इरानको अस्त्र ‘स्ट्रेट अफ हरमुज’ र शक्ति राष्ट्रको तानातानी
आज हामी स्ट्रेट अफ हरमुज र पर्सियन खाडीका बारेमा कुरा गर्दैछौँ ।
त्यसअघि हामीले अघिल्लो व्याख्यानमा कुरा गरेको बब अल–मान्डब स्ट्रेट क्षेत्रमा पछिल्लो समय विकसित घटनाक्रमका बारेमा एक दुई कुरा थप्यौँ ।
हामीले अघिल्लो व्याख्यानमा जिब्बुट्टीले यूएईलाई भाडामा दिएको आफ्नो भूमिमा बनाएको बन्दरगाह एक्कासि राष्ट्रियकरण गरेको र चीनलाई दिएको कुरा ग¥यौं । यसपछि लन्डनको इन्टरनेसनल आर्बिटे«सन ट्राइबुनलले जिब्बुट्टीलाई तिमीले गलत गर्यौ भन्यो । जवाफमा जिब्बुट्टीले म तिम्रा कुरा मान्दिनँ भन्यो । १४ लाख जनसङ्ख्या भएको एउटा सानो राष्ट्र ठाउँ परेपछि यस्तो ठूलो पल्टिन सक्छ ।
त्यसको मास्तिर डुमेरिया भन्ने सानो एउटा टापु छ । त्यो स्थानबाट बब अल–मान्डबमाथि मज्जाले निगरानी गर्न सकिन्छ ।
त्यसमा पहिलेदेखि इरिट्रिया र जिब्बुट्टीको दाबी थियो । तर इरिट्रिया युद्धमा फसेकाले प्रशासन चाहिँ जिब्बुट्टीले चलाइरहेको थियो । तर इरिट्रियाको त्यस टापुमाथि भयङ्कर ठूलो ‘इन्ट्रेस्ट’ भएकाले उसले आफ्नो दाबी छाडेको थिएन । त्यस टापुलाई लिएर सैनिक भिडन्त पनि भयो ।
अब इरिट्रियाको राष्ट्रपति उपचारका लागि इजरायल जाने अनि साउदी अरबसँग पनि राम्रो सम्बन्ध भएको व्यक्ति हुन् ।
केही अघि साउदी अरबका एक मन्त्रीले इरिट्रिया भ्रमण गरेपछि लामो समयदेखिको त्यत्रो ठूलो तिक्तता बिर्संदै इथियोपिया र इरिट्रियाले शान्ती सम्झौता गरे ।
सम्झौतामा साउदी अरबको सद्भाव रह्यो, अब इथियोपियामा सत्ता परिवर्तन भइसकेकाले अमेरिकाको पनि समर्थन रहनेनै भयो । यस सम्झौतापछि इथियोपियाले भावी दिनमा आफ्नो व्यवसाय जिब्बुट्टीको बन्दरगाहबाट नगरेर इरिट्रियाको बन्दरगाहबाट गर्छु भन्यो ।
अब इथियोपिया त भूपरिवेष्ठित राष्ट्र, उसलाई समुद्र प्रयोग गर्नका लागि अर्को राष्ट्रको सहयोग चाहिन्छ नै । फेरि उसले बन्दरगाहको लाग यति धेरै पैसा तिर्दो रहेछ, अब यो परिवर्तन पछि जिब्बुटीले ठूलो आयको स्रोत गुमाउने भएको छ ।
यसपछि नै हो जिब्बुट्टीको प्रशासन रहेको डुमेरिया टापुमा इरिट्रियाले सेना पठाएको, यो कुराले त्यहाँ अहिले द्वन्द्वको स्थिति छ ।
यी पछिल्लो एक हप्ताभित्र विकसित घटनाक्रम हो ।
बब अल–मान्डव भनेको विश्वमा हुने कुल तेल ढुवानीको ५–७ % मात्रै हिस्सा लिएको क्षेत्र हो । त्यहाँ त त्यो अवस्था छ भने विश्वमा २०% भन्दा धेरै ढुवानी हुने स्टे«ट अफ हरमुजमा के अवस्था होला अनुमान गर्नुस् ।
स्टे«ट अफ हरमुजको कुरा गर्दा पहिले त यसको नाममा जाँउ । उत्तरतर्फ इरानमा एक हरमुज भन्ने टापु छ । त्यहाँ मानव बस्ती नै छ । त्यसैको नामबाट यसको नाम स्टे«ट अफ हरमुज रहेको छ ।
यसको दक्षिणतर्फ ओमनको खुर्सा भन्ने क्षेत्र छ । यो २९ माइलको साँघुरो स्टे«ट हो । अन्तर्राष्ट्रिय कानुनअनुसार पानी ठोकिने सामुद्रिक तटबाट १३.२ माइलसम्म उक्त राष्ट्रको सार्वभौम जलक्षेत्र पर्छ । अर्थात त्यस क्षेत्रमा उक्त देशको सार्वभौमिकता लागू हुन्छ ।
उता हरमुज टापुतिरबाट इरानको सार्वभौकिता १३.२ माइल आयो । यता ओमन पट्टिबाट १३.२ माइल सार्वभौमिकता पुग्यो । यी दुई जोडेर २६.४ माइलमा त सार्वभौमिकता दाबी हुन्छ । अब २९ माइलमा २.६ माइल बाँकी रह्यो । यति भाग मात्र कसैको पनि सार्वभौमिकताभित्र पर्दैैन । यस्तो भागलाई अन्तराष्ट्रिय कानुनको भाषामा हाई सी भनिन्छ ।
स्ट्रेट अफ हरमुज किन यति महत्वपूर्ण छ ?
अमेरिका र इरानको लामो समयदेखि ३६ को आँकडा छ । अर्कोतर्फ सन् २०१६ देखि साउदी अरब र इरानको कूटनीतिक सम्बन्ध भङ्गको अवस्थामा छ । दुईबीच एकदमै तनावको स्थिति छ । कतिले यी दुई बीचको हालको अवस्थालाई ‘क्षेत्रीय शितयुद्ध’ नाम दिएका छन् ।
स्टे«ट अफ हरमुजबाट दैनिक १.८ करोड ब्यारेलभन्दा बढी कच्चा पेट्रोलियम अन्तर्राष्ट्रिय बजारमा जान्छ ।
अब तेल बोक्ने भनेको कि पानी जहाज हो कि पाइप लाइन हो, अरूले एकदम नगन्य बोक्छन् । कच्चा तेलको कुरा गर्ने हो भने संसारको २०% हिस्सा यहीँबाट जान्छ । पानीजहाजबाट हुने संसारको ३५% कच्चा तेल यहीँबाट जान्छ । जहाजको हिसाबमा भन्नुभयो भने दिनहुँ ९, १० भीएलसीसी र यूएलसीसी त्यहाँबाट निस्कन्छन् । तेलको आवगमनका लागि संसारकै महत्वपूर्ण इलाका हो– स्टे«ट अफ हरमुज ।
त्यस्तो ठाउँमा अब ओमन र इरान बसेका छन् । अब ओमनको खास शक्ति छैन । ओमनले इरानलाई ब्यालेन्स गर्न सक्दैन । फेरि ओमनको इरानसँग राम्रो सम्बन्ध छ । साउदी अरब र यूएईसँग सन्तुलित सम्बन्ध छ । नजिकको यूएईको त्यहाँसम्म सार्वभौमिकता पुगेको भए अवस्था अर्कै हुन्थ्यो ।
यही कारणले स्ट्रेट अफ हरमुजमा इरान जतिखेर चाह्यो त्यतिखेर हावी हुन सक्छ । केहीअघि त उसले सैन्य अभ्यास गरेको खबर नै आयो ।
अब स्ट्रेट अफ हरमुजबाट निस्कने जहाजले तेल कहाँ लान्छन् त ?
५० प्रतिशत जहाजहरू चीन र भारतका लागि तेल बोक्छन् । भारतले आफ्नो तेल आवश्यकताको १८, १९% साउदी अरबबाट १३, १४% इरानबाट लिन्छन् । चीनको पनि लगभग लगभग त्यस्तै हिस्सा छ ।
यत्रो ठूलो इन्धनको ढुवानी हुने भएकाले यो क्षेत्रको अत्यन्त ठूलो महत्व छ । स्ट्रेट अफ हरमुजले बनाएको खाडीलाई पर्सियन गल्फ (खाडी) भनिन्छ । हामीकहाँ त गल्फ त चर्चित नै छ नि, त्यही हो ।
पर्सियन गल्फको पिँध आफैमा यति धेरै ग्यास छ कि त्यही कारणले यसको महत्व हुने भयो । फेरि खाडीमा उत्खनन् गरिएका तेलको ढुवानी गर्नुप¥यो भने सीधा बाटो त त्यही मात्र हो । कुवेत, इराक, साउदी र यूएई जति पनि छन् सबैलाई त्यहीँबाट सबैभन्दा सहज र सस्तो पर्छ ।
यही कारणले त्यो सामुद्रिक भाग नियन्त्रण गर्न प्रतिस्पर्धा नै छ ।
अब अलि पछाडि इराक–इरानको युद्धमा जाऊँ । यो युद्धमा पनि यसमा समुद्रमा पहुँचकै कुराले भूमिका खेलेको छ ।
इराकका ठूला नदीहरू टाइग्रिस र युफ्रेटस जहाँ मिलेका छन्, त्यसलाई सत्तल अल–अरब भनिन्छ । त्यो क्षेत्रले जम्मा जम्मी ५० किमि मात्र समुद्रसँग छोएको छ । यसैले इराकलाई गाह्रो छ । यही कारणले उसले धेरै युद्ध लडिसकेको छ, समुद्री किनाराका लागि ।
केही नलागेर बाथ पार्टी सत्तामा आएपछि यसका राष्ट्रपति अहमद हस्सन अल–बकरले इरानलाई बाइपास गर्ने विकल्प लिए । अल–बकर सद्दाम हुसेनअघिका राष्ट्रपति हुन् ।
इरान इराकबीचमा वैमनश्यताको कारण इराकले तेल लोड गर्नासाथ इरानले चोकिङ गरिदिइहाल्ने भएपछि अलबकरले इरानको मित्र सिरियालाई समेत बाइपास गरेर कुर्दिस क्षेत्र हुँदै टर्कीको सिह्यानमा पाइपलाइन निकालेको छ । यो सत्तरीको दशककै कुरा हो ।
अब उसले पश्चिमतिर बेच्ने तेल त्यताबाट बेच्न थाल्यो ।
जब सद्दाम हुसेन आए, उनले भने इरानप्रति कडा नीति अङ्गीकार गरे । सद्दाम हुसेन मान्छे कस्ता हुन्, त्यता अहिले नजाऊँ तर देशका लागि त उनी बाघै हुन् नि । उनलाई पहिलेदेखि इरानले आफ्नो देशलाई गरिरहेको व्यवहार मन परिरहेको थिएन । उनले समय पर्खिरहेका थिए ।
त्यो समय इरानमा इस्लामिक क्रान्तिपछि आयो । जब इरानमा इस्लामिक क्रान्ति भयो, इरान कमजोर भयो । किन कमजोर भयो भने साह हुइन्जेल इरान अमेरिको सहयात्री थियो । साउदी अरबसँग असाध्यै राम्रो सम्बन्ध थियो ।
साउदी राजा फैजल र इरानका राजाबीच त अत्यन्त मित्रवत चिठ्ठी आदानप्रदान हुन्थ्यो । उनीहरू बीचको चिठ्ठीको चर्चा त संसरभरी हुने गथ्र्यो । त्यति राम्रो सम्बन्ध थियो ।
एक त यी बलिया सहयात्री दुस्मनमा बदलिए अर्को सत्तामा आएपछि आयोतोल्ला सरकारले नीति निर्माण तहका मानिसहरूलाई धमाधम मार्न थाल्यो । मेरो उमेरको मानिसहरू जति पनि हुनुहुन्छ, सबैले सुन्नु भएको होला । पचास साठी मानिसहरू नमारेको दिनै हुँदैन थियो । यसले गर्दा कमजोर भएको इरानमाथि सद्दाम हुसेन जाइलागे ।
फेरि सद्दामलाई उचाल्ने अमेरिका नै थियो । अचम्मको इतिहास छ । अफगानिस्तानमा सोभियत सङ्घको आगमन भएपछि त्यसविरुद्ध मुजाहिद्दिन र तालिवान जन्माउने पाकिस्तान, अमेरिका र साउदी अरब नै थियो ।
इराकमा पनि उनीहरूले नै सद्दामलाई उचालेका हुन् । साउदी अरबले थुप्रो लगानी ग¥यो । उसले त सबै अरबी राष्ट्रहरूलाई इराकलाई इरानसँग लड्नका लागि आर्थिक सहायता गर्नु भनेर उर्दी नै जारी गरेको थियो ।
सद्दामले अघि हामीले उल्लेख गरेको पचास किलोमिटरको तटीय भागलाई बढाउने र अर्को साधनस्रोत पनि बढ्नेगरी एक तिर दुई निशान गरे । इरानको करुण नदी र इमाम खुमेनी बन्दरगाह र सादेगन भन्ने एक ठूलो पोखरी छ त्यो क्षेत्रको वरिपरि उसको ८०% पेट्रोलको भण्डार छ ।
त्यो कब्जा गरेपछि इरानको विशाल साधनस्रोतमा पनि उसको नियन्त्रण भयो, समुद्र तट पनि बढ्यो ।
इरान–इराक सीमाको माथिल्लो क्षेत्रमा होइन लडाइँ पूरै करुण नदीको वरिपरि कब्जा गर्ने, खुर्रमसर भन्छ, त्यसैको वरिपरि केन्द्रित भयो । आठ/नौ वर्ष (१९८०–१९८८) युद्ध भयो । साउदी अमेरिकाले इराकलाई जति बोके पनि इरानलाई हराउन सकेन । अन्त्यमा केही नलागेर संयुक्त राष्ट्र अघि सारेर युद्ध बिराम गराए ।
सद्दामलाई जसरी पनि सामुद्रिक किनार बढाउने धुन चढेको थियो । उसले के ग¥योभन्दा त्यत्रो इरानसँगको युद्ध कालमा सबैभन्दा धेरै पैसा दिनेमध्ये एक कुवेतमाथि हमला गरेर कब्जा नै ग¥यो ।
कुवेत सानो राष्ट्र छ तर उसको तटीय इलाका ५०० किमि ठूलो छ । इराक ठूलो राष्ट्र छ, उसको भने मात्र पचास किलोमिटर मात्रै तटीय क्षेत्र छ, झण्डै झण्डै भूपरिवेष्ठित भएको छ ऊ । सन् १९९० अगस्ट २ मा कुवेतमाथि आक्रमण गरेर जम्मा दुई दिनमै कुवेत कब्जा भयो । कब्जापछि सद्दामले कुवेतलाई आफ्नो प्रान्त घेषणा गरे र एक गर्भनर नियुक्त गरे । त्यस आक्रमणपछि कुवेतका राजा देश छाडेर भाग्नुप¥यो ।
पछि अमेरिकाको पटक पटकको अल्टिमेटम पछि पनि इराकले कुवेत नछाडेपछि अमेरिका नेतृत्वको गठबन्धन सेनाले १९९१ जनवरी १६ माकुवेतमा रहेका इराकी फौजमाथि आक्रमण सुरु ग¥यो । एक महिनाको भीषण युद्धपछि कुवते पुनः स्वतन्त्र भएको थियो ।
अब एक पटक फेरि इरानमै फर्किऊँ । इरान पश्चिमाहरूका लागि किन टाउको दुखाइको विषय भयो ? के यो पहिले उनीहरूको सम्बन्ध कस्तो थियो ?
त्यसका लागि दोस्रो विश्वयुद्धको बेला फर्कनुपर्ने हुन्छ । दोस्रो विश्वयुद्धको बेला इरानका राजा रेजा शाह जर्मनी र जापानतिर लागे ।
अब सोभियत सङ्घलाई पनि घाँडो र अमेरिकालाई पनि घाँडो भयो । क्यास्पियन सागर, कृष्ण सागर र मध्य–एसिया ती सबैमाथि सहज पहुँच इरानबाट सम्भव छ । म्याकेन्डर भन्ने एक बेलायती प्रोफेसरले त यो क्षेत्रलाई ‘पाइभोट ल्यान्ड’ नै भनेका छन् । उनका अनुसार जसले यो क्षेत्र कब्जा ग¥यो, त्यसैले संसारमा राज गर्छ भन्ने उनको विचार थियो ।
अर्को कुरा पर्सियन खाडीमा सबैभन्दा बढी जनसङ्ख्या भएको र लडाका राज्य भनेका पनि इरान नै हो । इतिहासदेखि हेर्ने हो भने उनीहरूले साम्राज्य बनाएका छन्, यहाँसम्म कि ऐतिहासिक समयका अत्यन्त शक्तिशाली राज्यहरू भारत र उता ग्रिक क्षेत्रलाई समेत पराजित गरेका छन् ।
अब युरेसिया क्षेत्र जित्नका लागि इरानलाई आफ्नो पक्षमा पार्नु अपरिहार्य थियो मित्र शक्तिलाई । त्यो बेला फेरि अमेरिका र सोभियत सङ्घ त एउटै क्याम्पमा थिए ।
बाबुलाई हटाउन अमेरिका र सोभियत सङ्घको कुरा मिल्यो तर कसलाई सत्तामा ल्याउने भन्ने कुरामा भने दुईबीच मतभेद देखियो । सोभियत सङ्घ समाजवादीहरूलाई ल्याउन खोज्ने, अमेरिका त्यसो हुन नदिने । अमेरिकाले छोरा राजालाई सत्तामा ल्याएर जित हासिल गरिहाल्यो ।
रुस पनि के कम आफ्नो सिमाना नजिक रहेको कुर्दिस्तान, वेस्ट अजरबैजान क्षेत्रमा समाजवादीहरूमार्फत कब्जा गरायो । पछि गृहयुद्ध नै भयो, जसमा रसियनहरूले हारे र सबै स्थानमा शाह पल्हवीको सासन भयो ।
छोरा मोहम्मद रेजा पल्हवी अमेरिकी पक्षधर भए । उनी विश्वयुद्ध चलिरहेकै बेला, सन् १९४१ मा बाबुको स्थानमा राजा भएका थिए ।
इरानको राजतन्त्र फेरि अत्यन्त उदार थिए । अघि मैले चिठ्ठीको कुरा पनि गरेँ ।
उनले साउदीका आफ्ना मित्र फैजललाई चिठ्ठी लेखेर भन्छन्, “यो जमानामा आएर के गरेको तिमीले आफ्नो देशमा ? त्यहाँ डिस्कोहरू खोल, महिलाहरूलाई स्कट लगाएर हिँड्न देऊ । यस्तो मध्ययुगीन शासन चलाउने हो ।”
इरानमा मुस्लिम बहुल राष्ट्र भएर पनि शाहको शासनकालमा उल्टो बुर्का प्रतिबन्धित थियो । महिला शिक्षालाई प्राथमिकता दिइएको थियो । तेहरानमा डिस्को थियो त्यो समय, राजधानीमा स्कट लगाएर हिँडेका केटीहरू देखिन्थे ।
फैजलले प्रतिउत्तर चिठ्ठीमा लेखेका थिए, “तिमी इलिसी दरबार (फ्रान्सको राष्ट्रपति भवन)मा बस्दैनौँ । तिमी तेहरानको राजा हौँ, जहाँ नब्बे प्रतिशत रुढीवादी मानिसहरूको बसोबास छ । यो कुरा बुझेनौ भने तिम्रा दूरदिन आउँछन् ।”
पछि नभन्दै इरानमा फैजलले भनेको जस्तै भयो ।
इरानमा कट्टरपन्थी धर्मगुरु आयोतोल्लाको नेतृत्वमा भएको इस्लामिक क्रान्तिपछि पल्हवी देश छाडेर अमेरिका भाग्नुप¥यो । देशमा अमेरिका विरोधी शासन आयो, सुरुवातमा त केही अमेरिकीहरूलाई उनीहरूकै दूतावासमा बन्धक बनाइयो । जिम्मी कार्टरले कति प्रयास गर्दा पनि दूतावासबाट निकाल्न सकेनन् । पछि निक्कै चालबाजी गरेर बन्दकलाई बाहिर निकाल्नुप¥यो ।
(इरानस्थित अमेरिकी दूतावासमा बन्धक बनेकाहरूलाई मुक्त गरिएको कथा समेटिएको सन् २०१२ को फिल्म ‘आर्गो’ले उत्कृष्ट फिल्म विधामा ओस्कार पुरस्कार नै पायो ।)
यो पनि पढ्नुहोस्
इथियोपिया : सुखी र आधुनिक राष्ट्र कसरी विश्वको गरिब राष्ट्र बन्यो ?
के छ बब–अल माण्डबमा, जसलाई नियन्त्रण लिने प्रतिस्पर्धामा यमन बनिरहेको छ शक्तिराष्ट्रको युद्धभूमि
भूराजनीतिमा ऊर्जाले लामो समय प्रधान भूमिका खेल्नेछ
भू–मध्यसागरको समून्द्री मार्गः किन बन्दैछ लडाईंको केन्द्र ?
नोट : यो शनिबारको अरुणकुमार सुवेदीको लेक्चर स्ट्रेट अफ हरमुज र हिन्द महासागर वरपरका शक्ति अभ्यासमा केन्द्रित हुनेछ । इच्छुक पाठकहरू नयाँ बानेश्वरस्थित के एन्ड के कलेजमा अपरान्ह हुने लेक्चरमा आउन सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?