शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघमा नैनसिंह महरका २९ महिना: देउवालाई यस्तो आग्रह गर्दै लिए विदा

सोमबार, २८ माघ २०७५, १८ : ४३
सोमबार, २८ माघ २०७५

काठमाडौं– नेपाली काँग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रसस्त गर्ने भन्दै दबाब दिएपछि महरले राजीनामा दिएका हुन् । त्यो सँगै केन्द्रीय समितिको बैठकले तदर्थ समिति गठन गर्ने तयारी गरेको छ । 

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ सम्मलाई थियो । त्यो समयमा आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले महाधिवेशन गर्ने भन्दै तीन महिनाको लागि समय अवधि थपिदिएको थियो ।

थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । त्यसक्रममा पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद पनि माघ २ गते सकिएको छ । पार्टीले नेविसंघलाई नेतृत्वविहिन बनाउन नहुने भन्दै आजसम्म महरलाई नै वैधानिकता दिएको थियो ।

आफ्नैबाट एक्लिएपछि...
महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिने अवधिमा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि संगठनभित्र र पार्टीमा आलोचना भएको थियो । महरलाई दबाब त्यति बेलादेखि सुरु भयो जुनबेला महरका विश्वासिला पात्र हरुले साथ छोडे । जसमा गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए । अध्यक्ष महरलाई पछिल्लो समय आफ्नै गुटका विद्यार्थी नेताहरुले असहयोग गर्दै आएका थिए ।

नेविसंघको विषयमा पार्टीभित्रै विवाद सुरु भएपछि सभापति देउवाले अध्यक्ष महरलाई राजीनामा दिन दबाब दिएका थिए । साथै देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तदर्थ समिति ल्याउन खोजेपछि महर दबाबमा परे । आफू निकटकै नेताहरुले नैनसिंह महरको विकल्प खोज्नतिर लागे ।

माघ २४ गतेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव समेत पेस गरेका थिए । जसको भित्रि खेल अर्कै थियो । पार्टी सभापति देउवानिकट रहेका पार्टीका नेताहरुले आफूनिकट नेताहरुलाई नेतृत्वमा ल्याउन अघि सारे । अध्यक्ष महरको राजीनामा पछि नेविसंघका बारेमा के निर्णय गर्ने भन्ने बाटो खुलेको छ । तर उनले आफ्नैबाट आफूलाई असहयोग भएकोबारे महरले पार्टी सभापति देउवासामु आक्रोश पोखेका छन् ।

महरको आक्रोश
राजीनामा पत्र बुझाउँदै महरले पार्टी सभापति देउवालाई तदर्थ समिति गठन गर्दा सचेत रहन आग्रहसमेत गरेका छन् । उनले भने, ‘तपाईंको ‘कोटरी’ ले गर्दा नेविसंघ यो हालतमा आयो । उनीहरुकै कुरा सुनेर अगाडि बढ्नु भो भने दुर्घटनामा पर्नुहुन्छ । दाइ सचेत हुनुस् । तदर्थ समितिको नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला ।’ 

पछिल्लो समय देउवाभित्रको उपसमूहमा आफू निकटका विद्यार्थी नेताहरुलाई नेविसंघको नेतृत्वमा ल्याउन होडबाजी छ । सोही अनुसारनै सभापति देउवामाथि आफू निकटका नेताहरुले महर नेतृत्वको कार्यसमिति भंग गर्ने दबाब दिरहेका थिए ।

नेविसंघमा आफ्नो प्रभुत्व जमाउन उपसभापति निधि, सहमहामन्त्री प्रकाशशरण महत, नेता बालकृष्ण खाँण मरिहत्या गरिहरेका छन् । उनीहरुले आफूनिकट रहेका क्रमशः पवन यादव, प्रेमराज जोशी, प्रकाश घिमिरलाई तदर्थ समितिमा लयाउन हानथाप गरिहेको स्रोत बताउँछ । सभापति देउवालाई महरले उनीहरुबाट जोगिएर सक्षम नेतृत्व चयन गर्न आग्रह गरेको देखिन्छ ।

महरको गुनासो 
अध्यक्ष महरले राजीनामा दिँदै पार्टीले नेविसंघलाई काम गर्न नदिएको गुनासो गरे । आफ्नो नेतृत्वमा कार्यसमिति आएपछि देश नयाँ संरचनामा गएर तीनै तहको निर्वाचन भएको र निर्वाचनमा होमिनुपर्दा काम गर्न नपाएको उनको स्पष्टोक्ति थियो । 

थपिएको पाँच महिनामा पनि सुरुमा पार्टीले हस्तक्षेप गरेको र पछि महासमिति बैठक ढिला भएकोले महाधिवेशन गर्न नसकेको उनले तर्क गरे । महाधिवेशनबाट निर्वाचित भएर आएको व्यक्ति भएकाले महाधिवेशन र स्ववियू सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै राजीनामा दिन बाध्य तुल्याइएको संकेत गरेका छन् ।

साथै उनले विधान अनुसार नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल समाप्त भैसकेको र यही विषयमा पार्टीको केन्द्रीय समितिमा मतमतान्तर देखिएको कुरालाई आत्मसात् गरेको पनि बताए । ‘हालै सम्पन्न महासमिति बैठक पश्चात पार्टी सम्पूर्ण रुपले एक ढिक्का भएर सर्वसत्तावाद उन्मुख सरकारविरुद्ध संघर्ष गर्ने वातावरण बनेको समयमा नेविसंघको समयावधि थप गर्नेकि नगर्ने विषयमा विवाद हुनुहुँदैन भन्ने कुरामा म सचेत छु ।’ उनले भनेका छन् ।

यसरी गुज्रियो महरको २९ महिना
महरले २०७३ भदौँ २ नेविसंघको जिम्मेवारी सम्हालेका थिए । उनले रामचन्द्र पौडेल पक्षधर मनोजमणि आचार्यलाई ११९ मतले पराजित नेविसंघमा २९ महिना जिम्मेवारीको अवसर पाए । तर, सही सुदपयोग गर्न भने सकेनन् । महामन्त्रीदेखि अधिकाशं केन्द्रीय सदस्य आफ्नै प्यानलबाट निर्वाचित भएका थिए । तर उनीहरुलाई मिलाएर राख्न उनी असफल भए ।

काँग्रेसको शक्तिशाली भातृ संगठन मानिने नेविसंघमा २०६४ सालदेखि महाधिवेशनबाट उनी निर्वाचित भएर त आए तर निर्वाचित कमिटीलाई नेतृत्व हस्तान्तरण गर्न असफल रहे ।  उनलाई पहिलेदेखिनै नेविसंघको राजनीतिमा निकै चलाख र धैर्य नेताका रुपमा चित्रण गरिन्थ्यो । तर, नेविसंघको नेतृत्व गर्दा उनको त्यो स्वभाव देखिएन । 

०७४ मा काँग्रेसले अप्नाएको राष्ट्रिय मेलमिलाप दिवसकै दिन नेविसंघमा ‘फुट’ देखिएको थियो । सो दिन अध्यक्ष महरपक्ष र महामन्त्री कुन्दन काफ्ले पक्षले मेलमिलाप दिवस छुट्टाछुटै ठाउँमा आयोजना गरेका थिए ।

त्यसपछिका दिनमा महर र कुन्दनबीच निकै जुहारी चल्यो । नेविसंघका विभिन्न गतिविधि समानन्तर रुपमा हुन थाले । करिब २ वर्षको अवधिमा उनीहरु एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिए । अध्यक्ष र महामन्त्रीको जुहारीले समयमै १२ औँ महाधिवेशन नहुने अवस्था सिर्जना भयो । 

महर र काफ्लेले १२ औँ महाधिवेशन गर्नका लागि भन्दै छुट्टाछुट्टै मिति समेत घोषणा गरे । उनीहरुले घोषणा गरेका मितिमा महाधिवेशनको वातावरण पनि बन्न सकेन । तर, पछिल्लो समय आफूमाथि असक्षमको धब्बा लाग्ने भन्दै उनीहरु मिलेर अगाडि गइरहेका थिए । तर पनि सफल हुन भने सकेनन् । अन्तत आजैबाट महर नेतृत्वको कार्यसमिति विघटन भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप