मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शालिकराम मृत्यु प्रकरण : सामाजिक सञ्जालमा भ्रमको खेती, युट्युबरहरु आफै ‘प्रहरी’, आफै ‘अदालत’ !

मङ्गलबार, ०३ भदौ २०७६, १५ : १०
मङ्गलबार, ०३ भदौ २०७६

 


पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने मुछिएपछि यतिबेला सामाजिक सञ्जाल उनको पक्ष र विपक्षमा रङ्गिएका छन् । सामाजिक सञ्जालमा यही प्रकरण अहिले ट्रेन्डिङमा रहेको छ ।

गत साउन २० गते चितवनको नारायणगढस्थित कङ्गारु होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भिडियोमा आफू मर्नुको मुख्य कारण लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रहेको उल्लेख गरेका छन् । सोही भिडियो आधारमा आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा रवि लामिछानेसहित ३ जना अहिले चितवन प्रहरी हिरासतमा छन् । प्रहरीले लामिछाने, कँडेल र कार्कीलाई अनुसन्धानको लागि सोधपुछ गर्न भन्दै पक्राउ गरेर अदालतबाट म्याद थमाएर अनुसन्धान गरिरहेको छ । 

प्रहरीले लामो समय गोप्य राखेपनि उक्त भिडियो गत बुधबार मिडियामा सार्वजनिक भएको थियो । त्यसपछि पुडासैनी मृत्यु प्रकरण सामाजिक सञ्जाल फेसबुक, ट्विटरदेखि इन्स्टाग्राम र युट्युबमा भाइरल छ । सामाजिक सञ्जालमा सो प्रकरणमा – ‘सनसनीपूर्ण खुलासा, बाहिरियो रहस्य, गोप्य भिडियो, अपराधी पत्ता लाग्यो’ जस्ता शीर्षकहरु ट्रेन्डिङमा छन् । त्यस्ता शीर्षक राखिएका हजारौँ पोष्ट, भिडियो सामाजिक सञ्जालमा हजारौँ सेयर भएको छ । त्यस्तै, सर्वसाधारणलाई उत्तेजित पार्ने खालका भिडियोहरुको बिगबिगी छ ।

प्रविधिको विकासँगै सामाजिक सञ्जालले आममानिसमा सूचनाको पहुँचलाई सहज बनाएको छ । तर, योसँगै यसको दुरुपयोगले भयानक रुप पनि निम्त्याएको पुडासैनी मृत्यु प्रकरणमा देखिएको छ ।

हेरौँ केही युट्युबका शीर्षकहरु ।

१. प्रचण्डले रिस फेर्न रविलाई फसाएको खुलासा ।

२. २ करोडसँगै रवि सिध्याउने खतरनाक खेलको भयो पर्दाफास, सर्वोच्च अदालतका वकिलले गरे डरलाग्दो खुलासा

३. रवि लामिछाने जेलभित्र यस्तो अवस्थामा ।

४. हिरासतबाट घटनाबारे रविले मुख खोले ।

५. रवि लामिछानेबारे माताको भविष्यवाणी यस्तो, दाबीका साथ फेरि गरिन् भविष्यवाणी

युट्युबरहरुले फरक ‘पात्र’ खोज्ने र आफ्नो फाइदाका लागि अन्तर्वार्ता लिने ट्रेन्ड त पहिलेदेखि नै थियो । यतिखेर शालिकराम पुडासैनी मृत्यु प्रकरणमा त्यही प्रवृत्ति दोहोरिएको छ । युट्युबरहरुले चितवनमा गएर खिचेका भिडियोहरु यतिबेला हिट छन् । युट्युबका भिडियोहरु, कम्तिमा शीर्षकमात्रै, हेर्दा लाग्छ – उनीहरु नै अनुसन्धान अधिकृत हुन्, उनीहरुनै अदालत हुन् । किनभने उनीहरुले एकपछि अर्को पर्दाफास गर्दैछन् भने को दोषी को निर्दोष भन्ने करार समेत गर्दैछन् । मुद्दा अनुसन्धानमा रहेको बेला सार्वजनिक भएका यस्ता भिडियोहरुले आमजनमानसमा भ्रम छर्ने काम गरिरहेको छ ।

फेक तस्विरको बिगविगी

यो फोटो हेरौँ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासँगै सामाजिक सञ्जालमा विभिन्न खालका टिका टिप्पणी र अफवाहहरु फैलिरहेको बेला यो फोटो पनि भाइरल भयो । सामाजिक सञ्जालहरुमा आत्महत्या गर्नुअघि खिचेको भिडियोलाई आधार मानी यो तस्विर भाइरल गरिएको हो ।

पुडासैनीको मृत्युअघिको भिडियोबाट स्क्रिनसट लिइएको फोटोमा उनको आँखा देखिन्छ र आँखाको नानीमा कङ्गारु होटलकै सञ्चालकको प्रतिछायाँ बनाएर रविका ‘समर्थक’हरुले युट्युबदेखि सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् ।

खासमा यो तस्विरका मान्छे २०१९ जुन १२ मा अस्ट्रेलिया र पाकिस्तानबीच भएको विश्वकप क्रिकेट अन्तरगतको खेलमा उपस्थित पाकिस्तानका फ्यान हुन् । पाकिस्तानले खराब प्रदर्शन गरेर निराश भएर बसेका यी व्यक्तिको क्यामेराम्यानले फोटो कैद गर्न भ्याएका थिए ।

यतिबेला यी मान्छेलाई नै कङ्गारु होटलको मलिक भनेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

यो तस्विर पनि हेरौं

माथिको तस्विर राख्दै धेरै फेसबुकमा पुडासैनीमाथि आत्महत्याअघि यतना दिइएको दाबी गरियो । तर, यो तस्विर पनि ‘फेक’ भएको पुष्टि छ । यो तस्विर २०१८ मै प्रकाशित भइसकेको थियो ।

यी २ तस्विरले पनि प्रष्ट हुन्छ – सामाजिक सञ्जालमा कतिसम्मका गलत सूचनाहरु प्रभाव भइरहेका छन् । यसले अनुसन्धानलाई प्रभावित पार्ने मात्र होइन, सर्वसाधारणलाई उत्तेजित बनाएर ठूलै दुर्घटना पनि गराउने सक्छ । सामाजिक सञ्जालमा आएका विषयले कसरी अनुसन्धान र सर्वसाधारणलाई प्रभावित पार्छ भन्ने उदाहरण यसअघि निर्मला पन्त हत्या प्रकरणमा देखिएकै हो ।

प्रहरी स्रोतका अनुसार सोही मोबाइलको रेकर्ड सुनेपछि परिवारले शव बुझेका थिए । साउन २१ गते पशुपति आर्यघाटमा पुडासैनीको अन्त्येष्टि गरियो । तर, त्यहाँ पनि तनाव भयो । रवि लखेटिए भन्दै युट्युबमा भिडियोहरु आए । तर प्रहरी भन्छ, न त्यो दिन रवि लखेटिएका थिए । न त्यस्तो तनाव नै भएको थियो । केवल सामाजिक सञ्जालमा मात्रै रवि लखेटिए ।

पछि त्यही दिन रवि लामिछानेले आफ्नो फेसबुकमा लाइभ गर्दै घटनाबारे बोले । २१ मिनेट लामो त्यो लाइभमा उनले शालिकरामलाई आफ्नो बारेमा भ्रम परेको हुनसक्ने बताएका थिए ।

सामाजिक सञ्जालको आधारमा छानविन प्रभावित हुँदैन : प्रवक्ता पोखरेल

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले सामाजिक सञ्जाल फेसबुक र युट्युबको भिडियोको आधारमा ‘पुडासैनी आत्महत्या प्रकरण’ को छानबिन प्रभावित नहुने बताए । घटना भइसकेपछि प्रहरीले आफ्नै तरिकाले छानबिन गर्ने बताउँदै उनले भने, ‘घटना हुन्छ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा विभिन्न तर्कवितर्क हुन्छन् । प्रहरी यसबाट कतैपनि प्रभावित हुँदैन । फेसबुक र युट्युबको भिडियो आधारमा छानबिन हुने होइन ।’ नेपाल प्रहरीले शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारे कानुनी राज्यको प्रत्याभूति हुने गरी छानविन गर्ने डीआईजी पोखरेलको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप