सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान गर्न मतदाता आतुर छन् मधेशका मतदाता

आइतबार, ०१ असोज २०७४, १४ : १८
आइतबार, ०१ असोज २०७४

वीरगञ्ज -भोलि सोमबार हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् । 

मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । दुई दशकपछि भोलि हुने तेस्रो चरणको निर्वाचनमा आफूले मन पराएको उम्मेदवारलाई मत खसाल्न पाउँदा मतदातामा खुशीको लहर छाएको हो । 

संविधानप्रति विमति जनाउँदै आएका मधेशवादी दलका कारण बारम्बार निर्वाचनको समय फेरबदल हँुदै आएकामा ती मधेशवादी दलले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएपछि संविधान कार्यान्वयनको मार्ग प्रशस्त भएको छ । 

संविधानमा व्यवस्था भएअनुसार नै यसपाली निर्वाचनमा महिला, दलित तथा उत्पीडन समुदायले उम्मेदवार बन्ने मौका पाए र यो संविधानले महिलाको समान अधिकारलाई सुनिश्चित गरेकाले सोमबार मत खसाल्न महिला पनि तम्सिएका छन् । 
यहाँको महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडामा विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दिए पनि यसपाली उम्मेदवार र दलको ख्रोक्रो आश्वासनमा नपरि विकास गर्ने उम्मेदवारलाई मत खसाल्न घर नजिकै रहेको मतदान केन्द्रमा जाने अलौवासीको सोच छ । “नेताका झूठो आश्वासनको जालोमा धेरै परियो तर अब सोमबार असल र विकासप्रेमी उम्मेदवारलाई भोट हाल्छौँ । वीरगञ्ज महानगरपालिका वडा नं २४ रमघडवाका शेषमन पण्डित भन्नुहुन्छ, “दुई दशकपछि स्थानीय तहको चुनावमा मत खसाल्न पाएको अधिकार बिहानै मतदान गरी सदुपयोग गर्छौं ।” 

चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवार समृद्ध र सवल पर्सा, सडक सञ्जालको विकास ,आर्थिक विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई मत खसाल्ने कुरामा मतदाताबीच विमति भने देखिँदैन । 

यो जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा ११२वटा मतदान केन्द्र रहेको छ । दुई लाख ८० हजार २१२ मतदाताले बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदानका लागि सबै व्यवस्था मिलाइसकिएको, सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताले पायकपर्ने ठाउँमा मतदान गर्न सहज वातावरण बनेको छ । 

जनप्रतिनिधिविहीन अवस्थामा दुई दशकसम्म विकास हुन नसकेको पर्सा जिल्लामा सोमबार हुने निर्वाचनले विकासको बाटो खोलिदिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप