बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजना– २ : यसरी बनिरहेछ भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल

बुधबार, ०९ जेठ २०७५, १२ : २२
बुधबार, ०९ जेठ २०७५

यतिबेला नेपाल र भारतलाई बुद्ध सर्किटमा जोड्नका लागि पटक पटक गृहकार्य र मास्टरप्लानहरू बनेका छन् । नेपाल र भारत सरकारबीच पनि बुद्ध सर्किटलाई पर्यटकीय केन्द्रका रूपमा अगाडि बढाउन पटक पटक छलफल भएका छन् । 

हाल विश्वमा ७ अर्ब ६३ करोड २८ लाखभन्दा बढी मानिस छन् । उनीहमध्ये झण्डै २२ प्रतिशत अर्थात् १ अर्ब ६० करोड जनसङ्ख्या बुद्ध धर्म मान्छन् । 

बुद्ध धर्म मान्ने मानिसको सङ्ख्या यति धेरै भए पनि बुद्धको जन्मभूमि नेपालको धार्मिक पर्यटन भने त्यति धेरै बढ्न सकेको छैन । नेपाल सरकारले यसैलाई मध्यनजर गर्दै रूपन्देहीको भैरहवामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्दै प्रक्रिया सुरु ग¥यो ।

नेपाल सरकारले सन् २००८ बाट भैरहवामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्दै बजेट छुट्याउन थाल्यो र यसको प्रक्रिया अगाडि बढायो । यस विमानस्थललाई  लगत्तै केही समयपछि नै सरकारले भैरहवामा बन्न लागेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै प्राथमिकतामा राख्यो ।

भैरहवामा बन्दै गरेको यो विमानस्थल विद्यमान विमानस्थलको स्तरोन्नति हो । 

हाल भैरहवा विमानस्थल २ सय ८७ बिघामा फैलिएको छ । यस विमानस्थलमा अहिले अधिकतम ७२ सिट क्षमतासम्मका विमान मात्रै अवतरण हुन सक्छन् । 

तर यो विमानस्थलको स्तरोन्नति भएपछि यहाँ ३ सय सिट क्षमतासम्मको जहाजहरू उडान र अवतरण गर्न सकिनेछ । 

राष्ट्रिय गौरवका आयोजना–१ : यसरी बन्दैछ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल

क्षेत्रफल 
हाल यो विमानस्थल जम्मा २ सय ८७ विघाहा क्षेत्रफलमा फैलिएको छ । तर विमानस्थल स्तरोन्नतिका लागि थप ५ सय बिघा जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि २३ अर्ब ५९ करोड खर्च हुन्छ । जसमध्ये हालसम्म ६ अरब रूपियाँको मुआब्जा वितरण भइसकेको छ भने अझै १७ अर्ब रुपियाँ मुआब्जा वितरण हुन बाँकी छ । यस वर्ष अर्को ५ अर्ब रकम मुआब्जा वितरण गरिने छ ।

जग्गा अधिग्रहणमा दिने मुआब्जा रकम करिब २३ अर्ब २० करोड मात्रै भए पनि पूरै विस्थापित हुने केही घरपरिवारलाई नजिकैको स्थानमा भौतिक पूर्वाधारको विकास गरी जग्गासमेत दिने तयारी गरिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि झण्डै ४० करोड रकम छुट्याइएको छ । 

कति लागत ?
गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६ अर्ब २२ करोड नेपाली रुपियाँ खर्च हुने भएको छ । यो रकम जग्गा अधिग्रहण बाहेकको रकम हो । जग्गा अधिग्रहणका लागि २३ अर्ब ५९ करोड लागत पुग्ने छ । 

विमानस्थल निर्माणका लागि सरकारले सन् २०१० मे २५ मा एसियाली विकास बैङ्कसँग ऋण र अनुदान लिने गरी सम्झौता ग¥यो । सम्झौताअनुसार विमानस्थल निर्माणका लागि लाग्ने ६ अर्ब २२ करोड रकममध्ये एसियाली विकास बैङ्क (एडीबी) ले ५८ दशमलव ५ प्रतिशत लगानी गर्ने गरी सहमति भयो । त्यसैगरी एडीबीकै सक्रियतामा ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टले ३० दशमलब ५ प्रतिशत लगानी गर्ने र नेपाल सरकारले ११ प्रतिशत लगानी गर्नेगरी सहमति भयो ।

एडीबीले लगानी गर्ने ५८ दशमलब ५ प्रतिशत अर्थात् झण्डै ३ अर्ब ६३ करोड रुपियाँमध्ये कुल लगानीको ४० प्रतिशत अर्थात् झण्डै २ अर्ब ५० करोड रुपियाँ ऋण सहयोग र १८ दशमलव ५ प्रतिशत अर्थात् १ अर्ब १५ करोड अनुदान (फिर्ता गर्नु नपर्ने) दिने गरी सम्झौता भयो ।

त्यसैगरी ओपेकले पनि विमानस्थल निर्माणका लागि १ अर्ब ९० करोड ऋण सहयोग उपलब्ध गराउने गरी सहमति भयो । 

कसरी बन्दैछ ? 
सुरुमा भारत सरकारको सहयोगमा २०२३ सालमा बनेको यो विमानस्थल सन् २००८ बाट अन्तर्राष्ट्रिय स्तरको बनाउन पहल भयो । त्यसपछि नेपाल सरकारले यो आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढायो ।

र, विमानस्थल निर्माणका लागि एसियाली विकास बैङ्क, ओपेक र नेपाल सरकारले लगानी गर्नेगरी तयारी भयो । 

विभिन्न दातृ निकायसँग सहमति भइसकेपछि नेपाल सरकारले सन् २०१३ मा ग्लोबल टेन्डर आह्वान ग¥यो । त्यो आह्वानमा विमानस्थलको निर्माण गर्दा एउटा कम्पनीलाई भौतिक निर्माण र अर्को कम्पनीलाई आवश्यक सरसामान खरिदका लागि आईसीबी ०१ र आईसीबी ०२ मोडलमा काम गर्नेगरी टेन्डर आह्वान गरियो । 

२०७१ कात्तिक २७ अर्थात् १३ नोभेम्बर, २०१४ मा विमानस्थलको भौतिक पूर्वाधार निर्माण गर्नेगरी चीनको नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपलाई आईसीबी ०१ मोडलमा ठेक्का दिने सम्झौता भयो । सम्झौताअनुसार ठेकेदार कम्पनीले यो विमानस्थलको सम्पूर्ण भौतिक पूर्वाधार सन् २०१७ को डिसेम्बरभित्रै निर्माण सकिसक्नुपर्ने थियो । ठेकेदार कम्पनीसँग सम्झौता भएलगत्तै सरकारले २०७१ माघ १ गते यो विमानस्थल स्तरोन्नतिको शिलान्यास ग¥यो । 

किन सकिएन समयमै काम ?
यदि ठेकेदार कम्पनीले इमानदारीपूर्वक काम गरेको हुन्थ्यो र देशमा अन्य केही समस्या भएको हुँदैनथ्यो भने यतिबेला यो विमानस्थल अपरेसन अर्थात् चालु भइसकेको हुन्थ्यो । तर मुख्य तीन कारणले यो विमानस्थलको निर्माण सम्पन्न तोकिएकै समयमा हुन सकेन । यसमा मुख्य तीन कारणहरू छन् ।

१. भूकम्प
निर्माण कम्पनीले यो विमानस्थलको निर्माण सुरु गर्नेबित्तिकै देशमा विनाशकारी भूकम्प गयो । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले पूरै विकास निर्माणलाई तहसनहस पारिदियो । यही समयमा जनशक्तिको अभावदेखि नियमित पराकम्पन आइरहेकाले झण्डै ४ महिना काम नै हुन सकेन । 

२. भारतको नाकाबन्दी
यहीबीचमा संविधानसभाबाट २०७२ साल असोजको ३ गते नेपालको संविधान जारी भयो । तर नेपालको संविधानमा खुशी नदेखिएको भारतले त्यसलगत्तै अघोषित रूपमा नाकाबन्दी सुरु ग¥यो । विमानस्थल निर्माणका लागि आवश्यक अधिकांश सामानदेखि इन्धनसम्म भारतबाटै ल्याउनुपर्ने भएकाले नाकाबन्दीको समयमा कुनै काम हुनै सकेन । जसका कारण समयमै विमानस्थल निर्माण हुन सकेन । 

३. ठेकेदार कम्पनीकै असक्षमता
गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै नसकिनुको अर्को तर मुख्य कारण भने ठेकेदार कम्पनीकै असक्षमता हो । मुख्य ठेकेदार कम्पनी नर्थवेस्टले नेपालका ठेकेदार कम्पनीलाई विमानस्थल निर्माणका लागि पेटी ठेक्का दिएको थियो । तर मुख्य ठेकेदार कम्पनीले नेपाली ठेकेदारलाई समयमै पैसा दिन नसकेपछि उनीहरूले काम बन्द गरिदिए । 

चिनियाँ कम्पनीले सुरुको केही प्रतिशत काम आफ्नै लगानीबाट गराउनुपर्छ । कम्तीमा २ प्रतिशत काम गरिसकेपछि मात्रै उसले आयोजना निर्माण गर्ने संस्थासँग रकम माग गर्न मिल्छ । तर यसले आफूले गर्ने लगानीको क्यास फ्लो समयमै गर्न नसक्दा पनि यसले समस्या पा¥यो र समयमै निर्माण सम्पन्न हुन सकेन । 

यी विविध कारणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमै सम्पन्न हुन सकेन । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणको समयावधिलाई बढाएर हाललाई सन् २०१८ को जुन १५ सम्मको समयावधि दिएको छ । यद्यपि यो समयमा पनि निर्माण पूरा नहुने भएकाले बढीमा अर्को १ वर्षका लागि समय थप गर्ने तयारी भइरहेको छ । तर लागत मूल्यमा भने कुनै परिवर्तन नगरिने राष्ट्रिय गौरव आयोजनाकी उपप्रवन्धक आर्किटेक्ट इन्जिनियर चाँदमाला श्रेष्ठले बताइन् । 

कस्तो बन्दैछ ?
अहिले भैरहवामा रहेको विमानस्थलको रनवे जम्मा १ हजार ५ सय २४ मिटर लामो छ । तर यो विमानस्थलको स्तरोन्नति भएपछि रनवेको लम्बाइ ३ हजार मिटर लामो हुनेछ । यो भनेको काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लम्बाइ बराबर हो । 

राष्ट्रिय गौरवकै आयोजनाभित्र रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३४ सेन्टिमिटर बाक्लो ढलान हुने भए पनि गौतमबुद्ध विमानस्थल भने कालोपत्रे मात्रै हुनेछ । 

हाल सञ्चालनमा रहेको टर्मिनल भवनको क्षमता प्रतिघण्टा जम्मा ६ सय जना धान्ने छ । तर १० हजार वर्ग मिटरमा बन्ने नयाँ टर्मिनल भवनले भने प्रतिघण्टा २ हजार यात्रुलाई सेवा दिन सकिने छ ।

हाल अधिकतम ७२ सिट क्षमताका जहाजहरू मात्रै अवतरण गर्न सकिने यो धावनमार्गमा विमानस्थलको निर्माण भएपछि भने बोइङ ७७७, एअरबस ३००–३२० लगायतका ३ सय सिट क्षमताका विमानहरू पनि अवतरण गर्न सकिने छ । 
यस विमानस्थलमा हाल रहेको रनवेलाई पछि ट्याक्सी वेका रूपमा प्रयोग गरिने छ । यही रनवेलाई पछि ट्याक्सी वेका रूपमा प्रयोग गरी एप्रोन अर्थात् विमान पार्किङ गर्ने स्थानसम्म लगिने छ । 

यस विमानस्थलमा एउटा ८ तलाको कन्ट्रोल टावर निर्माण गरिने छ । त्यससँगै एड्मिनिस्ट्रेटिभ एन्ड म्यानेज्मेन्ट भवन पनि निर्माण गरिने छ । 

यो विमानस्थल पोखरा विमानस्थलभन्दा पनि उच्च क्याटेगोरी अर्थात् फोर ई क्याटेगोरीको हुनेछ ।

क्यान भन्छ : ढिलोमा २०२० को सुरुवातमा चल्छ
सन् २०१७ को डिसेम्बरमै यो विमानस्थल निर्माण भइसक्नुपर्ने भए पनि विविध कारणले ढिलो भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको समय सकिन पनि अब केही दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा यसको निर्माण कसरी अगाडि बढ्छ त ? क्यानकी उपप्रवन्धक चाँदमाला श्रेष्ठ भन्छिन्, ‘ढिलोमा २०२० को जनवरीमा सञ्चालनमा आउँछ ।’ उपप्रवन्धक श्रेष्ठका अनुसार यो विमानस्थलको हालसम्मको प्रगति ४० प्रतिशत पुगिसकेको छ । ४० प्रतिशत काम भनेको भौतिक निर्माणको झण्डै ५० प्रतिशत हो । किनभने ३० प्रतिशत काम भनेको सामान किनेर ल्याएर जोड्ने मात्रै हो । 

उपप्रवन्धक श्रेष्ठका अनुसार यो विमानस्थल छिटोमा २०१९ को जुन र ढिलोमा २०२० को जनवरीमा सञ्चालनमा आउनेछ । 

यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु ह्यान्डल गर्नसक्ने यो विमानस्थलको क्षमता रहने छ । 

के फाइदा ?
यो विमानस्थल निर्माणको प्रमुख उद्देश्य भनेको विश्वभर रहेका बुद्धिष्ट पर्यटकलाई नेपालमा ल्याउनु पनि हो । हाल विदेशबाट आउने पर्यटकहरू काठमाडौंमा आएर मात्रै लुम्बिनी जान सक्छन् । तर यदि भैरहवामै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुँदा पर्यटकहरू सोझै भैरहवा उत्रिएर लुम्बिनीको भ्रमण गर्न सक्छन् । 

त्यसबाहेक यस विमानस्थल काठमाडौं विमानस्थलको विकल्प बन्नेछ । कुनै कारणबस काठमाडौंमा विमान अवतरण गर्न नसकिँदा अब भैरहवामा अवतरण हुनेछ । यसको काठमाडौंको एअर ट्राफिक जामलाई पनि कम गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप