शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : नेकपा केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधन

बुधबार, १५ माघ २०७६, १८ : ५८
बुधबार, १५ माघ २०७६

नेकपा केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओली

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन् । 

बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले सरकारविरुद्ध प्रचारयुद्ध मात्रै नभइ आक्रमण नै डरलाग्दो गरि छेडिएको गुनासो गरे ।  उनले सरकार विरुद्धको आक्रमणको वादविवाद नगरी काम गरेर जवाफ दिने पनि बताए । 

लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिएका प्रधानमन्त्री ओलीले वैचारिक आग्रह पुर्वाग्रहबाट सरकारको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गरे । 

उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता लगायत विषयमा सरकार विरुद्ध आवाज उठाउनुको कुनै अर्थ नरहेको पनि दाबी गरे । 

कोही पनि भोकै नपरोस् भन्ने तर्फ सरकार सजग र सर्तक भएको भन्दै उनले सोही अभियान अनुसार काठमाण्डौका सडक मानवरहित भएको बताए । 

नेपाल भ्रमण बर्ष २०२० लाई कोरोना भाईरसको संक्रमणले केही प्रभावित पार्ने देखिएको उल्लेख गर्दे सरकारले आवश्यक सावधानी अपनाउने स्पष्ट पारे । 

केन्द्रीय समितिको दोश्रो बैठक अस्वभाविक ढंगले विलम्ब हुन गएको भन्दै उनले सरकारको कारणले वा प्रधानमन्त्रीले समय दिन नसकेकाले बैठक बिलम्ब भएको भ्रम नराख्न आग्रह गरे । 

सत्तापक्षको, विपक्षी दलको, विभाजन, एकताका विविध अनुभवहरु महसुस गर्दैै अहिलेको अवस्थामा आएको फेहरिस्त दिँदै उनले वर्तमान अवस्थामा भने पार्टी एकताबद्ध भएर उभिएको उल्लेख गरे ।  पार्टी एकता आकस्मिक नभई अध्ययन अनुसन्धानपछि वैचारिक, सांगठनिक र व्यवहारिक आधार तयार गरेर त्यसलाई सम्मृद्ध बनाउँदै लैजाने प्रतिवद्धताका साथ पार्टी एकीकरण भएको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले विश्वका कुनै पनि सुचकांकमा नेपाल नेगेटिभ नभएको दाबी पनि गरे।  

उनले उज्यालो अभियान अन्र्तगत कुल जनसंख्याको ८८ प्रतिशत जनसंख्यामा विद्यूत सेवा पुगेको उल्लेख गर्दै जलविद्युत् आयोजनाहरुको पछिल्लो अवस्था बारे पनि जानकारी दिए ।  सिंचाईसेवा, तटबन्ध निर्माण तथा डायर्भसन, ५ वटा आन्तरिक विमानस्थलको धावनमार्ग निर्माण, जनता आवास कार्यक्रम अन्र्तगत भएका कामकारवाही लगायतको पनि विवरण दिए । 

प्राविधिक शिक्षा, न्यायो सेटलाईट, स्वास्थ्य विमा कार्यक्रमको विस्तार, लगायतको फेयरिस्त पनि उनले प्रस्तुत गरे । 

कालापानी लिम्पियाधुरा, लिपुलेक लगायत क्षेत्रमा सिमा विवाद देखिएको भएपनि वार्तामार्फत समस्या समाधान गर्ने विश्वासका सरकारले भारतसंग छलफल अघि बढाएको उनले स्पष्ट पारे । प्रधानमन्त्रीले केन्द्रीय समिति बैठकलाई २ घण्टा ५ मिनेट सम्बोधन गरेका थिए । 

एमसिसी बारे प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिक संग जोड्नु आवश्यक नरहेको बताएका छन् । 

 नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई एमसीसीले कुनै पनि असर नपार्ने र नेपाललाई होच्याउने, अपमान गर्ने कुरा सम्झौतामा नभएकाले यसबारे स्पष्ट हुन पनि केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । 
 सम्झौता कार्यान्वयनमा आउनु अगाडि संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान भएकाले सो अनुमोदनको क्रममा रहेको भन्दै उनले यसले नेपाललाई कुनै अप्ठ्यारो नपार्ने स्पष्ट पारे । 

 उनले एमसीसी स्थापना विकास, शुसासन र कनेक्टीभिटीमामा मात्रै अनुदान सहयोग खर्च गर्न पाइने गरि भएको भन्दै एमसीसी सम्झौतामा भएका सर्त र खर्चको क्षेत्रहरुको फेयरिस्त नै पढेर सुनाए । 

प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ति नगरेको दाबी पनि गरे । 

नेकपा बैठकमा भोलिदेखि समूहगत छलफल
नेकपाको बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथि नेताहरुले समूहगत रुपमा मात्रै छलफलमा सहभागी हुने व्यवस्था मिलाइएको छ । 

बुधबार राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा पेश भएका राजनीतक, सांगठानिक र विधान संशोधन प्रस्तावमाथि बिहीबारदेखि तीन ठाउँमा समूहगत रुपमा छलफल हुनेछन् । 
समूहमा सचिवालय सदस्यहरु भने सहभागी हुने छैनन् । सभागृह, धुम्बाराही र पेरिसडाँडामा समूहगतरुपमा छलफल हुने नेकपाले जनाएको छ । १५ समूहमा हुने उक्त छलफलमा एक समूहमा २९ केन्द्रीय सदस्य रहनेछन् । 

मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सदस्यहरु धेरै भएपछि केन्द्रीय समिति बैठक सञ्चालनका लागि यस्तो कार्यविधि बनाएको थियो ।  

यो कार्यविधिअनुसार प्रत्येक व्यक्तिले मुख्य बैठक हलमा बोल्न नपाउने छैनन् । समूहगत रुपमा छलफलपछि टोली नेताले आफ्नो टोलीका सवैको धारणा र सुझाव समेटेर बैठकमा धारणा राख्नेछन् ।


अर्थ समिति

अर्थ मन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताएका छन् । 

अर्थ समितिको बुधबारको बैठकमा अर्थ मन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्तानीको प्रकृया सुरु भइसकेकोले जोखिम कम हुँदै गएको बताएका हुन् । 

 ‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले निगमले समयमै ऋण तिरिसक्ने विश्वास सरकारले गरेको बताए । 

उनले निगमको अन्तरिक व्यवस्थापनका कारण केही ढिला भएपनि समयमै भुक्तानी गर्ने विश्वास आफूले गरेको बताए । 

बैठकमा विधेयकका विभिन्न दफामा संशोधन प्रस्ताव राखेका सांसद दिव्यमणि राजभण्डारीले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा गरेको लगानी डुब्न लागेकाले ऐन मार्फत त्यस प्रकारका लगानी गर्न नदिने व्यवस्था गर्नुपर्ने बताए । 

बैठकमा सांसद सुरेन्द्रप्रसाद पाण्डेले संसदबाट पास गरेर नेपाल वायुसेवा निगमलाई सरकारको ग्यारेन्टीमा लगानी कोषबाट कार्जा उपलब्ध गराएकोले निगमले भुक्तानी गर्न नसकेपनि कोषलाई कुनै नोक्सानी नहुने बताए । 

त्यस्तै समितिको बैठकले ‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमा समान्य संशोधन सहित छलफल टुंग्याएको छ । संशोधन पछि विधेयकमा नागरिक लगानी कोषको सञ्चालक समितिमा महिला सदस्यहरुको सहभागिताको सुनिश्चितता गर्न सांसदहरु सहमत भएका छन् । 

समिति सभापति कृष्णप्रसाद दाहालले अर्थ समितिको अर्को वैठकमा विधेयकमा संशोधन भएका विषयलाई मिलाएर अन्तिम रुप दिने बताए । 

दिगो विकास समिति

दीगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले अनुगमन गर्ने भएको छ । 

समितिले दिगो विकासका लक्ष्य कार्यान्वयनको अनुगमनका लागि परीक्षण सूचीको संक्षिप्त विवरण तयार पारेको छ । 

दीगो विकास लक्ष्य कार्यान्वयनमा संसद र संसदीय समितिको भूमिका बारे तयार गरिएको परिक्षण सूचीमा विद्यमान रहेको गरिबी अन्त्यका लागि वार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट र स्रोत विनियोजनको सूचक महत्वपूर्ण हुने बताएको छ । उक्त सूचक पुरा गर्नका लागि नयाँ कानून तर्जुमा वा परिमार्जन, नीतिगत र प्रक्रियागत सुधारको आवश्यकता, मध्य र दिर्घकालिन कानूनी सुधारको एजेण्डा बजेटको पर्याप्तता संसदीय निगरानी भित्र पर्ने विज्ञ पूर्णचन्द्र भट्टराईले बताए । 

राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले सांसदहरुलाई पन्ध्रौँ योजना राम्ररी अध्ययन गर्न सुझाव दिए ।  एडिजी भन्दा पहिले १५ औं योजना पढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले एक महिनाभित्र सुझाव पेश गर्न पनि आग्रह गरे । 

भारतीय राजदूतले भेटे सभामुख

नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । 

कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् । 

 आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई सो क्रममा कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको बताइएको छ।  

 यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएकी थिइन् । 

शालिक अनावरण

सहिद सप्ताहका अवशरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ । 

 शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन् । 

 काठमाडौं महानगरपालिका वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ । शालिक निर्माणमा करिब १८ लाख रुपैयाँमा खर्च भएको छ । शालिक महेश तुलाधरले निर्माण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप