केन्द्रीय संस्करण

अपर तामाकोशीले यसरी पार्दैछ राष्ट्रलाई झिलिमिली

person access_timeअसार २५, २०७५ chat_bubble_outline0

विद्युत् सामान्य दैनिक जीवनका आवश्यकता परिपूर्ति गर्न मात्रै होइन, देश विकासका लागि अत्यावश्यक ‘ऊर्जा’ पनि हो ।

विद्युत्ले सामान्य उज्यालो छर्ने मात्रै होइन, देश विकासका लागि आवश्यक औद्योगिक उत्पादनदेखि अन्य अत्यावश्यक वस्तुहरूको प्रयोगमा यसको उत्तिकै महत्व छ ।

यद्यपि नेपालमा भने अझै पनि विद्युत्को प्रयोग सामान्य बत्ती बाल्नेदेखि फ्रिज चलाउने र सामान्य विद्युतीय उपकरण चलाउनमै केन्द्रित छ । 

अहिले नेपालमा उत्पादन विद्युत्को माग करिव १५ सय मेगावट छ । आपुर्ति भने करिव ११ सय मेगावाट छ । अहिले भारतबाट विद्युत् किनेर लोडसेडिङ हटाएको भए पनि दीर्घकालीन विकास र समस्या समाधानका लागि ठूला जलविद्युत् आयोजनाको विकल्प छैन ।

आर्थिक वर्ष २०७२/७३ सालमा दैनिक २० घण्टासम्म लोडसेडिङ हुन थालेपछि धेरैले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई सम्झिए ।

२०७३ को मध्यसम्ममा उत्पादन गरिसक्ने गरी ४ सय ५६ मेगावाटको आयोजनाको निर्माण सुरु गरिए पनि विविध कारणले गर्दा यो आयोजनाको अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको करिबकरिब अन्तिम चरणमा पुगेको छ । जसले देशलाई अन्धकारबाट उज्योलोतर्फ लैजान सक्छ । 

राष्ट्रिय गौरवको एउटा महत्वपूर्ण विद्युत् आयोजना

अपर तामाकोशी अर्थात् माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर प्राथमिकताका साथ काम अगाडि बढाइरहेको छ ।

४ सय ५६ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना हाल निर्माण भइरहेको जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना हो ।

करिब ५० अर्ब लगानीमा निर्माण हुँदै गरेको यो आयोजनाले तत्कालका लागि माग बमोजिको आपूर्ति गर्न सहयोग पुर्याउनेछ । 

कहाँ कसरी बन्दैछ आयोजना ?

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना दोलखा जिल्लाको विगु गाउँपालिकाको वडा नम्बर १ लामाबगरमा निर्माणाधीन अवस्थामा रहेको यस आयोजनाको २०७५ जेठ मसान्तसम्ममा करिब ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 

यो आयोजनाको चर्चा सन् १९८३ बाट चल्न सुरु भएको थियो ।

तत्कालीन समयमा जाइकाले कोशी मास्टर प्लानअन्तर्गत तामाकोशीमा २ सय ५० मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गर्न अध्ययन गरेको थियो । 

त्यसपछि नेपाल विद्युत् प्राधिकरण आफैले पनि यस आयोजनाको क्षमता बिस्तार गर्ने भन्दै ३ सय ५० मेगावाट क्षमतामा निर्माण गर्ने गरी अध्ययन सुरु गर्यो । तर यसबाट अझै धेरै विद्युत् निर्माण गर्न सकिने सम्भाव्यता देखिएपछि २०५७ देखि २०६० सालसम्म यसको विस्तृत अध्ययन भयो ।

यस अध्ययनपछि २०६० सालमा नेपाल विद्युत् प्राधिकरणले नर्वेजियन कम्पनी लोरकन्सल्ट एएसलाई यसको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न छनोट गर्यो । यही कम्पनीले २०६२ सालमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन दियो र यसबाट ४ सय ५६ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन दियो ।

सोही प्रतिवेदनबाट नै नेपाल सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्दै निर्माण प्रक्रिया सुरु गरिएको आयोजनाका प्रवक्ता तथा गणेश न्यौपानेले बताए ।

२०६३ सालबाट नै यस आयोजना निर्माणको लागि पूर्वाधार विकासका काम सुरु भयो । आर्थिक वर्ष २०६३/६४ मा यस आयोजना निर्माणका लागि भन्दै दोलखाको चरिकोटदेखि सिँगटीसम्मको ३३ किलोमिटर सडकको स्तरउन्नति कार्य सुरु भयो । २०६६ को अन्त्यमा चरिकोट सिँगटी सडकखण्डको स्तरउन्नति पूरा भएपछि २०६७ साल भाद्र १७ गतेबाट आयोजनाको सिभिल निर्माणको कामको सुरुवात भयो ।

सिभिल निर्माणको काम सुरु भएको ९ महिना अर्थात् २०६८ सालको जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरी कामलाई तीव्रता दिन सुरु गरियो । अहिले यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । 

यी पढ्न छुटाउनुभयो कि ?

राष्ट्रिय गौरवका आयोजना–३ : यो गतिमा कहिले बन्छ ‘एसियाकै उत्कृष्ट’ निजगढ विमानस्थल ?

राष्ट्रिय गौरवका आयोजना– २ : यसरी बनिरहेछ भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल

राष्ट्रिय गौरवका आयोजना–१ : यसरी बन्दैछ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल

कति लागत ? 
२०६२ सालमा नर्वेजियन कम्पनी लोरकन्सल्ट एएसले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पार्दा यो आयोजनाको लागत ३५ अर्ब २९ करोड अनुमान गरेको थियो । २०६२ सालको अन्त्यमा डलरको भाउ १ अमेरिकी डलर बराबर ७४ रुपियाँ नेपाली रकम थियो । तर आयोजनाले डलरको भाउ ८० रुपियाँ पुग्ने प्रक्षेपण गरेर यसको लागत ३५ अर्ब २९ करोड हुने अनुमान गरेको थियो । 

तर २०६२ साल र हालको डलरको भाउमा प्रति १ डलरमा कम्तीमा ३४ रुपियाँको अन्तर आएको छ । यसलाई प्रतिशतमा हेर्ने हो भने डलरको सटही मूल्यमै करिब ४५ प्रतिशतले वृद्धि भएको छ । आयोजनाले पक्षेपण गरेको डलरको रेट १ अमेरिकी डलर बराबर ८० थियो । यो मूल्यलाई आधार मूल्य मान्ने हो भने पनि अहिले डलरको रेट प्रक्षेपण गरिएभन्दा ३७ प्रतिशतले वृद्धि भएको छ । जसका कारण करिब ७ अर्ब रुपियाँको लागत वृद्धि डलरको रेटमा आएको परिवर्तनले गराएको छ ।

त्यसबाहेक आयोजना समयमै निर्माण सम्पन्न हुन नसक्दा ज्यालामा आएको परिवर्तन तथा वस्तु तथा सामानको मूल्यवृद्धिले पनि यसको लागत बढाएको छ । हाल यस आयोजनाको निर्माण सम्पन्न हुँदा यसको लागत ४९ अर्ब २९ करोड पुग्ने अनुमान गरिएको छ । सुरुवातको लागत मूल्यलाई हेर्दा अहिले थप १४ अर्ब रकम खर्चनुपर्ने देखिएको छ । 

कसले कति ऋण दिए ?
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणका लागि हाल सबैभन्दा बढी ऋण कर्मचारी सञ्चय कोषले दिएको छ । कोषले आयोजना निर्माणका लागि हालसम्म १० अर्ब रुपियाँ ऋण लगानी गरेको छ । त्यसैगरी नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले २ अर्ब, राष्ट्रिय बिमा संस्थानबाट २ अर्ब ऋण आयोजनाले लिएको छ । त्यसैगरी नेपाल सरकारबाट आयोजनामा ११ अर्ब ८ करोड लगानी रहेको छ । 

सेयर संरचना कस्तो छ ?

कम्पनीको सेयर संरचनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको ४१ ५, नेपाल टेलिकमको ६ ५, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको २, २ ५ रहेको छ । यस्तै, आम सर्वसाधारणतर्फ १५ ५, स्थानीय दोलखा जिल्लाका बासिन्दाबाट १० ५, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताबाट १७.२८ ५, कम्पनी र विद्युत् प्राधिकरणका कर्मचारीबाट ३.८४ ५, कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीबाट २.८८ ५ सेयर पुँजी सङ्कलन गरी आयोजना निर्माण हुनेछ । 

प्रगति कहाँ पुग्यो ?

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कुल प्रगति यतिबेला ९६ प्रतिशत रहेको आयोजनाका प्रमुख  कार्यकारी अधिकृत (सिइअाे) विज्ञानप्रसाद श्रेष्ठले बताएका छन् । मुख्यतः यो आयोजनालाई ४ वटा लटमा विभाजन गरी विभिन्न कम्पनीहरूलाई ठेक्का दिइएको छ । लट नम्बर १ मा सिभिल वक्र्स रहेको छ । सिभिल वक्र्सका लागि चीनको सिनो हाइड्रोलाई जिम्मा दिइएको छ । सिभिल निर्माणको प्रगति ९५ प्रतिशत रहेको छ । 

त्यसैगरी हाइड्रोमेकानिकल कार्य भारतीय कम्पनी टेक्समाको रेल एन्ड इन्जिनियरिङ कम्पनीलाई ठेक्का दिइएको छ । हाइड्रोमेकानिकल इक्विपमेन्ट भन्नाले बाँध, इन्टेक, डिस्यान्डर आदिमा गेटहरू, स्तपलगहरू, स्टिल पाइप आदिको डिजाइन, जडान, परीक्षण र कमिसिनिङ कार्य पर्दछन् ।

त्यसैगरी इलेक्ट्रोमेकानिकल इक्विपमेन्टतर्फ अस्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबीएचलाई जिम्मा दिइएको छ । इलेक्ट्रोमेकानिकल कार्यतर्फ आयोजनाका मुख्य मेसिन र उपकरणहरू जस्तै टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, स्विचगियर, भल्ब, गर्भनर र सोसँग सम्बन्धित उपकरणहरूको डिजाइन, जडान, परीक्षण र कमिसिनिङ पर्दछन् । 

त्यसैगरी अर्को महत्वपूर्ण ठेक्का प्रसारणलाइन तथा सबस्टेसन निर्माणको ठेक्का भारतको केईसी इन्टरनेसनललाई दिइएको छ । बिगुको गोंगरदेखि खिम्ती सबस्टेसनसम्मको ४७ किलोमिटर लामो २२० के.भी. प्रसारणलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । १२७ वटा टावरमध्ये हालसम्म १२३ वटाको फाउन्डेसनको कार्य सकिएको छ भने १०७ वटा टावर खडा गरी २४ कि.मि.भन्दा बढी तार तान्ने कार्यसमेत सम्पन्न भइसकेको छ । 

कस्तो प्रकृतिको आयोजना ?
कुल ४५६ मेगावाट जडित क्षमता रहेको यस आयोजनाबाट औसत वार्षिक ऊर्जा उत्पादन २ अर्ब २८ करोड युनिट रहेको छ । यस आयोजनाको ग्रस हेड ८२२ मिटर र डिजाइन डिस्चार्ज ६६ घनमिटर प्रति सेकेन्ड रहेको छ । यो आयोजना दैनिक पिकिङको रन अफ दी रिभरमा आधारित आयोजना हो । दैनिक पिकिङ भन्नाले पानीको बहाव राम्रो भएको समयमा पूर्ण क्षमतामा २४सै घण्टा चलाउने र सुख्खायाममा पानीलाई थुनी पानी जम्मा गर्ने र पिक आवरमा सञ्चालन गर्ने भन्ने हो ।

यो आयोजनामा पानीको बहाव प्रशस्त हुने जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिनामा २४सै घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन सक्छ । त्यसैगरी अक्टोबर महिनामा २० घण्टासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्छ भने नोभेम्बरमा पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक साढे १० घण्टा, डिसेम्बरमा ७ घण्टा, जनवरीमा ५ दशमलब ३ घण्टा, फेब्रुअरमिा ४ दशमलब ६ घण्टा, मार्चमा ४ दशमलब ७ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन सक्छ । त्यसैगरी अप्रिल महिनामा यस आयोजनाबाट दैनिक ६ घण्टा तथा मे महिनामा दैनिक ११ दशमलब ४ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ । 

यो आयोजनामा पानी जम्मा गरेर झार्न सकिने भएकाले अत्यधिक माग हुने समयमा मात्रै पनि यो आयोजना सञ्चालन गर्न सकिने छ । जसका कारण साँझ र बिहानको समयमा विद्युत् आपूर्ति गर्न यो आयोजनाले सहयोग पुर्याउनेछ । 

कहिले सुरु हुन्छ उत्पादन ?

यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । २०६८ सालमा आयोजनाको निर्माण सुरु हुँदा यस आयोजना साढे ५ वर्ष अर्थात् २०१७ को डिसेम्बरमै सक्ने लक्ष्य लिइएको थियो । तर २०७२ सालको वैशाख १२ मा भूकम्प आएपछि यस आयोजनाको निर्माण सम्पन्न मिति २ वर्ष पछाडि धकेलिन पुग्यो । भूकम्पका कारण सिभिल निर्माणमा केही क्षति पुर्यायो भने २०७२ को वैशाखदेखि २०७३ को मङ्सिरसम्म गोगरदेखि लामाबगरसम्मको सम्पूर्ण आवागमन बन्द नै रह्यो । भारतीय नाकाबन्दीले पनि यस आयोजना निर्माणमा ढिलाइ हुन गयो । अहिले २०७५ सालको मङ्सिर महिनासम्ममा पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने र २०७५ को चैत मसान्तभित्र ६ वटै युनिटबाट विद्युत् उत्पादन सुरु गरी प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । 

अहिलेको कामको प्रगति हेर्दा छिटोमा २०७५ को अन्त्यसम्ममा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन भइसक्ने छ । यदि कुनै कारणवस ढिलो हुन गएमा पनि २०१९ को अन्त अर्थात् २०७६ को पुससम्ममा माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ । माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएसँगै देशमा झिलीमिली सुरु हुनेछ भने विद्युत् उत्पादन तथा प्रयोगमा देशले फड्को मार्ने छ । 
 

मदन ढुङ्गाना

रातोपाटीमा स्थानीय निकाय र समसामयिक विषयमा लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ