शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजना–१ : यसरी बन्दैछ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल

मङ्गलबार, ०८ जेठ २०७५, ०९ : २६
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौँ । हाल नेपालमा एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ र त्यो काठमाडौंमा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अहिले विमानहरूको चाप थेग्न हम्मेहम्मे परिरहेको छ । एयर ट्राफिक जामका कारण अन्तर्राष्ट्रिय विमानहरू आकाशमै घण्टौँ होल्डमा बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा सरकारले अहिले पोखरा, भैरहवा र बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाउँदै छ ।

यहाँ चर्चा गर्न खोजिएको विमानस्थल चाहिँ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हो ।  

हुन त पोखरामा क्षेत्रीय स्तरको अर्को विमानस्थल बनाउने भन्दै २०३२ सालबाट नै काम सुरु भएको हो । यद्यपि २०३२ सालबाट जग्गा अधिग्रहण सुरु गरे पनि जग्गा अधिग्रहणको काम सकिन भने झण्डै ४० वर्ष लाग्यो । २०७१ को अन्त्यमा बल्ल विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम सकियो । त्यसपछि बल्ल पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु भयो ।

कति क्षेत्रफल
पोखरामा निर्माण हुँदै गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ३ हजार १ सय ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । पोखरा महानगरपालिकाको वडा नं १४ मा पर्ने छिन्नेडाँडा भन्ने स्थानमा अहिले यो विमानस्थल निर्माण भइरहेको छ ।

सुरुमा यो विमानस्थल निर्माणका लागि जम्मा २ हजार ५ सय ८६ वर्ग मिटर क्षेत्रफल छुट्ट्याइएको थियो । तर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जग्गा अपुग हुने भएपछि २०७१ सालमा ३ पटक सूचना प्रकाशित गरी थप ५ सय २० रोपनी जग्गा अधिग्रहणको काम भयो । अधिग्रहणका क्रममा ३५ वटा घर तथा टहरा पनि समावेश गरियो र यसका लागि ३ अरब रुपियाँ खर्च भयो ।

तर विमानस्थलको क्षेत्रफल बढेपछि यसले केही स्थानीय व्यक्तिहरूको आवतजावत गर्ने बाटो पनि बन्द भयो र त्यसको विरोध सुरु भयो । त्यसपछि नेपाल सरकारले पुनः ५० रोपनी जग्गा अधिग्रहण गरी विमानस्थलको बाहिर रिङरोड बनाउने निर्णय ग¥यो । १० मिटर चौडाको रिङरोड निर्माणका लागि अहिले पनि अधिग्रहणको काम जारी छ । यो जग्गा अधिग्रहणका लागि थप १ अरब खर्च गरियो । 
 

कसरी बनाउने
तत्कालीन समयमा क्षेत्रीय विमानस्थल मात्रै बनाउने भनिएकाले यसको क्षेत्रफल पनि कम नै कायम गरिएको थियो । तर जब सन् २०१२ मा सरकारले यसलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय ग¥यो, त्यसपछि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाभित्र समावेश गरी कामको प्रक्रिया सुरु भयो । सन् २०१२ को ईपीसी मोडलमा विमानस्थल निर्माण गर्ने भन्दै विश्वव्यापी बोलपत्र आह्वान गरियो । ईपीसी भनेको इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन हो । जसको अर्थ एउटै ठेक्कामा डिजाइन निर्माणदेखि लिएर आवश्यक सामान खरिद र निर्माणको काम हुन्छ । यही बोलपत्र आह्वानमार्फत् ईपीसी मोडलमा अहिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भइरहेको छ ।

कसले बनाउने कति लागत ?
सन् २०१२ मा विश्वव्यापी बोलपत्र आह्वान गरी निर्माणका लागि प्रक्रिया अगाडि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१४ को मे २२ मा चीनको चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडसँग व्यापारिक खरिद सम्झौता ग¥यो । यद्यपि यसभन्दा अगाडि नै यो कम्पनी छनौट भई निर्माणको विधि, समय र लागतका सम्बन्धमा अध्ययन गरिसकेको थियो ।  सम्झौताअनुसार करिब २२ अरब नेपाली रुपियाँको लागत अर्थात् २१५ दशमलब ९६५ मिलियन अमेरिकी डलरमा निर्माण गर्ने गरी सम्झौता भयो । कुल लागतमध्ये ७५ प्रतिशत अर्थात् करिब १६ अर्ब ५० करोड रुपियाँ चीनको एक्जिम बैङ्कको ऋण सहयोग र २५ प्रतिशत चाहिँ चीन सरकारको बिना ब्याजको ऋणबाट बन्ने गरी सम्झौता भयो ।

चीनको एक्जिम बैङ्कबाट उपलब्ध हुने ऋणको वार्षिक २ प्रतिशत ब्याज र पहिलो ७ वर्षसम्म ब्याज मात्रै तिर्ने गरी सम्झौता गरिएको छ । 

सम्झौतामै गडबढी 
विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र चीनको एक्जिम बैङ्क तथा चीन सरकारसँग सम्झौता भए पनि यो ऋण स्वीकृत हुन भने झण्डै २ वर्ष लाग्यो । सम्झौता गरेको धेरैपछि अर्थात् सन् २०१६ को मार्चमा मात्रै एक्जिम बैङ्कले उपलब्ध गराउने भनेको ऋण स्वीकृत गरिदियो । 

तर जतिबेला प्राधिकरण समन्वयमा अर्थ मन्त्रालय र एक्जिम बैङ्कबीच ऋण सम्झौता भयो, त्यतिबेला सम्झौतामै गडबढी गरियो । ऋण सम्झौतामा संलग्न अधिकारीहरुको अदूरदर्शिताका कारण नेपालका सबै एअरपोर्टको आम्दानी संयुक्त खाता (स्क्रो एकाउण्ट)मा जानेगरी सम्झौता भयो । त्यो सम्झौतामा पोखराको मात्रै विमानस्थल बनाए पनि नेपालका अन्य सबै विमानस्थलको आम्दानी एउटा संयुक्त खाता खोलेर त्यसैमा राख्ने र प्राधिकरण, एक्जिम बैङ्क र चीन सरकारको सहमतिबाट मात्रै उक्त रकम निकाल्न मिल्ने सम्झौता गरियो ।

यता सम्झौतापछि नेपाल सरकारले प्राधिकरणका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारीलाई विमानस्थल निर्माणका लागि सहजीकरण गर्न खटायो । जब अधिकारीले सम्झौतामा गलत शर्त उल्लेख भएको पत्ता लगाए, त्यो सम्झौता मान्न नसकिने भन्दै अड्डी लिए र संशोधनका लागि पहल गरे । 

यद्यपि चिनियाँ बैङ्क भने यो सम्झौता संशोधन गर्न तयार नै भएन । यही लफडामा झण्डै १ वर्ष बित्यो । अन्ततः २०१७ को मे ३० तारिखमा उक्त सम्झौता संशोधन भयो र लोन बल्ल स्वीकृत भयो ।

सम्झौतामा संशोधन भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१७ को जुलाई ११ मा विमानस्थल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड निर्माण सुरु गर्न कार्यादेश दियो । कार्यादेश दिएको ४ वर्ष अर्थात् सन् २०२१ को जुलाई १० भित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएलगत्तै यतिबेला चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीव्रता दिएको छ । निर्माण कम्पनीले यतिबेला डिजाइन तयार गरिसकेको छ भने विमानस्थल निर्माण गर्ने स्थानमा माटो खन्ने र सम्याउने काम भइरहेको छ । यतिबेला माटो खन्ने काम लगभग ७० प्रतिशत सकिएको छ भने डिजाइनसहित कुल कामको १२ प्रतिशत काम सकिएको छ । 
 

कस्तो बन्नेछ ?

पोखरामा बन्न लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ)को मापदण्डअनुसार फोर डी स्तरको हुनेछ । ईपीसी मोडलमा निर्माण गरिने यस विमानस्थलको चौडाइ ७५ मिटर लम्बाइ अर्थात् रनवे २ हजार ५ सय मिटरको हुनेछ । त्रिभुवन विमानस्थलको धावनमार्गको लम्बाइ हाल ३ हजार वर्ग मिटरको रहेको छ । 

यस विमानस्थलमा १ हजार २ सय मिटरको ट्याक्सी वे अर्थात् विमान पार्किङका लागि जाने बाटो निर्माण गरिने छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १४ हजार वर्ग मिटरको टर्मिनल भवन निर्माण हुनेछ । यसमा १० हजार वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन र ४ हजार वर्गमिटरको आन्तरिक टर्मिनल भवन निर्माण हुनेछ । हाल भित्रवुन विमानस्थलमा रहेको टर्मिनल भवन ३५ हजार वर्ग मिटरको रहेको छ । 

यो विमानस्थलमा नेपालमै पहिलो पटक बोर्डिङ ब्रिजको व्यवस्था गरिने छ । बोर्डिङ ब्रिज भनेको बोर्डिङ रुमबाट विमानसम्म जानका लागि बनाइने विशेष प्रकारको पुल हो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानसम्म जानका लागि बोर्डिङ रुमबाट बाहिर निस्किएर सवारीसाधनमा जानुपर्छ । तर यो बोर्डिङ ब्रिज निर्माण भएपछि अब विमान चढ्न वा आउनका लागि सवारीसाधनको आवश्यकता पर्ने छैन । अब सोझै बोर्डिङ ब्रिजबाट विमानमा चढ्ने र फर्कने व्यवस्था हुनेछ । 

धावनमार्गको ढलान हुने 
यो विमानस्थलमा बन्न लागेको २ दशमलव ५ किमिको धावनमार्गको पूरै ढलान हुने छ । त्रिभुवन विमानस्थलको धावनमार्ग कालोपत्रे मात्रै गरिएकाले कैयौं पटक कालोपत्रे उक्किने हुँदा उडानमै समस्या भइरहेको छ । यद्यपि यो विमानस्थलको रनवे भने पूरै ढलान गरिने छ । यो ढलान ३४ सेन्टिमिटर बाक्लो हुनेछ । जसका कारण वर्षौंसम्म यो ढलानमा कुनै समस्या आउने छैन । 

विमानस्थलबाट के फाइदा
पोखरामा बन्दै गरेको विमानस्थल २ सय जनासम्म यात्रु बोक्न सक्ने क्षमताका जहाजहरूका लागि उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार यो विमानस्थलले २ सय जनासम्म यात्रु बोक्ने मध्यमस्तरका जहाजलाई थेग्नेछ ।

हाल काठमाडौंमा रहेको एक मात्र विमानस्थलमा एअर ट्राफिकको जाम बढ्दै गएको अवस्थामा यो विमानस्थलको निर्माण सम्पन्न भएलगत्तै एकातिर काठमाडौंको एअर ट्राफिक जाममा कमी आउनेछ भने अर्कोतिर सोझै पोखरा जान चाहने यात्रुहरूका लागि यसले सहजता प्रदान गर्नेछ । यो विमानस्थलको निर्माणपछि भारत, चीन, थाइल्यान्ड, सिङ्गापुर, मलेसिया तथा मध्यपूर्वमा सीधा हवाइ उडान हुनेछ । त्यसको साथै प्रतिकूल मौसमका कारणले काठमाडौंमा अवतरण हुन नसकेका विमानहरू पनि पोखरामा अवतरण गर्ने वैकल्पिक ढोका खुल्नेछ । बङ्गलादेशको ढाका तथा भारतको कोलकत्ता, लखनउलगायतमा लैजानुपर्ने बाध्यता हट्नेछ । 

यो विमानस्थल ढिलोमा २०२२ को जनवरीमा सञ्चालनमा आउने दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

पुरानो विमानस्थलको अस्तित्व सकिने
अहिले निर्माण भइरहेको विमानस्थल पोखरा महानगरपालिकाको वडा नम्बर १४ मा रहेको छिन्नेडाँडा भन्ने स्थानमा छ । जुन अहिले रहेको पोखरा महानगरपालिकाको वडा नम्बर ७ भन्दा फरक स्थानमा हो । जब नयाँ विमानस्थलको निर्माण सकिन्छ र तब हाल रहेको चलिरहेको विमानस्थलको अस्तित्व पनि सकिने छ । नयाँ विमानस्थल बनेलगत्तै पुरानो विमानस्थलका काम कारवाही बन्द हुने प्राधिकरणले बताएको छ ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप