करिना कपुरले झैँ आलिया भट्टले पनि तोड्लिन् त कपुर ‘खानदान’ को यो चलन ?
हिन्दी फिल्म जगतमा धेरै संघर्ष पछि, थोरै अभिनेत्रीहरूले मात्र आफ्नो भिन्न स्थान हासिल गर्ने मौका पाउँछन् । अर्कोतर्फ, यस्ता धेरै अभिनेत्री छन् जसले धेरै पैसा, माया र प्रसिद्धि त पाए, तर विवाह र सन्तान जन्मिएपछि उनीहरुले आफ्नो शानदार करियर छोडेर फिल्मबाट टाढिन बाध्य हुनुपर्यो ।
७० को दशकदेखि हामीले वहिदा रहमान, मुमताज, नूतन, नीतु कपुर, सायरा बानोजस्ता धेरै अभिनेत्रीहरू देखिरहेका छौँ । पछि पनि त्यही प्रवृत्ति कायम रह्यो । यस्ता नायिकाले बिहे गर्ने बित्तिकै आफ्नो सपना र आकांक्षालाई बक्समा राखेर घरको जिम्मेवारी सम्हाल्नुपरेको थियो ।
बलिउडमा कपुर परिवारको पनि परम्परा नै रह्यो । विवाहपछि उनीहरुका घरका हिरोइनले फिल्मलाई टाटा बाईबाई भन्नुपर्यो । चाहे उनी बबिता होउन् कि नितु कपुर ।
तर यो ट्रेन्डलाई तोड्न एक्लो करिना कपुर सफल भइन् । उनले विवाहपछि पनि थुप्रै ठूला फिल्ममा काम गरिन् । आज उनी दुई सन्तानकी आमा भए पनि लगभग सबै चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेकी छिन् ।
रणबीर र आलियाले नयाँ परिवर्तन ल्याउनेछन्
करिना कपुर जस्तै उनका काकाका छोरा रणबीर कपुर पनि नयाँ सोचसँग एक नयाँ ट्रेन्ड सेट गर्न तयार छन् । यो मामिलामा उनी अब नयाँ परिवर्तनको कुरा गरिरहेका छन् ।
बीबीसी हिन्दीसँगको कुराकानीमा अभिनेता रणवीर कपुरले भने, ‘विवाहपछि परिवार र बच्चाको हेरचाह गर्ने जिम्मेवारी महिलाको मात्रै किन हुन्छ ? पुरुषहरूले पनि यो जिम्मेवारी महसुस गर्नुपर्छ र म त्यसका लागि तयार छु ।’
उनी भन्छन्, ‘विवाह र सन्तान भएपछि पुरुषले निरन्तर अभिनय गरिरहन्छन्, उनीहरुकोको जीवन रोकिँदैन, तर क्षती त अभिनेत्रीहरुको मात्रै हुन्छ । ’
रणवीर कपुरले भने, ‘म धेरै भाग्यमानी छु कि आलिया भट्ट मेरी श्रीमती हुन् । हामी दुबैले एकअर्कालाई सम्मान गर्छौं । एक अर्कालाई धेरै माया गर्छौँ । हाम्रो भविष्य धेरै सुन्दर छ । मलाई थाहा छ, आलिया असाध्यै मेहनती छिन् । उनले यति कम उमेरमा यति ठूलो स्थान ओगट्न सफल भएकी छिन् ।’
उनी थप भन्छन्, ‘मलाई यो पनि थाहा छ, आलिया आफ्नो करियरको उचाइमा हुँदा पनि आमा बन्ने तयारीमा छिन् भनेर धेरैले भनिरहेका छन् । तर आलियाले म असाध्यै लोकप्रिय छु, त्यसैले अहिले आमा बन्नु हुँदैन भनेर कहिले पनि सोचिनन् ।’
उनी भन्छन्, ‘बच्चा हुनु स्वभाविक कुरा हो । यो भगवानको उपहार हो र म बुझ्छु कि समय परिवर्तन भएको छ । आलियाले जति मिहिनेतले आफ्नो काम गर्दै आएकी छिन्, भविष्यमा पनि त्यस्तै मेहनत गरिरहन्छिन् । यसबाट कुनै बाधा पर्ने छैन ।’
रणवीर कपुरका अनुसार कहिले आलियाले बच्चाको हेरचाह गर्नेछिन् भने कहिले उनी आफैँ गर्नेछन् । आफू बच्चाको रेखदेखको जिम्मेवारी सम्हाल्न पूर्ण रुपमा तयार भएको रणबीर बताउँछन् ।
उनी भन्छन्, ‘बच्चा हुर्काउनको लागि म पनि कामबाट छुट्टी लिन सक्छु । अब आलिया आमा बन्दै छिन्, उनको काम कम महत्वपूर्ण हुनेछ भन्ने हुँदैन । अब त्यस्तो हुने छैन ।’
रणवीर कपुरले भने, ‘आमाले दिएको बलिदान अब मेरी श्रीमती आलियाले दिनुपर्दैन किनभने आजका दर्शक निकै बुद्धिमान् छन् ।’
‘हिरोइनहरू अब अर्धाङ्गिनी मात्र रहेनन्’
प्रख्यात चलचित्र समीक्षक तथा पत्रकार रामचन्द्रन श्रीनिवासनले पनि समय परिवर्तन भएको बताएका छन् ।
उनले बीबीसी हिन्दीसँग भने, ‘हिरोइनले आफ्नो नायकसँग बिहे गर्न निकै संघर्ष गर्नुपरेको हिन्दी फिल्ममा प्रायः देख्न पाइन्छ । धेरैजसो अवस्थामा फिल्मको अन्तिम दृश्य विवाहको हुन्छ । हिरो हिरोइनको विवाहको दृश्यसँगै फिल्मको अन्त्य हुन्छ । यसलाई हामी ह्याप्पी एन्डिङ भन्छौँ ।’
‘तपाईंले विगतका हिरोइनहरुलाई हेर्नुभयो भने वास्तविक जीवनमा पनि उनीहरुको फिल्मी करियर, विवाहको त्यो दृश्यजस्तै विवाह पछि समाप्त हुने गर्दथ्यो । त्यो एउटा ट्रेन्डजस्तो बनेको थियो तर आजको समयमा निकै ठूलो परिवर्तन आइसकेको छ ।’
उनी भन्छन्, ‘सोसल मिडियामा हेर्नुहुन्छ भने धेरैजसो नायिकाले आफ्नो पार्टनरसँग मिलेर आफूहरु आमा–बुवा बन्न लागेको पोस्ट राख्ने गर्छन् । अभिनेत्रीले मात्रै ‘म आमा बन्दै छु’ भनेर लेख्दैनन् । पहिला यस्तो थिएन ।’
‘कपुर खानदानमा बुहारीले काम गर्नु नयाँ ट्रेन्ड’
विगतको समयलाई उद्धृत गर्दै वरिष्ठ पत्रकार रामचन्द्रन श्रीनिवासनले सायरा बानोले उनीसँग कुनै बेला नायिका हुनुको बाध्यता बारे कुरा गरेको स्मरण गरे ।
उनी भन्छन्, ‘एकपटक सायरा बानो जीले विवाहपछि उनी पनि नियमित सुटिङमा जाने गरेको बताएकी थिइन् । तर एकदिन उनलाई के महसुस भएछ भने युसुफ साहब (दिलिप कुमार) सँग उनको भेट घरमा हुन पाउँदैनथ्यो, धेरैजसो उनीहरुको विमानस्थलमा मात्रै भेट हुने गर्दथ्यो । त्यसैले त्यतिबेला उनलाई अभिनय छोड्नु पर्छ कि भन्ने महसुस भयो । दिलिप साहबले उनलाई कहिल्यै पनि काम गर्न नरोकेको बताइन् ।’
तर रामचन्द्रन श्रीनिवासन पछिल्लो समय कपुर परिवारमा आएको परिवर्तनको बारेमा बताउँछन्, ‘सायरा बानोजस्तै कपुर परिवारका सबै बुहारीले काम गर्न छोडे । धेरै पछि नीतु कपुरले फेरि काम गर्न थालिन् । अब त्यहि खानदानकी बुहारीले काम गरिरहिन् भने यो परिवारका लागि र अन्य मानिसहरुका लागि पनि यो धेरै ठूलो परिवर्तन हो ।’
उनी भन्छन्, ‘करिनाले पनि बिहेपछि काम गरिन् तर उनी सैफसँग पटौदी खानदानमा बसिरहेकी थिइन् जहाँ शर्मिला टेगोरले विवाहपछि केही समयसम्म काम गरेकी थिइन् ।’
‘हिरोइनको फिर्ती निकै गाह्रो’
धेरै वर्षसम्म फिल्म उद्योगमा बिहेपछि श्रीमती वा बुहारीले अन्य कलाकारसँग फिल्ममा काम गर्नु हुँदैन भन्ने धारणा थियो ।
रामचन्द्रन श्रीनिवासन भन्छन्, ‘पहिले धेरै मानिसहरूलाई आफ्नी पत्नीले अभिनय गरेको मन पर्दैनथ्यो । पहिलेका मानिसहरूले यो पेशालाई राम्रो मान्दैनथे । कुनै समय फिल्म उद्योग त्यति व्यावसायिक थिएन, तर अहिले समयसँगै यो पेशा र मानिसको सोच दुवै परिवर्तन भएको छ ।’
उनी थप्छन्, ‘पहिलेको समयमा नीना गुप्ता, मुमताज, सोनाली बेन्द्रे, करिश्मा कपुर जस्ता नायिकाले कमब्याक गर्न निकै कठिनाइको सामना गर्नुपरेको थियो तर आज त्यस्तो छैन ।’
उनका अनुुसार ओटीटी प्लेटफर्म यी महिलाहरूको लागि ठूलो सहयोगी साबित भएको छ, जहाँ ९० को दशकका धेरै अभिनेत्रीहरू मुख्य भूमिकामा फर्केका छन् ।
माधुरी दीक्षित, सोनाली बेन्द्रे, करिश्मा कपुर, पूजा भट्ट, रविना टन्डन र शिल्पा शेट्टी जस्ता अभिनेत्रीहरूले ओटीटीमा कमब्याक गरिसकेका छन् ।
‘अब विवाह वा सन्तानबारे भन्न डराउनु पर्दैन’
श्रीनिवासनले नर्गिसलाई पहिलेको समयको अपवाद बताउँछन्, जसले विवाहपछि पनि मुख्य भूमिकामा र ठूला कलाकारहरूसँग काम गर्ने अवसर पाएकी थिइन् ।
उनी भन्छन्, ‘नर्गिस यस्ती अभिनेत्री थिइन् जसले विवाहपछि पनि धेरै वर्ष काम गरिन् । उनले राज कपुर र अन्य धेरै ठूला कलाकारहरूसँग काम गरिरहेकी थिइन् ।’
श्रीनिवासन भन्छन्, ‘आजका महिलाहरू नडराइकन यसबारे खुलेर कुरा गरिरहेका छन्, जबकि दर्शकले पनि उनीहरुको निर्णयलाई सम्मान गर्दै ठूला फिल्ममा हेर्न रुचाउँछन् । सायद यही कारणले होला उनीहरुले मुख्य भूमिकामा अभिनय गरिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जतिबेला पनि निद्रा लागिरहन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण