयमा छलफल र कुराकानी भयो’, पौडेलले रातोपाटीसँग भने, ‘यिनै विषयलाई केन्द्रविन्दुमा राखेर सहज र संयमित ढंगले स्थायी समितिमा प्रस्तुत हुन अध्यक्षले आग्रह गर्नुभयो ।’


छलफलमा सहभागी नेताहरुले पछिल्लो पटक सचिवालय बैठकमा प्रस्तावका रुपमा आएको ‘अर्ली महाधिवेहन’ का बारेमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले अर्ली महाधिवेशनका बारेमा सहमति नगरेको प्रस्ट्याएका थिए । 
यसकारण असम्भव अर्ली महाधिवेशन 
त्यस्तै प्रचण्डसँगको छलफलमा स्थायी समिति सदस्यहरुले पनि अर्ली माहाधिवेशन कुनै हालतमा मंसिरमा सम्भव नहुने भन्दै त्यो प्रस्ताव समस्या पन्छाउने हिसाबले ल्याएको धारणा राखेका थिए ।

 ‘तत्काल महाधिवेशन समस्या सम्बोधन होइन कि पन्छाउने हिसाबले ल्याएकाले त्यसमा सहमत हुन सकिँदैन भन्ने नै सवैको धारणा आयो’, अर्का एक स्थायी समिति सदस्यले भने, ‘साउन र भदौ वर्षा नै हुन्छ । असोज कात्तिक चाडबाडको समय अनि कसरी मंसिरमा सम्भव हुन्छ ? यो त समस्या तन्काउने कुरामात्रै हो ।’

बाढी पहिरो, कोरोना र चाडबाड समेत भएकाले महाधिवेशनका लागि गर्नुपर्ने तयारी गर्न पर्याप्त समय नहुने भएकाले पनि तोकिएकै मितिमा महाधिवेशन गर्ने तर त्यसअघि पार्टीभित्रको विवाद समाधान गर्न ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने नेताहरुले बताउदै आएका छन् ।


त्यस्तै महाधिवेशनका लागि दस्तावेज लेख्नुपर्ने, त्यो दस्तावेज तल्ला तहका कार्यकर्तासम्म पुर्याएर छलफल बहस गर्नुपर्ने हुन्छ । त्यस्तै पार्टी भित्र तिक्तता भएका बेला ति तिक्तता मेट्न दुवै अध्यक्षले भाँडिएको कार्यकर्ताको मनोविज्ञान सम्हाल्न उनीहरुसमक्ष पुग्न जरुरी छ । यदि त्यसरी नजाने हो भने थप भाँडभैलो हुने निश्चित छ । अर्कोतर्फ पार्टी एकता प्रक्रिया समेत नटुंगिएको अवस्थामा एकैपटक महाधिवेशनमा जाँदा कार्यकर्ताहरुले एकताको अनुभूति गर्न नपाउने अवस्था रहन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप