ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता : ‘अनुहारमा पोतिएको कालो दाग मेट्ने’ एउटा प्रस्थानबिन्दू
कसैले मानोस् नमानोस्, अहिलेको तीतो यथार्थ के हो भने ‘ट्राफिक प्रहरीको ध्याउन्न ट्राफिक व्यवस्थापन र नियमको परिपालना गर्न लगाउनेतर्फ कम, दण्डको डण्डा चलाउने र चीट कटाउनेमा बढी केन्द्रीत हुने गर्छ’ भन्ने जब्बर छाप अधिकांश सवारी चालकहरुमा गाडिएर रहेको छ । यस्तो छाप पर्नुको अन्तर्य सत्यतथ्यमा आधारित छ वा त्यो मनोगत आक्षेप मात्रै हो, त्यो छुट्टै अध्ययन र बहसको विषय हो, तर ख्याल गर्नैपर्ने गम्भीर कुरा के हो भने त्यस्तो छाप पर्नु भनेको एउटा सिंगो संगठनको अनुहारमा पोतिएको कालो दाग सरह हो । त्यो दागलाई मेटाउनेतर्फ संगठनका नेतृत्वकर्ताहरुले बेलैमा गम्भीर ध्यान दिनैपर्छ ।
ट्राफिक प्रहरीका सन्दर्भमा त्यस्तो छाप पर्नुका विविध कारणहरुमध्ये प्रमुख कारण आर्थिक नै हो । मूलतः ट्राफिक प्रहरीको तलबभत्ताहरु कम रहेको र उनीहरु सोही कारण आर्थिक लोभलालचका कारण बढीजसो दण्ड जरिवाना गर्नेतर्फ केन्द्रीत हुने गरेको आमधारणा रहँदै आएको छ ।
यसै प्रसंगमा, वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले ‘ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५’ पारित गरेको प्रसंग ट्राफिकमाथि पोतिएको त्यो कालो दाग मेट्ने एउटा प्रस्थानबिन्दू बन्न सक्छ ।
सरकारले पारित गरेको सो निर्देशिका अनुसार अब उपत्यकामा रहेका ट्राफिक प्रहरीका जवान र हवल्दारले आफ्नो तलबको ४० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् भने असई र सईले तलबको २० प्रतिशत प्रोत्साहन भत्ता लिनेछन् । त्यसैगरी इन्स्पेक्टर र डीएसपीले आफ्नो तलबमा थप १० प्रतिशत रकम प्रोत्साहन भत्ताका रूपमा लिनेछन् ।
ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ अनुसार उपत्यकाका ट्राफिक प्रहरीले लामो समय धूलो र धुवाँ रहेको स्थानमा ड्युटीमा खटिनुपर्ने र त्यसले दम तथा टीबीसम्मको बिरामी बनाएको भन्दै उनीहरुलाई प्रोत्साहन भत्ता दिन लागिएको छ । यस अर्थमा सरकारले गरेको निर्णय उपत्यकाका ट्राफिक प्रहरीको हकमा सही र ज्यादै सम्मानयोग्य कदम हो ।
सडकमा लामो समय खटिने भनेको प्रहरी जवान र हवल्दार नै हुन् । यस अर्थमा जवान र हवल्दारको तलबमा ४० प्रतिशत भत्ता दिँदा यसले काम गर्ने उत्साह बढाउनुका साथै ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अहिले निजी होस् वा सार्वजनिक, सबै सवारीसाधनका चालक र ट्राफिक प्रहरीको सम्बन्ध ‘कुकुर र बिरालो’को जस्तै छ । अर्थात् एक अर्कालाई मित्रवत हैन, शत्रुवत ठान्ने र तद्अनुरुपको व्यवहार गर्ने । आम चालकहरुमा परेको छाप नै के छ भने, ट्राफिक प्रहरीको काम ट्राफिक नियम पालना गराउने हैन, फसाउने बढी हुन्छ । अर्थात् नियम उल्लंघन गर्न रोक्ने हैन, लुकेर–ढुकेर बस्ने अनि नियम उल्लंघन गरेको नाममा चीट काट्ने ।
अनि ट्राफिक प्रहरीमा परेको छाप चाहिँ मूलतः कसरी ट्राफिकलाई छल्ने र आफ्नो गल्ती लुकाउने भन्ने दाउमा सवारी चालकहरु हुने गर्छन् भन्ने नै हो । यो समग्र स्थितिलाई हेर्दा यस्तो लाग्छ, मानौं अधिकांश सवारी चालक र ट्राफिक प्रहरीहरुको ध्याउन्न र दाउ नै ट्राफिक नियमको परिपालना गर्ने र गराउनेभन्दा पनि एक अर्कालाई छल्ने वा पासोमा पारेर चिट काट्नेमा बढी केन्द्रीत हुने गर्छ ।
लुकेर, ढुकेर चिट
साँझ ७ बजेपछि राति १० बजेसम्म उपत्यकामा सवारीसाधन चलाउने हो भने १० किलोमिटरको दूरीमा झण्डै ३ देखि ४ स्थानमा ट्राफिक प्रहरीको चेकिङ हुन्छ । ट्राफिकको चेकिङ यस्तो स्थानमा हुन्छ कि उनीहरु ‘गौँडा’ कुरेर बसेका हुन्छन् । ट्राफिक प्रहरीको एउटा झुण्ड चारैतिर छरिएर बसेका हुन्छन् । जसमध्ये ३ वा ४ जना सडकमा, दुई–दुई जना दुवैतिरको सडकको किनारामा लुकेर बसेका हुन्छन् । अनि कसले गल्ती गर्ला र चिट काटौँला भनेर उनीहरु ढुकिरहेका बसिरहेको जस्तो प्रतीत हुन्छ ।
ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई नियन्त्रण गर्न यो एउटा बाध्यात्मक उपाय हुन सक्छ, तर यो नै सम्पूर्ण र अन्तिम उपायको रुपमा लिन र लागू गर्न थालियो भने चाहिँ त्यो गलत हुन्छ भन्ने हेक्का ट्राफिक प्रहरीले राख्नैपर्छ । खासगरी, अहिलेसम्म जनमानसमा परेको ट्राफिक प्रहरीले गौडा कुरेर फसाउँछ भन्ने छापलाई चिर्न सक्नु नै ट्राफिकको लागि एउटा प्रमुख चुनौती हो । यसलाई चिर्ने सजिलो उपाय भनेकै दण्डात्मक हैन कि निवारणात्मक तरिकाहरु अपनाउनु हुन सक्छ । अर्थात् चालकले गल्ती कतिखेर गर्छ भनेर लुकेर ढुकेर पासो थापेर बस्ने हैन कि गल्ती नै हुन नदिने खालका वा गल्ती गर्नुपूर्व नै सतर्क गराउने उपायहरु अवलम्बनमा ट्राफिक प्रहरीले ध्यान केन्द्रीत गर्नु पनि जरुरी छ ।
प्राथमिकता ट्राफिक व्यवस्थापन कि कारवाही ?
अहिलेको उपत्यकाको ट्राफिक प्रहरीको नीति र नियत हेर्ने हो भने कारबाहीमा नै बढी केन्द्रित रहेको अधिकांश सवारी चालकहरुले महसूस गर्ने गर्छन् । यो महसूस गराइलाई बदल्नेतर्फ पनि ट्राफिक नेतृत्वको ध्यान जानु जरुरी छ ।
निर्विवाद सत्य के हो भने ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका अपरिहार्य हुन्छ र त्यो भूमिका निर्वाह भएन भने उपत्यकाको ट्राफिक व्यवस्थापन आधा घण्टामै पूरै डामाडोल हुन्छ ।
एकजना ट्राफिक प्रहरीले बिहान, साँझ र राति गरेर सरदर दैनिक १० घण्टा काम गरिरहेका हुन्छन् । त्यो पनि धूलो–धुवाँ, हावाहुरी खाँदै अनि पानीमा रुझ्दै । ट्राफिक प्रहरीलाई कति समस्या छ भनेर हेर्नका लागि कुनै व्यस्त चोकमा एक घण्टा उभिएर हेरे पुग्छ । ट्राफिक प्रहरीको काम गर्ने अवस्था कति दयनीय छ भन्ने कुरा कुन चाहिँ पानीको गाडी आउला र एक जार पानी निकालौँला र प्यास बुझाउँला भनेर कुर्ने ट्राफिक प्रहरीको अवस्थालाई हेरे पुग्छ ।
ट्राफिक र चालकबीचको सम्बन्ध सुमधुर कम कटुतापूर्ण बढी रहेको र रहने गरेको अहिलेको तीतो यथार्थता हो । चालकहरुले ट्राफिक प्रहरीलाई गन्दै नगन्ने र प्रहरीको चालकसँगको व्यवहार ज्यादै तुच्छ प्रकृतिको हुने गरेको गुनासो बारम्बार उठ्नु सामान्य कुरा भइसकेको छ । सम्भवतः कम तलबमान तर अत्यधिक खटाइ र सवारी चालकहरुको एकहोरो पेलाइका कारण पनि ट्राफिक प्रहरी अत्यधिक तनावमा बढ्ने भएका कारण ट्राफिक प्रहरी र चालकबीचको सम्बन्ध सधैँ तनावमै हुने गरेको हुन सक्छ ।
यसकारण सरकारले अहिले जुन उद्देश्यले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ, त्यो सकारात्मक छ । यसले ट्राफिक प्रहरीमा जिम्मेवारीबोधको अभिबृद्धि गराउन र केही सकारात्मक परिवर्तन ल्याउनै पर्छ । ट्राफिक प्रहरीको पहिलो जिम्मेवारी सडक सुरक्षा र ट्राफिक व्यवस्थापन नै हो । सरकारले थप सुविधा दिइसकेपछि अब उनीहरु थप जिम्मेवार बन्नैपर्छ ।
एउटा सत्य के हो भने केही ‘पटके’ र ‘उदण्ड’हरुलाई छाडेर अधिकांश चालकहरु चाहेर ट्राफिक नियम उल्लंघन गर्ने गर्दैनन् । विशेषतः छिटो पुग्ने हतारो, धैर्यताको अभाव, छोटो बाटो, अत्यधिक सवारी जाम तथा कहिलेकाहीँ मादकपदार्थ सेवन लगायतका प्रसंगले जानी जानी वा कहिलेकाहीँ अन्जानमै अत्यधिक ट्राफिक नियम उल्लंघन हुने गरेको अहिलेको वस्तुगत यथार्थता हो ।
खासगरी, अज्ञानता र भूलवश सामान्य प्रकृतिका गल्ती गर्नेहरुलाई पनि पटकेलाई जस्तै हत्तनपत्त चीट काट्ने तत्परता देखाउनुभन्दा पनि एकाध पटक सम्झाइबुझाइ गरेर ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने तथा पटके वा गम्भीर गल्ती गर्नेहरुको हकमा मात्रै कारवाहीको डण्डा चलाउनेतर्फ ट्राफिक प्रहरीको ध्यान जानु जरुरी छ । अहिलकोे कटुतापूर्ण अवस्थामा पूरै परिवर्तन आउने गरी ‘जिब्रोको गरिमा मीठो बोलीमा’ लाई साँच्चै नै व्यवहारमा उतार्दै नरम बोली र व्यवहार, हार्दिकता र सहयोगी बन्नेतर्फ ट्राफिक प्रहरीले आफूलाई ढाल्नैपर्छ । साथै, सवारी चालकहरुले पनि ट्राफिक प्रहरीले कारवाही गर्नुको अर्थ आर्थिक मात्र नभई स्वयं चालककै ज्यानधनको सुरक्षाको लागि गरेका हुन् भनेर आफूलाई ट्राफिक नियमको दृढतापूर्वक परिपालना गर्नेतर्फ प्रतिबद्ध बनाउनु पनि जरुरी छ । त्यसो गरिएको खण्डमा मात्रै ट्राफिक प्रहरीप्रति आम चालकको मनोविज्ञानमा परिवर्तन ल्याउने र ट्राफिकप्रति नै चालक सहयोगी बन्ने वातावरण सिर्जना हुन सम्भव हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?