शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम : समाधान के ?

नाम मात्रको ट्राफिक लाइट, फिल्डमा दुई हजार ट्राफिक प्रहरी आवश्यक
बिहीबार, १९ भदौ २०७६, १२ : ३५
बिहीबार, १९ भदौ २०७६

काठमाडौँ । रत्नपार्क–टुँडीखेल सडकको लम्बाई दुई किलोमिटर ७२ मिटर छ । त्यहाँ दिनहुँ घण्टौँ जाम हुन्छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा विकराल बन्दै गरेको ट्राफिक जामको केन्द्र त्यही रत्नपार्क–टुँडीखेल भएको छ ।

दिनानुदिन सडकमा सवारी चाप बढ्न थालेपछि समाधानका लागि सरकारले सार्वजनिक यातायात र वैकल्पिक मार्गको व्यवस्था गर्न यातायात विभाग, सडक विभाग र ट्राफिक प्रहरीलाई सुझाव दिएको छ ।

तर, यातायात विभागले ट्राफिक प्रहरीलाई देखाउने, सडक विभागले पनि ट्राफिक प्रहरीलाई देखाउने र ट्राफिक प्रहरीले भने यातायात विभाग र सडक विभागलाई देखाएर उम्कनने गरेका छन् । समस्या समाधान भन्दा पनि एकले अर्कालाई देखाएर पन्छिने प्रवृत्ति कै कारण उपत्यकाको ट्राफिक जाममा कमी आउन नसकेको यसबारे जानकारहरु बताउँछन् ।

प्रहरी भने आवश्यक जनशक्ति उपलब्ध नहुँदा ट्राफिक व्यवस्थापन कठिन बनेको बताउँछ । उपत्यकामा करीब दुई हजार ट्राफिक प्रहरीको आवश्यकता छ । तर, उपत्यकामा एक हजार ४ सय ट्राफिक प्रहरीको मात्रै दरबन्दी रहेको छ । आवश्यक मात्रामा ट्राफिक प्रहरी सडकमा खटाउन नसक्दा पनि ट्राफिक जाम बढेको प्रहरीको भनाइ छ ।

कुन–कुन ठाउँमा हुन्छ अत्याधिक जाम ?

सडकको यात्रा व्यवस्थापन जनसंख्या वृद्विसँगै बढ्दै गएको छ । उपत्यकाको विभिन्न शहरहरुमध्ये कलंकी, कालिमाटी, त्रिपुरेश्वर, थापाथली, जमल, माइतीघर, कोटेश्वर, ग्वार्को, जडिबुटी, केशरमहल, स्रोहखुट्टे, बालाजु, चावहिल क्षेत्रमा अत्याधिक जाम हुने गरेको छ ।

यस्तै तीनकुने, त्रिपुरेश्वर, गोङ्गबुलगायतका क्षेत्रमा पनि अत्याधिक ट्राफिक जाम हुने गरेको छ । ट्राफिक महाशाखाका अनुसार उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणले पनि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ ।

नाम मात्रको ट्राफिक लाइट

ट्राफिक भोलुन्टियरको जिम्मेवारी पाएका पूर्व प्रहरी नरिक्षक सीताराम हाछेथु हातले इशारा गरेर ट्राफिक व्यवस्थापन गर्नु भनेको हामीले औँलामा गनेर हिसाब गरेजस्तै भएको बताउँछन् । ‘ट्राफिक लाइट भनेको क्याल्कुलेटर हो । ट्राफिक लाइटमार्फत सवारी व्यवस्थापन गर्न सकेमा बढीमा ९० सेकेण्डमा पालो आउँछ,’ उनी भन्छन् । अहिले एउटै चोकमा आधाघण्टा कुर्नुपर्ने अवस्था छ ।

उपत्यकाको मुख्य–मुख्य चोकहरुमा सामान्य अवस्था पनि १५ देखि २० मिनेट जाममा बस्नुपर्ने बाध्यता रहेको छ । अझ नाराजुलुस, सडक निर्माण र वर्षा हुँदा घण्टौँसम्म जाममा फस्नुपर्ने बाध्यता छ ।

भौतिक पूर्वाधार दयनीय

राजधानीकै सडकमा भौतिक पूर्वाधारको कमी छ । डिभाइडर र ट्राफिक लाइटको समस्या त छँदैछ, त्यसमाथि थप ढलको उचित व्यवस्थापन पनि गरिएको छैन । त्यसमा पनि राजधानी केन्द्रीत नाराजुलुसको कारण ट्राफिक जाम बढेको ट्राफिक महाशाखाले जनाएको छ ।  

अहिलेको सडक भनेको बीसौँ, तीसौँ वर्ष पहिलाका आवश्यकताअनुसार बनाइएका हुन् । गाडी सवारी संख्या पचासौँ गुणा बढेको कुरा महिना दिनमै फेरिने लट संख्याले बताउँछ ।


अहिले प्रत्येक परिवारमा दुई–तीन जनासम्म सवारीसाधनका धनी बनेका छन् । सरकारी आँकडामा ३ नं प्रदेशमा नै सबैभन्दा बढी सवारीसाधन छ । काठमाडौँपछि चितवनमा यसको चाप छ ।

‘ट्राफिक प्रहरीसँग न अधिकार छ न पैसा, पम्प्लेट छाप्न समेत संघसंस्था गुहार्नुपर्छ,’ महाशाखाका प्रवक्ता रविराज पौडेलले भने, ‘अनि कसरी पूर्ण रुपमा ट्राफिक व्यवस्थापन गर्न सक्छ ट्राफिक प्रहरीले ?’

केही समयअघि ट्राफिक महाशाखामा एसएसपी वसन्त पन्तको आगमन भएसँगै केही नयाँ कार्ययोजना सार्वजनिक गरे । जसमा एक थियो ‘पिक एण्ड ड्रप’ को अवधारणा ।

विरोधका बाबजुद भएपनि उक्त नियम एसएसपी पन्तले लागू गरेरै छाडे । केही महिना राम्रैसँग कार्यान्वयनमा आएको ‘पिक एण्ड ड्रप’ को अवधारणा यतिबेला लागू नभएको महसुस भएको रामेछार घर भएका ट्याक्सी चालक रुद्र श्रेष्ठ बताउँछन् ।

यस्तै नियति पहिले पनि भोग्दै आइएको हो । जिम्मेवारी पाएपछि शुरुवातमा नयाँ–नयाँ नियम लागू गर्ने तर विस्तारै त्यसको कार्यान्वयन फितलो हुँदै जाँदा ट्राफिक जाम व्यवस्थापनमा खासै अन्तर सर्वसाधारणले महसुस गर्न सकेका छैनन् ।

उपत्यकाको प्रायः सबै अफिस एकसाथ विहान १० बजे खुल्ने र साँझ ५ बजे नै बन्द हुने भएकोले पिक आवरको समयमा सवारीसाधनको चापले १५ मिनेटको बाटोलाई १ घण्टाभन्दा बढी समय लाग्ने गरेको श्रेष्ठको भनाइ थियो ।

उनले भने, ‘ट्राफिक जामको समस्याले अहिले विकराल रूप लिइरहेको छ । तोकिएको समयमा गन्तव्यमा पुग्न नसक्नु ट्राफिक जामले निम्त्याउने मुख्य समस्या हो ।’

यस्तै सवारीसाधनको चाप, सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा पनि अत्याधिक ट्राफिक जाम हुने गरेको मोटरसाइकल चालक विकास भण्डारी बताउँछन् ।

उनले भने, ‘जहाँ समस्या हुन्छ, त्यहाँ समाधानका विकल्प पनि हुन्छन् ।’ ट्राफिक जामको समस्या पूर्णरूपमा नियन्त्रण गर्न निकै कठिन हुने भए तापनि केही सरल उपाय अपनाएमा निकै हदसम्म यो समस्याबाट मुक्ति पाउन सकिने भण्डारीको भनाइ थियो ।

हाम्रो मुलुकको हकमा २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएपनि यसको कार्यान्वयन हुन सकेको छैन । पुराना सवारीले सडकमा जाममात्र होइन, प्रदूषणसमेत बढाइरहेको छ ।

नेपालमा पछिल्लो समय माइक्रो, टेम्पो, साना बस तथा कम यात्रु क्षमताका साना सवारी साधन ह्वात्तै बढेका छन् । राजधानीमा साना तथा कम यात्रु बोक्ने सार्वजनिक यातायातको सट्टा ठूलाधेरै यात्रु अट्ने बस चलाउनु जरुरी भइसकेको छ ।

समाधान के हुनसक्छ ?

पैदलयात्रुले गलत ठाउँबाट बाटो काट्ने, सडक बीचबाट हिँड्ने, गलत साइडबाट सवारी मोड्ने जस्ता गल्तीहरुमा पनि सानो भए पनि कारबाही गरिहाल्नुपर्ने पूर्व प्रहरी निरीक्षक सीतारम हाछेथु बताउँछन् ।

जेब्राक्रसलाई बेवास्ता गर्ने सवारीलाई तुरुन्त रोकी प्रशिक्षणसहितको कारबाही गर्नुपर्ने उनको भनाई थियो । बाटोको फराकिलो बनाउनु त आवश्यक नै छ, तर लापर्बाही तरिकाले सवारी हाक्नेले यी बाटो झन् दुरुपयोग गरेको पाइएकोले यस्ता चालकलाई नै निगरानीमा राखी कारबाही गरी नियन्त्रण गर्नुपर्ने हाछेथुले बताए ।

यस्तै व्यापारीलाई फुटपाथमा, सार्वजनिक चोकहरुमा व्यापार गर्न निषेध गर्नुपर्ने बताउँदै हाछेथुले भने, ‘ठेला र सादा रिक्साले पनि निकै बाटो जाम गराइरहेकोले उनीहरुलाई समय तोकेर मात्र चल्न दिनु आवश्यक छ ।’

काठमाडौँ उपत्यकामा सवारी यात्रा जोखिमपूर्ण बन्दै गएको छ । दिनहुँ जसो दुर्घटनाका दुःखद खबर सुन्नुपरेको छ । आफूले सतर्कता अपनाएर मात्र बचिने पक्का छैन । अरुको लापर्बाहीले नियमको पालनाकर्ताको ज्यान जोखिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप