शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खुमलटारमा प्रचण्डको ब्रिफिङ : ‘अर्ली महाधिवेशन’को कार्ड फालियो, त्यो मान्य हुँदैन

आइतबार, ०४ साउन २०७७, १३ : ०७
आइतबार, ०४ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् । उनले ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा स्पष्ट पारे । 

‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन।  सहमति बिनै अर्ली महाधिवेशनको कार्ड फालियो, यो उपयुक्त छैन’, प्रचण्डले बैठकमा ब्रिफिङ गरे, ‘यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ उनले मंसिरमा महाधिवेशन गर्ने भनेर जुन प्रचारबाजी गरियो त्यो प्रपोगाण्डा ठीक नभएको पनि बताएका थिए । शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बाहिरिएको थियो । यसको वरिष्ठ नेता माधव कुमार नेपालले चर्को आलोचना गरेका थिए । 

यसबारे विभिन्न टिकाटिप्पणी भएपनि प्रचण्ड निवासमा छुट्टै छलफल भएको हो । छलफलमा प्रचण्डले सचिवालयका सदस्य माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समीकरण नबनेको कुरा प्रष्ट पारेका थिए । 

ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवैजनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आपत्ति प्रकट गरेका थिए ।
पार्टी तथा सरकारको बारेमा आफ्नो जे अडान थियो त्यो अझै कायमै रहेको र त्यसमा कुनै प्रकारको शंका उपशंका नगर्न पनि प्रचण्डले आग्रह गरे । 

खुमलटार स्रोतले भन्यो, ‘अब स्थायी कमिटीको बैठक कुनै पनि बहानामा रोक्न नहुनेमा नेताहरु एकमत देखिनु भएको छ । अध्यक्षहरुको बीचमा कुरा मिलेपछि मात्र स्थायी कमिटीको बैठक बस्ने भनिएको थियो । दुईजना अध्यक्षको बीचमा छलफल धेरै भयो अब बाँकी रहेका छलफल पनि स्थायी कमिटीको बैठकमै हुने नेताहरुको जोड थियो ।’

पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएर साउन ६ गतेका लागि तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप