शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पुडासैनी आत्महत्या प्रकरण : अस्मिताको पहिलो सम्पर्क सूत्राधार अनिलको बयानमा के छ ?

सोमबार, ०९ भदौ २०७६, १६ : २७
सोमबार, ०९ भदौ २०७६

काठमाडौं । न्यूज२४ टिभीमा २ वर्षदेखि क्यामेराम्यानको रुपमा कार्यरत अनिल ढुंगेलले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु २ दिनअघि अस्मिता भन्ने रुकु कार्की न्यूज२४ को कार्यालय आएकी बयान दिएका छन् । ढुंगेल उनै हुन् जो पुडासैनी र रुकुको सम्बन्धलाई लिएर रवि लामिछाने र युवराज कँडेलसम्म पुग्ने व्यक्ति हुन् । अस्मिता उनीमार्फत नै न्यूज २४ टिभीसम्म पुगेकी थिइन् । 

बयानमा ढुंगेलले शालिकरामले नक्कली फेसबुक आइडी समेत बनाएर अस्मितालाई पठाएको म्यासेजको स्क्रिनसर्ट अस्मिताले आफूलाई पठाएको बताएका छन् । 

शालिकरामले दुःख दिइरहेकाले तपाईंहरुले सहयोग गरिदिनुपर्यो भनेपछि आफूले अस्मितालाई न्यूज२४ को कार्यालयमा आएर रवि लामिछानेसँग कुरा गर्न आग्रह गरेको ढुंगेलले भनेका छन् । 

न्यूज२४ आएकी अस्मिताले शालिकरामले आफूलाई धम्की दिने, बाटो छेक्नेजस्ता कामहरु गर्दै आएकाले सम्झाईदिनुपर्यो भन्दै सहयोग मागेकी उनले बयानको क्रममा बताएका छन् । 

अस्मिताको भनाई उद्धृत गर्दै बयानको क्रममा ढुंगेलले शालिकले धेरै नै दुःख दिएको कुरा दीपक बोहरा र रवि लामिछानेलाई सुनाएको समेत बताएका छन् ।

 रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बयानमा उनले बताएका छन् । 

शालिकलाई ‘तिमी न्यूज२४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् । 

पछि पनि अस्मिताले मलाई १÷२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान आग्रह गरेको उनले बताएका छन् । 

अस्मितालाई पुडासैनीले आफ्नो श्रीमती भनेर चिनाएको समेत ढुंगेलले बयानमा उल्लेख गरेका छन् । 

बयानको क्रममा ढुंगेलले शालिकको रिर्पोटिङ शैली अलि आक्रामक प्रकृतिको हुने पनि बताएका छन् । जुन कुरा आफूलाई चित्त नबुझ्ने ढुंगेलको भनाई छ ।

शालिकराम प्रायजसो फेसबुकमा अस्मितासँग व्यस्त रहने गरेको पनि ढुंगेलले बताएका छन् । 

शालिकरामले धम्की दिएको म्यासेज अस्मिताले घटना हुनुपूर्व आफूलाई पठाएपछि युवराज कँडेललाई फरवार्ड गरेको उनले बयानमा भनेका छन् । पछि भने रवि लामिछाने र दीपक बोहरालाई पनि पठाएको उनको भनाई छ । 

शालिकराम र अस्मिताको सम्बन्धबारे जानकार भएपछि घटना हुनुपूर्व शालिकसँग बीचमा कुनै पनि माध्यमबाट कुरा नभएका बयानमा उनले बताएका छन् । 

तर, साउन २० गते राती कँडेलमार्फत शालिकरामले आत्महत्या गरेको खबर सुनेको उनको भनाई छ । लगत्तै आफूले अस्मितालाई फोन गरेर शालिकरामसँग भएका कुराकानीहरुका कुनैपनि म्यासेजहरु डिलिट नगर्नु भनेको ढुंगेलको भनाई छ । 

बयानमा उनले घटनाको भोलिपल्ट २ः३० बजे  दीपक बोहरा र रविले अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि बताएका छन् । 
 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप