हट्न सक्छ ट्राफिक जाम तर किन गरिँदैनन् यी काम ?
उदासीनता, लापरवाही र अव्यवस्थाबाट जन्मेको नीतिगत अदुरदर्शितासँगै जोडिएर आउने कुव्यवस्थापनको प्रतिफल हो– उपत्यकाको ट्राफिक जाम । यसका जरा र हाँगोबिँगा चारैतिर फैलिएका छन् ।
उपत्यकाका ट्राफिक जाम उपत्यकामा बसोबास गर्ने प्रत्येक मान्छेको थाप्लोमा जबरजस्ती थोपरिएको श्राप जस्तै बनेको छ, त्यसलाई विगत लामो समयदेखि भोग्न सबै अभिशप्त छन् । सत्तामा बसेका थोरैले मात्र सोच्ने हो भने पनि उपत्यकाको ट्राफिक जामलाई धेरै हदसम्म समाधान गर्न सम्भव छ । आउनुहोस्, त्यसबारेमा थोरै चर्चा गरौँ ।
उपत्यकाको ट्राफिक जाम दीर्घरोग बनिसकेको पाठकहरुलाई जानकारी नै छ । यसलाई निमिट्यान्न पार्न निरन्तर प्रयास जरुरी पर्छ । तर असम्भव भने छैन ।
ट्राफिक व्यवस्थापनका सामान्य उपाय मात्रै अपनाउने हो भने पनि यो समस्या समाधान गर्न निक्कै सहज हुन्छ । ती उपायमध्ये सबैभन्दा प्रभावकारी र तुरुन्तै गरिहाल्नुपर्ने कार्य भनेको ट्राफिक बत्तीको व्यवस्थापन हो । यसले ट्राफिक जामको समस्यालाई आधारभूत रूपमै हल गर्न सक्छ ।
अहिले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन ट्राफिक बत्तीको आधारमा हैन, ट्राफिक प्रहरीले हात हल्लाएको भरमा हुने गर्छ । जानकारहरुका अनुसार, यसरी ट्राफिक व्यवस्थापन गर्नु भनेको टुकी बालेर पूरै घरको बिजुलीको व्यवस्थापन गर्छु भन्नुजस्तै हो ।
२१औँ शताब्दीमा आइपुग्दा पनि काठमाडौँको ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण छ । साधन स्रोत र पर्याप्त जनशक्ति नहुँदा ट्राफिक प्रहरीले दिनहुँ सास्ती खेपिरहनुपरेको छ ।
युरोप, अमेरिका जस्ता विकसित देशमा प्रविधिबाट ट्राफिक व्यवस्थापन हुने गर्छ । तर नेपालमा भने हात हल्लाएरै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।
ट्राफिक व्यवस्थापनका लागि काठमाडौँमा आधुनिक ट्राफिक लाइट ल्याउनुपर्ने पूर्वप्रहरी निरीक्षक (इन्सपेक्टर) सीताराम हाछेथु बताउँछन् । भएका तर बिग्रेका ट्राफिक लाइट सम्बन्धित निकायको चरम लापरवाहीले सञ्चालनमा आउन नसकेको उनले बताए ।
ट्राफिक लाइट राख्नमा सरकार किन मौन छ ? राखिसकेको ठाउँका बत्तीहरु बिग्रेपछि किन मर्मत हुँदैनन् ? यी प्रश्नको उत्तरमा काठमाडौँ उपत्यकाको ट्राफिक जामको समस्या समाधान भेटिन्छ ।
यो पनि
उफ् ! जाम : कहिले हुन्छ समाधान ?
काठमाडौंको भयावह ट्राफिक जाम : व्यवस्थापन गर्ने कसरी ?
‘एउटा सिट्टीले प्रहरी, अनि प्रहरीले मलाई मान्छे बनायो’
ट्राफिक लाइटको सुरुवात
२०२३ सालमा काठमाडौँमा पहिलो पटक सुन्धारा, न्युरोड गेट, सिंहदरबार र नारायणहिटी दरबार सङ्ग्राहलयको दक्षिण गेटमा ट्राफिक लाइट राखिएको हो ।
त्यसपछि जापानी सरकारले २०५७ सालमा १० ठाउँमा ट्राफिक लाइट राखिदिएको इन्स्पेक्टर हाछेथुले बताए । त्यसमा कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, पुतलीसडक, केशरमहल, कालीमाटी, कलङ्की र थापाथली पर्छन् ।
त्यसपछि ०६४÷६५ सालतिर सडक विभागले दरबारमार्गलगायत ३ ठाउँमा ट्राफिक लाइट राख्यो । जापान सरकारको सहयोगमा तीनकुने र सूर्यविनायकमा पनि ट्राफिक लाइट बने । भक्तपुरका सूर्यविनायक, ठिमी, सल्लाघारी, गठ्ठाघर र कौशलटार गरी ५ ठाउँमा ट्राफिक लाइट बनेको छ । अहिले भक्तपुरको ठिमी र गठ्ठाघरमा पनि ट्राफिक लाइट बल्छ ।
अहिले उपत्यकाका २० ठाउँमा ट्राफिक लाइट छन् । तीमध्ये ४ ठाउँका मात्र बल्छन् । भक्तपुरका २ ठाउँसँगै काठमाडौँको नयाँ बानेश्वर र नारायणगोपाल चोकको लाइट मात्र बल्छन् । अन्य ठाउँमा बलेका छैनन् ।
इन्स्पेक्टर हाछेथुका अनुसार उपत्यकामा राखिएका ती ट्राफिक लाइट कति समयसम्म बले÷नबलेको रेकर्ड छैन । २०७४ साल चैतमा तत्कालीन ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालको कमान्डमा राखिएको ट्राफिक लाइट अहिलेसम्म पनि चालु अवस्थामा रहेको उनले बताए ।
ट्राफिक बत्ती राख्नुपर्ने मुख्य स्थानहरु
२८ वटा काठमाडौँमा, ललितपुरमा ७ ठाउँमा, भक्तपुरमा ठीक छ ।
जस्तै काठमाडौँको हकमा : पेप्सीकोला, जडीबुटी चोक, सिनामङ्गल, एयरपोर्ट गेट, गैरीगाउँ, पुरानो बानेश्वर चोक, मैतीदेवी, जय बागेश्वरी, मित्रपार्क चुच्चेपाटी, गोंगबु, सामाखुसी, बालाजु, सोह्रखुट्टे, सीतापाइला, हलचोक, बल्खु, टेकु, त्रिपुरेश्वर, सुन्धारा, जमल, लैनचौर, जय नेपाल, कृष्ण पाउरोटी, नक्साल भगवती मन्दिर, भाटभटेनी, धुम्बाराहीलगायतका ठाउँमा अनिवाय राख्नुपर्ने देखिन्छ ।
यस्तै ललितपुरको हकमा– कानदेवता, मन्त्री क्वार्टर छिर्ने पुल्चोक, अल्का अस्पताल, सातदोबाटो, ग्वार्को, चापागाउँ दोबाटो र बालकुमारीमा राख्नैपर्ने देखिन्छ । भक्तपुरमा ५ वटा छन्, त्यहाँ खासै थप्नुपर्ने देखिँदैन ।
कानदेवता, मन्त्री क्वार्टर छिर्ने पुल्चोक र अल्का अस्पतालको चोकमा चाँडै नै ट्राफिक लाइट राखिनेमा विश्वस्त रहेको उनले बताए । उनले भने, ‘यो लगभग छिट्टै टुङ्गिनेछ । म ललितपुरको ट्राफिक प्रहरी प्रमुख हुँदा उठेको कुरा भएकाले यो विषयलाई छिट्टै नै टुङ्ग्याउने तयारीमा छु । अबको ३ महिनामा सकिन्छ होला ।’
पुरानो प्रविधिको लाइट काम छैन
जापान सरकारले दिएको पुरानो प्रविधिको लाइट अब सान्दर्भिक नभएको उनले बताए । उनले भने, ‘पुरानो हटाएर नयाँ प्रविधिको राख्नुपर्छ । जस्तै सवारीको गती नाप्ने, चालकको फोटो खिच्ने, नम्बर प्लेट आउने गरी फोटो खिच्ने खालका ट्राफिक लाइट राख्नुपर्छ । यस्ता प्रविधिको ल्याएर राखे २०/३० वर्षसम्म ढुक्क हुन सकिन्छ ।’
इन्स्पेक्टर हाछेथुले कुनै गाडीले गल्ती गरेर भाग्यो भने पनि फोटो खिच्छ र कारबाहीको दायरामा ल्याउन पनि सजिलो हुने बताए । यदि त्यस्तो प्रविधिको ट्राफिक लाइट नेपालमा ल्याउन सकियो भने ट्राफिक प्रहरी सडकमा हिँडिरहनुपर्ने अवस्था हट्ने उनको भनाइ छ ।
उनले भने, ‘गाडी स्पिड आयो भने फोटो खिचिहाल्छ । कोरियामा एउटा ट्राफिक लाइटले १७ तरिकाले फोटो खिच्छ । त्यस्तै लाइट ल्याउन त्यति महँगो छैन ।’
सहकार्यमा पनि ट्राफिक लाइट राख्न सकिन्छ
विदेशीको मुख ताक्नुभन्दा मुख्य चोक–चोकमा कुनै निजी कम्पनीसँग सहकार्य गरेर पनि ट्राफिक लाइट राख्न सकिने इन्स्पेक्टर हाछेथुले बताए । उनले भने, ‘बैङ्क तथा व्यापारीहरुलाई ट्राफिक लाइट राख्नका लागि सहयोग माग्न सकिन्छ ।’
‘एउटा चोकमा सहकार्य गरेर कुनै कम्पनीको विज्ञापन राखिदिने हो भने सजिलै सो कम्पनीले त्यो चोकमा बत्ती राखिदिन्छ,’ उनले भने, ‘यतातिर सरकारको ध्यान जान जरुरी छ ।’
‘जसले राखेको हो, त्यसैलाई नै १ वर्ष जिम्मा दिने परिपाटी बसाल्नुपर्छ । बिग्रिहाल्यो भने तुरुन्त बनाउने सक्ने वातावरण हुनुपर्छ,’ उनले थपे, ‘नेपालमा सम्बन्धित क्षेत्रका विज्ञ छैनन् । विदेशीको सामान राख्दा विदेशीले नै ट्रेनिङ दिनुपर्छ । यो विषयमा काठमाडौँ महानगरमा गएर कुरा गरेँ । प्रहरी साझेदारी कार्यक्रममा । महानगरले सहमति जनाएको छ ।’
काठमाडौँ महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई विकासका लागि भनेर सहयोग स्वरूप एक एक करोड दिएको छ । उक्त रकम छिमेकीलाई दिनुभन्दा ट्राफिक लाइटका लागि दिएको भए झनै राम्रो हुन्थ्यो ।
एउटा चोकमा कम्तीमा १३ लाखदेखि १८ लाखमा लाइट राख्न सकिन्छ । त्यति रकमले ५० वटा चोकमा लाइट राख्न सकिन्थ्यो । उपत्यकामा जाम कम हुन सहयोग पुथ्यो ।
किन आवश्यक छ ट्राफिक लाइट ?
सवारी आवागमन सहज गराउन,
पैदल यात्रुलाई सुरक्षित रूपमा बाटो काट्न,
सवारी दुर्घटना न्यूनीकरण गर्न,
नियम पालना गराउन,
ट्राफिक जाम कम गर्न,
ट्राफिक जनशक्ति कम गर्न ।
उपत्यकामा अहिले १३ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । ट्राफिक लाइटको राम्रो व्यवस्थापन भएमा पाँच सय जनशक्ति भए पुग्छ । जस्तै, कोटेश्वर चोकमा ९ जना ट्राफिक प्रहरी खटिन्छन् । लाइट भयो भने १ जना भए पुग्छ ।
उपत्यकामा १२ लाख सवारी साधन चल्छ । पिक आवरको समयमा सुन्धारा र रत्नपार्कमा २३ हजार ९ सय २ मोटरसाइकल, १४ हजार २ सय ४४ बस गुड्छन् । प्रतिमिनेट १५८ वटा चल्छन् ।
यस्तै कोटेश्वरबाट भक्तपुर र भक्तपुरबाट कोटेश्वर जाने रुटमा पिक आवरको समयमा २० हजार २ सय ४५ वटा चल्छन् । प्रतिमिनेट २१७ वटा चल्छन् । यस्तै ८५ जनाले प्रतिमिनेट बाटो काट्छन् ।
विगत सम्झिँदै उनले भने, ‘२९ वर्ष अगाडि भक्तपुरको ठिमीमा ड्रममा बसेर ट्राफिक व्यवस्थापनमा खटिन्थ्यो । आजसम्म पनि कुनै परिवर्तन अएन । घाम, धुलो हुरीमा बसेर हात हल्लाउन बाध्य छन् ट्राफिक प्रहरी ।’
यसको मुख्य कारण हो, ट्राफिक व्यवस्थापनमा कोही पनि विज्ञ छैनन् । महानगर, महाशाखा र सडक विभागमा पनि त्यस्तै अवस्था छ । यसको मुख्य मुख्य समस्या भनेको छिटो छिटो हुने विभाग परिवर्तन र सरुवा पनि हो ।
यसरी राख्न सकिन्छ लाइट !
ट्राफिक लाइट नभएपछि भीआईपीलाई एकदम सजिलो भएको छ । उनीहरुमाथि कुनै नियम लागू हुँदैन । राख्न सकियो भने सबै मानिसलाई ट्राफिक लाइटले समान व्यवहार गर्छ ।
स्थानीयहरु घन्टौँ लाइनमा बस्ने तर भीआईपी सरर अगाडि जाने भएपछि अन्य सवारी चालकलाई कति रिस उठ्ला ? ट्राफिक प्रहरीले भीआईपीलाई रोक्यो भने जागिर जाला भन्ने डर । जागिर नि बचाउनै पर्यो । त्यसैले ट्राफिक प्रहरी सुरक्षित छैन ।
घन्टौँ जाममा पर्ने र पेट्रोलको खर्च हुने समस्या अहिले मानिसले पचाइसकेको छन् ।
उपत्यकामा एक दिनमा ५ लाख पेट्रोल ३ लाख डिजेल बिक्री वितरण हुन्छ । तेलको अत्यधिक खर्चमा काठमाडौंमा हुने ट्राफिक जामको पनि ठूलो हिस्सा छ । ट्राफिक लाइटले यो खपतमा पनि कमी ल्याउँछ ।
एक रूपैयाँ पेट्रोलमा र पचास पैसा डिजेलमा उठाउने हो भने पनि उपत्यकामा लाइट राख्न सम्भव छ । मलाई लाग्छ, यो अभियानलाई सबैले समर्थन जनाउँछन् । जाममा बस्नुभन्दा १ रूपैयाँ तिरेर लाइट राख्न जो कोही पनि अघि सर्छन् ।
यस्तै सरकारले बेवास्ता गरेको खण्डमा धर्मकर्मको लागि यज्ञ गरेजस्तै ट्राफिक लाइट राख्नका लागि पनि चन्दा उठाएर पनि राख्न सकिन्छ । त्यसैले अब सरकारलाई झक्झकाउनुको विकल्प छैन ।
यस्तै एउटा बैङ्कलाई एउटा चोक जिम्मा दिने हो भने २९ वटा चोकमा ट्राफिक लाइट राख्न सकिन्छ ।
विकसित मुलुकले ट्राफिक व्यवस्थापन र ट्राफिक लाइटलाई उच्च प्राथमिकतामा राखेको हुन्छ । तर काठमाडौँमा २०४८ सालदेखि प्रचलनमा आएको ड्रममा बसेर ट्राफिक प्रहरीले हात हल्लाउने अहिलेसम्म परिवर्तन हुन सकेको छैन ।
कानुनी राज्य र जनताको चेतनास्तरका बारेमा उनीहरुले पालना गरेको नियम, सवारी चालकले पालना गरेको नियम र ट्राफिक व्यवस्थापनले देखाउने व्यवहारबाट थाहा हुन्छ ।
चोक चोकमा ट्राफिक लाइट नहुँदा बाटो हिँड्ने बटुवाहरु ज्यानै फालेर बाटो काट्छन् । सवारी चालकलाई पनि कहाँबाट फुत्त निस्केर बाटो काट्लान् भन्ने डर छ ।
सडकमा बत्ती भयो भने लामो समय जाममा बस्न पर्दैन् । बढीमा एक मिनेटमा लाइट परिवर्तन हुन्छ । बाटो काट्ने पैदलयात्रुले पनि सहज रूपमा बाटो काट्न पाउँछन् ।
जामको असर
सुन्धारा, त्रिपुरेश्वर, न्युरोड, रत्नपार्क र जमलबाट आएका सबै सवारीसाधन केशरमलमा गएर थुप्रिन्छ ।
यसैगरी, नारायणगोपाल चोक, महाराजगञ्ज चोक, लाजिम्पाट र लैनचौरबाट आएको सवारी साधन पनि केशरमहल चोकमा एकै पटक थुप्रिन्छ । त्यसपछि केशरमलबाट जाम सुरु हुन्छ । त्यसको असर जयनेपाल, सोह्रखुट्टे र जमलसम्म पर्छ ।
ट्राफिक लाइट रहेको खण्डमा एक मिनेटमा ३० देखि ४० वटा गाडी पास हुन्छन् । त्यसैगरी सुन्धारा र जमलमा पनि त्यसैगरी गाडी पास हुन्छन् । सवारी साधन जाम कन्ट्रोल हुँदै जान्छ ।
ट्राफिक लाइट नजिक पुगेपछि रोकिन बाध्य
एक पटकमा एक मिनेटको हिसाब हुन्छ । हरियो बत्ती बलेर गाडी गइसकेपछिको हिसाब हुन्छ ।
एवम् रीतले एक मिनेटको हिसाबले गाडी आउँदा जाम कम हुँदै जान्छ । मुख्य–मुख्य चोकमा ट्राफिक लाइट राखेको खण्डमा ८० प्रतिशत जाम कम हुन्छ ।
अत्यधिक गतिमा भएको सवारी साधन पनि ट्राफिक लाइट नजिक पुगेपछि रोकिन बाध्य हुन्छ ।
ट्राफिक लाइट राख्न कति समय लाग्छ ?
सरकारले चाह्यो भने ट्राफिक लाइट राख्न धेरै समय लाग्दैन । १० वटा राख्न १० दिनभित्र राख्नुपर्ने अल्टिमेटम दिएको भए पनि ३५ दिनभित्र काम सकिन्छ ।
एक महिनामा १० वटा ट्राफिक लाइट राख्न सकिन्छ । चारवटा चोक भएको ठाउँमा एउटा ट्राफिक लाइट राख्न १८ लाख रूपैयाँ लाग्छ । तीन घुम्ती भएको बाटोमा १३ लाख रूपैयाँ लागत लाग्छ ।
विश्वमा पहिलो पटक अमेरिकाबाट सुरु
ट्राफिक लाइटको सुरुवात सन् १९१४ मा अमेरिकाबाट भएको हो । तर, नेपालमा ५७ वर्ष पहिले ट्राफिक लाइटको राखिएको हो । संसारका सबै सवारी साधन चल्ने देशमा ट्राफिक लाइटको व्यवस्था गरिएको हुन्छ ।
भुटानमा एकदम कम मात्रामा सावरी साधन भएकाले त्यहाँ अहिलेसम्म ट्राफिक लाइटको व्यवस्था गरिएको छैन ।
अन्तर्राष्ट्रिय सम्मेलनहरू हुँदा बत्ती बालिन्छ, त्यो पनि देखावटी मात्रै !
भोज खान जाँदा मान्छेहरु जसरी अरूको मागेर भए पनि सजिन्छन् र पछि सबै फिर्ता गरेपछि जस्ताको त्यस्तै हुन्छन् । विशिष्ट व्यक्तिको आगमन हुँदा मुख्य सडक र चोकमा बालिने ट्राफिक बत्ती पनि त्यस्तै देखावटी मात्र हो ।
ट्राफिक जामका कारण सर्वसाधारण सडकमै नजरबन्द भएको अनुभव गर्छन् । कोटेश्वरमा अझै पनि २० देखि २५ मिनेटसम्म लगातार जाम भइरहेको छ ।
सडकमा हुने यस्तो नजरबन्द घटाउनेबारे सम्बन्धित निकायले समयमै विचार पुर्याउनुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म ट्राफिक व्यवस्थापनले भयावह रूप त लिएको छैन,’ उनले भने, ‘यदि समयमै यसको समाधान खोजिएन भने यसले भयावह रूप लिन सक्छ ।’ अहिलेको ट्राफिक जाम हटाउन वा घटाउन सकिएन भने १० मिनेटमा पुगिने गन्तव्यमा पुग्न एक वा डेढ घण्टा लाग्ने निश्चित छ ।
ट्राफिकसँग बन्दुक त छ तर गोली छैन
ट्राफिक व्यवस्थापनका लागि ट्राफिकलाई मात्रै जिम्मेवारी दिइएको देखिए पनि सबै जिम्मेवारी नदिएको उनले बताए । उनले भने, ‘ट्राफिक प्रहरीलाई ३ प्रतिशत मात्रै अधिकार दिइएको छ ।’
‘यसरी ट्राफिक सङ्गठनबाट शतप्रतिशत नै काम खोज्नु कतिको जायज हो त ?,’ उनले प्रश्न गरे, गल्ती गर्नेलाई कारवाही गर्ने मात्र यो सङ्गठनको जिम्मेवारी हो ?’
ठूलो गल्ती गर्ने सवारी चालकलाई समेत चालक अनुमतिपत्र खारेज गर्ने अधिकार ट्राफिक प्रहरीलाई नदिएको उनले बताए । ठट्यौली गर्दै उनले भने, ‘ट्राफिकसँग बन्दुक त छ तर गोली छैन ।’
उनले भने, ‘सस्पेन्स गर्ने र ३ हजारभन्दा बढी चिट काट्ने, सडकको खाल्डा पुर्ने अधिकार, जेब्रा क्रसिङमा रङ लगाउने अधिकार ट्राफिक सङ्गठनको होइन ?’ सडकमा रहेका खाल्डाखुल्डी पनि ट्राफिक प्रहरीले नै पुरिरहेका हुन्छन् ।
एक ट्राफिकको भागमा ८१४ सवारी साधन
०७४÷७५ सालमा ३२ लाख २१ हजार ४२ सवारी साधन थिए । जसमध्ये बागमतीमा मात्रै ११ लाख ७२ हजार ४ सय १३ थियो ।
काठमाडौँ उपत्यकाभित्र २ हजार १४ किलोमिटर सडक छ । एक जना ट्राफिकको भागमा औसत ८१४ सवारी साधन पर्छन् अर्थात १.५ किलोमिटर सडक ।
यदि ३, ४ ठाउँमा मात्र राखेर जाम हुँदैन भन्नु हाँस्यास्पद मात्र हो ।
इन्स्पेक्टर हाछेथुका अनुसार ट्राफिक जाम न्यूनीकरण गर्न उपत्यकाका ५० ठाउँमा ट्राफिक लाइट राख्नु जरुरी छ ।
जस्तै अन्तर्राष्ट्रियस्तरको कोटेश्वर–कलङ्की सडकमा जाम कम गर्न, लोकन्थली, पेप्सीकोला, जडीबुटी चोक, बालकुमारी, तीनकुने, मीनभवन र सिनामङ्गल जस्ता स्थानमा लाइट राख्न जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?