केन्द्रीय संस्करण

इथियोपिया : सुखी र आधुनिक राष्ट्र कसरी विश्वको गरिब राष्ट्र बन्यो ?

person access_timeसाउन २३, २०७५ chat_bubble_outline0

यसअघि बल–अल मान्डब र लाल सागरमा नियन्त्रणको होडबाजीमा एसियाली भागमा परेको असरबारे चर्चा ग¥र्यौं । अब लाल सागरको पश्चिमी किनारातर्फको असरमा ध्यान दिऊँ ।

बब–अल मान्डब र लाल सागरको भूराजनीतिक द्वन्द्वका कारणले पश्चिमी भागमा एसियाली राष्ट्रजस्तो एउटै देशमा सीमित रहेन । यहाँ द्वन्द्वले मुख्यतः चार राष्ट्र अझ सुडानलाई पनि मान्ने हो भने पाँच राष्ट्रलाई तहसनहस बनायो ।

पहिला सोमालियाको कुरा गरौँ । पहिले सोमालिल्यान्ड भनिने हर्न अफ अफ्रिकाको भूभागतर्फबाट बब–अल मान्डबमा शक्ति राष्ट्रको उपस्थिति राख्नकै लागि तीन भागमा विभाजित भयो । 

तीन टुक्राहरूको नाम तिनमा नियन्त्रण राख्ने देशहरूको नाम जोडिएर भनिन्थ्यो । उत्तरमा ब्रिटिस सोमालिल्यान्ड थियो, दक्षिणमा इटालियन सोमालिल्यान्ड थियो भने उत्तर सोमालिल्यान्डसँग जोडिएको सानो भूभाग फ्रेन्च सोमालिल्यान्ड थिए । 

विदेशी अतिक्रमणकारीहरूबाट स्वतन्त्र हुनका लागि सङ्ग्राम जारी नै थियो । स्वतन्त्रता सेनानीहरूमा केही माक्र्सवादबाट प्रभावित पनि थिए । 

लामो सङ्घर्षपछि उत्तरी सोमालिल्यान्ड र दक्षिणी सोमालिल्यान्ड १९६० मा एकीकरण हुँदै स्वतन्त्र भए ।

फ्रेन्स सोमालिल्यान्ड चाहिँ फ्रान्सले छाडेन । सन् १९५८ मा फ्रान्सले कब्जा गरेको भागमा सोमालिल्यान्डमा एकीकृत हुने नहुने भएर जनमत सङ्ग्रह भएको थियो । त्यो निर्वाचनमा फ्रान्सेलीहरूले निर्वाचनमा ठूलो जालझेल गरेर फ्रान्सकै उपनिवेशमा रहने पक्षधरले जिते ।

फ्रान्स महत्वपूर्ण चोकिङ प्योइन्ट छोड्न चाहँदैन थियो । सन् १९६७ मा स्वतन्त्र हुने नहुने भनेर भएको जनमत सङ्ग्रहमा पनि उस्तै जालझेलको आशङ्काबीच पुनः स्वतन्त्र पक्षधरको हार भयो । त्यसपछि स्वतन्त्रतता सङ्ग्राम निक्कै हिंस्रक भयो ।

तेस्रो पटकको जनमत सङ्ग्रहपछि सन् १९७७ मा बल्ल जिबुट्टीले स्वतन्त्रता पायो । दस लाख पनि जनसङ्ख्या नभएको देशलाई, उता सिङ्गापुरलाई जोहर स्ट्रेटबाट छुट्यार मलाक्का स्ट्रेटको रखवाली गर्न सहर–राज्य बनाएको जस्तो यता पनि यति सानो भूभागलाई छुट्टै देश बनाइदिए ।

इथियोपिया : सुखी र आधुनिक राष्ट्र विश्वको गरिब राष्ट्र बन्यो

अब इथियोपियातर्फ नजर लगाऔँ । वरपरका लगभग सबै राष्ट्रहरू साउदी अरबिया, इजिप्ट र सुडानसमेत अमेरिकाको पक्षधर भएपछि रसियालाई त्यो क्षेत्रमा बलियो सहयात्रीको आवश्यकता थियो । 

सुडानको कुरा आइहाल्यो, अलिकति थपौँ । लामो समयको गृहयुद्धपछि सन् २०११ मा सुडान विभाजित नै भयो । यो गृहयुद्धको केन्द्रमा पनि लाल सागरको नियन्त्रणले उलेख्य भूमिका थियो । 

त्यो बेला इथियोपिया अत्यन्त समृद्ध राष्ट्र थियो । त्यहाँ एक जना अत्यन्त उदार र आधुनिक सोच भएका राजा थिए । उनको नाम हैइल सलासी थियो । सन् १९३० देखि सत्तामा रहेका सलासीले उही बेलानै इथियोपियामा विश्वविद्यालय, कलेज खोलेर इथियोपियामा सुधारहरू गरेका थिए । 
तर सोभियत सङ्घले त्यहाँको माक्र्सवादीहरू मार्फत इथियोपियामा नियन्त्रण बढाउने प्रयास पनि गरिराखेको थियो । उसको उद्देश्य उही लाल सागरमा निगरानी गर्ने र त्यसका लागि त्यो क्षेत्रको बलियो राज्यमा आफ्नो उपस्थिति कामय गर्ने थियो ।

इथियोपियामा मात्र होइन उसले छिमेकी सोमालिल्यान्डमा पनि यस्तै प्रयास गरिरहेको थियो । सोभियत सङ्घले यसका लागि अडिटवादी फर्मुला लगाएको थियो ।

अडिटवादी फमुर्लाको इन्डोनेसियाका कम्युनिस्ट नेता दीपा नुसनतारा अडिटको नामबाट आएको हो । उनी देशको सेनालाई नै माक्र्सवादी बनाएर ‘कू’ गर्नुपर्छ भन्थे । आफ्ना मान्छेहरू सेनामा घुसपैठ गराउने, त्यसबाट राज्य प्रशासन विशेष सेनाको प्रयोग गरेर राज्यमा नियन्त्रण गर्ने उनको रणनीति थियो ।

त्यही फर्मुला सोभियत सङ्घले इथियोपिया र सोमालियामा प्रयोग ग¥यो । सोभियत सङ्घले इथियोपियाको सेनाभित्र एउटा समाजवादीहरूको डर्ग भन्ने सङ्गठन नै बनायो । त्यसले १९७४ मा राजा सलासीविरुद्ध कू ग¥यो र इथियोपियामा माक्र्सवादी सैन्य शासन स्थापना ग¥यो । 

इथियोपियामा अन्य विवाद पनि अलि अघिदेखि नै थियो । त्यसमा इरिट्रिया जोडिन्छ ।

पहिले इरिट्टिया नन–सोभरेन स्टेट थियो । त्यो भनेको विदेश सम्बन्ध चाहिँ उसको नहुने, त्यो इथियोपियाको नियन्त्रणमा थियो तर बाँकी भने सबै आफ्नै हुने । त्यो हैसियतमा रहेको इरिट्रियालाई राजा सलसीले इथियोपियाकै एउटा प्रान्त बनाएका थिए । यसले गर्दा केही विरोध त पहिलेदेखि थियो ।

अब समाजवादी डर्गहरूको शासनपछि अमेरिकीहरूले पनि आफ्नो रणनीति त ल्याउनुप¥यो । अमेरिकाले इथियोपिया विरुद्धको सङ्घर्ष गर्न इरिट्रियामा ठूलो लगानी गर्न थाल्यो । त्यसमा ऊ सफल पनि भयो ।
पछि इरिट्रिया स्वतन्त्र हुँदा इथियोपियालाई सजाय दिने हिसाबले नक्सा कोरियो । नक्सामा हेर्नुभयो भने देख्नुहुन्छ, इरिट्रिया स्वतन्त्र हुँदा यसरी नक्सा कोरियो कि इथियोपियाको लाल सागरसम्मको सम्पर्क पूरै ठप्प पारियो ।

लाल सागर किनारै किनार रहेको इरिट्रियाको निर्माण लाल सागरको नियन्त्रणकै लागि हो भन्न बुझ्न त्यति गाह्रो छैन । अहिले पनि इरिट्टियामा शासन चाहिँ निक्कै आतताई छ तर अमेरिका परस्त । इरिट्रियालाई नन कम्युनिस्ट उत्तर कोरिया भनिन्छ । 

डिजाइन नै गरेर इथियोपियालाई भूपरिवेष्ठित बनाइदिए । इथियोपियाको जनसङ्ख्या १०, ११ करोड छ अहिले । इथियोपिया विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको भूपरिवेष्ठित राष्ट्र हो । ऊ अफ्रिकामा नाइजेरियापछि धेरै जनसङ्ख्या भएको देश हो । यहाँभन्दा ठूलो ट्रेजेडी केही हुन्छ ?

सोमालियामा इथोपियाभन्दा चार पाँच वर्ष पहिले नै जनरल मोहमद बारको नेतृत्वमा विद्रोह भएको थियो । त्यहाँ पनि सोभियत सङ्घ नजिक वामपन्थी सैनिक कमान्डरले कू गरेका थिए ।  

अमेरिकीहरूले त्यहाँ पनि काउन्टर सुरु गरिहाले । उनीहरूले त्यहाँ जातीय समूहलाई उचालेर साभियत समर्थक सरकारविरुद्ध गृहयुद्ध नै सुरु गराए । विगतमा अफ्रिका महादेशका सुखी र साधन सम्पन्न देश सोमालिया र इथियोपिया सोभियत सङ्घ र अमेरिकाबीचको खेलले तहसनहस भए । 

द्वन्द्वले गर्दा यी देशहरूको आर्थिक अवस्था कस्तोसम्म भयो भने एक ट्रक मकैमा राजधानी अदिस अबाबाको घर किन्न सकिने भयो । सबै बन्दुक बोकेर हिँडेका छन्, उत्पादन हुने कुरा भएन । त्यो बेला गाडामा पैसा लिएर हिँड्दा गाडा चोरिन्थो, मूल्यहीन भएकाले पैसा त्यसै छाडिन्थ्यो भन्ने किस्सा सुन्न अहिले पनि सुन्न पाइन्छ ।

दुईवटा साम्राज्यावादीहरूले एउटा देशलाई पूर्णतः बर्बाद बनाइदिए । लाल साम्राज्यवाद र ब्लु साम्राज्यवाद (बाइबलको गाताको रङ) बाट उता यमन खत्तम भयो । यता अफ्रिकामा इथियोपिया र सोमालिया खत्तम भए ।

अहिले बला उठ्दै त छन् तर त्यत्रो लडाइँबाट ध्वस्त भएका उनीहरूलाई उठ्न कति वर्ष लाग्ने हो थाहा छैन ।

अब जिब्बुट्टीमा ध्यान दिउँ । यो देश पनि महत्वपूर्ण छ । सानो भागलाई पहिले फ्रान्सले सोमालियाबाट एकीकरण हुनबाट रोकेर अलग राख्यो । अहिले आएर सानोे देश, धान्न नसक्ने भएको छ । संसारका सबै बलिया राष्ट्रहरूका सैनिक आधार त्यहाँ छ ।

अन्तर्राष्ट्रिय कानुनले के भन्छ भने आफ्नो सामुन्द्रिक किनाराबाट १२ माइलसम्म उक्त देशको सार्वभौमिकता लागू हुन्छ । अब उतातर्फ पेरिम आइल्यान्डले नै बब–अल मान्डबलाई दुई भागमा छुट्याएर साँघुर्याएको छ । फेरि जिबुट्टी र यमनबीच सबैभन्दा कम दूरी ३० किमि छ । ३० किमिभित्र दुई देशले कहीँ न कहीँ त समुद्र सेयर गर्नुपर्छ ।  

यस्ता देशहरूलाई पनि सिमाना जोडिएको देश भन्छन् । यसमा भारत र श्रीलङ्का समुद्रले छुट्टाएको भए पनि सीमा जोडिएको देश भनिन्छ । त्यस कारणले यिनको भौगोलिक सिमाना जोडियो । 

अब यो भागमा जिबुट्टीतर्फको समुन्द्रको गहिराइ बढी भएकाले जहाजको आवगमन त्यतातर्फबाट हुन्छ । यस कारणले जिबुट्टी एकदम महत्वपूर्ण भयो । 

यही कारणले यहाँ शक्ति राष्ट्रहरूले आफ्नो उपस्थिति देखाउन त्यहाँ आधार बनाइरहेका छन् । त्यहाँ अमेरिकाको आधार शिविर छ । पहिलेको उपनिवेश राष्ट्र भएकाले फ्रान्सको हुनै नै भयो । ब्रिटेनको पनि छ । १०, ११ वटा देशको सैनिक मिसन छ, त्यहाँ । 

चीन पनि के कम, कहीँ न कहीँ त सुरक्षित त हुनुप¥यो । स्ट्रेट अफ हरमुजमा उसलाई त्यति चिन्ता छैन । किनकि इरानसँग उसको राम्रो सम्बन्ध छ । इरानसँग चीन र भारत दुवैको राम्रो सम्बन्ध छ । 

स्ट्रेट अफ हरमुजमा त चोकिङ नहोला, बब–अल मान्डबमा पनि त बच्नु प¥यो । अब उसले ‘चेक बुक डिप्लोमेसी’ अन्तर्गत अफ्रिकमा व्यापक उपस्थिति जनाइरहेको छ ।

सोभियत सङ्घ र चीनको कूटनीतिमा एउटा खास फरक देखिन्छ । सोभियत सङ्घले चाहिँ आफ्नो अनुकूल शासन स्थापित गरेर नै आफू परस्त राष्ट्र निर्माण गथ्र्यो । आज त सोभियत सङ्घ विघटन भयो, उसको उत्तराधिकारी रुसको अब त्यो स्तरको समथ्र्य बाँकी रहेन । तर आफ्ना दिनमा अमेरिकाको प्रतिध्रुव रहेको सोभियत सङ्घले जति पनि रणनीतिक पार्टनर बनायो, भारतबाहेक सबैलाई समाजवादी नै बनायो । कति ठाउँमा यसका लागि उसले सेना पठाएर हस्तक्षेप नै ग¥यो ।

तर पछिल्लो समय प्रतिध्रुव बन्दै गएको चीनको रणनीति भने अर्कै देखियो । हुन त सोभियत सङ्घजस्तै चीन पनि कम्युनिस्ट राज्य हो तर उसलाई आफ्ना रणनीतिक सहयात्रीको राजनीतिक प्रणालीसँग लिनुदिनु छैन ।

चीनको ध्यान ती देशहरूलाई आर्थिक रूपमा कसरी प्रभावमा पार्नेतर्फ देखिन्छ । यसका लागि उसले संस्थापनमा जो छ, उसैसँग सहकार्य गर्ने गरिरहेको छ । यसलाई ‘चेक बुक डिप्लोमेसी’ भन्न थालिएको छ ।

अब उसले यो रणनीति अपनाएपछि जिबुट्टी कम्युनिस्ट राष्ट्र हुनुपर्छ, उसमा कुनै आग्रह छैन । उसको उद्देश्य जिबुट्टीको सत्तालाई प्रभावमा पार्ने हो, लगानी मार्फत । 

चीनले त्यहाँ ग¥यो भने हेर्नुस् । जिबुट्टीको सबैभन्दा ठूलो बन्दरगाह ३० कि ३५ वर्षको लिजको सम्झौतामा त्यहाँको सरकारले यूएईलाई बनाउन दिएका थियो । बनिसकेको पनि थियो । तर अचानक त्यहाँका राष्ट्रपतिले बन्दरगाह राष्ट्रियकरण गरेर चीनलाई दिए । यसरी चीन पनि यहाँको भूराजनीतिमा संलग्न भइसकेको छ ।

सबैले बब–मान्डबको सुरक्षाका लागि भनेका छन्, लाल सागरको सुरक्षाका लागि राखेका छन् । यसले पनि यसको महत्व देखाउँछ । 

अब त्यहाँको सैनिक होडबाजी र असुरक्षाको भावना बृहत्तर हुँदै गयो भने त्यहाँ ठूलो युद्धको सुरुवात बब–अल मान्डबबाट सुरु हुन सक्ने सम्भावना देखिन्छ ।

यो पनि पढ्नुहोस्

के छ बब–अल माण्डबमा, जसलाई नियन्त्रण लिने प्रतिस्पर्धामा यमन बनिरहेको छ शक्तिराष्ट्रको युद्धभूमि

भूराजनीतिमा ऊर्जाले लामो समय प्रधान भूमिका खेल्नेछ

भू–मध्यसागरको समून्द्री मार्गः किन बन्दैछ लडाईंको केन्द्र ?

नोट : यो शनिबारको अरुणकुमार सुवेदीको लेक्चर स्ट्रेट अफ हरमुज र हिन्द महासागर वरपरका शक्ति अभ्यासमा केन्द्रित हुनेछ । इच्छुक पाठकहरू नयाँ बानेश्वरस्थित के एन्ड के कलेजमा अपरान्ह हुने लेक्चरमा आउन सक्नुहुन्छ ।


 

अरुण कुमार सुवेदी

सुवेदी भूराजनीतिक विश्लेषक हुन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ