अपराधीको निशानामा बालबालिका किन ?
०७५ साउन २० गते काठमाडौँको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि विभत्स हत्या भयो । हत्यामा संलग्न २ जना अभियुक्त प्रहरी इन्काउन्टरमा सोही दिन भक्तपुरमा मारिए ।
निशानलाई अपहरण गर्ने नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय अजय तामाङ थिए । महानगरीय अपराध महाशाखाको अपहरणकारी मारेपछि प्रहरीको एकातिर प्रंशसा भएको थियो भने अर्कातिर अपहरित बालकको जीवित उद्धार गर्न किन नसकेको भन्ने प्रश्न उठेको थियो ।
००००
सिराहकी (नाम परिवर्तन) सुनिता २०७५ माघ २७ गते छोरीसँगै बाहिर पिँढीमा सुतेकी थिइन् । मध्यराती निन्द्रा खुल्यो तब सुनीता अतालिइन् । कारण, सँगै सुतेकी छोरी त्यहाँ थिइनन् ।
नाबालक छोरी मध्यरातमा हराएपछि रुवाबासी शुरू भयो । हल्लाखल्ला भएपछि छरछिमेक जम्मा भए । श्रीमान रोजगारीको सिलसिलामा भारतमा थिए । प्रहरीलाई खबर गरेर नाबालक छोरीको खोजी सुरु भयो ।
करीब दुई सातापछि प्रहरीले घरनजिकैको झाडीमा शव फेला पर्यो । छोरीको शव फेला परेपछि सुनीता झनै भावह्विल बनिन् । अलि–अलि बोलिरहेकी सुनीताको बोली नै बन्द भयो ।
००००
यस्तै गत मंसिर २० गते डडेल्धुराको अमरगढी–९ ढाँटगाउँका पूर्णबहादुर पालका ८ वर्षीय छोरा प्रविण पाल विद्यालय जान्छु भनि गएका ५ दिनसम्म वेपत्ता भए ।
भागेश्वर मावि टाँटरमा कक्षा ३ मा अध्ययनरत प्रविणलाई प्रहरीले पाँच दिनपछि सकुशल फेला पार्यो । र, परिवारलाई बुझायो ।
००००
त्यस्तै मंसिर ३० गते नाताले मामा पर्ने आशिष सिजापतिले ३ भान्जाभान्जीको अपहरण गरे । गोगंबुस्थित ब्लू स्टार गेष्ट हाउसमा ३ दिनसम्म बन्धक बनाएर राखे ।
घटनाको ४ दिनमा होटलमा बन्धक तीनै बालबालिकाको महानगरीय प्रहरी परिसर काठमाडौँले सकुशल उद्दार गर्यो ।
आशिषको समूहले भने भान्जाभान्जी अपहरण गरेको २४ घण्टा नबित्दै टोखा नगरपालिका–३ बस्ने २१ वर्षीय नरेश थापामगरलाई अपहरण गरेर हेटौंडा पुर्यायो ।
नरेशलाई पनि प्रहरीले सकुशल उद्दार गर्यो । अपरणकारी समूहलाई प्रहरीले नियन्त्रणमा लिन सफल पनि भयो ।
००००
माथिका यी घटना उदाहरणमात्रै हो । कलिला बालबालिकालाई अपराधीले तारो बनाएको दृष्टान्त उल्लेख्य छन् ।
कोही बालबालिका अपहरणमा परेर बेपत्ता भएका छन् भने कोही परिवारलाई खबरै नगरी वेपत्ता भएका पनि छन् । अपहरणमा पर्ने बालबालिकाको संख्या पनि पहिलाको तुलनामा बढ्दो रहेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा आर्थिक लेनदेनको कारण बालबालिकाको अपहरण हुने गरेको बताउँछन् । थापाले भने, ‘आमाबाबुको झगडाले बच्चाको अपहरण हुने गरेको छ ।’
यस्तै परिवारलाई खबर नै नगरेर बाहिर जाने गरेको कारण पनि धेरैको संख्यामा बालबालिका हराउने गरेको थापाको बुझाइ छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा
थापाले भने, ‘हराएका अधिकांश बालबालिका रोजगारी खोज्न बाहिर जाने र विवाह गरेर अन्तै जाने गरेका कारण फेला पर्दैनन् ।’
नेपालमा वर्षेनी ठूलो संख्यामा बालबालिका हराउँदै जान थालेका छन् । पछिल्लो १३ वर्षको अवधीमा देशभरबाट १३ हजार ८०८ बालिकामात्र हराएको पाइएको छ ।
बालबालिका खोजतलास केन्द्रका अनुसार तीमध्ये ६ हजार ५९२ बालिका फेला परे भने आधाभन्दा बढी, ७ हजार २१६ बालिका नभेटिएको अर्थात खोजतलास जारी नै रहेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा किशोरीहरु पनि उच्च जोखिममा रहेको औँल्याएको छ । ‘नेपालमा बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले यस्तो औँल्याएको हो ।
कूल जनसंख्याको ४९ प्रतिशत जनसंख्या बालबालिको रहेको आयोगले जनाएको छ । २६ दशमलव ३ प्रतिशत बालबालिका बालबिवाहको प्रत्यक्ष चपेटामा परेका छन् भने, ३५ प्रतिशत बालिकाहरु बेचबिखनमा परेका छन् ।
बालविकास खोजतलास केन्द्रका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/२०७६ मा २ हजार ४८१ जना बालबालिका हराएकोमा १२२४ जना मात्रै फेला परेका छन् । फेला नपरेका १२ सय ५७ मध्ये अधिकांश बालबालिका बेचबिखन तथा जबरजस्ती श्रम वा अन्य हिंसाको शिकार भएका भएको हुन सक्ने आयोगले जनाएको छ ।
गत आर्थिक वर्षमा ३ हजार ३३२ जनालाई भारतीय सीमा नाकाबाट फर्काइएकोमा ४६ प्रतिशत महिला र १४ प्रतिशत बालबालिकाहरुको संख्या रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
आयोगको अध्ययन प्रतिवेदनले जवरजस्ती करणीमा परेको पीडितहरुमध्ये जनजाती र दलित समुदायका धेरै रहेको देखाएको छ । पीडकहरु मध्ये ३० प्रतिशत जनजाती पीडक रहेको प्रतिवेदनले देखाएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले परिवारबाट नै बालबालिकाहरुमाथि विभेद रहेको बताए । शिक्षा दिने कुरामा नै आमाबुवाले छोरा र छोरीबीच विभेद गर्ने गरेको पाइएको उनले बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र आयोगकी सदस्य मोहना अन्सारी ।
‘छोरीलाई सरकारी र छोरालाई बोर्डिङ स्कुल पढाउने चलन अहिले पनि रहेको पाइन्छ । वंशज भनेको बाबुबाट मात्रै सुरु हुन्छ आमाको हुँदैन भन्ने कुरा अहिले पनि छ’, उनले भने, ‘नेपालको संविधानले नै महिलाले नागरिकता गुमाउन पनि हुन्न भन्ने आफ्नो राष्ट्रियता छोरा छोरीमा ट्रान्सफर गर्न सक्छ पनि भन्ने तर त्यसको विपरित ऐन लागु गर्ने ।’
मानव बेचबिखन र बालबिवाहका कारण किशोरीहरु उच्च जोखिममा रहेको आयोगकी सदस्य मोहना अन्सारीले बताइन् । अन्सारीका अनुसार नेपाल, भारत र बंगलादेशमा सबैभन्दा बढी बालिका बेचबिखनको सिकार बन्ने गरेका छन् । जसमा १८ वर्षमूनिका धेरै छन् ।
बालबालिका पनि अपराधमा
हुन त अपराधीको निशानामा मात्रै होइन बालबालिका पनि अपराध कर्ममा संलग्न रहेको पाइन्छ । बालबालिकाले कसुरजन्य कार्य (बालबिज्याइँ) गरेमा उनीहरूलाई कडा सजाय दिनुको सट्टा सुधार गरिनुपर्छ भन्ने मान्यता बालबालिकासम्बन्धी ऐनमा उल्लेख छ ।
बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ४२ ले कानुनको विवादमा परेका बालबालिकालाई सुधारका लागि बाल सुधारगृहको स्थापना र सञ्चालनको व्यवस्था गरेको छ । ऐनअनुसार ती बालबालिकालाई सामान्य जीवनशैलीमा फर्काउनु बाल सुधारगृहको प्रमुख जिम्मेवारी हुन्छ ।
आयोगका अध्यक्ष शर्माले एकपटक अपराध गरेर आएका बालबालिका सधैँका लागि अपराधी नहुने बताउँछन् । उनी भन्छन्, ‘मान्छे हो गल्ती हुन्छ । तर, बालबालिकाको हकमा वयस्क अपराधीलाई जस्तो व्यवहार गर्नहुन्न ।’
पछिल्लो समय सुधारगृहमा बालिका भन्दा बालकको संख्या बढी रहेको शर्माको भनाइ छ । ‘८० प्रतिशत बालक बलात्कारको अपराधमा सुधारगृहमा छन् भने बालिका लागुऔषधको केसमा सुधारगृहमा छन् ।’
आपसी समझादारीमा शारीरिक सम्पर्क राखेका बालबालिकामा दुवै पीडित र पीडक रहेको शर्माको बुझाइ छ । उनले थपे, ‘समझादारीमा राखेको शारीरिक सम्पर्कमा बालकलाई मात्र दोषी देखाउन हुन्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
-
न्युयोर्कको सबवेमा सुतिरहेकी महिलालाई आगो लगाइयो