बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिभिजनको ओरालो यात्रा : पहिलो वर्ष नाफा, त्यसयता एक अर्ब २५ करोड नोक्सान !

शुक्रबार, १९ असोज २०७५, ११ : ४३
शुक्रबार, १९ असोज २०७५

काठमाडौँ । तपाईं पत्याउनुहुन्छ ? सरकारी स्वामित्वको नेपाल टेलिभिजन स्थापनाको ३४ वर्षे कार्यकालमा सधैँ नोक्सानीमा चलेको खुलासा भएको छ । 

२०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजनले स्थापना भएको वर्ष भने ४४ हजार ५ सय ९० रुपैयाँ  नाफा कमाएको पाइएको छ । 

त्यसयताको ३२ वर्षे कार्यकालमा यो संस्थानले बर्सेनि घाटाको व्यापार गरिरहेको छ । जसको २०७४ सालसम्मको नोक्सान रकम एक अर्ब २५ करोड ४४ लाख ७७ हजार २८ रुपैयाँ पुगेको छ । 

गत साउन १० गते रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधारका लागि गठित सरकारी समितिले हालै तयार पारेको  विस्तृत प्रतिवेदनमा नेपाल टेलिभिजन बर्सेनि घाटामा सञ्चालन हँुदै आएको उल्लेख छ । 

त्यस्तै प्रतिवेदनमा  नेपाल टेलिभिजनका कार्यक्रम तथा सेवाहरू उत्कृष्टताको चेतनाले भन्दा नाफाको भावनाले निर्देशित हुने गरेको उल्लेख छ । 

चार च्यानल पुन प्रसारण मात्रै 
नेपाल टेलिभिजनसँग हाल चारवटा च्यानलहरू २४सै घण्टा प्रसारणमा रहेका छन् । तर यी च्यानलहरू च्यानल अवधारणाअनुसार नचलेको प्रतिवेदनमा उल्लेख छ । नेपाल टेलिभिजनको राष्ट्रिय च्यानलकै समाचार महाशाखाले एनटीभी न्युजको पनि समाचार उत्पादन गर्ने गर्छ भने कार्यक्रम महाशाखाले एनटीभी प्लसका कतिपय कार्यक्रम उत्पादन गर्ने गरेको छ । संस्थाको सङ्गठन संरचनामा च्यानलअनुसारका कार्यक्रम तालिका समेत नराख्ने गरेको पाइएको छ । 

‘समितिले पटक पटक माग्दा बल्लतल्ल उपलब्ध गराइको एनटीभी न्युज च्यानलको अपूरो दैनिक प्रसारण तालिका (दिउँसो ११ बजेदेखि अपरान्ह ४ः५० बजेसम्मको मात्र) विश्लेषण गर्दा समाचार च्यालनमा समाचार बुलेटिनबाहेकका सबै कार्यक्रम पुनः प्रसारण हुने गरेको पाइयो । प्रसारण समयावधिको अनुपात निकाल्दा ६० प्रतिशतभन्दा बढी कार्यक्रमहरू यस अवधिमा पुनः प्रसारण भएको पाइयो’, प्रतिवेदनमा भनिएको छ । 

विज्ञापन नीति अभाव 
नेपाल टेलिभिजनमा विज्ञापन नीतिसमेत अभाव रहेको पाइएको छ । विज्ञापन नीति नहुँदा एक पटकमा लगातार कति मिनेट विज्ञापन बजाउने ? एउटा कार्यक्रममा कुल कति मिनेट विज्ञापन बज्ने भन्ने कुराको कुनै युक्तिसङ्गत अभ्याससमेत नभएको पाइएको छ ।

समितिले २०७५ असार २१ गते बिहान ७ बजेको समाचार बुलेटिनलाई उदाहरणका रूपमा लिएर अध्ययन गर्दा उक्त समाचार बुलेटिन २५ मिनेटको भनिएको थियो तर २८ मिनेट प्रसारण भएको पाइन्छ । सो बुलेटिनमा हेडलाइन पढिसकेपछि लगातार ७ मिनेट तीन सेकेन्डसम्म विज्ञापन बजाइएको पाइएको थियो ।  त्यसपछि दुईवटा समाचार पढेपछि फेरि ४ मिनेट जतिको विज्ञापन बज्यो । यसरी सो समाचार बुलेटिनमा करिब १४ मिनेटसम्म समाचार बजेको थियो । २० मिनेटको समाचार बुलेटिनमा १८ मिनेटसम्म विज्ञापन बजाइएको थियो  । नेपाल  टेलिभिजनले लगातार १६ मिनेटसम्म विज्ञापन बजाएको रेकर्ड पनि अध्ययनको सिलसिलामा फेला परेको छ ।

खिचडी कार्यक्रम 
नेपाल टेलिभिजनबाट उत्पादित तथा प्रसारित कार्यक्रमहरू खिचडी टाइपका भएको पाइएको छ । सामान्यतया प्रसारणमाध्यमले समाचार तथा समाचारमूलक कार्यक्रम, शिक्षाप्रद र मनोरञ्जनात्मक, साङ्गीतिक गरी मोटामोटी तीन खण्डमा कार्यक्रमको वर्गीकरण गरी अनुपात मिलाएको पाइन्छ ।

तर नेपाल टेलिभिजनमा यस्तो अनुपातको गणना गरिएको पाइँदैन । यसको अर्थ कार्यक्रम डिजाइन र उत्पादन प्रसारण गर्दा दर्शकको विश्लेषण गर्ने, उनीहरूका रुचि तथा आश्यकताको पहिचान गर्ने र उनीहरूलाई उपयुक्त हुने समयको खोजी गरी प्रसारण तालिका मिलाउने जस्ता न्यूनतम पेसागत अभ्यासहरू गर्ने एनटीभीले गर्ने गरेको पाइँदैन । त्यति मात्रै नभई कार्यक्रममा नयाँ फम्र्याट र शैलीहरू प्रयोग गर्नुको सट्टा व्यापारिक प्रसारणहरूले चलनचल्तीमा ल्याएका केही सीमित तथा चालु फरम्याटहरूमा नै नेपाल टेलिभिजन भरपर्ने गरेको देखिएको छ । जसले गर्दा नेपाल टेलिभिजनले प्रसारण गर्ने कार्यक्रमका स्वरूपमा विविधिता र छुट्टै पहिचान खासै पाइएन । 

प्रसारणको अवस्था 
नेपाल टेलिभिजनका चारवटा च्यानल हाल २४सै घण्टा प्रसारणमा रहेका छन् । नेपाल टेलिभिजन राष्ट्रिय च्यानल, एनटीभी प्लस, एनटीभी न्यूज र एनटीभी कोहलपुर च्यालनहरू अलग अलग स्याटलाइट च्यानलहरू हुन् भने नेपाल टेलिभिजन राष्ट्रिय प्रसारण र एनटीभी प्लसको चाहिँ टेरेस्टरियल प्रसारणसमेत रहेको छ । राष्ट्रिय च्यानलको कभरेज ५२ प्रतिशत नेपालको भूभाग र ७२ प्रतिशत जनसङ्ख्या रहेको छ भने एनटीभी प्लसको कभरेज २५ प्रतिशत नेपाली भूमाग र ४० प्रतिशत जनसङ्ख्या रहेको छ । 

स्टेसनको ब्रान्डिङ र प्रवद्र्धन
नेपाली आकाशमा अहिले धेरै टेलिभिजन प्रसारकहरू रहेको तथ्यलाई नेपाल टेलिभिजनले रणनीतिक तथा कार्यक्रमिक हिसाबले स्वीकार गर्न नसकेको समितिको ठहर छ । प्रसारणमा एकाधिकार भएकै बेलाको अवधारणा लिएर नेपाल टेलिभिजन अघि बढिरहेको देखिन्छ । स्टेसनको छवि र यसले उत्पादन तथा प्रसारण गर्ने कार्यक्रमको डिजाइन गर्दा ख्याल गरिनुपर्ने छुट्टै पहिचान तथा गुणस्तरमा पर्याप्त ध्यान पुग्न सकेको देखिँदैन भने आवश्यकताअनुसार कार्यक्रमहरूको योजनाबद्ध प्रवद्र्धन गर्ने कार्य गरेको पनि पाइएको छैन ।

जसले गर्दा स्टेसनको ब्रान्डिङ र प्रवद्र्धन गर्ने कार्यलाई सजगतापूर्वक अवलम्बन गरेको भन्न नसक्ने समितिको ठहर छ । नेपाल टेलिभिजनमा कार्यक्रम उत्पादन तथा प्रसारण परम्पराग शैलीमा हुने गरेको पाइएको छ । 

लेखा व्यवस्थापन भद्रगोल
लगातार घाटामा सञ्चालन भइरहेको नेपाल टेलिभिजनले आफ्ना लेखा हिसाब पनि परम्परागत ढङ्गले राख्ने गरेको पाइएको छ । करोडौंको हिसाब किताब राख्नुपर्ने यति ठूलो र पुरानो संस्थामा अहिलेसम्म लेखासम्बन्धी सफ्टवेयर प्रयोग नगरी कागजी बहीखाताकै प्रयोग गरिराखेको अवस्था पाइएको छ । लेखा व्यवस्थापन प्रणाली ज्यादै कमजोर हुनु भनेको जनकारी चाहिएको बेला जानकारी लेखा प्रतिवेदन पाउन नसक्नु हो । जुन आय–व्ययको आवधिक विश्लेषणका बेला अनिवार्य चाहिन्छ । लेखा व्यवस्थापनमा भएको अत्याधुनिक प्रविधिको विकासलाई संस्थानले त्यति महत्व दिएको देखिँदैन । 
 

यो पनि पढ्नुहोस्

रेडियो नेपालमा भद्रगोल व्यवस्थापन, उठेन एक करोड २२ लाख बक्यौता

भद्रगोल व्यवस्थापनले गोरखापत्रको ओरालो यात्रा : ३१ करोडभन्दा बढी रकम गायव !

गोरखापत्रमा कागज खरिदमा ब्यापक घोटाला : छानविन समिति

गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सुधार गर्न समिति गठन, को–को परे समितिमा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप