शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनको तयारी पुरा : ६६२७ पदका लागि ३७२३६ उम्मेदवार प्रतिस्पर्धामा

आइतबार, ०१ असोज २०७४, १६ : ३७
आइतबार, ०१ असोज २०७४

काठमाडौं– स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने मतदानको सम्पुर्ण तयारी पुरा भएको छ ।

प्रमुख निर्वाचन आयुत्त, डा. अयोधि प्रसाद यादवले आइतबार पत्रकार सम्मेलन गरी  मतदान सञ्चालन गर्न सवै तयारी पूरा भएको जानकारी दिएका हुन् । प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा निर्वाचन हुन लागेको हो । 
आयोगले भोलि  बिहान ७ बजेदेखि अपरान्ह ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मात्रै मतदान गर्न पाउने स्पश्ट पार्दै सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक हुन र योग्य उम्मेदवारलाई निर्वाचित गराउन आग्रह पनि गरेको छ । 
आयोगले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न सबै मतदाता महानुभावहरूसँग अपिल पनि गर्दै
असोज २ लाई जनप्रतिनिधि छनोट गर्ने पर्वका रुपमा मनाउन पनि अनुरोध गरेको छ । यसअघिका निर्वाचनजस्तै असोज २ मा पनि अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई आयोग निर्देश दिएको छ । त्यस्तै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्ने जनाएकोे छ । 
३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा
तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी परेको छ । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी परेको छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार हुनुहुन्छ । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा हुनुहुन्छ । निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।
४४ वटा संस्थालाई पर्यवेक्षणको अनुमति
स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले राष्ट्रिय पर्यवेक्षकहरूलाई अनुरोध गर्ने नीति बमोजिम तेस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
भरपर्दो सुरक्षा
सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ । सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ । तसर्थ तपाईको अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्नु हुने कुरामा आयोग ढुक्क रहेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोगका लागि आयोग हार्दिक अपील गरेको छ । आयोगले मतदानको कार्य सम्पन्न भई मतपेटिकाहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि राजनीतिक दलहरुसँग समन्वय गरी यथाशक्य छिटो मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्न सबै निर्वाचन अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । विगतका घटनाक्रमलाई समेत ध्यानमा राखी मतगणना कार्यलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतगणनामा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीकोे सहयोगात्मक भूमिका रहनेमा आयोग विश्वस्त रहेको जनाइएको छ ।

मतदान गर्न मतदाता आतुर छन् मधेशका मतदाता

मतदाता परिचयपत्र छैन ? चिन्ता नगर्नुस् आयोगले दियो ६ बिकल्प

चुनावमा किन हुन्छ ४८ घन्टा मौन अवधि ?

मधेसमा भोलि मतदान

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप