केन्द्रीय संस्करण

खुर्सिद अन्सारी ‘विशेष ब्यूरो’को सर्भिलेन्समा थिए, भारतले माग्दा नबुझाएपछि हत्या !

person access_timeअसोज ५, २०७५ chat_bubble_outline0

काठमाडौँ । बिहिबार हत्या गरिएका सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारी स्थानीय रैयाब बोर्डिङ स्कुलका सञ्चालक थिए । 

तर, उनको परिचय यतिमा सीमित हुँदैन । अन्सारी स्कूल सञ्चालक मात्र हैनन्, नेकपा एमाले सुनसरी जिल्ला समितिसँग जोडिएका थिए । उता, भारतका लागि भने उनी मोस्ट वान्टेड सूचीमा रहेका आतंककारीहरुको संरक्षक थिए । 

सन् २००८ मा भारतका विभिन्न शहरमा भएको शृङ्खलाबद्ध बम आक्रमणका आरोपीलाई खुर्सिदले संरक्षण दिएको भन्दै भारतीय सुरक्षा निकायले नेपालस्थित भारतीय दुतावास मार्फत नेपालको गृहमन्त्रालयलाई सुपुर्दगीका लागि पत्राचार समेत गरेको थियो । 

२०७२/७३ सालमा भारतले नेपालको गृह मन्त्रालयलाई ‘खुर्सिद सन्दिग्ध हो, समातेर पठाइदिनु’ भन्दै पत्राचार गरे पनि तत्कालीन गृहमन्त्रीको ‘ग्रीन सिग्नल’ नआएपछि प्रहरी चुपचाप बसेको थियो । 

‘त्यतिबेला नेपाल प्रहरीको विशेष ब्युरोले खुर्सिदलाई सर्भिलेन्समा राखेको थियो,’ प्रतिआतंकवादका घटनामा लामो समय अनुसन्धान गरेका एक प्रहरी अधिकृत भन्छन्, ‘खुर्सिदले इन्डियन मुजाहिद्दीनका मान्छेहरुलाई सेल्टर दिएको भारतीय पक्षको दाबी थियो ।’ तर, तत्कालीन गृहमन्त्रीको ‘ग्रीन सिग्नल’ नपाउँदा खुर्सिदलाई भारतले भनेअनुसार नेपालले सुपर्दगी गरेन । 

बिहीबार दिउँसो सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा भारतीय सुटरको गोली प्रहारबाट उनको हत्या भएको छ । भारतीय मोटरसाइकलमा आएका सुटरहरु खुर्सिदलाई गोली हानेर सहजै नेपाल–भारत सिमाना पार गर्न सफल भए । अझ अचम्मको कुरा के छ भने, गोली प्रहार गरेर भाग्नेहरु र नेपाल प्रहरीबीच जम्काभेट समेत भयो तर प्रहरीले उनीहरुलाई पक्राउ गर्नै सकेन । उल्टो, सुटरको गोली लागेर नेपाल प्रहरीका जवान शिव पौडेल घाईते भएका छन् । 

किन यस्तो भयो ? नेपालीहरुमाथि भारतीय पक्षबाट हुने गोली प्रहारका घटना नजिकबाट नियालेका एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘कतिपय यस्ता घटनामा प्रहरीहरु नै नेपाल आउँछन्, भारतीय प्रहरीबाहेक अन्य मान्छे आउँदा पनि तालिम प्राप्तहरु आउने हुनाले उनीहरुलाई कसैको डर हुँदैन, त्यसैले प्रहरी जवानमाथि गोली प्रहार गर्नु उनीहरुको लागि नौलो कुरा हैन ।’ 

सुनसरीको तत्कालीन जिल्ला विकास समितिको सदस्य समेत भैसकेका खुर्सिदलाई तत्कालीन गृहमन्त्री बामदेव गौतमले बुझाउन नचाहेपछि भारतीय प्रहरीहरु उनलाई पक्राउ गर्न पटक–पटक सुनसरीस्थित घरमै पुगेका थिए । तर, सबै प्रयास असफल भएका थिए । 

भारतीय सुरक्षा एजेन्सी के कुरामा विश्वस्त थियो भने खुर्सिदले भारतका विभिन्न शहरमा बम विष्फोट गराउने आतंकवादीहरुलाई नेपालको नागरिकता र पासपोर्ट दिलाएर लामो समय सेल्टर समेत दिएका थिए । त्यसैले उनीहरु खुर्सिदलाई कारवाही गर्न चाहन्थे, तर उपयुक्त मौका मिलिरहेको थिएन ।  

नेपाली नागरिक भएपछि भारतमा जति दिन बस्न पाइन्थ्यो, तर पाकिस्तानीहरु त्यसरी भारतमा धेरै दिन बस्न सम्भव थिएन । त्यसैको फाइदा उठाउँदै खुर्सिदले नेपाली नागरिकता र पासपोर्ट दिलाएकाहरु भारतमा निस्फिक्री बसे, बम विष्फोट गराए अनि नेपाल फर्किए । नेपाल आएपछि ती आतंकवादीहरुलाई खुर्सिदले नै पाकिस्तान उडाएको भारतीय पक्षको दाबी छ । 

फैजान–खुर्सिद एउटै समुहको शिकार

२०७० सालमा बारास्थित जितपुर–३ का पेट्रोलियम व्यवसायी आफताव आलमको गोली प्रहारबाट मृत्यु भयो । घटनास्थमा प्रहरी पुगिसकेको थिएन, गोली चलेपछि घटनास्थल घेरेका स्थानीयले सुटरलाई उम्कनै दिएनन् । केही छिनमा प्रहरी पुगेपछि सुटर रवि पाण्डेय पक्राउ परे । 

अनुसन्धान गर्दै जाँदा खुल्यो २०६८ सालमा काठमाडौँको महानगरीय प्रहरी कार्यालयको आडैमा (घण्टाघर नजिकै) फैजानमाथि गोली हान्ने पनि उनै पाण्डेय थिए । भारतीय नागरिक रवि पाण्डेय अहिले जेलमा छन् । 

लामो समय अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुका अनुसार इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमद, सञ्चार उद्यमी जमिम शाह र पूर्व सांसद मिर्जा दिलसाद बेग, कमलसिंह नेपाली, नेपालगञ्जका अब्दुल मजिद मनिहार, वुटबलका सौकद अली र युनुस अन्सारीमाथि गोली प्रहार गर्ने भारतीय समूह एउटै हो । 

‘फैजानदेखि खुर्सिदसम्म आउँदा सबैजना एउटै समूहको शिकार भएको देखिन्छ,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मुख्य डिजाइनर एउटै हो, नेपाल प्रहरीले त्यस्तो डिजाइनरको पहिचान नगरेको हैन तर पारीबाट यता ल्याउन सम्भव नै भएन ।’ 

भारतीय सुटर पक्राउ गर्न प्रहरी किन असफल ? 

मिर्जादेखि आजसम्म भारतीय सुटरहरुले जति व्यक्तिको हत्या गरेका छन्, त्यसमा संयोगले दुईजना मात्र पक्राउ परेका छन् । अन्य सुटरहरु नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन । 

संयोगले पक्राउ परेका दुई सुटर हुन् रवि पाण्डेय र जसजीत सिंह । बाराका व्यवसायी आफताव आलमलाई गोली हानेर भाग्दै गरेको बेला स्थानीयले घेरेपछि रवि पाण्डेय पक्राउ परेका थिए ।  

२०६७ साल फागुन २६ गते केन्द्रीय कारागारको सुरक्षा घेरा पार गरेर युनुस अन्सारीमाथि गोली प्रहार गर्ने जसजीत सिंह पनि भाग्ने ठाउँ नै नपाएर मात्र पक्राउ परेका हुन् । 

‘अन्य सुटर पक्राउ पर्नै सकेनन्,’ लामो समय अनुसन्धान गरेर अवकास पाएका एक पूर्व डिआईजी भन्छन्, ‘घटनापछि अनुसन्धान र छानविनका नाममा जत्ति समितिहरु बने उनीहरुले घटनामा सामान्य रुपमा जोडिएका केही नेपालीहरुलाई मात्र कानुनी दायरामा ल्याएको छ ।’ 

युनुसको घटनामा गोली प्रहार गर्ने जसजीत सिंह भारतीय प्रहरी नै भएको अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुको निष्कर्ष छ । तर, भारतीय प्रहरीको परिचय पत्र नभएकाले उनी प्रहरी भएको औपचारिक पुष्टि हुन सकेन । 

‘जसजीत सिंह भारतीय प्रहरी नै थिए,’ एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘उनको साथमा परिचय पत्र नभेटिएपनि हाउभाउले उनी प्रहरी भएको हामीले संकेत पाएका थियौँ ।’ 

इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमद प्रकरणमा नेपाल प्रहरीले रामेछापको गौश्वरा स्थायी घर भएका ट्याक्सी ड्राइभरलाई पक्राउ गरेको थियो । सिमकार्ड किनिदिने ट्याक्सी ड्राइभरलाई फैजानको हत्यारा करार गरेको नेपाल प्रहरीले किन मुख्य सुटर पक्राउ गर्न सकेन ? 

सञ्चार उद्यमी जमिम शाहको हत्या प्रकरणमा पूर्व डिएसपी जगदिश चन्द र पूर्व प्रहरी नायव निरीक्षक (सई) प्रकाश थापा पक्राउ परे, तर सुटर पक्राउ नै नगरी अनुसन्धानको फाइल बन्द गरियो । 

भारतीय पक्षले गोली प्रहार गरेको घटनामा अहिलेसम्म प्रहरीको अनुसन्धानबाट कोही सुटर पक्राउ पर्न सकेका छैनन् । नेपाली पक्ष भारत सरकारसँग मुख्य सुटर सुपर्दगी गर्न अथवा अनुसन्धान गरेर इन्टरपोलमार्फत त्यस्ता सुटरलाई कानुनी दायरामा ल्याउन किन सक्दैन ? खुर्सिद हत्याकाण्डपछि यो प्रश्न अझै टड्कारो बनेको छ । 

२००८ मा भारतमा भएको शृङ्खलाबद्ध बम विष्फोटमा १६६ जना मारिएका थिए । बम विष्फोटको घटनामा प्रत्यक्ष संलग्न अपराधीको त कुरा छाडौँ, सेल्टर दिने र डकुमेन्ट बनाइदिने मान्छेलाई समेत भारतले नेपालमा आएर गोली प्रहार गर्दा नेपाल सरकार किन मौन ? के नेपाली पक्षले अनुसन्धान गरेर त्यस्ता सुटरलाई कानुनी दायरामा ल्याउन सक्दैन ?

खुर्सिद घटनामा के हुन्छ ? 

खुर्सिद घटनाको अनुसन्धान तथा छानविन गर्न भन्दै गृह मन्त्रालयले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) किशोर दाहालको नेतृत्वमा उच्चस्तरिय समिति गठन गरेको छ । 

समितिले १५ दिनभित्र स्थानियसँग सोधपुछ गरेर रिपोर्ट बुझाउने बाहेक ठोस परिणाम दिनेमा उच्च प्रहरी अधिकृतहरु नै विश्वस्त छैनन् । 

‘खुर्सिद घट्नामा पनि नेपालसँग लिंक भएका केही मान्छेहरु पक्राउ पर्न सक्छन्’ एक प्रहरी अधिकृत भन्छन्, ‘तर, भारतीय सुटरको अनुसन्धान हुने, पहिचान र पक्राउ पर्ने आशा भने गर्न सकिँदैन ।’ 
 

राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ