सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा किन हुन्छ ४८ घन्टा मौन अवधि ?

शनिबार, ३१ भदौ २०७४, १० : ४०
शनिबार, ३१ भदौ २०७४

काठमाडौँ- निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ ।

प्रदेश नम्बर २ मा  असाेज २ गते हुने  तेस्राे चरणाकाे स्थानीय तह निर्वाचनको मौन अवधि  मध्यरात सुश्रू भइसकेकाे छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन पाइँदैन ।

राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिएको आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् ।

पूर्व प्रमुख आयुक्त उप्रेतीले भने – “निर्वाचन हुनु ४८ घन्टा अघि मौन अवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । निर्वाचनको वातावरण शान्त होस्, उम्मेदवारबीचको प्रतिस्पर्धा अस्वथ्य नहोस् भनेर मौन अवधि राखिएको हो । मतदातालाई शान्तपूर्वक सोच्न, उम्मेदवारलाई आफ्नो तयारीका बारेमा समीक्षा गर्न र निर्वाचन आयोगलाई बाँकी काम पूरा गर्न पनि मौन अवधिको महत्व छ ।”

तेस्राे चरणको निर्वाचन असाेज २  गते प्रदेश नं २ का १३६ स्थानीय तहमा हुँदैछ । मौन अवधिमा प्रचारप्रसार गर्न र मत माग्न हँुदैन । यो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्नेछ ।

स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न हँुदैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन । उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न हुँदैन ।

आयोगका प्रवक्ता नवराज ढकालले स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको जानकारी दिए । निर्देशिकाको दफा ७० को उपदफा९१०मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप