शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमा राष्ट्रहरु संकीर्ण राष्ट्रिय अहंकारवाद र दक्षिणपन्थी अतिवादतिर

बुधबार, १५ माघ २०७६, १६ : ४४
बुधबार, १५ माघ २०७६

काठमाडौँ । पश्चिमा राष्ट्रहरु संकीर्ण राष्ट्रिय अहंकारवाद र दक्षिणपन्थी अतिवादतर्फ उन्मुख भएको नेकपाले आरोप लगाएको छ । 

नेकपाले आफ्नो केन्द्रीय कमिटीको दोस्रो पूर्ण वैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पश्चिमी राष्ट्रहरु संकीर्ण राष्ट्रिय अहंकारवाद र दक्षिणपन्थी अतिवादतिर उन्मुख भएको भन्दै त्यसले तेस्रो देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्ने विश्लेषण गरेको छ । 

राजनीतिक प्रतिवेदनको ‘अन्तर्राष्ट्रिय परिस्थितिको संकेत र हाम्रो दायित्व’ उपशीर्षकमा नेकपाले पश्चिमा राष्ट्रहरुको दबदबा र त्यसले एसियाली मुलुक वा तेस्रो विश्वलाई पार्न सक्ने असरबारे उल्लेख गरेको छ ।

प्रतिवेदनको सुरुवातमै पश्चिमा राष्ट्रहरुले क्षेत्रीय प्रकृतिको संगठन निर्माण गरी सैनिक गठबन्धन पनि कायम राखेको उल्लेख गरेको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘केही समय अघि जन्मेका क्षेत्रीय संगठनहले क्रमशः आफ्नो प्रभाव देखाउँदै गइरहेका छन् । शीतयुद्धको समाप्ति भइसकेपछि पनि पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन कायम रहेको मात्र होइन, यसलाई नयाँ साझेदारीको धारणाबाट शक्तिशाली बनाउने अभ्यास जारी छ ।’

प्रतिवेदनमा कोरियाली प्रायद्वीपमा जारी तनाव, हिन्द–प्रशान्त क्षेत्रको प्रतिस्पर्धा आदीको कारण तनावको स्थिति आएको उल्लेख छ । त्यसैगरी पश्चिम एसियामा जारी तनावले ठूलो युद्धकै रुप लिने पो हो कि भन्ने चिन्ता पनि नेकपाको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी पुँजीवादले नवउदारवादका नाममा शोषण र उत्पीडनलाई तीव्रता दिइरहेको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी शक्ति राष्ट्रहरु तेस्रो विश्वका देशहरुलाई कृषि र उत्पादनबाट विस्थापन गरी बलिया बहुराष्ट्रिय निगमका बजारका रुपमा परिणत गर्न अग्रसर रहेको पनि उल्लेख गरेको छ । त्यसैगरी पश्चिमी तथा धनी राष्ट्रहरुले तेस्रो विश्वका युवाहरुको श्रमशक्तिलाई सस्तो मूल्यमा खरिद गर्ने गरेको र ती देशहरुलाई सधैंभरी बाँच्न बाध्य पारिरहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

शक्ति राष्ट्रहरुले तेस्रो विश्वका जनताहरुमा जातीय, क्षेत्रीय र सामप्रदायिक विद्वेष र द्वन्द्व सिर्जना गरी राष्ट्रिय एकता र स्वाधीनतालाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा स्पष्टरुपमा धनी वा शक्ति राष्ट्र नभनी वित्तीय एकाधिकार भएका पुँजीवादी राष्ट्र भनी शब्दावलीको प्रयोग गरिएको छ । 

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘आज वित्तीय एकताधिकार पुँजीवाद र नवउदारवादका पक्षधरहरुले मुख्यतः पश्चिमका शक्ति राष्ट्रहरुले आयतमा कडा भन्सार नीति लागू गरेर संकीर्ण राष्ट्रिय अहंकारवादको पक्षपोषणसहित दक्षिणपन्थी अतिवादलाई प्रशय दिइरहेका छन् । पुँजीवादको उपरोक्त विशेषतासहितको शोषण उत्पीडनका विरुद्ध नयाँ शिराबाट राष्ट्रिय मुक्ति र समाजवादी आन्दोलन पनि अगाडि बढ्दै गएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप