नेकपामा ‘महाधिवेशन’ जुहारी : पोखरेलको प्रश्नमा रिजालको कडा जवाफ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताबीचको आन्तरिक किचलो लम्बिदै जाँदा त्यसको असर तल्ला तहका नेता कार्यकर्तामा पनि सर्न थालेको छ । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले गत शनिबारको सचिवालय बैठकमा ‘अर्ली महाधिवेशन’ को प्रस्ताव ल्याएपछि शीर्ष तहमै छचल्किएको विवाद स्थायी कमिटी र केन्द्रीय समितिका सदस्यहरुसम्म पुग्दा जुहारी नै चल्न थालेको छ ।
स्थायी समिति सदस्य तथा ओली निकटका नेता भनेर चिनिने शंकर पोखरेलले पार्टी एकता गर्दा दुई वर्षमै एकता महाधिवेशन गर्छौँ भन्ने नेताहरु तीन वर्षभित्रै महाधिवेशन गरौँ भन्दा सकिँदैन भनेर पन्छिन खोज्नु कति उचित हो भनेर प्रश्न गरेका छन् ।
‘पार्टीमा ओलीको राजीनामा मागेपछि सुरु भएको विवाद रहेका पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेश गर्छौँ भन्ने नेताहरु ३ वर्ष भित्रै महाधिवेशन गरौँ भन्दा सकिँदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’ पोखरेलले प्रचण्ड र माधव नेपालपक्षलाई लक्षित गर्दै प्रश्न गरेका छन् ।
पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेको केहीबेरमा अर्का नेता तथा केन्द्रीय सदस्य विष्णु रिजालले उनलाई जवाफ दिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने रिजालले दुई वर्षसम्म केन्द्रीय आयोग र विभागलाई पूर्णता दिन नसक्ने, पार्टी सदस्यताको एकीकृत अभिलेखसम्म बनाउन नसक्ने र आफ्नो आलोचना हुन्छ भनेपछि बैठकै नबोलाउने नेतृत्वले चार महिनामा महाधिवेशन हुन्छ भन्दा अरूले पत्याइदिनुपर्ने ? भनेर प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नै पोखरेललाई जवाफ दिएका रिजालले भनेका छन्, ‘अहिले उत्पन्न समस्यालाई हल गरेर केन्द्रीय कमिटीले तोकेकै २०७७ चैत २५–३० को मितिमा महाधिवेशन गर्न कसले रोकेको छ र ?’
पार्टी विवाद मिलाउन भन्दै स्थायी समिति बैठक रोकेर बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अर्ली महाधिवेशन गरेर पार्टी नेतृत्वको जिम्मेवारी हस्तानतरण गर्न आफू तयार रहेको भन्दै मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।
तर, ओलीको उक्त प्रस्तावमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले विरोध गरेपनि अन्य नेताहरु अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, रामबहादुर थापा इश्वर पोखरेलले समर्थन गरेका थिए । तर, बैठकलगत्तै राष्ट्रपतिकोमा पुगेर फर्केपछि अध्यक्ष प्रचण्डले उक्त प्रस्तावमा आफ्नो समर्थन नरहेको बताएका थिए ।
यही विवादका कारण आइतबारका लागि बोलाइएको स्थायी समिति बैठक समेत मंगलबारसम्मका लागि स्थगित भएको छ । यता अध्यक्ष प्रचण्डले समेत आफ्नो पक्षका नेताहरुलाई ‘अर्ली महाधिवेशन’बारे छलफल भएपनि आफ्नो समर्थन नभएको भन्दै प्रष्ट पारिसकेका छन् । आइतबार आफ्नो निवास खुमलटामा आफू पक्षीय नेताहरुलाई बोलाएर प्रचण्डले आफूलाई परिवन्दमा पारेर शनिबार राति ओली र विष्णु रिजालले राष्ट्रपतिकोमा पुर्याएको बताएका थिए ।
यसअघि नेपाल पक्षले ओलीसँग मिलेर प्रचण्डले अर्ली महाधिवेशनबारे सहमति गरेको हो कि ? भनेर आशंका गरेका थिए । यसैबीच पार्टी विवादमा पूर्वमाओवादी केन्द्रकै नेताहरुले प्रचण्डलाई सहयोग नगरेको जस्तो देखिएको भन्दै नेता नेपालले प्रचण्डसँग गुनासो समेत गरेका थिए । नेता नेपालको उक्त गुनासोपछि अध्यक्ष प्रचण्डले सोमबार बिहानै पूर्वमाओवादी केन्द्रका तर्फबाट स्थायी समितिमा रहेका नेताहरुलाई निवासमै बोलाएर छलफल गरेका छन् ।
उक्त छलफलमा भोलि बस्ने स्थायी समिति बैठकमा कसरी प्रस्तुुत हुने भन्नेबारेमा छलफल भएको सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण