सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

यामलाल कँडेल : मुख्यमन्त्रीका सदाबहार दाबेदार !

शनिबार, १९ कात्तिक २०७९, १३ : ४६
शनिबार, १९ कात्तिक २०७९

प्रतिकुल अवस्थामा आफूहरू चुनावी मैदानमा होमिएको बताउने नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं कर्णाली इञ्चार्ज यामलाल कँडेलले शुक्रबार २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरे । सुर्खेत २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार कँडेलको घोषणा पत्रमा मतदाताको ध्यान तान्न सक्ने विषयलाई प्राथमिकता दिइएको छ भने प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकालाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गरिने एजेण्डालाई प्रमुखताका साथ राखिएको छ । 

राजधानी वीरेन्द्रनगरका भित्री सडकहरू अझै पनि कालोपत्र हुन् सकिरहेका छैनन् । घोषणापत्रको सुरुवातै लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपालको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार, सुशासनका पहरेदार, विकासका योजनाकार, कर्णालीका आशा, सुर्खेतका भरोसा ।’

कँडेलले केन्द्रमा अध्यक्ष केपी ओलीकै शैलीमा उक्त नारा दिएका छन् । चुनाव जितेको खण्डमा आगामी मङ्सिर ४ पछि कर्णाली सरकारको नेतृत्व लिने सार घोषणापत्रको छ । ‘यस अघि सुरु गरेका कानुन निर्माण र विकास योजनाहरूलाई पूर्णता दिन तथा सम्पन्न भएका कार्यहरूलाई संस्थागत गरी ‘समृद्ध कर्णाली’ को परिकल्पनालाई साकार पार्न मेरो उम्मेदवारी रहेको छ,’ घोषणापत्रको अन्तिम पानाको अपिलमा कँडेलले भनेका छन्,‘ मैले प्रदेशसभाको पहिलो कार्यकालमा यहाँहरूले भरोसा र विश्वासका साथ सुम्पिएको जनप्रतिनिधिको जिम्मेवारी इमानदारितापूर्वक पूरा गरेको छु ।’

कँडेलले सत्तापक्षभन्दा प्रतिपक्षमा रहेको कुरालाई महत्त्व दिएका छन् । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई निरन्तर प्रश्न गर्दै खबरदारी आफूले गरेको पनि उल्लेख गरेका छन् भने सरकार सञ्चालनमा देखिएका बेथिति रोक्न रचनात्मक सुझाव दिँदै जनजीविकाका सवालमा आवाज बुलन्द गरेको दाबी गरेका छन् । 

विगतमा कर्णालीमा वामगठबन्धनपछि बनेको नेकपाको सरकार हुँदा आफ्नै दलको सहयोगमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई आन्तरिक रूपमा असहयोग गरेका थिए । बरु अहिले वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भने रचनात्मक सहयोग कँडेलको देखिन्छ ।

पूर्व मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई ढलाउन उनले अनेक प्रयास गरेका थिए । ०७७ असोजमा कँडेलले माओवादीसहितका केही सांसदलाई हातमा लिएर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसको एउटै कारण थियो, ‘आफू मुख्यमन्त्री बन्ने ।’

पर्यटन मन्त्री भइसकेका उनी ०७४ मा मुख्यमन्त्री हुने अपेक्षासहित प्रदेश झरेका थिए । तर पछि माओवादी–एमालेबीचको समझदारीमा कर्णाली माओवादीको भागमा पर्दा कँडेल पछि हटेका थिए । ०७७ साल २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन सकेनन् । संसद्मा बहुमत भएको एमाले संसदीय दलले ०७७ साल ४ चैत्रमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्‍यो तर उनकै पार्टीभित्रका चारजना सांसदले ‘फ्लोर क्रस’ गरेर शाही नेतृत्वको सरकार बचाइदिए ।

०७८ साल ३ वैशाखमा कांग्रेस र तत्कालीन एमालेभित्रको विद्रोही समूहको सहयोगमा शाही नेतृत्वको सरकार कायम रहेको थियो भने अहिले जम्मा १ सिट रहेको कांग्रेसले सरकारको नेतृत्व गर्दा बहुमतमा रहेको एमाले प्रतिपक्षीको भूमिकामा सीमित रहन पुग्यो । 

यद्यपि कँडेलले मुख्यमन्त्री बन्ने चाहना अझै सेलाएको छैन । त्यसैले उनले आफूभन्दा जुनियर नेता अमृत बिसीलाई प्रतिनिधि सभामा उठाएर आफू प्रदेश सभामै बसेका हुन् ।  अबको उनको रणनीति भनेको आफूले चुनाव जित्ने र प्रदेश सभामा बहुमत प्राप्त भए आफू मुख्यमन्त्री बन्ने नै हो ।

०४८ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरको चुनाव लडेका उनले ०५१ सालदेखि लगातार संसदीय चुनाव लड्दै आएका छन् । ०५१ को मध्यावधि निर्वाचनमा विजयी उनी  ०५६ को संसदीय चुनावमा पराजित भएका थिए । ०६४ मा विजयी उनी ०७० मा पराजित हुनुपरेको थियो भने ०७४ मा माओवादीको सहयोगमा २१ हजार २८२ मतसहित प्रदेश सभा चुनाव जितेका थिए । 

यसपटकको निर्वाचन कँडेलका लागि त्यति सहज भने छैन । उनको प्रतिस्पर्धीका रूपमा कांग्रेस–माओवादीका साझा उम्मेदवारको रूपमा कांग्रेसका कालिप्रसाद शाक्य र नेकपा एकीकृत समाजवादीबाट जिल्ला इञ्चार्ज शिवप्रसाद उपाध्याय उम्मेदवार छन् । उपाध्याय, तिनै व्यक्ति हुन् जो एमालेका हुँदा पनि कँडेलको आन्तरिक प्रतिस्पर्धी थिए । ०७० को चुनावमा कँडेलविरुद्ध बागी उठेका कारण नै कँडेलले पराजय भोग्नुपरेको थियो ।

तथापि कँडेलले आफू सहजताका साथ चुनाव जित्ने विश्वास लिएका छन् । रातोपाटीसँग बिहीबार घरदैलो अभियानका क्रममा कुरा गर्दै उनले, ‘पूर्व सहकर्मीको कारण मलाई कुनै अप्ठ्यारो पर्दैन । उहाँ (शिव) गठबन्धनको बागी उम्मेदवार हो । अहिले एउटा गठबन्धन र एउटा एमाले गरी दुईवटा मात्रै पार्टी छ । शिवजीले कति भोट काट्नुहुन्छ ? गठबन्धनले कति भोट लिन्छ त्यो कुराको कुनै पर्वाह छैन ।’ 

स्थानीय तहमा वडामा पाएको मतलाई हेर्ने हो भने यो क्षेत्र अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिकाका १४ वडामध्ये ५ वडा जितेको कांग्रेससँग १६ हजार १६३ मत छ भने १० वटा वडा जितेको एमालेसँग १८ हजार ६१५ मत छ । यस्तै माओवादीसँग ३ हजार ५५८ मत छ । यहाँ माओवादी–कांग्रेसको मत जोड्दा १९ हजार ७२१ हुन्छ । तर कांग्रेसका शाक्य राजनीतिमा खासै ‘हाईप्रोफाईल’ भएका व्यक्ति होइनन् ।

अपिलमा मतदातालाई उनले भनेका छन्,‘ यो पटक बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्रको मूलमन्त्रसहित एमाले जनताकाबीचमा आएको छ । मलाई भरोसा छ, सुशासन, विकास, समृद्धि र समानताका लागि आम मतदाताले पार्टी एमाले र चिन्ह सूर्य रोज्नुहुनेछ ।’ 

उनले गठबन्धनलाई स्वार्थमा आधारित रहेको बताए । ‘हामीले खसाउने प्रत्येक मतले वीरेन्द्रनगरको आगामी बाटो तय हुनेछ,’ कँडेलले भनेका छन्,‘ तपाईंको एक भोटले वीरेन्द्रनगरको भाग्य र भविष्य कोरिनेछ ।’ 

कँडेलले चुनाव जिते भने पनि उनलाई मुख्यमन्त्री बन्न अन्य क्षेत्रको नतिजा पनि आफू अनुकूल आउनुपर्ने हुन्छ । २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा गठबन्धन भर्सेस एमाले हुँदा धेरै निर्वाचन क्षेत्र एमालेलाई जोगाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ । सुर्खेत २ (क) बाहेक अन्य क्षेत्रमा गठबन्धनको मत एमालेभन्दा बढी छ । ४० प्रदेशसभा सदस्य रहेको प्रदेश सभामा सरकार बन्नका लागि बहुमत सङ्ख्या भनेको २१ हो ।

‘मिनी सिंहदरबारदेखि साइन्स पार्कसम्म’ 

 कँडेलले सार्वजनिक गरेको घोषणापत्रमा ‘मिनी’ सिंहदरबारदेखि साइन्स पार्क स्थापना गर्ने लगायतका महत्त्वाकाङ्क्षी योजना छन् । सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र (मिनी सिंहदरबार ) का रूपमा विकास गर्ने र युवा वैज्ञानिक तथा खोज अनुसन्धानका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग सहकार्य गरी वीरेन्द्रनगरमा आधुनिक ‘साइन्स पार्क’ स्थापना गर्ने उनले बताए । ‘युवाहरूको सर्वाङ्गीण विकासका लागि वीरेन्द्रनगरमा आधुनिक प्रविधियुक्त पुस्तकालय स्थापना गर्नुका साथै प्रमुख सार्वजनिक स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइनेछ,’  घोषणा पत्रमा भनिएको छ । 

साथै उनले विवादित सुर्खेत विमानस्थलको स्तरोन्नति गरिने बताएका छन् । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले स्तोरन्नतिको काम अघि बढाउँदा विरोध भएको थियो । पछि जीवनबहादुर शाही मुख्यमन्त्री बनेपछि जनताको भावनाको कदर गर्दै विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिएका थिए । उनले छिन्चुको रामाघाटमा विमानस्थल बनाउने बताए । यद्यपि निजी क्षेत्रले उनको पनि विरोध गरेको थियो ।

कँडेलले वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिइने बताएका छन् । जुन लामो समयदेखि चर्चामा रहेको तर नबनेको विषय हो । यस्तै वीरेन्द्रनगरको प्रमुख समस्याका रूपमा रहेको खानेपानीको विषयलाई उठान गरिएको छ । उपत्यकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि प्रस्तावित भेरी पम्पिङ्ग आयोजना समयमा सम्पन्न गर्न जोड दिइने कँडेलको घोषणापत्रमा छ । 

कहाँ गयो ४०० केभी प्रशारण लाइन बनाउने योजना

०७४ को चुनावी प्रचारमा कँडेलले सुर्खेतलाई लोडसेडिङमुक्त बनाइने दाबी गरेका थिए । त्यसका लागि कोहलपुर–सुर्खेत विद्युत् प्रशारण लाइनको क्षमता ४०० केभी बनाइने उनको चुनावी एजेण्डा थियो । तर न उक्त एजेण्डाले मूर्तरूप नै पायो न त हालसम्म अघि नै बढ्यो । हाल सञ्चालनमा रहेको ३२ केभी विद्युत् लाइनले राजधानीमा मात्र नभई समग्र कर्णालीका जनताले विद्युत् लोडसेडिङको चर्को मार खेप्नु परेको छ ।

यसअघि नै अघि बढाइएको १३२ केभी विद्युत् प्रशारण लाइन विस्तार योजनालाई अघि सारिए पनि जंगलका कारण विस्तार कार्य अघि बढ्न सकिरहेको छैन । यद्यपि कँडेलले अहिले ४०० केभीलाई हटाएर १३२ केभीलाई नै समयमा सम्पन्न गर्न पहल थाल्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप