शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वाइडबडी प्रकरणमा मुछिएका पूर्वमन्त्री भन्छन्–प्रधानमन्त्री पनि तानिन्छन्

बुधबार, १८ पुस २०७५, १६ : २४
बुधबार, १८ पुस २०७५

काठमाडौँ – संसदको सार्वजनिक लेखा समिति अन्तगर्तको उपसमितिले वाइडबडी खरिदका क्रममा भएको अनियमिततामा बहालवाला पर्यटन मन्त्रीसहित दुई जना पूर्वपर्यटनमन्त्री संलग्न रहेको प्रतिवेदन सार्वजनिक गर्यो । 

यो प्रकरणमा मुछिएका बहालवाला मन्त्री रवीन्द्र अधिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हुन् भने अरू दुईजना पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव काँग्रेसका नेता हुन् । 

प्रतिवेदन सार्वजनिक भएपछि शाही र देवले रातोपाटीसँग सङ्क्षिप्त प्रतिकृया दिँदै बाइडबडी खरिद गर्दा भएको भ्रष्टाचारमा आफूहरूको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

उनीहरू दुवैले आफूहरू निर्दोष रहेको बताएका छन् । 

रातोपाटीसँग कुरा गर्दै पूर्वमन्त्री शाहीले रकम सटहीका लागि नेपाल वायुसेवा निगमले कानुनसम्मत निर्णय गरेर पत्र पठाएकाले त्यसमा आफ्नो कुनै दोष नरहेको प्रतिकृया दिए । 

उनले भने, ‘मन्त्रालयलाई सबै कुरा थाहा हुँदैन । यस्ता कुरामा निगमले नै थाहा पाउँछ । निगमबाट सिरियल नम्बर कानुनसम्मत छ । कानुनमा कुनै त्रुटि छैन भनेर मन्त्रालयमा पत्र आएको थियो । तर अहिले न खाएको ? न पिएको ? मान्छेमाथि यस्तो आरोप लागेको छ ।’ 

उनले  जहाज किन्नु पर्छ भनेर संसदले समेत भनेको बताउँदै आफूले प्रक्रियामा गएकाले जहाज किन्नहोस् मात्र भनेको बताए । 

उनले कारवाही नै गर्ने भए तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीलाई पनि गर्नुपर्ने जिकिर गरे ।

खरिद प्रक्रियामा पहिला भएका कामको खोजी गर्दै जाने हो भने तत्कालीन प्रधानमन्त्रीले समेत नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो ।  

आफू आउनुभन्दा पहिले नै टेन्डर गरी सकिएको बताउँदै उनले आफू निर्दोष रहेको पटक पटक दोहोर्याए । 

शाहीले भने, ‘म त मन्त्रालयमा चार पाँच महिना मात्र बसेको हुँ । जहाज खरिद प्रक्रिया पहिले नै भएको हो । बाँकी काम पनि म नहँुदाको समयमा भएको हो ।’ 
अर्का पूर्वमन्त्री देवले यसबारे आफू केही नबोल्ने प्रतिक्रिया दिए ।

 ‘म यसबारे अहिले केही बोल्दिनँ, बोल्नुपरे पछि नै बोलौँला’ रातोपाटीसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘अहिले यति बुझ्नुस् ।’ उनको आशय आफूले कुनै कमजोरी नगरेको भन्ने थियो । 
उपसमितिले पूर्वमन्त्रीहरूमाथि अनियमितताको नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेर कारवाही गर्न सिफारिस नै गरेको छ । 

प्रतिवेदनमा तत्कालीन मन्त्री शाहीले सार्वजनिक खरिद ऐन, २०६३ विपरीत अनियमित तरिकाले विमान खरिद कारवाही अघि बढ्दा पनि पर्याप्त सतर्कता नअपनाएको आरोप छ ।

महालेखा परीक्षकको कार्यालयले वायुसेवा निगमको दुईवटा वाइडबडी एयरबस ए ३३० २०० खरिदमा गम्भीर त्रुटि औँल्याएपछि सार्वजनिक लेखा समितिमा यो विषयले प्रवेश पाएको थियो । महालेखाले विमान खरिद प्रक्रिया र मूल्य दुवै हिसाबले त्रुटिपूर्ण रहेको औँल्याएको थियो ।

महालेखा परीक्षकको २०७४/०७५ को ५औँ वार्षिक प्रतिवेदनले एयरबस निर्माता कम्पनीलाई छलीबीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा  उडेको जहाजका लागि आरएफपी जारी गर्नु र तयसपछि तीन चारवटा दलाल खडा गरी खरिद प्रक्रिया अघि बढाउनु कानुनविपरीत भएको उल्लेख गरेको थियो । 

जसमा पूर्वमन्त्री शाहीलाई मन्त्रालयका सचिव नै निगमको अध्यक्ष रहँदा पनि आवश्यक निर्देशन दिन नसकेको र बैना रकम सटही सुविधा प्रदान गर्न निर्णय गरेकाले उनले नैतिक जिम्मेवारी लिनुपर्ने देखिएको उपसमितिको निष्कर्ष छ ।

यस्तै अर्का पूर्वमन्त्री देवमाथि हाइफ्लाई एक्स आयरल्यान्ड कम्पनीसँग कानुनविपरीत सम्झौता भएको विषयलाई नजरअन्दाज गर्नुका सथै गैरजिम्मेवार ढङ्गले पहिलो किस्ताबापतको रकम भुक्तानी गर्न र सटही सुविधा प्रदान गर्न मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गरेकाले नैतिक जिम्मेवारी लिनुपर्ने समितिको ठहर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप