मतपत्र बोकेर भोट माग्दै यामलाल
नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार छन् । बिहीबार बिहान ७ बजे कँडेल वीरेन्द्रनगरको पश्चिममा पर्ने वडा नम्बर १ मा भोट माग्न निस्किए । केही कार्यकर्तालाई साथ लिएर निस्किएका कँडेललाई पछ्याउँदा उनी जनताका गुनासा सुन्ने र जवाफ दिने भन्दा पनि आफ्नो हातमा भएको नमुना मतपत्र बाँड्दै घरघरमा पुगेका देखिए ।
बिहान ८ः १० मा सोही वडाको चनावारी टोलमा कँडेल पुग्दा अधिकांश स्थानीयवासी बिहानको खानपिनको व्यवस्थापनमा व्यस्त थिए । एक वृद्ध महिलालाई कँडेलले नमुना मतपत्र थमाए । ती वृद्ध महिलाले उनलाई ‘कुन पार्टी हो ?’ भनेर प्रश्न गरिन् । कँडेलका सहयोगी कार्यकर्ताले उनलाई आफ्नो पार्टीको नामै नलिइ ‘तपाईलाई भत्ता दिने पार्टी हो’ भन्ने जवाफ दिए ।
ती महिलाले उम्मेदवारको नाम सोध्दा कँडेलले आफ्नो नाम बताए । ती महिला आश्चर्यचकित हुँदै भनिन्, ‘ओहो ! अझै तन्नेरी हुनुहुँदो रहेछ ।’ चनावरी टोलमा अधिकांश सकुमवासी र दलित समुदायको बसोबास छ । त्यो बस्तीमा लामो समयदेखि खानेपानीको समस्याका अलावा सडक पूर्वाधारको कमी रहेको स्थानीयले बताए ।
अझ प्रमुख समस्या लालपुर्जाविहीन बस्ती । स्थानीय लिलावती विक अहिले ५७ वर्षकी भइन् । ऐलानी जग्गामा बस्न थालेको वर्षौँ भइसक्यो तर उनले अहिलेसम्म लालपुर्जा पाउन सकिरहेकी छैनन् । उनले रातोपाटीसँग भनिन्, ‘बस्तीमा सडक सञ्जालको विकास हुन सकिरहेको छैन, भोट माग्नेबेलामा मात्रै बाटो र खानेपानीको समस्या समाधान गर्छु भन्छन् तर अझै पनि हाम्रो समस्या ज्युँका त्युँ छन् ।’
कँडेलले हातमा थमाएको नमुना मतपत्र समाएकी उनले उम्मेदवारलाई ‘मौसमी नेता’को संज्ञा दिइन् । ‘चुनावका बेलामा मात्रै बस्तीमा आउने मौसमी नेताहरुले त्यही बेला मात्रै हो के–के गर्छु भन्छन्, हाम्रा दिन त उही हुन्, केवल बदलिएका भनेका नेताहरु मात्रै हुन्,’ उनले भनिन् ।
चनावारी टोलकै उत्तरपट्टी डाँडामा एउटा खाद्य खुद्रा पसल सञ्चालन गरेका अम्मर भण्डारी अघिल्लो स्थानीय तहको निर्वाचनमा नेमकिपाबाट वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को वडा सदस्यको उम्मेदवार थिए । यद्यपि उनी पराजित भए ।
उनले आफू चुनाव जितेको खण्डमा बस्तीमा खानेपानी पु¥याउने घोषणा गरेका थिए । उनी भन्छन्, ‘खानेपानीबाट सबैभन्दा बढी पीडित यहाँ म छु । हाम्रो त माथि पहुँच नै छैन ।’ उनका अनुसार झण्डै १५० घरधुरी रहेको बस्तीमा ४ वटा धारा छन् । तर मुहानमा पर्याप्त पानी नहुँदा स्थानीयवासीलाई साह्रै दुःख छ ।
यो बस्तीका अधिकांश पुरुष रोजगारीका लागि भारत जान्छन् । यदि सकुमवासी नागरिकले लालपुर्जा प्राप्त गरेको भए नगरपालिकाले घरमा खानेपानीको धारा जडान गर्दथ्यो । तर लालपुर्जा नहुँदा सुकुमवासी बस्तीका नागरिकहरु राज्यबाट पाउनुपर्ने आधारभूत सेवा–सुविधाबाट वञ्चित भइरहेका छन् ।
उम्मेदवार कँडेलले बस्तीको समस्याबारे आफू जानकार रहेको बताए । अहिले सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका कांग्रेसका हृदयराम थानीको वडा पनि यही हो भने पुराना कम्युनिस्ट नेता बालाराम शर्माको घर पनि यहीँ छ । शर्मा अहिले एमालेबाट प्रदेशसभा सदस्य पदका लागि समानुपातिक उम्मेदवार छन् । यद्यपि कँडेलको घर भने ४ नम्बरमा हो ।
कँडेलको प्रतिस्पर्धीको रुपमा अहिले गठबन्धन (माओवादी–कांग्रेस) बाट कांग्रेसका कालिप्रसाद शाक्य र एकीकृत समाजवादीबाट शिवप्रसाद उपाध्याय उम्मेदवार छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएर छुट्टै उम्मेदवारी दिएको हो ।
शाक्यले यसअघि कँडेलसँग ०४९ को स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका थिए भने उपाध्यायले ०७० को चुनावमा एमालेमै रहँदा कँडेलविरुद्ध बागी उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । त्यो बेला उपाध्याय एमालेमै थिए ।
करिब २ घण्टा घरदैलोमा भोट माग्दै हिडेका कँडेललाई हामीले स्थानीयको समस्या र समग्र चुनावी गतिविधिमा बारेमा कुराकानी गर्ने प्रयास ग-यौँ । प्रस्तुत छ, कँडेलसँग गरिएको कुराकानीको सम्पादित अंश–
०४९ साल यता लगातार चुनाव लड्दै आउनुभएको छ, मतदातासँग हरेकजसो चुनावमा भोट पनि माग्नुभयो, जनताको अपेक्षा के देख्नुभयो ?
— जनतामा चेतनाको कमी रहेका कारण निर्वाचनमा बेला जे–जे समस्या छन्, त्यही उजागर गर्ने परिपाटी देख्छु । उनीहरुले जे बुझेका छन् त्यही अनुसार बाटो, खानेपानी, बेरोजगारी कै कुरा राख्ने गर्दछन् ।
अहिले भोट माग्दै गरेको बस्तीमा सकुमवासी नागरिकको संख्या बढी छ । लालपुर्जाको कुरा राख्दछन्, त्यो मैले बुझेको छु । हामीजस्ता नेताले निर्वाचनको बेलामा जनतालाई झुक्याउने गरी आश्वासन दिनुहुँदैन ।
तर जनता आशावादी छन् । जनताले दिनानुदिन जुन समस्या भोगिरहेका छन्, त्यो समस्यालाई उम्मेदवारसँग अपेक्षा गर्ने कुरालाई म अन्यथा ठान्दिनँ ।
तपाईले भोटमात्र माग्नुभयो, जनताको गुनासो पनि सुन्नुभएन, हामीले बुझ्दा खानेपानी र लालपुर्जाकै समस्या देखियो । यो मुद्दा लामो समयदेखि नै रहेछ । यसको समाधानका लागि तपाईहरुले पहल नै नगरेको हो ?
— हामीले खानेपानी समस्या समाधानका लागि दीर्घकालीन परियोजना ल्याएका थियौँ तर त्यसभन्दा बढी जनघनत्व बढ्यो । त्यो कुरा जनताले बुझ्दैनन् । घर बनाउँछन्, खानेपानी चाहियो भन्नु उसको तहतप्काको कुरा हो । तर व्यवस्थापकका हिसाबले स्रोतको अभाव छ । अहिले नै पूरा गरिदिन्छु भनेर मैले भन्न पनि सक्दिनँ । लालपुर्जा वितरणको कुरामा हामीले काम अन्तिम चरणमा पु¥याएका थियौँ, गठबन्धनको सरकारले खारेज ग¥यो । अहिले नगरपालिका एमालेले जितेको छ र समस्या समाधानका लागि काम अगाडि बढाइरहेको छ ।
तर भूमिका विहीन पार्टीहरुले विकास निर्माणको कुरा आफैले गरिदिएजस्तो गरेर प्रचार गरिरहेका छन्, त्यो तथ्यमा आधारित छैन । विगत पाँच वर्षमा यहाँका सडक पूर्वाधारका काम भइरहेका छन् । यद्यपि बीचमा कांग्रेस–माओवादीको सरकारले बजेट कटौती गरेका कारण काम अघि बढ्न नसकेका हुन् ।
धारापानी, चनावारी लगायतका सुकुमवासी, दलित बस्तीहरुलाई लाभान्वित गर्नेगरी सुरुवात गरिएको सडकमा अहिले पनि ३० लाख बजेट छ ।
यहाँ वीरेन्द्रनगर उपत्यकाको ‘ल्याण्डफिल साइट’ प्रभावित क्षेत्र पनि रहेछ, यो विषयमा तपाईको पहल के हुन्छ ?
— यहाँ काठमाडौंको जस्तो ल्याण्डफिल साइट क्षेत्र होइन, वातावरणलाई समस्या नआउनेगरी परियोजना बनिरहेको छ । स्वाभाविक रुपमा अन्य वडाभन्दा बढी बजेट छुट्याएर व्यवस्थित बनाउनुपर्ने देखिन्छ । त्यो हामीले पहल गरिरहेका छौँ ।
आफूभन्दा जुनियर नेतालाई केन्द्रमा पठाएर तपाई पुनः प्रदेशमै भोट माग्दै हुनुहुन्छ, के तपाई भावी मुख्यमन्त्रीको आकांक्षी हो ?
— व्यक्तिगत रुपमा एमाले र मैले त्यो कुरा भनेको अवस्था छैन । अहिले एमाले प्रतिकुल अवस्थामा चुनाव लडिरहेको छ । त्यो कुरा म र मेरो पार्टीले राम्रोसँग जान्दछ । तर एमालेले उठाएका विषयहरु आम जनताले मन पराइरहेको अवस्था छ ।
गठबनन्धन नेताको मात्रै हो जनताको होइन, विकास र परिवर्तनका लागि होइन । अस्तित्व रक्षाका लागि गठबन्धन गरिएको हो । देश बनाउने जिम्मेवारी हाम्रो काँधमा छ, त्यो अनुसार कर्णालीका जनताले पत्याए भने एमालेबाट जोसुकै मान्छे मुख्यमन्त्रीको जिम्मेवारीमा हुन्छ, म पनि नहुने भन्ने कुरा रहँदैन ।
एमालेमा हुँदा तपाईका पूर्वसहकर्र्र्र्मी मात्र नभई प्रतिस्पर्धी शिव उपाध्याय अर्कातिर र माओवादी–कांग्रेसको गठबन्धनका उम्मेदवार अर्कोतिर हुँदा तपाईलाई यो चुनाव सहज छैन भनिन्छ नि ?
— पूर्व सहकर्मी प्रतिस्पर्धी भन्ने कुरा भ्रमित कुरा हुन्, त्यसले मलाई कुनै अप्ठ्यारो पर्दैन । उहाँ (शिव) गठबन्धनको बागी उम्मेदवार हो ।
अहिले एउटा गठबन्धन र एउटा एमाले गरी दुईवटा मात्रै पार्टी छ । शिवजीले कति भोट काट्नुहुन्छ ? गठबन्धनले कति भोट लिन्छ त्यो कुराको कुनै पर्वाह छैन । आम नगरवासीले एमालेको विषय र मैले पाँच वर्षभित्र नीति निर्माण, सुशासनका विषयमा प्रदेश सभामा जुन भूमिका निर्वाह गरेँ, सुर्खेतका जनताले देखिरहेको अवस्था छ । विकास र परिवर्तन चाहने हो भने एमालेले मात्र होइन, कांग्रेस, माओवादीले निस्वार्थ एमालेको उम्मेदवार मलाई भोट हाल्नुपर्ने हो ।
उसोभए चुनाव जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?
— मसँग आत्मविश्वास छ । सबैले भोट हालेपछि त जितिहालिन्छ नि..!
सुर्खेत विमानस्थलको कुरामा तपाईहरुले बढी राजनीति गर्नुभयो भन्ने छ नि ?
— त्यो कांग्रेस र माओवादीले बढी गरिरहेका छन् । हाम्रो ठाउँमा विमानस्थल चाहिएको छ । तर विमानस्थल बन्दा जनतालाई अन्यायमा पारेर गरिन्न ।
त्यसमा पहिला महेन्द्रबहादुर शाही र अहिले जीवनबहादुर शाहीले राजनीति गरिरहेका छन् । आफैले गरेको हस्ताक्षर कार्यान्वयन नगर्ने, म त भन्ने ठाउँमा छु नि ! मलाई देखाएर सरकारको मुख्यमन्त्री किन पछि हटेको ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा
-
भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका
-
बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा
-
एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग
-
ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब