थानी–कँडेल भिडन्तमा फेरि ‘ब्रेक’
कुनै बेला एमाले नेता यामलाल कँडेल र कांग्रेस नेता हृदयराम थानीबीच रोचक चुनावी भिडन्त सुर्खेतवासीका लागि चासोको विषय बनिरहन्थ्यो । तर संघीयतापछि भने थानी–कँडेलबीचको प्रतिस्पर्धामा लागेको ‘ब्रेक’ आसन्न निर्वाचनमा पनि कायमै रहने भएको छ ।
दुवैको निर्वाचन क्षेत्र एउटै भए पनि आसन्न निर्वाचनमा थानी प्रतिनिधिसभातर्फ र कँडेल प्रदेशसभातर्फ उम्मेदवार हुने भएपछि यी दुई नेताबीच प्रत्यक्ष भिडन्त नहुने भएको हो । २०७४ को निर्वाचनमा पनि यी दुई नेताबीच प्रत्यक्ष भिडन्त भएको थिएन । त्यतिबेला पनि थानी प्रतिनिधिसभातर्फ उम्मेदवार थिए भने कँडेल प्रदेशसभामा ।
२०४० सालदेखि आमनेसामने हुँदै आएका थिए यी दुई नेता
थानी र कँडेल विद्यार्थी राजनीतिदेखि नै एक अर्काका प्रतिस्पर्धी भएका थिए । २०४० सालमा शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा यी दुईले पहिलो पटक आपसमा प्रतिस्पर्धा गरेका थिए । जसमा थानीले कँडेललाई पराजित गरेका थिए । त्यसयता तीन दशकसम्म पार्टीगत राजनीतिमा पनि यो क्रम जारी रह्यो ।
०५१ साल यताका संसदीय÷संविधान सभा निर्वाचन यी दुई नेता एउटै निर्वाचन क्षेत्रमा आमने–सामने भइरहे । पाँच वटा निर्वाचनमा आपसमा प्रतिस्पर्धा हुँदा तीन वटा चुनावमा थानी र दुई वटामा कँडेलले जित हात पारेका थिए ।
०५१ मध्यावधि निर्वाचनमा कांग्रेसका थानीलाई पराजित गर्दै एमालेबाट कँडेलले जित हासिल गरे । थानीलाई कँडेलले एक हजार २९२ मतान्तरले पराजित गरेका थिए । ०५६ मा सम्पन्न निर्वाचनमा थानीले चुनाव जिते तर यो पटक उनको थानीको प्रतिस्पर्धी कँडेल नभएर एमालेका शिवप्रसाद उपाध्याय थिए । त्यतिबेला एमाले विभाजन भएर कँडेल मालेतिर लागेका थिए ।
०६४ मा संविधानसभाको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका कँडेलले थानीलाई एक हजार ६०४ मतान्तरले पराजित गरे । उनले १६ हजार २९७ मत प्राप्त गर्दा थानी १४ हजार ६९३ मतमा सीमित रहे । दुई प्रतिस्पर्धीबीच अन्तिम प्रतिस्पर्धा ०७० को संविधानसभाको चुनाव हो । उक्त चुनावमा कँडेललाई आन्तरिक कारण महँगो परेको थियो । कँडेलविरुद्ध एमालेकै शिवप्रसाद उपाध्याय बागी उम्मेदवार बनेपछि कांग्रेसका थानीलाई फाईदा भयो । पहिलो संविधानसभामा कँडेलसँग पराजय भोगेका थानीले ६ वर्षपछि भएको दोस्रो संविधानसभा निर्वाचनमा भने बदला लिए । थानीले ८ हजार ३०१ मतान्तरले कँडेललाई पराजित गरेका थिए । सोही विजयपछि थानीले पहिलो पटक सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने अवसर पाएका थिए । ०५१ र ०६४ मा कँडेलले बाजी मारे भने ०५६ र ०७० मा थानीले विजयी प्राप्त गरे ।
संघीयताले टुटेको ‘प्रतिस्पर्धा’
नयाँ संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र संघको निर्वाचनले थानी–कँडेलको प्रतिस्पर्धामा पूर्णविराम लाग्यो । तर उनीहरु चुनावी मैदानबाट टाढा भने छैनन् । कँडेल प्रदेशसभातर्फ केन्द्रित हुँदा थानी प्रतिनिधिसभातर्फ प्रतिस्पर्धा गर्दै आएका छन् ।
राष्ट्रिय राजनीतिमा कमजोर हुँदै दुवै प्रतिस्पर्धी
०३६ सालदेखि नै विद्यार्थी राजनीतिमा उदाएका कँडेल–थानीले राष्ट्रिय राजनीतिमा भने आफ्नो पकड जमाउन सकिरहेका छैनन् । पार्टीका केन्द्रीय सदस्यसमेत भइसकेका थानी–कँडेलको अहिले राष्ट्रिय राजनीतिमा उपस्थिति बलियो देखिँदैन । कँडेल एमालेको जिल्ला पार्टी सचिव, केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारीमा पुगेका छन् । १० औं महाधिवेशनमा कँडेलले पार्टी सचिवमा दाबी गर्ने गरी चितवन गएका थिए । तर उनको सचिव बन्ने सपना साकार हुन सकेन ।
अहिले कर्णाली प्रदेशको इञ्चार्जको भूमिकामा रहेका उनी स्थायी कमिटी सदस्य छन् । उनी प्रदेश झरेपछि उनको राष्ट्रिय राजनीति धरमराएको एमाले जिल्ला तहका नेताहरुको बुझाइ छ ।
संसदको राज्य व्यवस्था समितिका सभापति र सहकारी तथा गरिवी निवारण मन्त्रालयको अनुभव सँगालिसकेका थानी कांग्रेसभित्र अहिले कुनै जिम्मेवारीमा छैनन् । केन्द्रीय सदस्यसमेत भइसकेका उनी कांग्रेसको १४ औ महाधिवेशनका कर्णाली प्रदेश तर्फको खुला सदस्यमा जम्मा १ मतले पराजित भए ।
जाजरकोटका राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित हुन पुगेका थिए । शाहले २ हजार ८२० र बुढाले २ हजार २०० मत पाउँदा थानीले भने २ हजार १९९ मतमात्र प्राप्त गरे ।
पार्टीभित्र उनका प्रतिस्पर्धी मानिएका पूर्णबहादुर खड्का भने राष्ट्रिय राजनीतिमा बलियो बन्दै जाँदा थानी अहिले पार्टीभित्र ‘विचरा’ बनिरहेका छन् । सुर्खेतमा कांग्रेसको संस्थापन पक्षबाट खड्का र इत्तर पक्षबाट थानीबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । १४ औं महाधिवेशन अघि जिल्लामा थानी पक्ष बलियो थियो तर अहिले खड्का पक्षले बाजी मारेको अवस्था छ । सुर्खेतमा कांग्रेसभित्रको दुई गुटको कारण चुनावमा समेत प्रभाव पर्ने गरेको छ ।
आगामी चुनाव थानी–कँडेलका लागि कति सहज ?
आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कँडेल सुर्खेत क्षेत्र नं.–२ (क) बाट प्रदेशसभाका लागि उम्मेदवार बन्ने भएका छन् भने थानी प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने करिब निश्चित छ । कँडेलको निर्वाचन क्षेत्र अहिले प्रदेशसभा (क) हो । यो क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा बाहेकका वडाहरु पर्दछन् ।
मुख्यमन्त्री बन्ने चाहनासहित पुनः प्रदेशसभाका लागि उम्मेदवार बनेका उनले ०७४ जसरी सहजै चुनाव जित्न सक्ने स्थिति छैन । ०७० को चुनावमा उनी विरुद्ध बागी उम्मेदवारी दिएका शिवप्रसाद अहिले समाजवादीमा छन् भने अर्कोतर्फ तीन प्रमुख पार्टी एकातिर हुँदा कँडेललाई आगामी चुनाव भारी पर्नसक्ने नेताहरुको आकलन छ ।
कँडेलको प्रतिस्पर्धीको रुपमा कांग्रेसबाट अहिलेसम्म उम्मेदवारको टुङ्गो लागेको छैन । ०७४ मा माओवादीको समेत साथ र एमालेको बलियो संगठनात्मक अवस्थाले उनले सहज रुपमा जित हात पारेका थिए । स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा एमाले उम्मेदवारले प्राप्त गरेको मत १६ हजार ३८ हो भने कांग्रेसले प्राप्त गरेको मत १५ हजार ४८४ हो । राप्रपाले प्राप्त गरेको १० हजार ६ मत भनेको कांग्रेस–सहितको हो । कांग्रेसको आन्तरिक कारण कम मत प्राप्त गरेको बताइन्छ । यदि कांग्रेसको आन्तरिक एकातासहित समाजवादी र माओवादीले पुर्ण रुपमा कांग्रेसलाई सहयोग गरे कँडेललाई जित्न हम्मे–हम्मे पर्ने नेताहरुको बुझाई छ ।
कांग्रेस नेता थानीले क्षेत्र–२ मा प्रतिनिधिसभा चुनाव जित्न पनि निकै हम्मे पर्ने नेताहरुको विश्लेषण छ । अहिलेसम्म थानीको प्रतिस्पर्धी एमालेबाट को हुने भन्ने निर्क्योल निस्किएको भने छैन । कांग्रेसभित्रको अन्तरविरोधले कत्तिको असर गर्छ भन्ने कुरा अहिलेका लागि मुख्य विषय बनेको छ । यदि कांग्रेसभित्रको अन्तरविरोध हल भएछ र समाजवादी–माओवादीबाट पूर्ण रुपमा सहयोग पाएको खण्डमा उनले जित्न सक्ने अबस्था पनि देखिन्छ ।
स्थानीय चुनावको अवस्थालाई हेर्ने हो भने क्षेत्र नं.–२ अन्तर्गतका बराहताल, पञ्चपुरी कांग्रेसले नै जितेको छ भने चौकुने गाउँपालिकामा माओवादीले जितेको छ । वीरेन्द्रनगरमा भने एमालेले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा