‘केटीहरू मसँग नृत्य सिक्न नपाए रानीपोखरीमा हामफाल्न तयार थिए’
भैरवबहादुर थापा नेपालका पहिलो नृत्य निर्देशक हुन् । काठमाडौँंमा जन्मिएका उनले २०१० सालबाट नृत्य निर्देशन थालेका थिए । ब्रिटिस आर्मीमा भर्नाको सिलसिलामा पानीजहाजभित्र नृत्यमा पारङ्गत हुन पुगेका हुन् । नेपालमा नृत्य स्थापित गर्ने श्रेय उनलाई नै जान्छ ।
विश्वका धेरै देशका प्रमुखहरूलाई आफ्नो नृत्यबाट मोहित गर्दै पार्दै प्रशंसा बटुल्न सफल उनको अहिले नृत्यसम्बन्धी बृहत्तर पुस्तक ‘नृत्याक्षर विज्ञान’ एकसाथ ५ देशमा उनीहरूकै भाषामै निस्किँदैछ । यो पुस्तक बाहिर आएपछि विश्वका नृत्यकार आफ्नो फममा समावेश हुने उनी बताउँछन् । नेपालले आफूलाई चिन्न नसकेको गुनासो गर्ने भैरवबहादुर थापाको जीवनको विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :
रेस्टुरेन्ट यस्तो
खानामा सबैथोक मनपर्छ । माछामासु पहिले खान्थेँ, पछिल्लो ४ वर्ष भयो छोडेँ । भूपि शेरचन, शङ्कर लामिछाने, भीमदर्शन रोक्का, धनुसचन्द्र गौतम र म नङ र मासुजस्ता सम्बन्धका साथी थियौँ । हामी सबैको दैनिक एक पटकको भेट अनिवार्य थियो ।
हामीमध्ये भूपि शेरचर सम्पन्न परिवारका व्यक्ति थिए । उनी राम्रो रेस्टुरेन्टमा जान्थे । त्यही कारणले हामी पनि रेस्टुरेन्ट जाँन्थ्यौँ । अहिले पुराना साथीहरू नभएकाले रेस्टुरेन्ट जान्नँ, घरकै खाना खान्छु । पकाउने त कुरो परै जाओस्, अहिलेसम्म पानीसमेत उमालेको छैन ।
नियमित योगा
म ९१ वर्षमा हिँडिरहेको छु । यो उमेरसम्म आउनसक्नु फिट्नेसको राज नै हो । म एक्सरसाइज सानैदेखि गर्थें । अहिले पनि नियमित योगा, स्वासप्रस्वास र अन्य एकसरसाइज करिब डेढ घण्टा गर्छु ।
सौखिन छैन
पोसाकमा सौखिन छैन, सातबारअनुसार सातैथरिका पोसाक प्रयोग गर्छु । म रावणलाई गुरु मान्दछु । त्यसैले रावणशास्त्रअनुसार दिनदिनै फरक पहिरन लगाउन थालेको हो ।
दौरासुरुवाल, सर्टपाइन्ट, कमिजसुरुवाल लगायत मेरो मनपर्ने पहिरन हो । विशेष तथा फर्मल कार्यक्रममा दौरासुरुवाल बढी प्रयोग गर्छु । पहिरन मनपरेको सिलाएर लगाउँछु, ब्रान्ड हेर्दिनँ ।
पत्रपत्रिका साथी
अध्ययनमा रुचि छ । तर आँखाका कारणले अहिले पढ्न सक्दिनँ । पत्रपत्रिका मेरा पुराना साथीहरू भूपि शेरचन, शङ्कर लामिछानेलगायत सम्झिएर पढ्ने गर्दछु ।
कविता, निबन्ध र छोटा कथाका पुस्तक पढ्न मनपर्छ । आँखा कमजोर भएपछि अध्ययनमा कमी भयो ।
अनुसन्धानको स्रोत
घुमघाम मेरो अनुसन्धानको स्रोत हो । पहिले त म वर्षमा एक महिना मात्र कठमाडौँ हुन्थेँ । अन्य समय जिल्ला जिल्ला घुम्थेँ ।
म देशको सबै जिल्ला घुमेको छु । विदेशमा चीन, रुस, बर्मा, मलेसिया, सिङ्गापुर, हङ्कङ, बेल्जियम, जर्मन, फ्रान्स युगोस्लाभियालगायत धेरै देश पुगिसकेँ । सबैदेशमा नृत्यको सिलसिलामै पुगेको थिएँ ।
नृत्यको सिलसिलामा धेरै देशका महारानीसँग भेट गरेको छु । एक समय बेल्जियमको महारानीले भेटिन् । त्यो समय नेपालसँग बेल्जियमको मित्रवत् सम्बन्ध त थिएन । तर पनि त्यहाँकी महारानीले मलाई जोखिम मोलेर भेटिन् ।
त्यो समय बेल्जियमका महारानीले भेट्ने भनेको १५ देखि २० मिनेट थियो । मलाई भने उनले पूरै सवा घण्टा भेट दिइन् । मेरो त्यो भेट आश्चर्यको समाचारका रूपमा पूरै युरोपभरिका पत्रपत्रिकामा छापियो । मैले मास्टर टिटोसँग समेत हात मिलाएको छु ।
पौडी खेलियो
मधेशमा हुर्किएको हुँ म । सानोमा फुटबल, कबड्डी, रुखे डुम खेलियो, त्यसपछि पौडी । आर्मीमा हुँदा पनि विभिन्न खेल खेलियो ।
खेलकुदमा मास्क्यालाथेनिक डान्स मैले सुरुवात गराएको हो । यसको सुरुवातले राजा वीरेन्द्रसमेत खुसी थिए ।
यस्ता फिल्म
टीभी त पहिले हेर्थें । अहिले ७ वर्ष भयो नहेरेको । आँखाको कारणले डाक्टरले नै बन्देज गरिदिए । तर कहिलेकाहीँ आफ्नो अन्तरवार्ता, बायोग्राफी र डकुमेन्ट्री आउँदा हेर्छु ।
फिल्म भने विद्यार्थी जीवनमा प्रशस्तै हेरियो अङ्ग्रेजी, हिन्दी । अहिले फिल्म हल नगएको धेरै भयो । व्याङ्ग्य, सामाजिक सन्देश र प्रेरणादायी विषयका फिल्म मलाई मनपर्छ ।
‘नृत्याक्षर विज्ञान’ले जोड्छ
पछिल्लो समय म नृत्यसम्बन्धी अन्तर्राष्ट्रिय पुस्तक ‘नृत्याक्षर विज्ञान’ नेपाली, भारतीय, चीन, फ्रान्सेली र जर्मनी र अङ्ग्रेजी गरेर ५ विदेशी भाषामा एकसाथ आउँदैछ । यसको अलवा थुप्रै गीत र कविता पत्रपत्रिका पनि छापिएका छन् ।
मेरा केही पुस्तक बाहिर आएका छन् । जसमा ‘हिँड्दा हिँड्दै’, ‘समर्पण’, एउटा नृत्य र सङ्गीतसम्बन्धी र ६, ७, ८ कक्षाका लागि नृत्यको पुस्तिका ‘नृत्य प्रवेशिका’ हुन् ।
‘हिँड्दा हिँड्दै’ले उत्तम शान्ति पुरस्कार पाएको थियो । ‘समर्पण’ राजा महेन्द्र र मेरा साथीहरू भूपि, बालकृष्णलगायत १० व्यक्तिको संस्मरण हो । नृत्यका बारेमा एक पुस्तक सङ्गीत नाट्य एकडेमीले छापेको थियो ।
निस्कँदै गरेको ‘नृत्याक्षर विज्ञान’ लेखन प्रेरणाको स्रोत माओ त्सेतुङ हुन् । एक पटक मेरो डान्स मनपराएर उनले कलम गिफ्ट दिएका थिए । त्यो कलमबाट अन्तर्राष्ट्रिय डान्स नोटेसन लेख्ने प्रेरणा जाग्यो ।
लेख्न सुरु गरेको ६५ वर्षपछि पुस्तक बल्ल पूरा भएको छ । यसमा नृत्यसम्बन्धी ए टु जेड ज्ञान छ ।
‘नृत्याक्षर विज्ञान’ भन्ने किताब अमेरिकामा ‘भैरव अल्फा साइन्स’ नामबाट आउँछ । यो बाहिर आएपछि विश्वका नृत्यकार चाहे त्यो अफ्रिका होस् वा जापानिज, कोरियन होस वा अन्य । सबैले मेरो फर्मुलमा नाच्नुपर्ने हुन्छ । राम्रो नृत्य गर्ने हो भने मेरो फम्र्याटमा नआई सुखै हुँदैन । किनभने नृत्यको एउटा वेद हो यो । मैले सबै कुरो अटाएको छु ।
यस्तो पुस्तक नेपालका लागि गौरवको विषय हो । मलाई देशले पो चिन्न सकेन । विश्वले राम्ररी चिनेको छ । अहिले विश्व प्रसिद्ध नृत्य पेरिसको ब्यालेन हो । ब्यालेनमा मुद्रा धेरै छैन । यो पुस्तकमा हरेक नृत्य मुद्रासहित सहज तरिकाले उल्लेख गरेको छु । यो पुस्तक पढ्नेहरू सजिलै नृत्यमा पारङ्गत हुन सक्छन् ।
त्यो सपना
‘नृत्याक्षर विज्ञान’ जुन जुन देशको भाषामा आउँछ त्यो सबै देशमा विमोचन भएको हेर्ने सपना छ ।
नृत्य नै मेरो जीवन
१६ वर्षको उमेरदेखि मैले नृत्य गर्न थालेको हो । ब्रिटिस आर्मीको ट्रेनिङमा सिङ्गापुर जाने क्रममा पानी जहाजमा तीन हप्ता सफल भएको थियो । त्यो समय म नृत्यमा पारङ्गत भएँ ।
त्यो सफरमा अन्य देशमा सहभागीसँगै मैले पनि नाँचे । अरूले के गरे थाहा भएन, मैले भने सबैका नृत्य सिकँे । त्यो जहाज मेरो डान्सिङ स्कुल भयो । त्यहीँबाट ममा नाट्यश्वरी चढ्यो ।
मानिसहरू मलाई भन्न त लोकनृत्यको विशेषज्ञ, ज्ञाता भन्छन् । तर लोक नृत्य मैले कहिलै गरिनँ । म लोक नृत्यलाई व्याकरण गरेर प्याट्रिक गर्थें ।
जहाजमा नृत्य सिकेकाले म ब्रिटिस आर्मीको ट्रेनिङमा बन्दुकसमेत डान्सिङ पाराले चलाउँथे । त्यही कारण आर्मीमा नाचगान गर्नुपर्ने जिम्मेवारी समेत पाएँ ।
करिब तीन वर्षपछि आर्मीबाट ६ महिनाको छुट्टी मिल्यो । त्यो समय नेपालमा नृत्य र फुटबल बरालिने विषय मानिन्थ्यो । नाचगान वर्षमा एक पटक, त्यो पनि ‘गाईजात्रा’ को दिन हुन्थ्यो ।
त्यो समय एक पटक भुरुङखेलमा पुष्पलालले तीनदिने सम्मेलन राख्नुभएको थियो । म त्यहाँ नाचेँ । त्यो मेरो नाच हेरेर दरबार स्कुल, जेपी स्कुल र क्षेत्रपाटीको कन्या मन्दिरका विद्यार्थीहरूले नाच सिक्न पाए, सिक्न नपाए ‘रानी पोखरी’मा हाम फाल्छौँ भने । तर स्कुलले अनुमति दिएन ।
त्यसपछि मलाई आर्मी पनि भएकाले स्काउटको ट्रेनिङको बहानामा सिकाउन लगाए । नृत्यको लागि त्यो मेरो क्रान्तिकारी कदम थियो । मेरो आर्मीको छुट्टी सकिए पनि बच्चाहरूले फर्किन दिएनन् । बालकृष्ण समसमेत प्रयोग गरेर अड्काउने काम भयो । उनीहरूले भैरव नृत्य दल स्थापना गरेर अध्यक्ष बनाए । म ब्रिटिस आर्मीको जागिर छोडेर आफ्नै घरमा नृत्य सिकाउन थालेँ ।
त्यो बेला जागिर नछोडेको भए अहिले महिनाको ३ लाखभन्दा बढी पेन्सन आउँथ्यो ।
अहिलेको प्रज्ञा प्रतिष्ठान पनि मैले स्थापना गराएको हो । राजा महेन्द्रले के गर्ने इच्छा छ भनेर सोध्दा मैले चीनमा यस्तो एकडेमी देखेँ । नेपालमा पनि त्यस्तो भए हुन्थ्यो भनेँ । सो समय उहाँले मेरो डायरीमा पनि यही कुरो लेखेको छु भनेर मेरो प्रशंसा गर्दै स्थापना गराए । मैले नै उद्घाटन र न्वारन गरेको यो प्रतिष्ठानको म आफ्नो जीवनभर सदस्यसमेत हुन पाइनँ । त्यो जति दुःख अरू के होला र ?
आज देशमा जति पनि नृत्य छन् त्यो मैले मञ्चन योग्य नबनाएको भए अहिले कहाँ हुन्थ्यो के थाह ? मारुनी, सोरठी, झ्याउरे, सेलो, पन्छी, लाखे, देवी लगायत जति पनि अहिले स्टेजमा नृत्य गरिन्छ त्यसलाई स्टेज प्रवेश गराउने मै हँु । कतिलाई यो कुरो थाहा छैन ।
एक समय पुष्पलाल, बीपी, टङ्कप्रसादलगायत सबैको आमसभा हुन्थ्यो । ती सबै आमसभामा नाच्न मै पुग्नुपथ्र्यो । त्यसकारण पनि बन्देजको समय मैले त्यसरी नाचेको कारण नृत्यले स्वतः फ्रिडम पायो । नृत्यमा प्रजातान्त्रिक अवस्था मैले नै क्रिएट गरेको हो । नृत्यमा मेरा चेला नेपाल, चाइना, रसिया, जर्मनलगायत धेरै देशमा अनगन्ती छन् ।
जागिर दुईवटा
विसं २००७ सालमा म ब्रिटिस आर्मी भएँ । पैसा कमाउनुपर्यो भनेर आर्मी भएको होइन । त्यो समय गोरखपुर घुम्दै थिएँ । त्यहाँ ब्रिटिस गोरखाको एक अफिसरसँग भेटभयो । उनी आपत्मा परेका रहेछन् । उनले ६ जना आर्मीमा भर्ना गर्नुपर्ने । मानिस भेटेको रहेनछन् । समयमै नपठाए उनको ग्रेड घट्थ्यो ।
त्यो समय १६ वर्षको थिएँ । १८ वर्ष नभए आर्मीमा भर्ना हुन पाइँदैन थियो । उनलाई म मन परेर मेरो दाइलाई फकाएर आर्मीमा पठाए । त्यहाँ तीन वर्ष काम गरेँ ।
२०१८ मा राष्ट्रिय नाचघरको फाउन्डेसन बन्दै थियो । त्यो सञ्चालनका लागि निर्देशक चाहियो । त्यसका लागि संस्कृति मन्त्रालयको संस्कृति विभागअन्तर्गत म लोकसेवा आयोगबाट नेपालको पहिलो नृत्य निर्देशकका रूपमा जागिरे भएँ । त्यसैले मलाई पहिलो नृत्य निर्देशक पनि भनिएको हो ।
करिब १० वर्ष जागिर खाएपछि संस्कृति विभाग कोल्याप्स भयो । मेरो जागिर पनि सकियो । त्यसपछि नृत्य नै सिकाउँदै बसेँ ।
मागी विवाह
विसं २०१८ मा मैले मागी विवाह भएको हो । लोकसेवाबाट जागिर भए पनि जहान पाल्न सक्ने भएँ भनेर विवाह गरेको थिएँ । विवाहपछि श्रीमतीसँग नै प्रेम बस्यो ।
त्यो समय अहिले जस्तो प्रेम गर्ने चलन थिएन । कसैले प्रेम गर्यो भने टोलका सबैले नलले हिर्काएर मार्थे ।
अबेर घर
म पहिले पहिले राति अबेर घर फर्किन्थँे । त्योबाहेक मेरो खराब बानी अन्य महसुस भएको छैन । राति अबेर घर फर्किने पनि कुनै तरुनीमा भुलेर, नचाहिँदाको सङ्गत गरेर होइन । शङ्कर लामिछाने यस्तो रत्न हो, ऊसँग गफ गर्न थालेपछि समय बितेको पत्तै हुँदैन थियो । अन्य साथीहरू पनि त्यस्तै थिए मेरा ।
भूल छैन
भूल भन्ने बित्तिक्कै पश्चातापको कुरो आउँछ । अहिलेसम्म पश्चाताप गर्नु परेकै छैन । मेरो पूरै समय अर्काको खुसीका लागि हिँड्दा हिँड्दै बित्यो । त्यसैले भूल भए जस्तो लाग्दैन ।
आँखाको रोग
एउटा रोग आँखाको छ । आँखाले गर्दा कानको पनि समस्या भयो । अहिले घुँडामा पनि समस्या देखिएको छ । केही पहिलेसम्म मुटुको समेत समस्या थियो । नियमित औषधि सेवनले यो ठीक भयो । अहिले पनि वर्षको डेढ लाखभन्दा माथिको औषधि चाहिन्छ ।
पहिले गर्थें मापसे
पहिले मापसे गर्थें । त्यो समय राम्रादेखि लोकलसम्म पिउँथे । अहिले मापसे छोडेको करिब १० वर्ष भयो । मुटुको एउटा भल्ब लिकेज भएको कारण डाक्टरले मापसे बन्देज गराएका थिए ।
राशि ‘वृश्चिक’
मेरो राशि ‘वृश्चिक’ हो । ग्रहदशामा पहिले विश्वास लाग्दैन थियो, हेराउने जुराउने समेत गर्दिनँ थिए । एउटा जोगी महात्माको पछि लागेर जबर्जस्ती चेला बनाए । मलाई ज्योतिष विद्या समेत सिकाए । अहिले म आफैँ ज्योतिष पनि हुँ । ग्रहदशामा विश्वास गर्छु ।
मृत्यु मित्र हो
मृत्युलाई भयावह हिसाबले सोचेको छैन । यो एक किसिमले मित्र ठानेको छु । किनभने मैले मृत्युको रहस्य बुझेको छु । जन्मनु भनेको मृत्यु लोकमा आउनु हो । मृत्य कसरी सिँगार्ने, अजम्बरी बनाउने त्यो कर्मबाटै हो । त्यो म पनि गरिरहेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो