बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वाइडबडी प्रकरण : नेकपाका नेताहरुको मौनताको रहस्य के ?

मङ्गलबार, २४ पुस २०७५, १३ : ४०
मङ्गलबार, २४ पुस २०७५

काठमाडौँ– सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका वहालवाला सचिव कृष्णप्रसाद देवकोटा र तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई  दोषी करार गर्दै उनीहरूलाई कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । 

समितिको यो निर्देशनपछि अख्तियारले उनीहरूमाथि भ्रष्टाचारविरुद्धको मुद्दा अघि बढाउने बाटो खुलेको छ । 

समितिको निर्णयमा बहालवाला मन्त्री र पूर्व मन्त्रीहरूलाई नैतिक जिम्मेवारी मात्रै लिन भनिएकाले उनीहरूप्रति लेखासमिति केही लचक देखिएको छ । तर, उनीहरु चाेखाे देखिएका छैनन् ।  सोमबार बसेको समितिको बैठकले वाइडबडी घोटाला प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई भने मुख्य दोषीकारूपमा करार गरेको छ ।

लेखा समितिले गठन गरेकाे उपसमितिले छानविनपछि तयार पारेको प्रतिवेदनमा विमान खरिद गर्दा ४ अर्ब ३५ करोड भ्रष्टचार भएको सार्वजनिक गरेकाे छ । 

उपसमितिले सार्वजनिक गरेको यो प्रतिवेदनमा बहालवाला मन्त्रीनै मुछिएपछि सर्वत्र चासोको विषय बन्न पुगेकाे छ । कार्यकर्ताले पार्टीका आशालाग्दा युवा नेताका रुपमा चिनेका मन्त्री अधिकारी लगायत अन्य पूर्वमन्त्री र सचिवहरु यो प्रकरणमा मुछिएपछि अधिकांश मिडियामा वाइडडी विमान खरिद प्रकरणमा भएको घोटाला र त्यसमा संलग्न भनिएका व्यक्तिबारे मुख्य हेडलाइनमा समाचार बनिरहेका छन् ।

सामाजिक संजालपनि वाइडवडी प्रकरणका विषयले भरिएको छ । प्रतिपक्षी दल लगायत अन्य दलका नेता कार्यकर्ताहरुले विभिन्न माध्यमबाट यस विषयमा आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । 

तर, आफ्नै पार्टीका जिम्मेवार नेता तथा बहालवाला मन्त्री त्यसमा मुछिँदा समेत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । नत पार्टीका अन्य शीर्ष नेताहरुनै यस विषयमा बोलेका छन् । 

पार्टी र सरकारकै प्रतिष्ठासँग जोडिएको ‘वाइडवडी प्रकरण’ विषयमा नेताहरुको मौनताको रहस्य के ? यो विषयमा हामीले नेकपाका केही नेताहरुसँग बुझ्ने प्रयास गरेका छाैं । तर, औपचारिक धारणा दिन नमानेका उनीहरुलेअनौपचारिक कुराकानीमा नेताहरु अहिले अप्ठ्यारोमा परेको बताए । 

‘एकातिर वाइडवडी प्रकरणको विषयमा बोलौँ भने पार्टीको औपचारिक निर्णय छैन । आफ्नो हिसावले बोलौँ भने पार्टी भित्रैबाट आलोचना खेप्न पर्ने समस्या हुन सक्छ’ ती नेताले बाध्यता सुनाउँदै भने, ‘भ्रष्टाचार भएको छैन भनेर बोलौँ भने सर्वत्र जनताले देखेका छन् । संसदमा प्रधानमन्त्रीले यो विषयमा बोल्नुहुन्छ भन्ने लागेको थियो बोल्नु भएन । हामी अप्ठ्यारोमा छाैं, बोल्दा पनि समस्या नबोल्दा पनि समस्या ।’

यो पनि.....

वाइडबडी घोटाला प्रकरण : कंसाकारसहित देवकोटा र अधिकारी मुख्य दोषी, मन्त्रीहरूलाई उन्मुक्ति !

ती नेताका अनुसार वाइडवडी प्रकरणमा संसदमा प्रधानमन्त्रीको धारणा सार्वजनिक भएपछि नेकपाका नेताहरु त्यही लाइन समातेर बोल्न सक्थे । तर आइतबार संसदलाई सम्बोधन गरेका प्रधानमन्त्रीले वाइडवडी प्रकरणमा प्रवेश गरेनन् । 

‘वाइडबडी विमान खरिदमा घोटाला भएकै देखियो । यो सिलसिलाबद्ध छ । त्यसमा मुछिएका बहालवाला मन्त्री सही गलत जे भएपनि नैतिक जिम्मेवारी लिनुपर्ने देखिन्छ’ ती नेताले भने, ‘हामी बोलौँ भने सरकार र पार्टीकै बदनाम, नबोलौँ पनि झन् बदनाम । सरकारले थप छानविनको लागि समिति बनाएको छ, त्यसको रिपोर्टको आधारमा सरकार र पार्टीको आधिकारी धारणा आउला ।’  

लेखा समितिले वाइडबढी प्रकरणमा एक खालकाे निष्कर्ष निकालिसकेकाे अवस्थामा गत विहिबार मन्त्रिपरिषद् बैठकले पनि वाइडबडी प्रकरण छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको थियो । उक्त समितिलाई छानविन गरी सत्य तथ्य पत्ता लगाउनका लागि ४५ दिनको समय दिएको छ । समितिले कस्तो प्रतिवेदन पेश गर्छ त्यो भने हेर्न बाँकी नै छ । 

याे पनि....

वाइडबडी प्रकरणमा गृहसचिव राईलाई ‘क्लिन चिट’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप