‘आफ्नो गीत सुन्दा आफैँलाई टर्चर हुन्छ’
योगेश्वर अमात्य नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् । उनको पूरै नाम योगेश्वरप्रसाद अमात्य हो । सफ्ट रक, पप सङ्गीत र रक सङ्गीतमा गीत बनाउने गरेका अमात्यको करिब डेढ दर्जन गीत बाहिर आएका छन् ।
तर उनको चर्चा भने हजारौँ गीतसङ्गीत ल्याउनेको भन्दा बढी छ । उनका जति गीत सार्वजनिक भएका छन् ती सबै हिट छन् । सन् १९९० मा ‘जब सन्ध्या हुन्छ’ गीतको बोलबाट गायन प्रारम्भ गरेका योगेश्वरका १९९८ मा ‘करैकरले’ र १९९८ ‘द्रव्यको आशा’ नामका दुई एल्बम आएका थिए । त्यसपछि भने उनका सिङ्गल गीत मात्र आए । पेसाका लागि भन्दा पनि सोखले गायन रोजेका अमात्य आफ्नो गीत सुन्दा आफैँलाई टर्चर हुने बताउँछन् । यिनै गायक योगेश्वर अमात्यको जीवनमा विभिन्न पाटाहरू रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा केलाउने प्रयास गरिएको छ ।
रेस्टुरेन्ट यस्तो
मेरो मनपर्ने खाना नेवारी हो । त्यसपछि इटालियन मनपर्छ । स्कटल्यान्डको ह्यागिस मेरो मनपर्ने खाना हो । माछाको गन्ध मन नपर्ने भएकाले बच्चादेखि नै खाँदिनँ थिएँ । मासु छोडेका अहिले १६ वर्षभयो ।
मलाई पकाउन रुचि छ । सबैथरिका परिकार पकाउन सक्छु । नखाए पनि मासु अझै पकाउँछु । संसारका राम्रा राम्रा रेस्टुरेन्ट घुम्न मनपर्छ । रेस्टुरेन्टको मनपर्ने खाना इटालियन स्पगेटी हो ।
फिट्नेसमा सजग
फिट्नेसमा सजग छु । पहिले पहिले डेढ घण्टा नियमित एक्सरसाइज गर्थें । पछिल्लो समय त्यति ध्यान दिन भ्याएको छैन । फिट्नेसका लागि क्लब जाँदिनँ ।
घरमै सानो जिम छ । त्यहीँ गर्छु । पहिले पहिले मर्निङवाकसमेत हिँड्थे । अचेल जताततै धुलो र फोहोर भएकाले मर्निङवाकले बिरामी परिन्छ । त्यसैले छोडिदिएँ ।
सौखिन छैन
पोसाकमा सौखिन छैन । मनपर्ने कम्फर्टेबल लाग्ने पहिरन भनेको टिसर्ट र हाप पाइन्ट हो । सबैजना नाङ्गै हिँडे म पनि हिँड्दिन्थे । विवाह, भोज, भतेर लगायतको कार्यक्रममा भने सुटपाइन्ट लगाउँछु ।
पहिरनमा मनपर्ने रङ कालो हो । पहिरन कहिले रेडिमेड, कहिले सिलाएर लगाउँछु । पहिरनमा ब्रान्ड पनि हेर्छु, मनपरेको भए ब्रान्डको मतलब छैन ।
ऐतिहासिक पुस्तक पढ्छु
अध्ययनमा रुचि छ । पहिले पहिले त नियमित दैनिक अध्ययन गर्थें । अचेल पुस्तक पढ्न भ्याएको छैन । नियमित अनलाइनका समाचारहरू पढ्छु ।
म इतिहासको किरो हुँ । त्यसैले ऐतिहासिक खालका पुस्तक पढ्न मनपर्छ । म व्यक्तिगत जीवनी कहिलै पढ्दिनँ । किनभने जो व्यक्तिले आफू जीवित हुँदै जीवनी निकाल्छ त्यसले आफ्नो नब्बे प्रतिशत कालो कर्तुतलाई सेतो बनाएको हुन्छ । जीवनी त व्यक्ति बितेपछि अनुसन्धान गरेर अर्काेले बनाएको राम्रो हुन्छ ।
ऐतिहासिक खालका पुस्तक देश तथा विदेशका पनि अध्ययन गर्छु । घरमा धेरै पहिलेदेखि अहिलेसम्मका पुस्तक कलेक्सन छन् । लाइब्रेरी नै बनाएर राखेको छ ।
पछिल्लो समय अध्ययन गर्दै गरेको पुस्तक सत्यमोहन जोशी दाइको जीवनी र काठमाडौँका ऐतिहासिक हिटी (धारा)हरूको विषयका हुन् ।
सबै ठाउँ
घुमघामका लागि पहाड, तराई, गाउँ, सहर सबै स्थान मनपर्छ । जुनै ठाउँमा पनि म रम्नसक्छु । देशको धेरै ठाउँ पुग्न सकेको छैन । त्यस्तै १०, १५ जिल्ला पुगेँ कि । विदेशका ८, १० देश पुगेँ होला ।
अहिले विदेश जान मन लागेको देश पेरु, इजिप्टको गाजा र भारतमा पढेर हुर्किएको भए पनि ताजमहल पुगेको छैन । त्यहाँ जान मन छ । देशको जोमसोम, लुम्बिनीलगायत पनि हेर्न मन लागेको छ ।
पहिलेको खेलाडी
पहिलेको खेलाडी हुँ म । फुटबल, बास्केटबल स्कुल र आर्मीको श्रीनाथ गणबाट पनि खेल्थेँ । फुटबल त एनआरटी क्लबबाट खेल्थेँ । त्यो समय महेन्द्र पुलिस क्लबले विराटकृष्ण श्रेष्ठ र योगेश्वर हामीलाई चाहिएको छ भनेर फुटबलका लागि माग्थ्यो ।
विराटकृष्ण श्रेष्ठ त महेन्द्र पुलिस क्लबको कोच पनि भए ।
अध्ययनका लागि अमेरिका जानुपरेकाले फुटबल छुट्यो । अमेरिकाबाट तेक्वान्दो नेपाल भित्र्याएको मैले हो । जतिबेला यो नेपाल भित्रियो त्यो समय नेपालमा यो खेल इलिगल थियो । मैले बक्सिङ क्लब भनेर सिकाउँथे ।
अमेरिकामा पनि तेक्वान्दोबाट थुप्रै पुरस्कार जितेको छु । एकपटक अमेरिकाले प्यान अमेरिकन गेममा अमेरिकाको प्रतिनिधित्व गर्दै सहभागी गराउन लागेको थियो । म गइनँ । अचेल वल्र्डकप फुटबल, स्नुकरलगायत हेर्छु ।
त्यो समय फुटबल लगातार तीन गोल हानेर ह्याट्रिकसमेत गर्थें । त्यो समय लगातार तीन गोल हान्न सके मात्र ह्याट्रिक मानिन्थ्यो । बीचमा अर्काेले हान्यो भने जति नै गोल हाने पनि ह्याट्रिक हुँदैन थियो ।
आइफोन बोक्छु
मसँग आइफोन १३ मोबाइल छ । यसमा धेरै सुविधा छन् । तर पूरै सदुपयोग गर्न जाँन्दिनँ । फोन उठाउने, गर्ने, म्यासेन्जर, फेसबुक, भाइबर, ह्वाट्सएप चलाउँछु । फोटो पनि खिच्छु । मोबाइल छिटोछिटो फेर्न मनपर्दैन ।
हलमै फिल्म
पहिले टीभीमा समाचार, फिल्म हेर्थें, अहिले हेर्दिनँ । टीभीको साटो अहिले आइप्याडमा नेटफ्लिक्स हेर्छु । फिल्म त हलमै गएर हेर्न मनपर्छ । त्यो पनि एक्लै । हलमा पकवान खाएर, कुनामा ध्यान गरेजसरी त्यहीँ हराउन मनलाग्छ ।
नेपाली र हिन्दीभन्दा बढी अङ्ग्रेजी फिल्म हेर्छु । ऐतिहासिक र मनछुने कथा भएको, परिवतर्न देख्न मिल्ने फिल्म मनपर्छ । फिल्म हेर्नु भनेको आँसु झारेर स्वस्थ हुने मौका हो ।
गायन मेरो सौख हो । सानैदेखि टोलहरूमा गीत फाट्टफुट्ट गाउँथे । त्यसै सन् १९९० बाट मेरो औपचारिक गायन सुरु भएको हो । त्यो समय अध्ययनका लागि म अमेरिका थिएँ । त्यहाँ कन्सर्टहरू हेर्थें ।
त्यही कारण पनि गायनको नसा बढ्यो । पहिलो रेकर्ड भएको गीत ‘जब सन्ध्या हुन्छ’ हो । अहिलेसम्म करिब डेढ दर्जन गीत निकालेँ ।
९ वर्ष जति भयो मैले गीत रेकर्ड नगरेको । मानिस मलाई छानेर मात्र गीत गाउँछ भनेर आरोप लगाउँछन् । त्यो होइन, मलाई गीत गाउनै मन लाग्दैन । आफूले गीत गाउँदा गजब गाए जस्तो लाग्छ ।
अर्काे कुरो आफ्नो स्वर आफैँलाई मनपर्दैन । सुन्दा टचर फिल्म हुन्छ । हरेक अक्षरमा मिस्टेक भए जस्तो लाग्छ । स्वर र गायन केके नमिलेको जस्तो हुन्छ ।
बाहिरका गीतका पनि अहिले अफर आइरहेका छन् । तर ९ वर्ष भयो आफ्नै गीत ल्याउन सकेको छैन । मलाई सबै मानिस माझ चिनाएको गीत सङ्गीतले हो । मेरो विचारमा एउटा मानिस खाली गायक मात्र हुन सक्दैन । उसले छोरा, बाबु, चेला, गुरु लगायत थुप्रै जिम्मेवारी पूरा गर्नुपर्छ ।
कुनै कार्यक्रममा सहभागी भएँ भने एउटा गीत गाऊ न भन्छन् । त्यो समय डाक्टर भए बीपी जाँच्न लगाउनु, इन्जिनिएर भए नाप्न लगाउनु अनि म पनि गाउँछु भन्छु ।
मेरा दुईवटा एल्बम आएका छन् । ‘जब सन्ध्या हुन्छ’ भन्ने एक गीत गाएपछि बज्रेस खनाल र प्रभात रिमालले फेरि गीत गाउनुपर्छ भनेर कर गरेकाले मैल पहिलो एल्मबको नाम नै ‘करैकरले’ राखेको थिएँ । त्यसपछि अर्काे आयो ।
मैले थोरै गीत गाएको छु । तर हजारौँ गीत गाउनेको भन्दा कम छैन मेरो चर्चा । ‘लैजा चरी’ भन्ने गीत धेरै चर्तित गीत हो ।
म बेरोजगार
म बेरोजगार हो । अहिलेसम्म जागिर र अन्य पेसा गरेको छैन । एक पटक व्यवसाय गर्नुपर्यो भनेर दरबारमार्गमा बार खोलेको थिएँ । जो पनि आउने, विदेशी रक्सी खाने पैसा नतिर्ने गर्न थाले । मलाई माग्न अप्ठ्यारो लाग्थ्यो । अनि बन्द नै गरिदिएँ । रेस्टुरेन्ट खोलर सबैलाई खुवाउनुभन्दा केही साथीभाइलाई दैनिक खुवाउन सस्तो पर्छ भन्ने लाग्यो ।
देशको विकास
देशको भविष्य उज्ज्वल भएको देख्ने रहर छ । त्यसैले अहिलेदेखि नै कालो चस्मा लगाएर बसेको छु । नेपालको भविष्य उज्ज्वल भयो भने सबैको भविष्य राम्रो हुन्छ । देशमा एउटा कल्की अवतार जस्तै भगवानको अवतारको पर्खाइमा बसेको छु ।
खराब बानी
मापसे नगर्दा चाँडो रिसाउने, बिर्सने र मापसे धेरै गर्ने मेरो क्सी खराब बानी हो । अर्काे खराब बानी पैसा धेरै खर्च गर्छु ।
एउटा सङ्गम
जीवन सुखदुःखको एउटा सङ्गम हो । सङ्घर्ष हो । जीवन आफ्ना लागि भन्दा पनि अरूका लागि बाँच्नुपर्दाे रहेछ ।
त्यो भूलले सताउँछ
जीवनमा जानीनजानी भूल कतिभयो कति । म नचाँहिदो काम नगर्ने भएकाले सधैँ पछुताउनुपर्ने केही छैन । बुबालाई क्यान्सर लागेको समय मैले जापान लैजानुपर्ने रहेछ । मैले भने भारत लगे । भारतको डाक्टरले तुरुन्तै जापान लग भन्यो । त्यो पछुतो सधैँ हुन्छ ।
प्रेम विवाह
सन् १९९५ मा मैले प्रेम विवाह गरेको हो । त्यो समय म बेरोजगार नै थिए । उनी पनि बेरोगार नै थिइन् । म काठमाडौँ र उनी ललितपुरकी लोकल ।
राज कपुर भन्ने एउटा डान्स टिचर थिए । उनले हामी दुवैको चिनजान गराएका थिए । चिनजान भएको दुई वर्ष डेट गरेपछि हामीले पारिवारिक सहमतीमा विवाह गरेका थियौँ । विवाहअगाडि बाहिर प्रेम त थियो । विवाहपछि बाहिर प्रेम भएन । म इमानदार भएर रहेँ ।
नेता भने पुग्छ
राजनीतिलाई अहिले लाजनीति भन्नुपर्छ । अहिले भ्रष्ट, बदमास लगायतका भनेर कसैलाई भन्नुपर्दैन । सिर्फ नेता भनेपुग्छ रे । त्यो नै गाली हो ।
हाम्रो देशका नेताहरू खाली देशभन्दा पार्टीलाई हेर्ने गर्दछन् । त्यसैले राजनीति राम्रो हुनसकेन । मेरो राजनीतिमा आउँने सोच छैन । यो फिल्ड जान लायकको छैन ।
ठीक छैन
मेरो दिमाग ठीक छैन कि जस्तो पनि लाग्छ । देशको अवस्था यस्तो छ कि ९० प्रतिशत नेपाली कुनै न कुनै कुराबाट डिस्टर्ब होलान् ।
ब्लड प्रेसर पनि छ । त्यसका लागि धेरै अगाडिबाट औषधि लिन्छु । भगवान्को कृपाले त्यो बाहेक अन्य रोग केही छैन ।
मापसे गर्छु
मापसे गर्छु । दैनिक गर्दिनँ, गरेको समय मज्जैले गर्छु । अरू देशमा अलिअलि खाएर सवारी चलाउन पाइन्छ । हाम्रो देशको मापसे चेक चित्त बुझेको छैन । काठमाडौँमा नेवार समुदाय धेरै छन् । बाहिर निस्कनु पर्दा बजैले सगुनमा मापसे दिन्छन् ।
मापसे लोकल र सिङ्गल मार्ट भन्ने ब्रान्ड मनपर्छ । मापसे घरमा बार बनाएर सजाएको राखेको छैन । किनभने त्यो रक्सी मेरो अगाडि टिक्नै सक्दैन । म त्यसलाई सिध्याइहाल्छु ।
राशि ‘मीन’
मेरो राशि ‘मीन’ हो । हिन्दु हुँ, ग्रहदशामा त विश्वास लागिहाल्छ नि । हेराउने जुराउने पनि गर्छु । पूजा कोठामा दैनिक जान्छु । धर्मकर्ममा पनि विश्वास छ ।
मृत्युको डर छैन
मृत्युतिर अहिलेसम्म विचार गरेको छैन । यो कसैले देखेको पनि छैन । नदेखिने विषयमा म चिन्ता गर्दिनँ । म भोलिको चिन्ता पनि लिन्नँ । किनभने जे गर्नुपर्छ अहिले र आजै गर्नुपर्छ भन्ने मेरो धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी