शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खुर्सिदको बदलामा किशोरीलाल नेपाललाई भारतको ‘उपहार’ (भिडियोसहित)

आइतबार, २१ असोज २०७५, १६ : १७
आइतबार, २१ असोज २०७५

काठमाडौँ । गत असोज १४ गते जिल्ला प्रहरी कार्यालय बाँकेले १४ वर्षअघि नेपालगञ्जमा सुनचाँदी व्यवसायी दीपक हेमकरसहित ५ जनाको हत्या गर्ने मुख्य अभियुक्त भनिएका किशोरी लाल सोनीलाई पक्राउ गरेर सार्वजनिक गर्यो ।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलको दाबी थियो – भारतबाट जमुना नाका हुँदै नेपाल फर्किँदै गरेका सोनीलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो ।

हेर्नुहोस् समाचार

यसरी समातिए १४ वर्षअघिको हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त

तर, अहिले एउटा भिडियो प्राप्त भएको छ जसमा नेपाल–भारत सीमामा कथित रुपमा पक्राउ परेको भनिएका किशोरीलाल सोनीको केही दिनअघि भारतको लखनउमा अपहरण भएको देखाइएको छ ।

अब प्रश्न आउँछ - ठीक २ दिनअघि भारतमा अपहरणमा परेका सोनी कसरी एकाएक नेपालमा सार्वजनिक भए ? 

स्रोत भन्छ, यो सुनसरीका खुर्सिद आलमको हत्याको बदलामा भारतले नेपाललाई दिएको उपहार हो ।

पाकिस्तानी आतंकवादीसँग साँठगाँठ रहेको तथा मुम्बईमा भएको बम ब्लास्टमा खुर्सिदको संलग्नता देखिएपछि भारती पक्षबाट नै उनको हत्या गरेको भन्ने समाचार समाचारहरु बाहिर आइसकेका छन् । 

‘सहिद’ अन्सारीले यसरी दिलाएका थिए इन्डियन मुजाहिद्दीनलाई नेपाली नागरिकता !

खुर्सिद अन्सारी ‘विशेष ब्यूरो’को सर्भिलेन्समा थिए, भारतले माग्दा नबुझाएपछि हत्या 

स्रोत भन्छ, ‘खुर्सिदलाई हत्या गर्नमा नेपाल प्रहरीले सघाएबापत भारतीय प्रहरीले सोनीलाई समातेर नेपाल प्रहरीलाई सुम्पेको हो ।’

सोनीलाई सेप्टेम्बर २८ तारेखमा लखनउबाट अपहरण शैलीमा भारतीय प्रहरीले पक्राउ गरेको थियो । । 

तर, बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेल भन्छन्, ‘सोनीलाई असोज १३ गते नेपालगञ्जको जमुनाहाबाट पक्राउ गरेका हौँ । उनी नेपालगञ्ज आउन लागेको सुराकीको आधारमा पक्राउ गरेका हौँ ।’

यता, लखनउबाट किशोरीलाल सोनी असोज १२ गते अपहरणमा परेको कुरा लखनउ प्रहरीले नै स्वीकार गरेको छ । 

बुवा अपहरणमा परेको भन्दै विकास सोनीले त्यहाँको प्रहरीमा उजुरी पनि गरेका छन् । 

किशोरीलाललाई अपहरण गरेको दृश्य भिडियोमा पनि हेर्न सकिन्छ । र, लखनउ प्रहरीको स्वीकारोक्ति पनि । 

हेर्नुहोस् भिडियो

तर, प्रहरी उपरिक्षक पौडेल आफूहरुलाई सोनी अपहरणमा परेको कुनै जानकारी नभएको बताउँछन् ।

उनी भन्छन्, ‘लखनउमा किशोरीलाल अपहरणमा परेको कुरा हाम्रो जानकारीमा छैन । हामीले नेपालमा उनलाई हिड्दै गरेको अवस्थामा समातेका थियौँ । अहिले थप अनुसन्धानका लागि थुनामा राखेका छौँ ।’  

१४ वर्षअघि नेपालगञ्जका सुन व्यपारी दीपक हेमकारसहित उनका परिवारका ५ जनाको हत्या भएको थियो । दीपक हेमकर किशोरलाल सोनीका ज्वाइँ हुन् ।  

दीपकले नेपालगन्जस्थित आफ्नै घरमा न्युदीप ज्वेलर्स नामको सुन पसल सञ्चालन गर्दै आएका थिए । 

घरमा सुतिरहेको बेला २ दीपकसहित ६२ वर्षीय जगदेव हेमकर, ८२ वर्षीया गुलावदेवी हेमकर, ४५ वर्षीया सीतादेवी हेमकर र घरमा काम गर्न राखिएका रामशनिचर चौधरीको हत्या भएको थियो । । 

संयोगवस दीपककी श्रीमती अर्थात् किशोरीलालका छोरी त्यस दिन माइती गएकी थिइन् । 

छानविनमा किशोरीलाल मुछिएपछि नेपाल प्रहरीले उनलाई खोजीको सूचीमा राखेको थियो । 

भारत लखनउ सीतापुर प्रियदर्शनी कलोनी रोडका ६४ वर्षीय किशोरीलाल सुन व्यवसायी नै हुन् । 

नेपाल प्रहरीले किशोरलाललाई पटक–पटक पक्राउ गर्न चाहे पनि भारतीय प्रहरीको असहयोगका कारण सम्भवन भएको थिएन । 

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीले लखनउ प्रहरीलाई पटक–पटक सुम्पिन आग्रह पनि गरेको थियो । तर, उताबाट नेपाल प्रहरीले कुनै सहयोग पाएन ।

यता, सुनसरीमा खुर्सिदको हत्या लखनउको स्पेशल टाक्स फोर्सको सहयोगमा भएको पनि उच्च सुरक्षा स्रोतले जनाएको छ । 

सो अपरेशन सफल भएपछि भारतीय प्रहरीले ‘उपहार’ स्वरुप सोनीलाई नेपाल प्रहरीसमक्ष सुम्पेको हो ।

यसरी दुई देशका प्रहरीले हाइप्रोफाइल अपराधीलाई नेपाल भारत सीमामा पक्रेको भनेर सुपुदर्गी गरेको पहिलो अवसर भने होइन ।

यसअघि पनि इन्डियन मुजाहिद्दिनका मास्टर माइन्ड यासिन भटकाल र अब्दुल करिम तुन्डालाई नेपाल प्रहरीले समातेर भारतीय प्रहरीलाई बुझाइएको थियो । त्यतिबेला पनि उनीहरु नेपाल–भारत सीमामा पक्राउ परेको दाबी प्रहरीको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप