शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाह र सन्दीप लामिछाने प्रकरणमा के छ फरक ?

मङ्गलबार, २८ भदौ २०७९, १२ : १०
मङ्गलबार, २८ भदौ २०७९

नेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको कसुरमा जाहेरी प¥यो । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध गत भदौ ६ गते बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइन् ।

जाहेरीका आधारमा सञ्चारमाध्यममा समाचार आउन थालेपछि प्रहरीले प्रेस विज्ञप्ति पठाएर सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी आएको र जाहेरीमाथि अनुसन्धानको काम भइरहेको बतायो । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेले भदौ ५ गते ती किशोरीलाई काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा घुमाएर राति ११ः५५ बजे सिनामंगलस्थित होटलमा लगेर बलात्कार गरेको जाहेर परेको उल्लेख छ ।

प्रहरीले होटलको नाम उल्लेख नगरे पनि विभिन्न सञ्चार माध्यमहरूमा आएको समाचारलाई आधार मान्ने हो भने सन्दीपले सिनामंगलमा रहेको होटल काठमाडौँ इनमा लगेको उल्लेख छ । नगरकोटमा रहेको एक रिसोर्टबाट फर्केर रातको ११ः५५ बजे लामिछाने र ती किशोरी सिनामंगलमा रहेको होटल काठमाडौँ इनमा प्रवेश गरेको सीसीटीभी फुटेजबाट पुष्टि भएको प्रहरी स्रोतको दाबी छ ।

उक्त होटलको लगबुकमा पनि सन्दीप र ती किशोरी भदौ ५ गते राति होटलमा प्रवेश गरी कोठा नम्बर ३०५ मा बसेको पाइएको प्रहरी स्रोतको भनाइ छ । र, भदौ ६ गते बिहान पौने ७ बजे सन्दीप र ती किशोरी होटलबाट निस्केर गएको बताइएको छ ।

किशोरीका तर्फबाट प्रहरी वृत्त गौशालामा दिइएको जाहेरीमा सन्दीपले आफूमाथि भदौ ६ गते बिहान ००ः२५ बजेदेखि पटकपटक जबरजस्ती करणी गरेको उल्लेख छ ।

​....

राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका सन्दीप भदौ ६ गते राति नै केन्याविरुद्धको खेल खेल्न देश बाहिर जाँदै थिए । सोही दिन बिहान भएको भनिएको जबरजस्ती करणीको विषयमा त्यसको १५ दिनपछि मात्रै किशोरीका तर्फबाट प्रहरीमा जाहेरी परेको छ ।

विभिन्न स्रोतको हवाला दिँदै आएका समाचारका अनुसार सन्दीप र ती किशोरी स्न्यापच्याटमा जोडिएका थिए र स्न्यापच्याटमार्फत् नै उनीहरू कुराकानी गर्दथे । जब नेपालबाट सन्दीप पहिले केन्या र त्यसपछि क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगे, त्यसपछि किशोरीलाई स्न्यापच्याट, इन्स्टाग्राम लगायतका सबै सामाजिक सञ्जालबाट ब्लक गरे । त्यसपछि आत्तिएकी किशोरीले प्रहरीमा सन्दीपविरुद्ध जाहेरी दिइन् ।

प्रहरीका अनुसार पीडित किशोरीको उमेर १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम छ । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग आपसी सहमतिमै यौन सम्बन्ध स्थापित भए पनि त्यसलाई जबरजस्ती करणी गरेको मानिने भनेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने भन्ने दफा छ । उक्त ऐनको दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ भनिएको छ ।

यो व्यवस्थालाई हेर्दा यदि जाहेरवाली किशोरी १८ वर्षभन्दा कम उमेरको रहेको तथा उनले दिएको जाहेरीमा उल्लेखित विवरण पुष्टि भएमा आपसी सहमतिमै यौन सम्बन्ध स्थापित भए पनि त्यो जबरजस्ती करणी नै ठहर हुने कानुनी व्यवस्था छ । र, सोही ऐनको दफा २१९ को उपदफा ३ (घ) अनुसार १६ वर्ष वा १६ वर्षभन्दा माथि १८ वर्षभन्दा कम उमेरकी महिला भए जबरजस्ती करणीमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । यो आधारमा हेर्दा यदि आरोप पुष्टि भए सन्दीप लामिछाने कम्तीमा १० वर्ष जेल जाने निश्चित नै छ ।

सामाजिक सञ्जालमा बहस : सन्दीप पनि साढे २ वर्ष जेल जाने भए

यतिबेला सामाजिक सञ्जालमा एउटा बहस सुरु भएको छ, ‘पल शाहजस्तै सन्दीप लामिछाने पनि साढे २ वर्ष जेल जाने भए ।’ किनभने पल शाहलाई बलात्कारको आरोप लगाउने किशोरीको उमेर पनि १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम थियो । तर नवलपुर जिल्ला अदालतले उक्त मुद्दामा फैसला गर्दा जबरजस्ती करणीको कसुर स्थापित हुन नसकी बाल यौन दुरुपयोगको कसुरमा दोषी ठहर गरिएको थियो ।

फैसलाको पूर्णपाठ नआइसके पनि फैसलाको राय किताबमा भने शाहले जबरजस्ती करणी गरेको नभई करणीको प्रयास वा बाल यौन दुरुपयोग गरिएको उल्लेख छ । राय किताबमा लेखिएको छ, ‘यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले वारदातको समयमा आफू वारदात स्थलमा रहेको कुरा स्वीकार गरेकोमा उक्त समयमा रक्सी सेवन गरेको कुरा समेत स्वीकार गरेका र पेस भएको अडियो क्लिपमा रहेको संवाद एवं स्वर आफ्नो रहेको कुरा पनि स्वीकार गरेको देखिँदा अर्को एक प्रतिभावान् बाल कलाकार जसको गायन एवं अभिनयको क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन् । निजले आफ्नो भविष्य समेतलाई दाउमा राखी र आरोप लगाउने विषयलाई सामान्य रूपमा हेरिनु हुँदैन । एउटा नायक रही फिल्मी क्षेत्र, अभिनयको क्षेत्रमा स्थापित रहेको कलाकारले नाबालिकासँग कस्तो व्यवहार गर्नुपर्छ ? उनीहरूको बाल मष्तिष्कले के सोचेको हुन्छ ? र, आफू प्रति कोही नजिक र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफ वास्तविक जीवनमा गलत प्रयोग गर्न हुँदैन ।

नाबालिका उपर गरिएको संवाद गतिविधि समेतलाई हेर्दा प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार पीडित उपर यी प्रतिवादीले गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(१) विपरीतको बाल यौन दुरुपयोगका कसुर अपराध गरेको ठहर्छ ।’

​पूर्ण पाठ नआइसके पनि फैसलामा जबरजस्ती करणी ठहर नभई बाल यौन दुरुपयोग ठहर हुनुमा केही कारण र तर्क छन् । जाहेरवाली किशोरी आफैले अदालतमा बयान दिँदा जाहेरीमा वा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानभन्दा फरक बयान दिएर आफूमाथि जबरजस्ती करणी नभएको बरु अन्य व्यक्तिहरूले उक्साएको कारण बलात्कारको जाहेरी दिएको उल्लेख गरेकी छन् । प्राप्त प्रमाण वा मिसिलमा पनि जाहेरवाली किशोरी र पल शाह सँगै बसेको देखिएको छैन । शाह मध्यरातमा मदिरा सेवन गरेर किशोरीको कोठासम्म पुगेको कुरा स्वीकार गरेका छन् र अदालतमा पेस गरिएको अडियो संवाद आफ्नै भएको स्वीकार गरेका छन् । यसै आधारमा नवलपुर जिल्ला अदालतले ‘प्रतिवादीले मुलुकी अपराध संहिताको दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार पीडित उपर यी प्रतिवादीले गरेको देखिँदा’ भन्दै बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ र जबरजस्ती करणीको वारदात भएको पुष्टि नभएको भनेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को उपदफा ३ मा बाल यौन दुरुपयोग गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार शाहलाई साढे २ वर्षको जेल सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरिएको छ ।

पल शाह प्रकरणमा नवलपुर जिल्ला अदालतले गरेको फैसलालाई आधार मान्दै अहिले अदालत नै नपुगेको सन्दीप लामिछाने आरोपित रहेको मुद्दामा पनि यही फैसला हुन्छ भनेर सामाजिक सञ्जालमा हल्ला गर्न थालिएको छ । के पल शाह र सन्दीप लामिछानेको मुद्दा एउटै प्रकृतिको मुद्दा हो त ?

आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक पूर्व जिल्ला न्यायाधीश पल शाह प्रकरण र सन्दीप लामिछाने प्रकरणमा धेरै भिन्नता रहेको बताउँछन् । सन्दीप लामिछाने प्रकरणमा हाल प्रहरीले मात्रै अनुसन्धान गरिरहेको कारण अभियोग कसरी तयार हुन्छ र के के प्रमाण त्यसमा राखिन्छ भन्ने कुरामा निर्भर पर्ने बताउँछन् ।

उनले भने, ‘अहिले नै यस्तै हुन्छ भन्ने अवस्था त छैन । यद्यपि बाहिर मिडियामा आएका कुरा सत्य हुन् भने र रातको ११ः५५ बजे होटलमा छिरेर एउटै कोठामा रातभर बसेको कुरा पुष्टि भएको हो र किशोरीको स्वास्थ्य परीक्षणमा कन्याजाली च्यातिएको पाइएमा जबरजस्ती करणी पुष्टि हुन सक्ने आधार प्रशस्त हुन्छन् । किनभने सर्वोच्च अदालतले बनाएको पूजा बोहराको नजिरमा नै महिलाको शरीर नै घटनास्थल र प्रथम प्रमाण हो भन्ने उल्लेख छ । त्यसकारण उक्त कोठाभित्र के भयो के भएन भनेर खोजिरहन पर्छ जस्तो मलाई लाग्दैन । यदि एउटै कोठामा दुईजना ७ घण्टा सँगै बसेको पुष्टि भएमा र कन्याजाली च्यातिएको रिपोर्ट आएको छ भने करणी पुष्टि हुने मुख्य आधार नै त्यही हो ।’

ती न्यायाधीशका अनुसार पल शाह प्रकरणमा किशोरी आफै होस्टाइल भएकी छन् र उनीहरू सँगै एउटै कोठामा बसेको पनि पाइएको छैन । उनले भने, ‘शाहले यौनजन्य हर्कत गरेको कुरालाई आधार मान्दै नवलपुर जिल्ला अदालतले बलात्कारमा कसुर ठहर नगरी बाल यौन दुरुपयोगमा कसुर ठहर गरेको देखिन्छ । तर यो प्रकरणमा त्यसरी बाल यौन दुरुपयोग ठहर हुने सम्भावना ज्यादै कम छ ।’

जिल्ला न्यायाधीशको भनाइलाई समर्थन गर्दै एक वरिष्ठ अधिवक्ताले पनि सन्दीप लामिछाने प्रकरण केही पेचिलो हुने बताए । ती अधिवक्ताले भने, ‘अब अधिवक्ता भएको कारण अहिले नै मैले फैसला गर्न त मिलेन । तर पनि पल शाह प्रकरण जस्तैचाहिँ यो प्रकरण छैन । समाचारमा सत्यता छ भने जब उमेर पुगेको एक पुरुष र नाबालिका होटलको कोठामा रातभर सँगै हुन्छन् र नाबालिकाले जबरजस्ती करणीको जाहेरी दिन्छिन् भने यो मुद्दामा कसुर परिवर्तन हुने सम्भावना कमै रहन्छ । फैसला तथ्य र प्रमाण तथा न्यायाधीशको विवेकमा भर पर्ने कुरा हो । प्रहरीले कसरी प्रमाण जुटाएको छ, त्यसमा पनि निर्भर रहन्छ । म एकजना डिफेन्स लयर भएको कारण भोलि म आफै पनि प्रतिवादीको तर्फबाट मुद्दा लड्नुपर्ने हुनसक्छ । त्यसकारण अहिले नै यस्तो फैसला हुन्छ भनेर भन्न त मिलेन, तर पनि पल शाहजस्तो परिवर्तन हुनसक्ने प्रकृतिको मुद्दाचाहिँ यो होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप