शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आलियालाई ‘क्यारेक्टर सर्टिफिकेट’ दिनेले रणबीरलाई ७ महिनामा कसरी बुवा बन्यौ भनेर किन सोध्दैनन् ?

आइतबार, २७ कात्तिक २०७९, ११ : ४०
आइतबार, २७ कात्तिक २०७९

आलिया भट्ट र रणवीर कपुरको घरमा छोरीको जन्म भएको छ । अवसर खुसीको हो  त्यसैले खुसीका कुराहरु हुनुपर्छ । तर ती छोरी जन्मेको केही घण्टापछि गुगल र ट्वीटरलगायत सम्पूर्ण सामाजिक सञ्जालमा के ट्रेन्डिङ भइरहेको थियो भन्ने कुरा थाहा छ ?

आलिया भट्टको विवाह र त्यसपछि उनको डेलिभरी मिति । ७ महिनामा बच्चा जन्मियो । आलिया भट्ट विवाहअघि नै गर्भवती भएकी छिन् ।

र यी कुराहरू घरका बुढी आमा र हजुरआमाहरुले गरिरहेका थिएनन् । सामाजिक सञ्जाल र मिडियामा ह्यासट्याग ‘रिस्पेक्ट वुमन’, ह्यासट्याग ‘सेभ डटर’, ह्यासट्याग ‘लैङ्गिक समानता’ नाममा दिनमा ४२ पटक ट्वीट गर्नेहरुले गरिरहेका थिए ।

आलिया भट्टको अन्तिम महिनावारीको मितिदेखि, उनले कहिले सेक्स गरिन्, उनी कहिले गर्भवती भइन्, कहिले विवाह गरिन् र अब उनले कहिले बच्चालाई जन्म दिइन् भन्ने सबै कुराको हिसाबकिताब मानिसहरुलाई चाहिएको थियो ।

सामाजिक सञ्जालमा मात्र होइन, मिडियामा पनि यही काम भइरहेको थियो । विवाहअघि नै गर्भवती हुने सेलिब्रेटीको सूचि सार्वजनिक भइरहेको थियो । नेहा धुपियादेखि दिया मिर्जासम्मको लिस्ट लामो थियो । यस्ता सेलिब्रिटी महिला, जसको विवाह र गर्भावस्थाको बहिखाता यी मानिसहरुले सम्हालेर राखेका थिए ।

यद्यपि, यो सुचीलाई महानता र प्रगतिशीलताको सुचीका रुपमा सार्वजनिक गरे पनि यो प्रगतिशील सुची वास्तवमा त्यति नै स्त्रीद्वेषी, अहंकारी र मर्दवादी सूची हो भन्ने उनीहरुले सोचेनन् ।

तर, मिडिया र सामाजिक सञ्जालको यो स्त्रीद्वेषी अनुहार हामीले पहिलोपटक देखिरहेका छैनौँ । यो विकृत अनुहार नेहा धुपियाको विवाह र बच्चा जन्मिएपछि पनि देखिएको थियो, दिया मिर्जाको पालामा पनि बारम्बार देखिएको थियो ।

थोरै सभ्य मानिसहरूले स्पष्टीकरण दिइरहेका छन् – ‘अरे, हामी त प्रशंसा गरिरहेका थियौँ ।’ कसैले उनीहरुलाई पनि सोध्नु पर्छ कि ‘तिमीहरु किन प्रशंसा गरिरहेका छौ ?’ चन्द्रमा भ्रमण गरेर आएका छन् वा नोबेल पुरस्कार जितेका छन् । बच्चा नै त जन्मिएको हो । बधाई दिनुहोस् र आफ्नो घर जानुहोस् । यसलाई अनैतिक वा महान, किन भन्नु पर्यो ?

किनकी, बिहेअघि नै गर्भवती हुनु र विवाह गरेको ७ महिनाभित्र सन्तान जन्माउनु प्रगतिशील कदम हो भन्ने प्रश्न होइन, यसमा कसैले किन केही बोल्ने भन्ने प्रश्न हो । जिब्रो किन चलाउने ?

 


 

एउटी महिला कहिले गर्भवती हुने, कसबाट गर्भवती हुन्, कहिले बच्चा जन्माउने, विवाह पछि, विवाह अघि, विवाह सँगै, विवाह नै नगरी, विवाह बाहिर, विवाह बाहिर, विवाहको ९ महिनामा, विवाहको ९ वर्षमा वा कहिल्यै नहुने, यो सबै उनको र मात्र उनको निजि निर्णय हो । दुनियाँ के हो र यसमा आफ्नो झुटो तरिफ गर्ने ?

महिलाहरु तपाईंबाट केहि चाहँदैनन्। न चरित्रवान् भएको प्रमाणपत्र न प्रगतिशील भएको ट्याग । उनीहरुलाई आफ्नो मनको स्वतन्त्रता चाहिन्छ । यति ठाउँ चाहिन्छ जहाँ तपाईंको नाकसँग नठोक्किइकनै उनीहरुले सहजतासँग सास फेर्न सकून् । चाहेको व्यक्तिलाई प्रेम गर्न सकून्, चाहेको व्यक्तिसँग सुत्न सकून् र जोबाट चाहन्छन् बच्चा जन्माउन सकून् ।

यी सबै टिप्पणीका पछाडि, पुरुषवाद र स्त्रीद्वेष नै हो । र उनीहरु थप खतरनाक हुन्छन् जो महानताको चास्नीमा बेह्रिएर आउँछन् ।

पुरुषवादको आधार नै महिलाको शरीरलाई नियन्त्रणमा राख्ने हो । एक महान देश (अमेरिका) ले केहि महिना अघि पूरै देशमा गर्भपतनमाथि प्रतिबन्ध लगाएको छ । अर्को महान छिमेकी (चीन) ले विवाह र बच्चा जन्मदर ऐतिहासिक न्यून बिन्दुमा पुगेकाले महिलालाई विवाह र परिवारको सम्मान गर्न आग्रह गरेको छ ।

अर्को महान् देश (जापान) जसको प्रतिव्यक्ति आयको हिसाबले विश्वको शीर्ष २० देशमा परेको छ तर महिला समानताको हिसाबले ११६ नम्बरमा छ ।

हरेक देशको सत्ता पुरुषद्वारा शासित छ र पुरुषको शासन महिलाको शरीरमाथि कसको हक हो भन्ने कुरामा निर्भर हुन्छ । उनी कुन पुरुषको सम्पत्ति हुन्, उनी कुन पुरुषसँग सुत्नेछिन्, कुन पुरुषसँग बच्चा जन्माउनेछिन्, यी सबै कुरा पुरुषले निश्चित गर्नेछ । पुरुषले नै सही र गलत, नैतिक र अनैतिक सबै नियमहरू बनाउनेछन्, मापदण्ड निश्चित गर्नेछन् र महिलाले ती नियमको पालना गर्नेछन् ।

 


 

पुरुषको लागि कुनै नियम हुनेछैन । उनी सबैभन्दा माथि, सबैभन्दा महान, महिलाको लगाम आफ्नो हातमा राख्नेछन् ।  महिलाले आज्ञा पालन गर्नेछन् । पुरुषत्व फस्टाउनेछ, पुरुष शक्ति बलियो हुनेछ ।

अनि जब नारीहरु पुरुषको पकडबाट बाहिर आएर आफ्नो शरीरको लगाम आफ्नो हातमा लिन थाल्छन्, आफ्नो शरीर सम्बन्धित निर्णय गर्न थाल्छन्, विवाह नगरी सन्तान जन्माउने, विवाहपछि पनि गर्भपतनको अधिकार माग्छन् तब अमेरिकाको अमेरिकाको सर्वोच्च अदालतका न्यायाधीशहरू बसेर गर्भपतनमाथि प्रतिबन्ध लगाउँछन् ।

सामाजिक सञ्जालमा, पुरुषहरूले आलिया भट्टको गर्भावस्थाको मिति गन्छन् र विश्वका महिलाहरूलाई चरित्रका प्रमाणपत्र वितरण गर्न थाल्छन् ।

प्रश्नहरू सबै महिलालाई मात्र सोधिन्छन् । रणबीर कपुरको नाम कतै चर्चामा छैन । विवाहअघि आलियाको सेक्स र गर्भावस्थालाई तुच्छ ठान्नेहरुले रणबीरको बारेमा एक शब्द पनि बोलेनन् । उनी आखिर ‘मर्द’ हुन् । मर्दलाई त ‘सौ खून माफ’ पो हुन्छ त ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करमा प्रकाशित लेखबाट अनुवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप