शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘छट्पटिएका’ कंसाकारले नेतादेखि कर्मचारीसम्मलाई दिए अर्ती उपदेश

बुधबार, १८ पुस २०७५, १७ : ३९
बुधबार, १८ पुस २०७५

काठमाडौँ । पछिल्ला दुईदिनमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नेतादेखि कर्मचारीलाई विभिन्न उदाहरणसहित अर्ती उपदेश दिएका छन् । कंसाकारले सोमबार बिहानै र मंगलबार बिहानै गरी सामाजिक सञ्जाल फेसबुकमा दुईवटा स्ट्याटस लेखेका थिए । 

सोमबार बिहान लेखेको स्ट्याटसमा उनले प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव र कार्यकारी प्रमुखजस्ता निर्णायक पदमा बस्ने व्यक्तिहरूका लागि यी भावनात्मक सीप र कलाले ठूलो महत्व राख्ने कुरा उल्लेख गरेका छन् । 

उक्त स्ट्याटसमा उनले लेखेका छन्, ‘सन् २०१९ लाई सबैले ‘अनुकुलिक नेतृत्व वर्ष’ को रुपमा मनाउने हो कि ? अनुकुलिक नेतृको अवधारणामा । (इमोसनल इन्टेलिजेन्स) भावनात्मक बुद्धिमत्ताको ठूलो महत्व रहन्छ । यसबाहेक यसको परिधिभित्र निम्नकुराहरु पनि पर्छ (संस्थागत न्याय, निर्णयमा निष्पक्षता, सूचना आदानप्रदान र नतिजाको चिन्ता, चरित्र, सत्यनिष्ठा, विश्वसनीयता र उचित मूल्यांकन, विद्या प्राप्तीमा निरन्तरता र अनुयायीहरूको वैयक्तिक विकासमा जोड ।’

साथै उनले गत दुई दशकदेखि व्यापक अनुसन्धान भइरहेको भन्दै इमोसनल इन्टेलिजेन्सलाई व्यवस्थापन शास्त्रको महत्वपूर्ण अंगको रूपमा लिन थालेको बताए । 

‘मनुष्यको वौद्धिक क्षमता मापन गर्ने परम्परागत आईक्यू (इन्टेलिजेन्ट कोसेन्ट) भन्दा विल्कुलै भिन्न प्रकारका सीपहरू इमोसनल इन्टेलिजेन्सको परिधिभित्र पर्छ । 

यो पनि...

वाइडबडी खरिदमा घोटला प्रकरण : मन्त्रीसहित दुई दर्जनको संलग्नता, क–कसलाई होला कारवाही ?

खासगरी प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव र कार्यकारी प्रमुखजस्ता निर्णायक पदमा बस्ने व्यक्तिहरूका लागि यी भावनात्मक सीप र कलाले ठूलो महत्व राख्छ । 

विज्ञहरूको भनाईअनुसार भावनात्मक सीप र कला हासिल गर्न चारवटा पक्षमा ध्यान केन्द्रीत गर्नुपर्छ उनले भनेका छन्– ‘आत्मबोध, आत्मव्यवस्थापन, सामाजिक चेतना र सम्बन्ध व्यवस्थापन ।’ कंसाकरले फेसबुकमा लेखेका छन् । 

उनले अमेरिकाको एक प्रतिष्ठित परामर्शदाता कम्पनीमा कार्यरत दुईजना प्रख्यात विज्ञहरू ट्राभिस ब्राडबेरी र जिन ग्रिसको भनाइ पनि जोडेका छन् ।

साथै एडेप्टिभ लिडरसिपमा पोख्त नेताहरू जहिले पनि फुर्तिलो, सक्रिय, गतिशील र अत्यन्त प्रभावकारी हुन्छन् । संसारका प्रख्यात ठूला–ठूला नेताहरूमा यो सीप र कला स्पष्ट रूपमा भरपुर मात्रामा भएको प्रमाणित भइसकेको कुरा उल्लेख गरेका थिए ।

त्यसको भोलिपल्ट कंसाकारले फेरि सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘हरेक सरकारी निकाय, संस्थालगायत निजी कम्पनीहरुको सम्पूर्ण कर्मचारीमा उल्लास र कामप्रति जोश, जाँगर र उत्साह हुनु जरुरी छ ।’ 

उनले थपे, ‘विरक्त, निराश, शिथिल र अशान्त मन भएका कर्मचारीबाट उत्कृष्ट प्रभावकारिता र उत्पादकत्व अपेक्षा गर्नु व्यवस्थापनशास्त्र अनुसार मूर्खता हुन्छ ।’

प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव र कार्यकारी प्रमुखलाई यस्तो सुझाव दिने कंसाकार पछिल्लो समय निकै चर्चित मानिएको वाइड बडी विमान खरिद अनियमिततामा प्रमुख भूमिकामा मुछिएका व्यक्ति हुन् । 

यो पनि...

पर्यटन मन्त्री अधिकारी नैतिक सङ्कटमा, देलान् त राजीनामा ?

संघीय संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले वाइड बडी जहाज खरिदमा भएको अनियमितताका विषयमा गम्भीर तरिकाले अनुसन्धन थालेको चाल पाएर नै उनले प्रधानमन्त्रीदेखि कर्मचारीसम्मलाई यस्तो उपदेश दिएको बुझ्न गाह्रो छैन ।  तर, यतिबेला उनको उपदेश अर्थहिन देखिएको छ ।   

संघीय संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले दुईवटा वाइड बडी जहाज खरिद गर्दा भएको ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता गरेको भन्दै आरोप लगाएको छ । 

जसले उनी तनावमा परेका छन् । यसबारे विभिन्न समयमा प्रश्न उठ्ने गर्दै आएको थियो । उनी हाँसोठ्टामै सबै कुरा उठाउँथे । जसमा मंगलबार विमान खरिद अनियमिततामा प्रमुख भूमिका कंसाकारको रहेको उपसमितिले जनाएको छ ।  

साथै समितिले भनेको छ, ‘विमान खरिद अनियमिततामा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बद्नीयत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकोले निजहरुलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्डसजाय गर्न कानूनी कारवाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन यस उपसमिति सार्वजानिक लेखा समितिलाई सिफारिस गर्दछ ।’

यो पनि...

वाइडबडी प्रकरणमा मुछिएका पूर्वमन्त्री भन्छन्–प्रधानमन्त्री पनि तानिन्छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप