केन्द्रीय संस्करण

के छ बब–अल माण्डबमा, जसलाई नियन्त्रण लिने प्रतिस्पर्धामा यमन बनिरहेको छ शक्तिराष्ट्रको युद्धभूमि

person access_timeसाउन २२, २०७५ chat_bubble_outline0

लामो समयदेखि चोकिङ प्वाइन्टको बारेमा सम्भवतः नेपालमा कमै कुरा गर्ने पात्र मध्य म एउटा थिएँ । अघिल्ला हप्ताका केही खबरहरुले विश्व भूराजनीतिमा चोकिङ प्वाइन्टले चर्चा पाएको छ । 
पहिलो अलिकति अगाडि इरानले आफूलाई नाकाबन्दी गरियो भने ‘स्ट्रेट अफ हरमुज’मा चोक गर्छु त्यसपछि साउदी अरबले एशिया र अफ्रिकाको केही भागमा पुर्याउने तेल कहाँबाट निर्यात गर्दो रहेछ हेरुँला भनेर चेतावनी दिएको थियो । (थप विकास इरानले यो क्षेत्रमा गोप्य रुपमा ठूलोस्तरमा सैन्य अभ्यास गरेको स्वीका-यो

दोस्रो इरानको चेतावनी लगतै रुसको गुप्तचर प्रमुखको संयोजकत्वमा इरानको गुप्तचर प्रमुख र पाकिस्तानको गुप्तचर प्रमुखको इस्लामावादमा वार्ता भएको थियो । यसले विश्वमा चर्चा पायो ।

यही बीचमा राजनीतिक घटनाहरु पनि भए । जस्तो पाकिस्तानमा निर्वाचन भएर परिणाम पनि आइसकेको छ । हामीले चर्चा गर्न लागेको तेस्रो घटना भने यमनको हो । 

 

जुलाई २५ मा अनपेक्षित रुपमा उत्तर यमनमा हुथी जातीय समूहले दक्षिण अफ्रिकाका लागि कच्चा तेल बोकेको साउदी अरबका दुई वटा भीएलसीसी जहाजमाथि आक्रमण गरिदिए । 

आक्रमण लगतै बब–अल माण्डबमा आफूले चोकिङ गरेको र त्यहाँबाट एउटा पनि साउदी अरबको कन्टेनरहरु जान पाउने छैनन् भनेर हुथीहरुले साउदी अरबीयालाई चोकिङ गरेको घोषणा गरे । 
चौथो घटना इरान र भारतसँग जोडिएका छन् । इरानको कच्चा तेलको ठूला क्रेता मध्य भारत पनि एउटा हो । पहिलो नम्बरमा चीन पर्छ, त्यसपछि भारत आउँछ । 

भारतको हिन्दुस्तान पेट्रोलियम भन्ने भारतीय तेल नियमन संस्थाले कच्चा तेल लिएर आउने प्रयास गर्दा खेर बीमा कम्पनीहरुले कुनै पनि तेलको ढुवानीको बीमा गर्न अस्वीकार गरिदिए । 

जो ढुवानी कम्पनी छ, उनीहरुले पुनर बीमा गर्नु पर्छ । पुनर बीमा ठूलो कम्पनीहरु विश्वमा जति पनि छन् उनीहरु अमेरिकी मात्र छन् । बैंकिङ र बीमा प्रणालीको अन्तिम नियन्त्रण अमेरिकीहरुसँग छ ।

हामीहरुले दुई वटा देशबीचमा व्यापार गरेउ भने व्यापार त दुई देशबीचमा हुन्छ तर भुक्तानी प्रणालीमा भने तीन देश जोडिन्छन् । किनकी अमेरिकाको कुनै न कुनै लियाजन बैंक बीना भुक्तानी प्रणाली हुँदैन । 
बीमा पनि त्यहाँका कम्पनीहरुले पुनर्बीमा गर्नुपर्छ । अब तेलमा त्यहाँका बीमा कम्पनीहरुले पुनर्बीमा गर्न नमानेपछि ढूवानी कम्पनीले त्यत्रो कच्चा तेल बोक्ने जहाज हिँडाउने साहस गर्न त सक्दैनन् ।
त्यो स्थितिले गर्दा भारतले इरानबाट तेलनै ल्याउन सकेन । बल–अल माण्डबमा आक्रमण भएपछि भारतमा यो असर भयो ।

तेलको र व्यापारको जुन राजनीति छ तथा चोकिङ पोइन्टको जुन राजनीतिका यी पछिल्ला घटना त्यहीसँग जोडिएका परिघटनाहरु हुन् । तर यो द्वन्द्व आजको मात्र स्थिति होइन । हामीहरुले यसलाई ऐतिहासिक परिप्रेक्षबाट हेर्नुपर्छ । खासगरि यसको ‘क्लाइमेक्स’मा ध्यान दिऔं । पहिले त जमिन कब्जा गर्न, सम्पत्ति कब्जा गर्न राजा राजाको युद्ध हुन्थ्यो, जाति जातिको युद्ध हुन्थ्यो, त्यो एउटा परिबेश थियो । 

तर, समकालिन भूराजनीतिको कुरा गर्नु अघि आजको संसारलाई आकार दिने दुई आविष्कारको कुरा गर्नु पर्ने हुन्छ । हामी बाँचिरहेको आधुनिक सभ्यताको निर्माणमा यी दुई आविष्कारको ठूलो हात छ । फेरि संयोग कस्तो भने दुईको आविष्कार लगभग सँगसँगै भयो । 

१८६० को दशक पछाडि ‘इन्टरनल कम्बसन इन्जिन’को आविष्कार भयो । हामीले चलाउने गाडी, जेनेरेटर आदि धेरै उपकरणहरु यसकै प्रयोगले चल्ने गर्छ । आजको दिनमा त संसार इन्जिनबाटै चल्ने नै हो ।
सँगसँगै त्यही दशकमा पहिलो पटक पेट्रोलियम प्रशोधन विधि पत्ता लाग्यो । हुनत पेट्रोल त पच्चीस सय वर्षदेखि कुनै न कुनै रुपमा बाल्न वा केही रुपमा प्रयोग भइरहेकै थियो । प्राचिन कालमा पनि यो प्रयोग भएको देखिन्छ । तर, १८६० दशकपछि मात्रै संसारमा पेट्रोल प्रशोधन गर्न थालियो । 

यसले सभ्यातामा भने ठूलो फरक पारेको देखियो । जसरी आधुनिक मानिसहरुको सोचमा परिवर्तन गर्नमा न्यूटनको योगदान रह्यो, ड्रार्विनको रह्यो । त्यसरी नै माक्र्स, फ्राइड र आइन्सटाइनको पनि समग्र समाजको मानसिकता परिवर्तन गर्न योगदान रह्यो । यिनको व्यक्तिगतदेखि सामाजकै मानसिकता उचाल्न महत्वपूर्ण योगदान रह्यो ।

यी दुई आविष्कारको भौतिक संसार बदल्न उस्तै योगदान रह्यो । भौतिक कुराहरुमा परिवर्तन ल्याउनेमा पेट्रोलियम र कम्बसन इन्जिन जस्तै अर्को उदाहरण अल्टरनेटिभ करेन्टलाई पनि दिन सकिन्छ । निकोलस टेस्लाले अल्टरनेटिभ करेन्टको आविष्कार गरेपछि संसारको स्वरुपनै परिवर्तन भयो । अघिल्ला दुई आविष्कारमै ध्यान दिऔं, यी दुई कुराको आविष्कार पछि विश्व अर्थतन्त्रको केन्द्रमा तेल आयो । त्यसपछि संसारका धेरै ठाँउमा तेल द्वन्द्वको कारण भयो । 

अलेक्जेण्डरको समयदेखिनै भारतसँग व्यापार गर्न सबै इच्छुक थिए । त्यति बेलानै भारत र चीनमा एउटा ठूलो सभ्यता र जनसङ्ख्या थियो । संसारका सबै व्यापारीहरु भारत र चीनसँग व्यापार गर्न इच्छुक थिए । चीन त आफैंले सिल्क रोड मार्फत पश्चिमतर्फ व्यापार पनि गथ्र्यो । व्यापारका लागि ठूला केन्द्र थिए, यी दुई भुगोल ।


त्यति बेला भारतसँग व्यापार गर्नको लागि आवगमनको लागि समुन्द्री वायुको प्रयोग गरिन्थ्यो । हिन्द महासागरको पश्चिमी भागमा बग्ने जुन वायु छ, त्यसलाई ‘बाणिज्य वायु’ भनिन्छ । अहिलेको समय वायुको गति पश्चिमबाट पूर्व आउँछ । अनि पहिले समुन्द्री आवगमनमा प्रयोग हुने पर्दा लागेका ठूल–ठूला डुंगाहरु हुन्थे तिनमा सामान राखेर हावाको गति यता बहेको बेला यता आउने गरिन्थ्यो । फेरि छ महिनामा वायुको गति पूर्वबाट पश्चिमतर्फ जान्छ । त्यो बेला यताबाट उता जाने । 

त्यतिबेला पनि यो ठाँउ निकै महत्वपूर्ण नाका थियो, इस्थुमस अफ स्वेज । इस्थुमस भनेको के हो भने दुई वटा ठूला जमिनको भागलाई सानो जमिनकै घाँटीले जोड्छ भने त्यसलाई इस्थुमस भनिन्छ । 

त्यस्ता जमिनमा स्वेजको अतिरिक्त यता मलेसियातिर स्थुमज अफ क्रा छ । पनामा नहरपनि त्यही ईस्थुमसमै बनेको हो । यस्ता भौगोलिक भूभाग विश्वमा धेरै छन् ।

इस्थुमस अफ स्वेजबाट यो भूमध्यसागर हुँदै युरोपभरिको व्यापार हुन्थ्यो । ठिक जुन समयमा कम्बसन इन्जिन र पेट्रोलियम पदार्थको प्रशोधन  विधिको आविष्कार भयो त्यही समयतिरै इस्थुमसलाई खनेर भूमध्यसागर र लालसागर जोडियो । पछि त्यसैलाई स्वज नहर भन्न थालियो । स्वेज भन्ने इस्थुमसमा नहर बनेकाले नाम नै स्वेज नहर भएको हो । 
नहर बनेपछि यो स्थानमा नियन्त्रणको लागि प्रतिस्पर्धा भयो । 

शुरुमा यसमाथि अटोमनको नियन्त्रण भयो । अटोमन साम्राज्य भनेको आजको टर्की केन्द्रमा रहेर रहेको मुगल साम्राज्य थियो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो ।

अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि(३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । इजिप्टपनि अटोमनकै शासन अन्तर्गत थियो । इजिप्टमा बस्ने गभर्नरको यो नहरमा कब्जा हुन्थ्यो । 

अरबी क्षेत्रमा बस्ने आदीबासीहरुसँग युद्ध पनि भइराखेको थियो । फेरि भारतबाट सुन लिएर यता आउने, भारतमा पहिलेदेखि सुनको प्रधानता, मन्दिर पनि सुनको हुन्थ्यो, गहना त सुनको भइहाल्यो । 
अनि व्यापार गरेर फर्किने बेला पश्चिमका व्यापारीहरु आफूले आर्जन गरेका मुद्राहरुलाई सुनसँग विनियम गर्थे । केही किन्थे पनि । यसरी उनीहरु फर्कने बेला थुप्रै सुन लिएर फर्कन्थे । अनि त्यो मार्गमा अटोमनको नियन्त्रणमा थियो, कयैन सुन चोरी पनि हुन्थ्यो ।

पछि युरोपेली साम्राज्यवादी युग शुरु भएपछि ब्रिटिसहरुले यहाँ आक्रमण गरे । बब–अल माण्डबमा पेरिम भन्ने सानो द्वीप छ । १३ वर्ग किमी क्षेत्रफल भएको पेरिम हाल यमनको भूभाग हो । त्यो द्वीप अहिले यमनको २१ गभर्नरेट मध्य लहिज गभरनेटमा पर्दछ ।

यो सानो द्वीपले बब–अल माण्डबलाई दुई भागमा बाँड्छ । यसले गर्दा यहाँबाट यो स्थानमा आवतजावत गर्ने जहाजहरुलाई नियन्त्रण गर्न सहज हुन्छ ।

पहिले दक्षिण यमनमा ब्रिटिसहरुको औपनेशिक शासन हुँदा बेलायतीहरुले यसलाई कोलोनी अफ एडन अन्तर्गत ल्याए । कालोनी अफ एडन आफैंमा दक्षिण यमनमा रहेको ब्रिटिश प्रोटक्टरेट फेडरेशन अफ साउथ अरबिया अन्तर्गत थियो ।  

पुनः अटोमन र ब्रिटिशहरुको द्वन्द्वको बेला फर्कौं । यो द्वन्द्व अटोमनहरु साम्राज्य विघटन भएपछि अन्त्य भयो । सन् १९२२÷२३ मा अटोमन साम्राज्य विघटन भयो । त्यसपछि उत्तर यमनलाई कसले नियन्त्रण गर्ने भनेर इजिप्ट र साउदी अरेबियाबीच खिचातानी सुरु भयो । 

इजिप्ट गणतन्त्रात्मक थियो भने साउदी अरबिया राजतन्त्रतात्मक । यमनको हालको राजधानी साना वरिपरिको भाग ट्वेज गभर्नेट अन्तर्गत पर्छ । त्यो क्षेत्रका राजाहरुलाई साउदी अरेबीयाले समर्थन ग¥यो । राजा हटाउने पक्षधरहरुलाई इजिप्टको समर्थन रह्यो । यिनिहरुको भयंकर ठूलो युद्ध भयो । 

ब्रिटिस यस द्वन्द्व अन्त्य गर्न मध्यस्थताको रुपमा अघि आयो । उसले दुईबीचमा सम्झौता गराएर यमनलाई गणतन्त्रमा सहमत गरायो । तर सम्झौतापछि पूरै क्षेत्रमा बेलायतको नियन्त्रण कायम भयो । 

यो क्षेत्रमा ब्रिटिसको नियन्त्रणमा भएपछि कसरी व्यापार गर्ने भनेर इटालीलाई पनि तनाब भयो । उता बेलायतको पुरानो शत्रु फ्रान्सलाई तनाव हुनेनै भयो । 
त्यसपछि फ्रान्सले अफ्रिकातर्फको एक सानो भूभागमा कब्जा गर्यो र त्यसलाई फ्रेन्स सोमालिल्याण्ड नाम दियो । अहिले जिबुट्टी राज्य भएको भूभाग हो, फ्रेन्स सोमालिल्याण्ड । त्यहाँबाट बब–अल माण्डबमा आफ्नो उपस्थिति देखायो । 

अब इटाली पनि के कम ? यहाँ चोक भए आफ्नो व्यापारमा असर पर्छ भनेर उसले हर्न अफ अफ्रिकाको पूरै भाग कब्जा ग¥यो र नर्थन सोमालिल्याण्ड भनेर नामाकरण गर्यो । 
उता इटाली, फ्रान्स र ब्रिटेन नियन्त्रणमा प्रतिस्पर्धा गरिहेकै बेला रसियामा बोल्सेभिक क्रान्ति भयो । अब रसियालार्ई पनि आफ्नो व्यापारको चिन्ता भयो । उसले यो क्षेत्रमा कहीँ न कही आफ्नो उपस्थिति खोजिरहेको थियो । दोस्रो विश्वयुद्ध पछि रसियाले यहाँ आफ्नो उपस्थिति देखाउने बाटो पायो । 

यमनमा ठूलो युद्ध भयो । त्यो युद्धमा उत्तरी यमन ब्रिटिश पक्षधर भयो भने दक्षिण यमनमा भने रसियाले हस्तक्षेपनै गरेर माक्र्सवादी राज्य बनायो । यसरी यमनको विभाजन भयो । 
एडनमा पनि पूरै रसियाको नियन्त्रण भयो । स्वतन्त्र त दुबै स्वतन्त्रनै थिए तर उत्तर यमन साउदी अरेबिया र बेलायती पक्षधर राज्य भयो भने दक्षिणी यमन चाहीँ माक्र्सवादी राज्य भयो । यो १९६० को दशकको कुरा गरिरहेको छु । 

अब उत्तरमा पुँजीवादी यमन बन्यो भने दक्षिण यमनमा माक्र्सवादी यमन बन्यो । अब पुन त्यहाँ लडाई सुरु भयो । उत्तरी यमनले एकिकरणको लागि लडाईँ गर्ने मार्क्सवादी यमनले आफ्नै अलग पहिचानको लागि लडाईँ गर्ने । यो लडाईँले यमनलाई तहसनहस बनायो । त्यही कारणले आज पर्यन्त यमन अरब क्षेत्रको सबैभन्दा गरिब राष्ट्र रहेको छ । 

पछि लामो युद्ध पछि ९० को दशकमा विश्वभरि आएको एन्टी–कम्युनिष्ट लहरको बेलामा दक्षिणी यमनको मार्क्सवादी पक्ष कमजोर भयो र दुई यमनको एकीकरण भयो ।

तर एकीकरण भएपछि पनि शक्तिराष्ट्रको रणनैतिक स्वार्थ भने यथावत थियो । उनीहरुले आफ्नो स्वार्थको लागि त्यहाँका बलिया जातीय समूहरुलाई प्रयोग गर्न थाले । रुसले इरान पक्षधर समूहमार्फत र अमेरिकाले साउदी अरब पक्षधर समूहमार्फत लडाइरहेकै छ ।

उनीहरुको मुख्य स्वार्थ भनेको त्यही बब–अल माण्डब स्ट्रेटको चोकिङ प्वाइन्टमा आफ्नोे नियन्त्रणमा राख्ने हो । 

यहाँको टइज गभरनरेट र लहिज गभरनरेट नै किन महत्वपूर्ण छन् त, त्यसमा पनि ख्याल गर्नुपर्छ । यमनको भूगोलनै त्यस्तो छ । समून्द्रको छेउमा सानो पट्टी चाहीँ मैदान छ, बाँकी चाहीँ यहाँ डाँडा पाखा छन् । यो देशमा चार हजार मिटर सम्मका डाडाँहरु छन् । यी पहाडमा लुकेर समुन्द्रमा हान्न सक्ने स्थीति छ । 

उच्च समस्थलीहरुको त रणनैतिक रुपमा निकै महत्व हुन्छ । यो नेपालकै सन्दर्भ पनि चर्चा हुन्छ । 

फेरि यमनका जनजाति पनि यस्ता लडाकूँ छन् कि इतिहासमा यिनिहरुले सयौं युद्ध लडिसकेका छन् । फेरि उनीहरुले यी मध्ये कमै युद्ध मात्रै हारेका छन् । 

यमनको ती क्षेत्रहरु अफगानिस्तानको तोराबोरा पहाडी क्षेत्र जस्तै छन् । अब आक्रमण गरेर छापामारहरु कहाँ लुक्छन् कहाँ । छापामार युद्धको लागि निक्कै उर्बर भुमि हो यो । अनि त्यहाँबाट विद्रोहीहरु बब–अल माण्डबमा आक्रमण गरिहेका छन् । 

हामीले माथि भनेको दक्षिण अफ्रिका तेल बोेकेर हिँडेको साउदी अरबको भीएलसीसीमाथिको हमला पनि त्यहीँबाट गरिएको हो ।

अब दक्षिण अफ्रिका तेल लानको लागि साउदीहरुलाई स्वेज नहर हुँदै जहाज जिब्राल्टरबाट निकालेर लानको लागि थोरै खर्च पर्दैन ?

साउदी अरबीयाका लगभग सबै तेल कुवा पूर्वी तटमा छन् । उसले पश्चिमबाट तेल लाने भनेको पूर्वी तटबाट पश्चिमसम्म लगेको तेलका पाइपहरुबाट हो । 

बल–अल माण्डबको पछिल्ला यी घटनाहरुले चोकिङ प्वाइन्टको भूराजनीतिलाई खुल्ला रुपमा सतहमा ल्याइदिएको छ ।

प्रस्तुतिः श्रवण उप्रेती

याे पनि पढ्नुहाेस्

भूराजनीतिमा ऊर्जाले लामो समय प्रधान भूमिका खेल्नेछ

भू–मध्यसागरको समून्द्री मार्गः किन बन्दैछ लडाईंको केन्द्र ?

 

अरुण कुमार सुवेदी

सुवेदी भूराजनीतिक विश्लेषक हुन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ